Monday, December 26, 2016

भवन निर्माण तथा विकासका लागि अर्बौंको बजेट प्रक्रिया सुस्त गतिमा अगाडी बढ्दा बजेट फ्रिज हुने डर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले चालु आर्थिक बर्षमा विकास निर्माणका लागि २ अर्ब ४ करोड ४२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएका छन् । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत भवन निर्माण, सार्वजनिक निर्माणका लागि २ करोड ८७ लाख ६९ हजार ४ सय, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणका लागि ६३ लाख ५२ हजार, आवास व्यवस्था कार्यक्रम अन्तरगत १६ करोड ९२ लाख ८९ हजार ९ सय ६०, सघन सहरी विकास कार्यक्रम अन्तरगत १ अर्ब ६१ करोड ५१ लाख ८५ हजार, भवन निर्माण संहिता सरकारी भवन निर्माण अन्तरगत  १ करोड ६३ लाख ३५ हजार, नमुना एकिकृत बस्ती विकास कार्यक्रम (तराई(मधेस(पहाड(हिमाल) अन्तरगत सार्वजनिक निर्माणका लागि ५ करोड ५९ लाख ३५ हजार, एकिकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १३ करोड २७ लाख ५० हजार, अयूर्वेद सेवा कार्यक्रम अन्तरगत भवन निर्माणका लागि २९ लाख ५० हजार, पुनर्निमाण तथा पुनस्र्थापन कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १ करोड ६६ लाख ८१ हजार ५ सय गरी कुल २ अर्ब ४ करोड ८२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएको छ । डिभिजन कार्यालय धनुषाले उक्त रकम धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लामा खर्च गर्नेछन् ।

विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना
विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत जिल्लामा सामुदायिक भवन निर्माण, मन्दिर निर्माण, मन्दिर परिसर सुधार, सडक स्तरोन्नति, पुस्तकालय निर्माण, पिसिसी सडक र नाला निर्माण, समशान घाट निर्माण, महजिद निर्माण लगायतका कार्यक्रमहरु रहेको छ । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत धनुषाको क्षिरेश्वर नगरपालिका वडा नं. १ स्थित सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका वडा नं. ४ कुमरौलमा सामुदायिक भवन निर्माण, सुगा मधुकरही ५ मा सामुदायिक भवन निर्माण, तुल्सीयाही निकास वडा नं. ८ मा संगम सामुदायिक भवन निर्माण, दुहवी ६ मा क्रियापुत्री भवन निर्माण, क्षिरेश्वर नगरपालिका १० मा औरहा सामुदायिक भवन निर्माण, मंगलपुर ३ मा सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका  ६ स्थित कबिर कुट्टी भवन निर्माण, लक्ष्मिनिया बजारमा कबिर कुट्टी भवन निर्माण, अन्दुपट्टी ९ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ मुजेलिया पश्चिम टोलमा सामुदायिक भवन निर्माण, तुल्सीयाही जब्दी ६ मा सामुदायिक भवन निर्माण, धनौजी गाविस ६ मा सामुदायिक भवन निर्माण, लक्ष्मीनिया बजारमा सहिद कामेश्वर कुशेश्वर स्मृति भवन निर्माण, बनिनियामा सामुदायिक भवन निर्माण, सिनुरजोडा ६मा पुस्तकालय भवन निर्माण, मिथिलानगरपालिका ढल्केवर ६ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ स्थित ओम शान्ति मिथिला बाटिका भवन निर्माण, दुहवी १ स्थित सहिद सरोज प्रसाद कोइराला अतिथिगृह निर्माण, अन्दुपट्टी ८ कटरैत बडकाटोलमा सामुदायिक भवन निर्माण, बहेडाबेला ६ मा सामुदायिक भवन निर्माण, मिथिलेश्वर निकास गाविस ललियाटोल स्थित सरस्वती यूवा क्लवको अधुरो भवन निर्माण, जनकपुर ९ स्थित हनुमान मन्दिर परिसर निर्माण सुधार कार्य, सपही ८ स्थित विपी सामाजिक सेवा केन्द्रको भवनमा पुस्तकालय तथा सभा हलको तल्ला थप गर्ने कार्य, जनकपुर उपमहानगरपालिका स्थित महाराज सागर पगलाबाबा धर्मशाला निर्माण, तुल्सीयाही निकास ९ स्थित प्राचिन दुर्गा मन्दिर र ठाकुर पोखरी परिसर मर्मत सुधार, क्षिरेश्वर नगरपालिका अवस्थित प्रहरी कार्यालयको सामुने देखि क्षिरेश्वर मावि चन्द्रपुर, रमदैया, सपही हुँदै निकाल गाउँसम्मको सडक स्तरोन्नति, गोपालपुर गाविसको प्रस्टोकी गाउँ देखि चौहर्वा गाउँ हुँदै ठेरा गाउँको पश्चिम छेउ हुँदै जमुनिया गाउँ हुँदै बेंगा गाउँसम्मको सडक स्तरोन्नति, सपही र अगिलेशवा गाउँहरुको बीच हुँदै गएको हाईवे बाट अगिलेशवा गाउँ हुँदै सिटीइभिटीद्वारा निर्माणाधिन पोलिटेक्निक इन्स्टिच्यूट हुँदै गजरिया गाउँ सम्मको सडक स्तरोन्नति, जनकपुर उपमहानगरपालिका १ रेल्वे लाईन शिवपथ रोड देखि पुलचौक सम्म पिसिसी र नाला निर्माण, मिथिला नगरपालिका वडा नं. ३ स्थित जम्काभेट पुस्तकालय निर्माण गर्ने योजना रहेको छ ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर स्थित डिहवार स्थान मन्दिर परिसर मर्मत सुधार, जनकपुर १० स्थित चित्रगुप्त सेवा समिति अन्तरगतको सभाहल निर्माण, शान्तिपुरमा धर्म मन्दिरमा धर्मशाला निर्माण, क्षिरेश्वर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, जनकपुर ९ डिहवार स्थान स्थित रामजानकी मन्दिर परिसरमा धर्मशाला निर्माण सुधार कार्य, जनकपुर७ स्थित दुधमती समशान घाट निर्माण, शान्तिपुर ९ स्थित दुर्गामन्दिर परिसर सुधार, मिथिलेश्वर निकास ६ स्थित ललियामा शिव मन्दिर परिसर मर्मत सुधार, मिथिलेश्वर निकास ४ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, मानसिंहपट्टी ७ स्थित रामजानकी मन्दिर परिसर मर्मत सुधार, बनिनिया २ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, जनकपुर २५ मा तारा स्वर्गद्वारी (मसान घाट)मा पुर्वाधार विकास, लगमा गाडागुठी ९ स्थित हनुमान मन्दिर परिसर मर्मत सुधार, सोही गाउँमा दुर्गा मन्दिर परिसर मर्मत सुधार, पौडेश्वर ५ स्थित पुणेश्वरनाथ मन्दिर मर्मत सुधार, जनकपुर १४ प्रगति नगरमा मन्दिर परिसरमा मर्मत सुधार, तुल्सीयाही १ स्थित महारानी थान परिसर मर्मत सुधार, नगराईन ४ स्थित राघोबाबा मन्दिर परिसर मर्मत सुधार, घोडघास २ स्थित भुईया बाबा मन्दिर परिसर मर्मत सुधार, नगराईन १ स्थित भैरव बाबा मन्दिर परिसर मर्मत सुधार, बहेडाबेला २ स्थित डिहवार थान परिसर मर्मत सुधार, तुल्सीयाही ५ स्थित महजिद परिसर मर्मत सुधार, जनकपुर १६ हर्दिनाथ मन्दिर देखि रेल्वे लाईन सम्म पिसिसी र नाला निर्माण, जटही ८ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, हंसपुर कठपुल्ला स्थित जमुनामाई मन्दिर परिसर मर्मत सुधार, जनकपुर १२ कुवामा भुतही पोखरी मर्मत सुधार, जनकपुर ८ बालमिकीसर पोखरीको उत्तरी डिलमा अधुरो पक्की घाट निर्माणको योजना रहेको छ ।

जनता आवास व्यवस्था कार्यक्रम
आवास व्यवस्था कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषा मार्फत जनता आवास कार्यक्रमका लागि प्रदेश नं. २ को धनुषा, महोत्तरी र सर्लाही गरी कुल ३ वटा जिल्लाका लागि प्रत्येक जिल्लामा १ हजार घर गरी कुल ३ हजार घर निर्माण गरिनेछ । यसका लागि केन्द्रबाट नेपाली कांग्रेसका नेता तथा सांसद आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा नेकपा एमालेका नेता तथा सांसद शत्रुधन महतो र सदभावनाका सांसद माधवी रानी साह सदस्य रहने गरी समिति समेत बनाइएको छ । ३ वटै जिल्लामा दलित, अपाङ्ग तथा पिछडिएको समुदायका लागि उक्त कार्यक्रम अन्तरगत घर निर्माण गरिनेछ । २ लाख ५० हजारको लागतमा दुई वटा कोठा, शौचालय सहितको पक्की घर निर्माण गरिनेछ । जग्गा नभएका व्यक्तिका लागि गाविसको सार्वजनिक जग्गामा पक्की घर निर्माण गरिनेछ ।

नेपालको संविधानको धारा ४२ उपधारा (२) मा आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकोले राष्टिूय दलित आयोगको सूचिमा सूचिकृत भएका दलित, विपन्न मुसलमान तथा सालवसाली रुपमा नेपाल सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन गरी समेटने लोपोन्मुख र अतिसिमान्कृत जाती तथा समुदायका विपन्न वर्गहरुलाई आवासको व्यवस्थाको लागि आर्थिक बर्ष २०६६÷०६७ देखि व्यवस्था गरिएको छ ।

जनता आवास अन्तरगत लक्षित वर्गको पहिचान गर्नका लागि विगत देखि सो स्थानमा स्थायी बसोवास गर्दै आएको प्रमाण, जग्गा धनी प्रमाण पुर्जा वा घर जग्गाको तिरो वा शुल्क बुझाएको भए सो सम्बन्धी कागजात वा आफु विगत देखि सो स्थानमा बसोवास गरि आएको भन्ने स्थानीय निकायको सिफारिस, विजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको कागज, लाभग्राही बसोवास गर्दै आएको घरको भौतिक अवस्था रहेको छ ।
त्यसैगरी लाभग्राहीको छनौटका लागि लाभग्राहीले हाल प्रयोग गरिरहेको घरको क्षेत्रफल, भुई, गारो तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलको आधारमा प्रदान गरिने बताएको छ । लाभग्राहीको छनौट जिल्ला समन्वय समितिले गर्ने तथा छनौट गर्दा वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएका घर मुलीलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ । त्यसैगरी सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने छन् । उक्त कार्यक्रम साधारणतया १० लाभग्राही परिवार बसोवास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिने छ । तर, छरिएर बसोवास गरेको डोम, अतिसिमान्तकृत तथा लोपोन्मुख जातीको बस्तीको हकमा यो बन्देज लागु हुने छैन । 

कार्यक्रम कार्यान्वयन स्थल पहिचान गर्दा लक्षित वर्गको घर यथा स्थानमा पुर्ननिर्माण हुनेगरी गरिनेछ । तर, प्राकृतिक प्रकोपको जोखिममा रहेको, बन, सिमाक्षेत्रमा परेको वा कुनै कारणबाट विवादित घडेरी भएको स्थानमा कार्यक्रम कार्यान्वयन गरिने छैन । लाभग्राहीले कुल अनुदानको १० प्रतिशत लागत सहभागिता बापत बेहोर्नुपर्ने हुन्छ । यसका अतिरिक्त आवास एकाई निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा जस्ता निर्माण सामग्रीहरु निर्माण समितिले र सो समिति गठन नभएकोमा लाभग्राही आफैले खरिद गर्नुपर्ने हुन्छ ।

कार्यालयको लापरवाही र फ्रिज हुने डर
मुख्य कुरा के हो भने ती सबै योजनाहरुका लागि केन्द्रबाट बजेट समेत स्वीकृत भईसकेको भएपनि डिभिजन सडक कार्यालय धनुषाको लापरवाहीका कारण हालसम्म टेन्डर समेत आह्वान गरिएको छैन । अन्तिममा आएर हतार हतारमा मात्र काम गर्ने र काम गर्दा गुणस्तरहीन हुने तथा बजेट समेत फ्रिज हुने अवस्था हुँदा हुँदै हालसम्म टेन्डर आह्वान नगरिनुले शंका उत्पन्न भएको छ ।

गत बर्ष २०७२÷०७३ मा मात्रै डिभिजन सडक कार्यालय धनुषाको १० करोड २६ लाख रुपैयाँ फ्रिज भएको थियो । विशेष भौतिक पुर्वाधार तर्फ भवन निर्माण सुधारको २ लाख २८ हजार ८ सय २२ र सार्वजनिक निर्माण सुधारको ७१ लाख ९० हजार ४६  गरी कुल ७४ लाख १८ हजार ८ सय ६८ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी पूजीगत सुधार तर्फको ४२ हजार ९ सय ९० रुपैयाँ, पुनः निर्माण अन्तरगत भवन निर्माणको ६१ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणको १ करोड ४९ लाख र सार्वजनिक निर्माणको ३७ लाख ४८ हजार १ सय ९६ गरी कुल १ करोड ८६ लाख ४८ हजार १ सय ९६ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी अन्य योजना अन्तरगत २८ लाख ६५ हजार ४ सय २८, आयूर्वेद सेवा अन्तरगत २८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ, अन्य योजना अन्तरगत ७२ लाख ६८ हजार ८ सय १९ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी सघन सहरी कार्यक्रम अन्तरगत सार्वजनिक निर्माणको लागि १ करोड १९ लाख २५ हजार ९ सय ८४ रुपैयाँ फ्रिज भएको थियो ।

विगतमा रकमहरु फ्रिज भएझैं यस बर्ष स्वीकृत भएको बजेट तथा योजनाहरु पनि समयमै सम्पन्न हुने वा फेरी पनि विकास निर्माणका लागि आएको रकम खर्च गर्न नसकि फ्रिज त हुने होइन भन्ने जिल्लाबासीमा चिन्ता वढेको छ ।


२०७३ पौष १० गते आईतबार

धुर्मुस सुन्तलीले बनाउने मुसहर बस्तीको कथा व्यथा

शैलेन्द्र महतो
जनकपुरधाम............
हास्य व्यंग्य कलाकार तथा  समाजसेवी धुर्मुस(सुन्तलीले बुधबार तेश्रो चरणमा एकीकृत नमुना बस्ती बनाउने घोषणा गरेका महोत्तरीको बर्दिबास मुसहर वस्तीको कथा व्यथा कम छैन । त्यस वस्तीमा रहेका पचास घरपरिवारका मुसहरहरु वर्षौदेखि अत्यन्त गरिबीमा दयनीय जीवन बाँचिरहेका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबास, छोटो समयमै विकासको दिशाले कोल्टो फेरेको छ । तर त्यही बर्दिबास नगरपालिका २ भित्र पर्ने बर्दिबास बजारदेखि मात्र करिब दुई किलो मिटर दक्षिणको दुरीमा रहेका मुसहरहरुको दिनचर्या जस्ताको त्यस्तै छ । प्रायः गरी सबैको  माथिबाट खर र परालले छाएको सानो ओत लाग्ने झुपडी बाहेक धनसम्पतिको नाममा केहि पनि छैनन् । सानै ओत लाग्ने घरमा भान्छा , सुत उठ , गाईबस्तु बाँध्ने गोठ सबै थोक गरी जीवन व्यथित गर्ने बाध्यता छ । 
१०५ वर्षकी मरनी सदाको पीडा , एउटै सानो ओत लाग्ने छाप्रोमा बित्दै छ जिन्दगी
एक सय ५ वर्षकी एकल महिला मरनी सदा रुँदै यसरी भन्नुभयो “फोँटो मात्रै खिच्न आउछ । बुढी कसरी खान्छ,बाँच्छ, मर्छ त्योदेखि कसैलाई कुनै मतब छैन ।” उहाँको एउटै सानो ओत लाग्ने छाप्रो छ । तीन पुस्तादेखि मरनी ब्राखो बाँध्ने घरमै भूइमै कठिनाइपूर्ण जीवन विताउँदै आएकी छन् ।  सानो छाप्रोमा कठियांग्रिदो जाडोमा प्लाष्टिकको बोरा ओढेर परालको ओछ्यानमा उहाँ सुत्ने गर्नु हुन्छ । चिसो मौसममा शरीरमा च्यातिएको झुत्रो पेटीकोट र चोलो मात्र दैनिक लगाउने उहाँको लुगा हो । 
छाप्रोको बेरा भत्किएर चिसो हावासंगै चलिरहेको शितलहर उहाँको छाप्रोको आरपार हुन्छ । तर उहाँको दिन र रात त्यसमै वित्छ । उहाँ रोगले थला परेको १५ वर्षभन्दा बढी वितिसक्यो । उठ्न र हिड्न सक्नु हुन्न । मात्र हातको सहाराले घस्रेर घर भित्र र बाहिर आंगनीमा आउन सक्नु हुन्छ । श्रीमान  वितेको तीस वर्षभन्दा बढी वितिसक्यो । ३६ वर्षका कान्छा छोरा बिरबल सदा चार महिना अघि जण्डीसले च्यापिए पछि आर्थिक समस्याले उपचार गराउन नसक्दा मृत्यु भयो । कान्छा छोराको दुई लालाबला छ ।
कान्छी बुहारी मुन्नी सदा जंगलबाट दाउरा टिपेर बेचेर ल्याएको दिन घर चल्छ हैन भने भोकै सुत्नु पर्ने बाध्यता रहेको मरनी पीडा सुनाउनु हुन्छ । कयौं दिन र रात भोकै सुत्ने गरेको मरनी बताउनु हुन्छ । जेठो छोरा रामजी सदा छुट्टिएर बसेको वार्षौ भयो । जेठाछोरा बुहरारीले हेरबिचार नगर्ने गरेको उहाँको भनाई छ । मरनीको तीन जना छोरी छन् । सबैको बिहेबारी भई आ आफ्नो घर गईन् । हेरबिचार गर्ने एक मात्र बुहारी मुन्नी छिन् ।
उहाँले यस पटक आफु नगरपालिका कार्यालयमा पुग्न नसक्दा समाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गर्नुभयो । वृद्धभत्ताबाट पनि लुगाफाटो किन्थे केहि राहत हुन्थ्यो तर त्यो पनि सायद आफ्नो भाग्यमा नभएको मरनीको दुखेसो छ । आफु जस्ती बुढीलाई भग्वानले पनि किन ठाउँ नदिएको भन्दै उहाँले भन्नुभयो “ अव भग्वानले मलाई लग्दा नि हुन्थ्यो ।” 
मिश्रीलालको दुःख 
मुसहर वस्तीका का ५० बर्षीय मिश्रिलाल सादाको घरपरिवारमा छोराछोरी आफै लगायत १० जना सदस्य छन् ।  वर्र्षौंदेखि उनका परिवारका  १० जना सदस्य एउटै छाप्रोमा रात काट्दै आएका छन् । उहाँले भन्नु हुन्छ ‘ बर्षाको बेला घर चुहिएर रातभरी उठेरै सबपरिवार रात काट्नु पर्छ । अहिले जाडो लाग्दा ओड्ने ओछ्याउने नहुँदा परालमै सुत्छौं । परालकै गुन्द्री ओड्छौं । घरमै चुलोमा खाना पकाउँदा आगो लागने डर हुन्छ ” । यसरी नै आफ्ना पुस्ता वर्षौदेखि जीवन काट्दै आएको मिश्रलालको भनाई छ । आफु जंगलबाट दाउरा टिपेर बेचेर र ज्यालामजदुरी गरि घरपरिवार जेनतेन चलाउँदै आएको उहाँ बताउनु हुन्छ ।
टुटेर खस्नै लागे झगरुको घर
झगरु सदाको घर खस्ने अवस्थामा छ । सानो टालीले छाएको छानो घरको बनेरी भाँचिएर अलिक अड्किएको छ । कति बेला खसेर सपरिवार चेपिने ठेगान छैन । तर पनि उनका परिवारका चार जना सदस्य त्यही जीर्ण घरमा रात विताउँछन् । खाना खान्छन् र सुख दुःखका कुरा गर्छन् । दैनिक ज्याला मजदुरी गरी झगरुको परिवार चल्छ । झगरुले भन्नुभयो“ज्याला मजदुरी नगरे साँझ चुलो पनि जल्दैन । यो घरको मर्मतसम्भार कसरी गरु ।” मरनी , मिश्रीलाल र झगरु एउटा सानो उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै केहि कम र केहि बढी सबैका दुःखका कथा व्यथा र जीवन चर्या उस्तै छ । 
मुसहर किन पछि परे ?
महोत्तरीको बर्दिबास अहिले निकै चर्चाको ठाउँ बनेको छ । मधेश आन्दोलनपछि बर्दिबास रातारात चमिकन पुग्यो । त्यपछि बर्दिबास(सिन्धुली (काठमाँडौको विपी राजमार्गलेपनि बर्दिबासको नाम पछिल्लो समय चर्चामा ल्याएको छ । बर्दिबासबाट ६ घण्टामै पूर्वी मधेशबाट  राजधानी पुग्न दु्रत मार्गको प्रवेश बार्दिबासबाटै हुने भएपछि यति खेर बर्दिबास चर्चामा छ । यति हुँदा हुदैं पनि  बर्दिबास  चोक भन्दा ढेड किलो मिटर दक्षिणमा रहेको मुसहर बस्तीको अवस्था कहालि लाग्दो छ । बर्दिबासको सबै स्थानमा राज्यको सुख सुविधान पुगेपनि  दलित मुसहरहरुको पहँुचमा राज्यको सुविधा पुगेको छैन । दिन भरी पसिना बगाएर मालिकको महल ठडिएपनि उनीहरुको सुत्ने घर भने पराले झुपडी छन् ।
प्रजातन्त्र प्राप्तिका पछिल्ला दिनहरुमा आन्दोलन गर्ने, संगठित हुन सक्ने र आफ्नो समुदायको हितमा जनता ओराल्न सक्नेकै कुरा राज्यले सुन्न बाध्य भएको देखिन्छ । तर, मुसहर समुदाय यस हिसाबले अघि बढ्न नसक्दा राज्यका अवसरमा उनीहरुको पहुँच हुन नसकेको जिल्लाका पाका पत्रकार गोपाल बराल बताउँछन् ।राजनीतिक जागरण, सामाजिक सचेतना, शिक्षा र नागरिकका अधिकारबारे अनभिज्ञ हुँदा मुसहरहरु राज्यको आँखामा पर्न नसकेका पत्रकार बरालको भनाई छ ।
पछिल्लो एक वर्षको अवधिमा केहि परिवर्तन
पछिल्लो एक वर्षको अवधिमा अत्यन्त दयनीय मुसहर बस्तमा केहि परिवर्तण आएको छ । समाजिक अभियन्ता तथा पत्रकार राजकरण महतोले दुई वर्ष अघिदेखि त्यस मुसहर वस्तीलाई लक्षित गर्दै समाचार लेख्दै आउनुभएको थियो । तर त्यसबाट पनि केहि सुनुवाई भएन । केहि परिवर्तण भएन । एक वर्ष अघि यहि मौसममा पूर्वपश्चिम सरसफाई अभियानको क्रममा नेपालका हाँस्य व्यंग्य कलाकार तथा वरिष्ट समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिबासमा आउँदा पत्रकार महतोले नजिकै रहेको मुसहर बस्तीमा एक पटक भ्रमण गर्न अग्रह गर्नुभएको थियो । त्यस पश्चात मुसहर वस्तीमा धुर्मुस सुन्तली पुगेदेखि सरसफाई लागयतको विभिन्न अभियानहरु सञ्चालन हुँदै आएको छ । एक वर्ष अघि त्यस वस्तीमा सडकबाटो , विद्यालय, खानेपानी , शौचालय थिएन । तर पत्रकार समाजसेवी र धुर्मुस सुन्तलीको अभियानले अहिले वस्तीमा सडकबाटो बनेको छ । चार महिना अघि विद्यालय बनेको छ । त्यस बस्तीमा सामुहकि र व्यक्तिगत शौचालय निर्माण भएको छ । चार दिन अघि मात्र त्यस वस्तीमा झण्डै ६० वार्ष पश्चात पानी पुगेको छ । यसले गर्दा अहिले मुसहरह वस्तीको मुहार केहि फेरिएको छ ।  
धुर्मुस सुन्तलीले एकीकृत नमुना बस्ती बनाउने घोषणाले मुसहरहरु हर्षित 
पछिल्लो एक बर्ष यता सामाजिक काममा सक्रिय रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेपछि बर्दिबासको मुसहरहरु हर्षित भएका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर मुसहर बस्ती निर्माणमा सम्पूर्ण सहयोगी मनसँग अपिल गरे लगतै मुसहरहरुको अनुहारमा आशाको करिण पलाएको छ । 
भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरेर चर्चा कमाएका उनीहरुले मधेश र पहाडको समाजिक सद्भावको गाँठो बलियो बनाउन बर्दिबासको मुसहर बस्ती निर्माणमा गर्ने घोषणा गर्नु भएको छ । पूर्व(पश्चिम राजमार्ग  सरसफाइका क्रममा गत बर्ष धुर्मुस(सुन्तली यस मुसहर बस्तीमा पस्नु भएको थियो । तराई (मधेसमा बसोबास गरेका दलितहरु मध्य मुसहर जाति सबै भन्दा गरिव र विपन्न मुसहर समुदाय हो ।
भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । सिताराम कट्टेल धुर्मुसले उज्यालोसंग कुरा गर्दै भन्नुभयो “ एक वर्ष अघि त्यस बस्तीमा पुग्दा मुसहरहरुको अवस्था देखेर भावुक भएका थियौं । त्यहीँ बसोबास गर्ने अन्य समुदायहरुको कति सबल छन् । तर त्यहि मुसहर बस्ती कति पिछडिएका र पीडामा बाँचिरहेका छन् । त्यसैले हाम्रो रोजाईमा दुई वटा बस्ती निर्माण पश्चात तेश्रो त्यहि मुसहर वस्ती नै परेको छ ।” 
उहाँले अव १० ।१५ दिन भित्रै एकीकृत नमुना बस्ती निर्माणको काम शुरु गर्ने  र आउँदो बैशाख १ गते भित्र बनाएको घर मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । आफुहरुसमेत त्यस बस्ती निर्माणको लागि लग्ने र सम्पूर्ण सहयोगीहातहरुको सहयोगले बस्ती निर्माण हुने उहाँको भनाई छ । 
कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने धुर्मुश(सुन्तली फाउण्डेशनका परियोजन संयोजक अर्जुन न्यौपानेले बताउनुभयो । जीर्ण छाप्रो फेरीने थाहा पाएका मुसहर समुदायमा कल्पनासमेत नगरेको खुसी छ । तीन पुस्तादेखि पराले झुपडी फेरीने खबरले मुसहरु निकै खुसी छन् । उनीहरुले बुधबार साँझ बस्तीमा दिपावली गर्दै खुसियाली मनाएका छन् ।
स्थानीय कारी सदाले भन्नुभयो ‘ हाम्रो घर बन्छ ,भनेर हामीले जीवनमा कहिले सोंचेकै थिएन । हामी गरिवको जीवन यस्तै हो भनेर दुःखलाई पचाएर बस्यौं । अब हाम्रो पनि अरुको भन्दा राम्रो घर बन्ने भयो ।’ हाम्रो खुसीको सिमा छैन । ”
 जंगलबाट दाउरा ल्याएर जिवीका चलाउने सुनिता सदाले आफुहरुको हाम्रो घर बन्ने खुसीले हामीमा आशाको किरण पलाएको बताउनुभयो । त्यस्तै स्थानीय मनिषा सदाले भन्नुभयो ‘हाम्रो दुःख बुझ्ने पनि कोही छन् । अब नयाँ घरमा सब परिवार खुशीले बस्छौं ।’ अहिले मुसहर वस्तीमा चर्चाको कुरै यिनै हुन् । मुसहरहरुले भन्दैछन् अरुले त के भग्वानले पनि हाम्रा दुःख बुझ्न सकेनन् । तर भग्वान भन्दा ठुला भग्वान हाम्रा लागि धुर्मुस सुन्तली नै छन् । जसले हाम्रो सुखको लागि उहाँले हाम्रा घाउमा मलहम पट्टी लगाउन उभिनुभो । सबैको मनमा उत्साह छ । कल्पना गरिहेका छन् एउटा सुन्दर बस्तीको ।
धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख
 तेस्रो एकीकृत वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ। प्रकाश कोइरालाको लुरेन्स कन्टूक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
नेफ्टा अवार्डमा सहभागी हुन पुगेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफू आएको कोइरालाले बताएका छन्। उनले भने, ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो वस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ ।’
उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए ।  फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन् । 
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनले भनिन, ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन् ।’ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल पनि गरेकी छन् ।

२०७३ पौष १० गते आईतबार
 


 


जटहीमा सहिद दुर्गानन्द झा प्रसुति गृह आफ्नै कार्यकालमा निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाको प्रतिबद्धता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष  २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । नेपालको गणतान्त्रिक आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बाबुराम भट्टराई अर्थ मन्त्री भएको बेलामा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण गरिने घोषणा गरिएको थियो । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री थापाले सहिद दुर्गानन्द झाकी अर्धाङ्गनी काशी देवी झालाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने मन्त्री थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक तथा जिउँदो सहिद ललन चौधरीले सम्मान गरेका थिए । उक्त अवसरमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले केही दिन भित्रै सहिद दुर्गानन्द झाको तस्वीर सहितको हुलाक टिकट नेपाल सरकारले जारी गर्ने बताएका थिए । उक्त अवसरमा नेपाली कांग्रेसका नेताहरु ललन चौधरी, प्रवेश चौधरी, रामपल्टन साह, स्थानीय रोहित चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।
मन्त्री गगन थापाको मन्तव्यको पुर्णपाठ
आज यस पवित्र भुमिमा मलाई टेक्ने अवसर प्रदान गरिदिनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सबैभन्दा पहिले म सहिद दुर्गा नन्द झालाई यहाँ पावन भुमिमा उभिएर उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । उहाँको परिवार प्रति सम्मान  प्रकट गर्न चाहन्छु ।
 म नेपाली कांग्रेसको सदस्य हुँ । जतिखेर हामीहरु १४÷१५ बर्षको उमेरमा नेपाली कांग्रेसको सदस्यता लिँदै थियौं, त्यो बेला थाहा पाएको थोरै नामहरु मध्ये दुर्गा नन्द झा पनि हो । हामीलाई सानै देखि २०४६ सालको आन्दोलन भन्दा अगाडी १३÷१४ बर्षको उमेरमा पञ्चायतका विरुद्ध लड्नका निम्ति जति खेर हाम्रो पार्टीका अग्रजहरु हाम्रो विद्यालयहरुमा आउनु हुन्थ्यो, हामीलाई कामेश्वर कुशेश्वर, दुर्गानन्द झा, रामलक्ष्मण आदिको नाम बताउनु हुन्थ्यो, हामीलाई उत्साहित गर्नु हुन्थ्यो । हाम्रो रगत उमाल्नु हुन्थ्यो त्यसपछि दुर्गानन्द झाले जुन बाटो हिड्नु भयो त्यो बाटो हामी पनि हिड्न सक्छौ भन्ने उद्देश् यबोकेर सडकमा आउँथ्यौं । त्यही पार्टीमा काम गर्ने शिलशिलामा धेरै पछाडी जतिखेर नेपालको राजशाही विरुद्धको आन्दोलनलाई हामीले उठाउने चरणमा पुगेका थियौं, त्यो बेलामा हाम्रो पुस्ताले एउटा सपना देख्यो । नेपालमा कति पुस्ताले राजाका विरुद्धमा आन्दोलन गर्ने । अब यो  लडाईलाई हामीले अन्तिम लडाई बनाउनु पर्छ । नेपालमा गणतन्त्र सम्भव छ, अबको आन्दोलन प्रजातन्त्रको लागि होइन गणतन्त्रको लागि गर्नुपर्छ भनेर पछिल्लो पटक सम्भवतः जनआन्दोलन र शान्तिपुर्ण आन्दोलनमा लागेको मानिसहरु मध्ये त्यही गणतन्त्रको विषय उठाउँदै गर्दा दुई पटक राजद्रोहको मुद्दा खेपेको मान्छे हुँ म । तर, मैले त त्यो मुद्दा खेपेर त्यसबाट बाहिर निस्किएर तपाईहरुको बीचमा उभिने मौका पाएको छु । म जस्तो राजद्रोहीहरुका निम्ति त्यो प्रेरणापुन्ज भनेको सहिद दुर्गानन्द झा जस्तो व्यक्तिहरुले देखाउनु भएको बाटो, जसले त्यतीखेर साहास गर्नुभयो कि नेपालमा राजशाहीको अन्त सम्भव छ, भन्ने सपना धेरै बर्ष पहिला तन्नेरी भएको अवस्थामा उहाँहरुले देख्नुभएको पदचापलाई हामीले पन्छयाउने प्रयास गरेको मात्रै हो । त्यो आँट, त्यो हिम्मत, त्यो साहस त्यही बाट हामीले प्राप्त गरेको हो ।
यही पृष्ठभुमिमा अहिले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालिरहँदा स्वास्थ्य मन्त्रालयकै केही कार्यक्रममा आईरहेको बेलामा मलाई जनकपुर विमान स्थलमा मेरो केही साथीहरुले यो अस्पतालको बारेमा बताउनु भयो । त्यहाँ यसरी अस्पतालको घोषणा गरिएको थियो । तर, घोषणा गरेको बर्षौं वितेपनि अलपत्र ्परेर बसेको छ । त्यति भनेपछि मैले नै मेरो साथीहरुलाई अनुरोध गरेर भनेको हुँ कि म त्यो ठाउँमा एक पटक जान चाहन्छु, त्यो माटोमा एक पटक उभिन चाहन्छु, गएर आफै हेर्न चाहन्छु । किनकी नेपालको गणतान्त्रिक आन्दोलनको पहिलो सहिद दुर्गानन्द झा प्रति मेरो आफ्नो पनि कर्तव्य हो कि जसको बाटो मैले पछ्याएँ, आज मैले जिम्मेवारी पाएको बेलामा यो कुनै बेला डा. बाबुराम भट्टराई अर्थ मन्त्री हुनु भएको बेलामा घोषणा गरिएको छ । त्यस पछाडी यतिकै अलपत्र परेर बसेको अवस्था जुन रह्यो, अब यसलाई टुङ्गयाउने जिम्मेवारी मेरो हो । त्यो जिम्मेवारी बोधका साथ म तपाईहरुको बीचमा आएको छु ।
यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यहाँहरु सबैको परिवारको सदस्यहरुले कागजात वा विवरणहरु दिनुस । किनभने स्वास्थ्य मन्त्रालयले काम सुरु गर्नका लागि औपचारिक रुपमा यसको जग्गा हाम्रो नाउँमा आएको हुनुपर्दछ । नभए हामीले चाहेर पनि बजेट प्रयोग गर्न सक्दैनौं । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।

२०७३ पौष १० गते आईतबार

Wednesday, December 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

कस्तो मुर्ख अस्पताल बनाईदिन जग्गा दान गरेको हामीलाई दिए हुन्थ्यो नि ! बालुवा, गिट्टीको सट्टा जग्गै बेचेर खान्थे बा !

२०७३ पौष ०३ गते आईतबार

एकिकृत सहरी विकास परियोजनाको ढल निर्माण कार्यमा व्यापक अनियमितता, ठेक्केदार प्रतिनिधिको पक्षमा धनुषाको सिडिओ

एकिकृत सहरी विकास परियोजना अन्तरगत निर्माण भईरहेको ढलमा अनियमितता पाइएको छ ।
ढलको तल बालुवा राख्नुपर्नेमा राखिएको छैन,
 ढलको जोड्नीमा राख्नुपर्ने मापदण्ड अनुसारको
स्लेव राखिएको छैन, खाल्डोमा रहेको पानीको
 डिवाटरिङ गरिएको छैन ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालकै प्राचिन सहरहरु मध्ये एक हो, जनकपुरधाम । प्राचिन मिथिलाका राजधानीका रुपमा स्थापित रहेको यो सहर पौराणिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकिय रुपले विश्वमै प्रख्यात रहेको छ । तर, आधुनिक जनकपुरधामको अवस्था कुरुप सहरको रुपमा विख्यात हुन गईरहेको छ । फोहोरमैला, ढल व्यवस्थापन नभई पानीको निकास नहुनु, सडक कतै देखा नपर्नु, लामखुट्टेको राजधानीको रुपमा जनकपुरको पहिचान बन्न थालेको पाइन्छ । छाडा चौपाया, गाईबस्तु, सुँगुर, अव्यवस्थित सहर, साँगुरो बाटो आदि यस सहरको प्रमुख समस्याको रुपमा रहेको छ । ती सबै समस्याहरुलाई समाधान गर्न एसियाली विकास बैंकको सहयोग तथा लगानीमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाको स्वामित्वमा एकिकृत सहरी विकास परियोजनालाई हेरिएको छ । करोड रुपैयाँको बजेट मात्र देखिरहेको जनकपुर नगरपालिका अब उपमहानगरपालिका भएपनि उसको आफ्नो आर्थिक क्षमता, सामर्थय र बजेट विनियोजन अत्यन्तै कम रहेको छ । यस्तो अवस्थामा करिब १ अर्ब रुपैयाँको लगानीमा जनकपुरमा ढल निर्माण, सडक निर्माण, फोहोर मैला व्यवस्थापन तथा जनचेतना मुलक कार्यक्रम सहित परियोजना लागु भएको छ । उक्त परियोजना अन्तरगत अहिले जनकपुरमा ढल निर्माणको कार्यहरु प्रारम्भ भएपनि थुप्रै अनियमितता पाइएको छ । गुणस्तरहिन कार्य भईरहेको भन्दै जनकपुरका यूवा विद्यार्थीहरु नेताहरु ज्ञानेन्द्र झा ज्ञानु, कृष्णा सिंह, भवेश मिश्र, सुदर्शन सिंह, सुशिल कर्ण, जानी खान, लव कुमार झा आदिले असंतुष्टि जनाएको छ । यता जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले एक सप्ताहमा गुणस्तरहिन कार्य नरोकिए जस्तो सुकै आन्दोलन पनि गर्न पछि नहटने चेतावनी समेत दिएका छन् ।
२३ डिसेम्बर २०१५ मा सडक र ढल निर्माण गर्नका लागि जेडआईइसि÷शर्मा जेभीका आधिकारिक प्रतिनिधि रमेश शर्मा र उक्त परियोजना बीच ९८ करोड रुपैयाँको लागतमा ३०.३८ किलोमिटर ढल निर्माण र ९.२७ किलोमिटर पक्की सडक निर्माण गर्ने सम्झौता भएको थियो । २२ फेब्रुवरी २०१६ देखि उक्त निर्माण कम्पनीले कार्य सुरु गरेको ७ सय ३० दिन भित्रमा अर्थात २१ फेब्रुवरी २०१८ मा कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त निर्माण कम्पनीको तर्फबाट प्रतिनिधिका रुपमा आफुलाई समाजसेवी भन्ने निर्माण व्यवसायी बलराम महतो खटिएका छन् ।
निर्माण व्यवसायीको तर्पmबाट बलराम महतोले प्रस्तुत गरेको कार्ययोजनाको सूचिमा ५ सय २० दिनमा एनपी २ र एनपी ३ सहितको ह्यूम पाइप विछाईसक्ने बताएको छ । पछिल्लो समयमा भएको आन्दोलन तथा सार्वजनिक विदाहरुका कारण ५० दिन काम गर्न नसकिने र २ सय ४३ दिन भित्रमा ह्यूम पाइप विछाउने कार्य सम्पन्न गरिसक्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको पाइन्छ । यसरी हेर्ने हो भने ५ सय २० दिनमा करिब ३१ किलोमिटर पाईप विछाइनुपर्ने हो । अहिले सम्मको अवस्थामा अर्थात २ सय ४३ दिन भित्रमा करिब १४ किलोमिटर पाईप विछयाइनुपर्ने हो । तर, बास्तवमा अहिलेको प्रगति हेर्ने हो भने आजको दिनसम्ममा करिब ५ किलोमिटर मात्र ह्यूम पाईप विछयाइएको छ । प्रतिशतको आधारमा हेर्ने हो भने सय प्रतिशत काम हुनु पर्नेमा करिब ३३ प्रतिशत कार्य मात्र गरिएको छ । आजको दिनसम्ममा करिब ११ किलोमिटर जतिको लागि ह्यूम पाईप मौज्दातमा रहि  ३ किलोमिटर मौज्दात घटी रहेको बुझिएको छ । व्यावसायीक उत्पादनको काम अक्टुवर महिनामा प्रारम्भ भएतापनि भार संतुलन परिक्षणको अभावमा जडान गर्ने काम हुन सकेको छैन ।
उक्त निर्माण व्यवसायीले हालसम्ममा कुल ३ सय ५५ वटा मेन होल निर्माण गरिसक्नुपर्नेमा कुल ३४ वटा मात्र मेन होलको काम आंशिंक रुपमा मात्र गरिएको छ । किनभने निर्माण गरिएका मेन होलको अन्य कामहरु प्लास्टर, पनिङ, भर्याङ, कभर राख्ने कामहरु बाँकी नै रहेको छ ।
परियोजनाको निर्माण कार्यमा अनियमितता
अनुगमनका क्रममा पाईपको जोड्नी मुनि
राखिएको स्लेव भत्किएको पाइएको थियो ।
एक त कछुवाको गतिमा निर्माण कार्य भईरहेको छ त्यसमा पनि गुणस्तरहिन कार्य गरिनुका साथै व्यापक अनियमितता भएको भन्दै जनकपुरका स्थानीय यूवाहरुको समुहले २३ मंसिर २०७३ मा जनकपुरको मुरली चौक देखि विश्वकर्मा चौकसम्म भईरहेको निर्माण कार्य रोकेको थियो । पछि एकिकृत सहरी विकास परियोजनाका म्यानेजर गंगाप्रसाद यादव र कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झा लगायतको टोलीले स्थलगत निरीक्षण गर्दा पनि अनियमितता पाइएको थियो । सम्झौता अनुसार ह्यूम पाईप विछ्याउने क्रममा १२ सय, १ हजार तथा ९ सय सेन्टिमिटर डायामिटरको पाईप जोडनीको मुनितिर (१००ह५० ह १०) सेन्टीमिटर साइजको एम २० गे्रडको प्रिकास्ट स्लायव डाया मिटर ७ सय ५० तथा डाया मिटर ६ सय से.मि.को पाईप जोडनीको मुनि तिर (५० ह ४०ह१०) से.मि. साइजको एम २० ग्रेडको प्रिकास्ट स्लायव राख्नुपर्ने हो । त्यसैगरी ज्वाइन्टमा रबर गैसकेट राख्नुपर्ने, एलाेंग द पाइप मुनितिर २० सेन्टीमिटर मोटाईमा स्यान्डबेडिङ अर्थात ह्यूम पाईप को तल बालुवा विछ्याउनुपर्ने हो । यति मात्र होइन ह्यूम पाईप विछ्याउने क्रममा करिब ३ मिटर गहिराईको खाल्डो खन्दा ठाउँ ठाउँमा छेउ तिरको ढलको पानी कतिपय ठाउँमा खानेपानीको पाईप फुटी पानी लिकेज हुने गरेको छ । कहिँ कहिँ बेडबाटै पानी रसाउने देखिएकोले त्यस्ता ठाउँमा डिवाटरिङ अर्थात पम्प सेट राखेर पानी निकालेर त्यसको समुचित व्यवस्था मिलाई ह्यूम पाईप विछ्याउनुपर्ने कुरा सहितको प्रावधान सम्झौतामा उल्लेख रहेको छ । तर, उक्त दिन गंगा प्रसाद यादव र बद्रीनाथ झा सहितको संयूक्त टोलीले जनकपुरको मुरली चौक स्थित पुर्वतर्फ र पश्चिम तर्फ गरिएको कामको अवलोकन गर्दा सम्झौता अनुसार रितपुर्वक काम नभएको पाइयो । त्यसको स्थलगत मुचुलका पनि उठाइएको थियो जसमा स्थानीयवासीहरुका साथ साथै परियोजना प्रमुख गंगा प्रसाद यादव र कन्सलटेन्ट बद्रीनाथ झाको समेत हस्ताक्षर गरिएको छ ।
शिलान्यास भएको ठाउँ राराब क्याम्पसको पुस्तकालय भवनको अगाडी, बसहिया रोडको वरिपरी, बुधवारे हटिया नजिक होटेल नमस्तेको बरिपरी पिडारी चौक देखि भानु चौकका बीच, जनकपुर चुरोट कारखाना, रामा होटेल भानु चौक, रहमान पथ, एस ३ आउट फलको पश्चिम भाग, मालपोत कार्यालय देखि भमरपुरा चौक बीचको ठाउँ  २ मा यस्तै पानीले प्रभाव पारेको खाल्डोहरु पाइन्छ । अर्थात ती खाल्डोहरुमा डिवाटरिङ नगरि पाईप विछ्याइएको छ ।
अनुगमनका क्रममा खाल्डोमा रहेको पानीलाई डिवाटरिङ
नगरी पानीको दलदलमै पाईप विछाएको पाइएको थियो ।
निर्माण कम्पनीले उक्त ठाउँहरुमा काम व्यवस्थापनको लागि सोरिङ प्लेट, स्लज पम्प, रोड बेज, फुट बेज, फेन्सेज तथा सेफ्टी आदिको व्यवस्था मिलाउन महिनौ व्यतित गर्नु परेको भएपनि हालसम्म सोरिङ प्लेट  तथा पम्प काम गर्ने अवस्थामा नरहेकोले एक्सभेटरको बकेटबाट डिवाटरिङ तथा एक्सटूा अर्थ वर्क अर्थात अतिरिक्त माटो सडकमा राख्नुपर्ने बाध्यता छ । तर, कार्यको प्रगति विवरण भने न्यून देखिएको छ ।
यसका अतिरिक्त ह्यूम पाईपको आफ्नो प्रोडक्सन प्लान्ट नभएको, सप्लायरबाट आवश्यकता अनुसारको पाईप अथा समयमा आपुर्ति हुन नसकेको, आफ्नो प्रोडक्सन प्लान्टको कमर्शियल प्रोडक्सन १५ जुन २०१६ देखि हुनुपर्नेमा अक्टुवर २०१६ देखि मात्र भएको र उत्पादन भएको पाईपको लोड वियरिङ टेस्ट हालसम्म पनि नगरिएको हुनाले ह्यूम पाईप विछ्याउने कार्य प्रभावित हुन पुगेको अवस्था रहेको सुपरिवेक्षण कार्यका लागि खटिएका कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झाको भनाई छ । बेला बेलामा रबर गेसकेटको अभावले पनि काम प्रभावित हुन पुगेको देखिन्छ । निर्माण व्यवसायी तर्फ हुनुपर्ने प्राविधिक जनशक्तिको अभाव, दक्ष कामदार खास गरी डकर्मीको अभावमा मेन होलको काम प्रभावित भएको हो । ह्यूम पाईप विछ्याउने कार्य भईरहेको भएपनि व्याक फिलिङको काम, लेयर वाईज अर्थात तहगत कम्प्याक्सनको काम सम्झौता अनुसार नगरि अधुरो र अपुरो रहेको छ । यसका अतिरिक्त पाईप विछ्याउने क्रममा पुनरस्थापनको कार्य पनि गरिएको छैन ।
यस अघि पनि परियोजना प्रमुख र कन्सलटेन्टको संयूक्त अनुगमनका बेला बसहिया रोड, पिडारी भानु चौक क्षेत्र लगायत अन्य विभिन्न सडक खण्डहरुमा मापदण्ड विपरित डिफेक्टेड हयूम पाईप र स्लेवहरु पाइएको थियो । जसलाई रिजेक्ट गरिसकिए पनि तिनीहरुको प्रयोग गरिएको र काम नलाग्ने सामानहरु कार्य स्थलबाट हटाउनका लागि निर्माण व्यवसायीलाई मौखिक र लिखित निर्देशन दिँदादिदै पनि निर्माण व्यवसायीले अवज्ञा गरेको पाइयो । २३ मंसिर २०७३ मा मुरली चौक पश्चिमको साइटमा पनि त्यस्तै भत्किएको ह्यूम पार्ईप, स्लेव आदिहरु पाइएको थियो । त्यस्ता रिजेक्टेड सामग्रीहरुको निर्माण कार्यमा प्रयोग गरिरहेको स्थानीय यूवाहरुले आशंका व्यक्त गरेका थिए । यति मात्र होइन निर्माण गर्दा ह्यूम पाईपको तल २० सेन्टीमिटर मोटाईमा बालुवा राखेर पाईप विछ्याउनुपर्नेमा बालुवा नराखेको पाइयो । ह्यूम पाईपको भालेपोथि ज्वाइन्ट गर्ने ठाउँमा राख्नुपर्ने स्लेव मापदण्डको अनुसार नभएर भत्केको कमजोर स्लेव प्रयोग गरेको पाइएको थियो । त्यहाँ रहेका पानीलाई डिवाटरिङ गरिएको थिएन । बालुवा सडकमा कहिँ कतै मौज्दातको रुपमा रहेको पाइएन । ग्राभल समेत पाइएन । यसरी हेर्ने हो भने उक्त परियोजनाको कार्य अवधि अब करिब १५ महिना मात्र बाँकी रहेको अवस्थामा र कार्य बोझको परिणाम बढी नै बाँकी रहेको अवस्थामा कार्य थप प्रभावित हुने प्रसस्त आधारहरु देखिन्छ ।
३ मंसिर २०७३ मा जनकपुरका यूवाहरु तथा परियोजनाका म्यानेजर, कन्सलटेन्ट टिम लिडर र ठेक्केदार प्रतिनिधि सहितको संयूक्त अनुगमन
पछि देखिएको त्रुटि विषयमा उठाइएको मुचुल्का ।
२८ सेप्टेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले १२ सय मिलिमिटर व्यास बाहेक अन्य व्यासको हयूम पाईपहरु नदेखिएको, रब्बर ग्यासकेटको पर्याप्त मौज्दात नदेखिएको, ह्यूम पाईपहरुको आपुर्ति नगरिएको, आपुर्ति गरिएकाहरु मध्ये केही त्रुटिपुर्ण भई प्रयोगका लागि अयोग्य देखि रिजेक्ट गरिएको हुनाले ती सबै रिजेक्ट सामग्रीहरुलाई कार्यस्थलबाट हटाउन, त्यस्ता सामग्रीहरुका कारण स्थानीयवासीहरुको आवतजावतमा समेत समस्या भईरहेको, २२ अगस्त २०१६ मा पाईप विछ्याउँदा व्याक फिलिङको काम अर्थात माटोलाई पुनः रोलर चलाई पुर्ववत्त अवस्थामा नल्याएको, सवारी आवागमनमा कठिनाई भएको भन्दै जेडआईइसि÷शर्मा जेभीका ठेकेदार प्रतिनिधि बलराम महतोलाई प्रष्ट रुपमा पत्र मार्फत लिखित रुपमै निर्देशन दिइएको टिम लिडर झाले बताउने गरेका छन् । तर पनि निर्देशन अनुसार काम गरिएको पाइन्न ।
१४ डिसेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले जेडआईइसि÷ शर्मा जेभीका प्रोजेक्ट म्यानेजरलाई नै पत्र लेखेर प्रष्ट रुपमा ताकेता गरेको पाइन्छ । रिजेक्ट गरिएका भत्किएका ह्यूम पाईप तथा स्लेवहरुलाई कार्यस्थलबाट जतिसक्दो चाँडो हटाउन, खाल्डोमा पानीहरु रहेकाले त्यसलाई हटाउनका लागि उपयूक्त व्यवस्थापन गर्न तथा २० से.मि.को मोटाईको सेन्ड ग्राभल राख्न, कम्पेक्सन गर्न,  विभिन्न ठाउँमा खाल्डो खन्ने क्रममा खानेपानीको पाईप फुटेर अवरुद्ध भएको खानेपानीको वितरण सुचारु गराउन जतिसक्दो चाँडो व्यवस्था मिलाउन भनिएको छ । यति मात्र होइन विभिन्न डायमिटरका स्पाईगट टाईपको ह्यूम पाईपको उत्पादन तथा आपुर्ति गर्न पहिले भनिएपनि हालसम्म नभएको भन्दै ताकेता गरिएको छ ।
खानेपानीको पाईप ब्लक गरेपछि उपभोक्तालाई समस्या
ढल निर्माणका क्रममा उक्त निर्माण कम्पनीले खाल्डो खन्ने तथा हयूम पाईप विछाउने क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय जनकपुरद्वारा जडान गरिएको पाईप ठाउँ ठाउँमा भत्काईएको छ । ढल निर्माणको काम अगाडी वढाएपछि खानेपानीको पाईपलाई काटी काठको प्लग ठोकी खानेपानीको आपुर्तिलाई अवरुद्ध पारिएको छ ।
 यसरी ती पाईपहरु भत्काएर अवरुद्ध गरिएपछि सहरका सयौं नागरिकहरु खानेपानीको सुविधा प्राप्तिबाट बञ्चित हुन पुगेको छ । नमस्कार होटेल, मालपोत कार्यालय देखि मुरली चौक हुँदै विश्वकर्मा चौक सम्म, परिक्रमा सडक, थापा चौक देखि भानु चौक, पेठिया बजार स्थित रहिम पथ, कन्या पाठशाला लगायतका ठाउँहरुमा जडान गरिएको खानेपानीको पाईप भत्काइएको हो ।
नेपाल खानेपानी संस्थान कार्यालय धनुषाका कार्यालय प्रमुख सुरेश कुमार महतोका अनुसार ती निर्माण कम्पनीका प्रतिनिधि बलराम महतोलाई भत्काएर अवरुद्ध गरेको खानेपानीको पाईप जडान गर्न पटक पटक ताकेता गरेपनि कुनै सुनुवाई नै नगरेको हो । करिब ४ सय देखि ५ सय उपभोक्ताहरु त्यसकारण खानेपानी सेवन गर्नबाट बञ्चित हुन पुगेको छ, खानेपानी सुचारु नै नभएपछि उपभोक्ताहरु अब खानेपानीको जडान गरिएको लाईन समेत काटिदिनका लागि आवेदन दिन थालेका छन् । खानेपानी पनि नपाउने र न्यूनतम महसुल बुझाउनु नै पर्ने हुनाले ती उपभोक्ताहरु लाईन काटिदिन भन्दै आवेदन दिन थालेको हो । यसरी खानेपानी अवरुद्ध भएपछि मासिक ३ लाख जतिको महसुल सहितको रकम खानेपानी संस्थानलाई घाटा भईरहेको तथा १० लाख रुपैयाँ भन्दा वढीको पाईप भत्काईएको कार्यालय प्रमुख महतो बताउँछन् । करिब ३ महिना देखि ती ठाउँहरुमा खानेपानीको वितरण हुन सकिरहेको छैन ।
खानेपानी संस्थानले गाल्भोनाइज्ड आयरण र डक्टाईल आईरन सहितको पाईप जडान गरेको थियो । तर, एकिकृत सहरी विकास परियोजनाका डेपुटी म्यानेजर विरेन्द्र यादवले पोलिथिन पाईप जडान गर्न दिनुस भनेर दवाव दिएको सुनाउँदै खानेपानीका कार्यालय प्रमुख महतो भन्छन,“ जे पाईप हामीले जडान गरेका हौं त्यही पाईप लगाउनु पर्ने हुन्छ । विरगञ्जमा पनि त्यसै गरिएको हो । हामीले आफ्नो खानेपानी संस्थानका महाप्रवन्धक डा.अर्जुनबाबु ढकाललाई समेत जानकारी गराउँदा त्यो निर्माण कम्पनीले जुन अवस्थामा पाईप थियो सोही अवस्थामा ल्याउनु पर्ने बताएका छन् ।”
काम भन्दा वढीको भुक्तानी
निर्माण प्रतिनिधि बलराम महतोले अहिलेसम्ममा पहिलो पटक मोविलाईजेसनको पेश्की बापत पहिलो पटक १० प्रतिशत बापत ८ करोड ५४ लाख ६२ हजार तथा ५ प्रतिशत बापत ४ करोड २७ लाख ३१ हजार ३ सय ९० गरी जम्मा १२ करोड ८१ लाख ९३ हजार ३  सय ९० रुपैयाँ पहिलो किस्ता बापत भुक्तानी पाईसकेको छ । हालसम्म पाईप लेईङ र अन्य  कामहरु बापत विभिन्न तीन चरणमा तीन वटा रनिङ बिलबाट करिब १० करोड ७५ लाख १० हजार ३ सय २७ गरी कुल २३ करोड ५७ लाख ३ हजार ७ सय १७ रुपैयाँको भुक्तानी प्राप्त गरिसकेको छ । यसरी हेर्ने हो भने काम उनले एक चौथाई गरेका छैनन् तर भुक्तानी भने करिब एक चौथाईको पाईसकेका छन् ।
टिम लिडर र ठेक्केदार प्रतिनिधि हटाउने खेल
परियोजनाका ठेक्केदार प्रतिनिधि बलराम महतोको प्रशंसा तथा बचाऊ गर्दै र कन्सलटेन्टका टिम लिडर
बद्रीनाथ झालाई हटाउन धनुषाका सिडिओ दिलिप चापागाईले
कन्सलटेन्टलाई लेखेको पत्र ।
बलराम महतो बास्तवमा अहिले तराई मधेसमा निर्माण व्यवसायीमा बादसाह बनेका छन् । धेरै परियोजनाहरु उनकै मातहतमा रहेको रमन कन्स्टूक्शन कम्पनीले पाएका छन् । जस्तै हुलाकी सडक अन्तरगत जनकपुर(जलेश्वर भिठ्ठामोड सडक, जनकपुर देखि कदम चौक हुँदै बल्हा सघारासम्मको सडक, रेल्वेमा पेटी कन्टूेक्ट, विभिन्न ठाउँमा पुल निर्माण आदि परियोजनाहरु उनको मातहतको कम्पनीले ठेक्का प्राप्त गरेको छ । तर, अन्तराष्टिूय स्तरको ठेक्काका लागि आह्वान गरिएको एकिकृत सहरी विकास परियोजना अन्तरगतको जनकपुरको सडक तथा ढल निर्माणका लागि उनको कम्पनीको योग्यता नपुगेपछि जेडआईइसि÷ शर्मा जेभीले पाएको हो । त्यसपछि उक्त कम्पनीले बलराम महतोलाई आफ्नो कम्पनीको प्रतिनिधिको रुपमा पठाएको छ । जसमा उनको कम्पनी रमण कन्स्टूक्शनको नाम निसान पनि छैन । त्यसपछि उनले सोही परियोजनामा सव कन्टूेक्टरको रुपमा आफु र आफ्नो कम्पनीलाई मनोनयन गरि पाउ भनेर आवेदन दिएपछि उनलाई कन्सलटेन्ट टिम लिडर बद्रीनाथ झाले अस्वीकार गरेका थिए ।
४ अक्टुवर २०१६ मा टिम लिडर झाले एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादवलाई लेखेको पत्रमा के भनिएको छ भने ३ अक्टुवर २०१६ मा ठेक्केदार प्रतिनिधि बलराम महतोले टिम लिडर झालाई दुव्र्यवहार गर्नुका साथै परियोजनाका कामलाई समेत प्रतिकुल असर पारिरहेकोले त्यसतर्फ गम्भीरताका साथ ध्यान दिन अनुरोध गरिन्छ । त्यसपछि ५ अक्टुवर २०१६ मा परियोजना अधिकृत गंगा प्रसाद यादवले टिम लिडर झालाई दिएको जवाफ सहितको पत्रमा के भनिएको छ भने परियोजनाको निर्माण कार्यका लागि निर्माण कम्पनीका प्रतिनिधि बलराम महतो विरुद्ध कारवाही चाँडै अगाडी वढाईने छ ।

गुणस्तरहीन कामको विरोध गर्दै जनकपुरका यूवाहरु
मुरली चौकमा परियोजनाको काममा रोक लगाउँदै ।
१६ अक्टुवर २०१६ मा टिम लिडर झाले जेडआईइसि÷ शर्मा जेभीका आधिकारीक प्रतिनिधि सव कन्टेूक्टरको रुपमा रमन कन्स्टूक्शन कम्पनीलाई मनोनित गरी नियूक्त गर्न जेडआईइसि÷शर्मा जेभीले भनेको थियो । परियोजनाको कुल कामको ९५ प्रतिशत जिम्मेवारी रमन कन्स्टूक्सनलाई दिन भनिएको छ, अन्तर्राष्टिूय स्तरको ठेक्का भएका कारण उनलाई दिन सकिँदैन भनिएको छ । त्यसको कारणमा रमन कन्स्टूक्शनलाई आवश्यक पर्ने उपकरणहरु, जनशक्तिहरु, सामग्रीहरु ठेक्का स्वीकार गर्दा योग्यता तथा ती मापदण्डहरु हुनुपर्ने भन्ने शर्तमै ठेक्का जेडआईइसि÷ शर्मा जेभीलाई दिएको हो । तर, रमन कम्पनीसँग ती सबै कुराहरुको अभाव देखिन्छ । चालु कार्यको प्रगति पनि अत्यन्तै न्यून छ । ह्यूम पाईप उत्पादनका लागि आफ्नै कारखाना हुनुपर्ने, क्याम्पको स्थापना हुनुपर्ने आदि कुराहरु पनि नरहेकाले रमन कन्स्टूक्शनलाई उक्त परियोजनाको ९५ प्रतिशतको साझेदार बनाउन नसकिने झाद्वारा जेडआईइसि÷ शर्मा जेभीलाई लेखिएको पत्रमा उल्लेख छ ।
त्यसैगरी १६ अक्टुवरमै ठेक्केदार प्रतिनिधिको रुपमा रहेको बलराम महतोलाई कारवाही गरी उनलाई हटाएर उनको ठाउँमा अर्को उपयूक्त प्रतिनिधि पठाउनका लागि टिम लिडर झाले शर्मा जेभीलाई पत्राचार गरेको पाइन्छ । १७ अक्टुवर २०१६ मा परियोजनाका प्राजेक्ट म्यानेजर गंगा प्रसाद यादवले जेडआईइसि÷ शर्मा जेभीलाई पत्र लेखेर ठेक्केदार प्रतिनिधि बलराम महतोका कारण परियोजनाको कार्यमा प्रतिकुल असर परिरहेकोले प्रतिनिधिलाई हटाई अर्को प्रतिनिधि चयन गरी पठाउन भनिएको छ । तर, त्यसको ३ दिन पछि केही ठुलै चलखेल हुन्छ र २० अक्टुवर २०१६ मा परियोजनाका प्रोजेक्ट म्यानेजर जो ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउने कुरा गरिरहेका हुन्छन्, अचानक टिम लिडर झालाई नै हटाई अर्को टिम लिडर पठाउनु पर्छ भन्दै कन्सलटेन्ट कम्पनीलाई पत्राचार गर्छन् । यो कुरा किन पनि रहस्यपुर्ण छ भने अब गंगा प्रसाद यादवको के तर्क छ भने टिम लिडर बद्रीनाथ झाको काम गराईलाई लिएर स्थानीय माहौल नरहेको, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय जनता समेत उनको विपक्षमा रहेकोले टिम लिडर बद्रीनाथ झालाई हटाउनु पर्छ ।
बलराम महतोको बचाऊ गर्दै टिम लिडर झा हटाउन सिडिओको रहस्यमय चासो
२० अक्टुवर २०१६ अर्थात सोही दिन ४ कार्तिक २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले पनि स्वावजेभी डिएससी कन्सलटेन्टलाई पत्राचार गरी टिम लिडर बद्रीनाथ झालाई हटाउन भन्दै पत्राचार गरेको पाइयो । आयोजना संचालनको सम्बन्धमा केही महिना अगाडी देखि निर्माण व्यवसायी प्रतिनिधि र टिम लिडर बीचमा केही द्विविधाहरु देखिएको भन्दै दुई पक्ष बीच उत्पन्न मनोमालियले परियोजना निर्माणको कार्य सम्पन्न हुनमा ढिलाई हुने तर्क गरिएको छ । प्रजिअ चापागाईले लेखेको उक्त पत्रमा ठेक्केदार प्रतिनिधिको प्रशंसा गरिएको छ । हालसम्मको आयोजना निर्माणको अवस्था र विभिन्न समयमा भएका छलफल समिक्षाबाट समेत निर्माण व्यवसायी प्रतिनिधिको उपस्थिति र आयोजना समयमा नै सम्पन्न गर्न देखाएको तदारुक्ताको उच्च मुल्याङ्कन र प्रशंसा गर्नुपर्छ, प्रजिअ चापागाईद्वारा जारी पत्रमा लेखिएको छ । छलफलमा टिम लिडर झाले पेश गरेका बिचारधारणा र आयोजनालाई समयमा सम्पन्न गर्ने सम्बन्धमा देखाएको उदासिनतालाई यहाँको नागरिक समाज, राजनीतिक पार्टी, सरोकारबाला तथा प्रशासनले समेत अपेक्षित ठान्ने अवस्था देखिएन भन्दै  प्रजिअ चापागाईद्वारा लेखिएको पत्रमा के पनि भनिएको  छ भने यस नगरका नागरिकमा आयोजना छिटो सम्पन्न गरी चाँडो भन्दा चाँडो लाभ लिने तिब्र चाहना बढीरहेको सन्दर्भमा स्थानीय मुल्य मान्यता र एक अर्को प्रति हेर्ने दृष्टिकोण तथा व्यवहार समग्र अवस्थालाई विश्लेषण गर्दा हालको टिम लिडर राखिराख्न उपयूक्त हुने नदेखिएकोले हालका टिम लिडरलाई तत्काल अन्यत्रको जिम्मेवारी दिई अर्को टिम लिडरको व्यवस्था गरी आयोजनाको शिघ्र सम्पन्न गर्ने कार्यमा सहयोगका लागि अनुरोध गर्दछु ।
रोचक कुरा के छ भने यस अघिसम्म ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउनु पर्ने विषय कारवाहीको प्रक्रियामा अघि वढीरहेको बेला कन्सलटेन्टका प्रतिनिधि झालाई नै हटाउन जिल्लाको सिडिओले किन चासो लियो त ? गुणस्तरहीन काम गरि अनियमितता गरिरहेका ठेक्केदार प्रतिनिधि बलराम महतोको पक्षमा एउटा सिडिओले किन वकालत गर्यो ? स्थानीय वासीहरुका अनुसार ठेक्केदार प्रतिनिधि बलराम महतोले आर्थिक चलखेल गरी परियोजना म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई आफ्नो पक्षमा पार्न सफल भएको घटना क्रमहरुले पनि पुष्टि गर्छ ।
कन्सलटेन्टको जवाफ
कन्सलटेन्टका आधिकारिक प्रतिनिधि डा.श्याम कुमार मानन्धरले २० अक्टुवर २०१६ मै परियोजनाका म्यानेजर गंगा प्रसाद यादवलाई दिएको जवाफमा आफुहरुको टिम लिडर झाको कार्यबाट आफुहरु पुर्णतः संतुष्ट रहेको, झालाई हटाउन आवश्यक तथ्य र प्रमाणहरु नदिएको भन्दै बरु झालाई हटाउनुपर्ने कुनै ठोस आधार वा कारण रहेको छैन ।
उनलाई हटाउन यसरी दवाव दिए सम्झौता नै भंग गर्नुपर्ने अवस्थासम्म आउन सक्ने चेतावनी पत्र मार्फत दिइएको छ ।
यसरी हेर्ने हो भने उक्त परियोजनाका सम्बन्धित पक्षहरु एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेल, निर्माण कम्पनीका ठेक्केदार प्रतिनिधि बलराम महतो र डिजाइन कन्सलटेन्ट तथा सुपरिवेक्षण कार्यका टिम लिडर बद्रीनाथ झा रहेका छन् । यसरी हेर्ने हो भने टिम लिडर झाले परियोजनाको कार्यमा अनियमितता हुन नदिनका लागि बेला मौकामा सदैव सचेष्ट गराउँदा गराउँदै पनि ठेक्केदार प्रतिनिधिले टेरपुच्छर नलगाएको पाइन्छ । त्यसैले उनलाई हटाउन सबै एकमत भएको पाइन्छ ।
माथि उल्लेख गरिएका कारणहरुले परियोजना प्रभावित भईरहेको अवस्थामा परियोजनाको कार्य समयमै र गुणस्तरयूक्त ढंगले सम्पन्न हुने कुरामा आशंका बढ्दै गएको पाइन्छ । अनियमितता भएको प्रष्ट प्रमाणहरु देखिए पनि दोषीलाई कारवाही नगर्ने हो भने भ्रष्टाचार र अनियमितता बढ्नुका साथै दण्डहिनता पनि बढ्दै जाने हुनाले स्थानीय राजनीतिक दल, नागरिक समाज,यूवा, विद्यार्थी तथा स्थानीय वासीले दवाव सिर्जना गर्नु आवश्यक छ ।


२०७३ पौष ०३ गते आईतबार

Tuesday, December 20, 2016

क्षमता १० हजार, तर कैदीबन्दी १८ हजार

१२ मंसिरमा जलेश्वर कारागारमा कैदीबन्दीहरु बीच झड्प भएपछि तैनाथ सुरक्षाकर्मीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पछिल्ला वर्षमा देशभर अपराधका घटनाको संख्या बढेपनि कारागार व्यवस्थापन र कारागारको क्षमता वृद्धिमा ध्यान नदिइँदा देशभरका कारागारको अवस्था विजोग भएको छ  । अपराधका घटना र प्रवृत्ति बढेसँगै कैदी बन्दीको संख्या दोब्बर पुग्दा समेत दशकौं पुराना कारागारमा कैदीलाई कोचेर राख्ने गरिएको छ  ।
त्यसैमाथि मुलुकका विभिन्न कारागारमा भएका श्रृङ्खलाबद्ध घटनाले कारागार सुरक्षामा प्रश्नचिह्न खडा गरेको छ  । यसको पछिल्लो उदाहारण हो ( महोत्तरीस्थित जलेश्वर कारागार  । गएको मंसिर १२ गते जलेश्वर कारागारभित्र कैदीहरूबीच झडप हुँदा २२ जना कैदी घाइते भए  ।
उक्त घटना भएको दिन आईतबार विहान ११ बजे तिर भाई नाईके कारी साह र ३ महिना पहिले मात्र काठमाण्डौबाट जलेश्वर कारागार स्थानान्तरण गरिएका कैदीबन्दी संतोष पंडित बिच कुटाकुट भएपछि दुई पक्ष बीच झडप भएको थियो । झडपमा परेर भाई नाईके साह र कैदीबन्दी पंडित सहित मोहम्मद अलि इलकियात, संजय बमजन, दिनेश भुजेल, रमेश कुमार दास, श्याम देव पासमान, सुरेन्द्र प्रसाद सिंह गम्भीर घाईते भएका थिए । कारागार भित्रै करिब १ घण्टा जति कैदीबन्दीहरु बीच झडप भएको थियो । झड्प भए लगत्तै नेपाली सेना र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी इन्सपेक्टर रविन्द्र खनालको नेतृत्वमा पुगेको टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो ।
३ महिना पहिले बालक हत्याको आरोपमा पक्राउ परेका पंडित जलेश्वर कारागारमा आए लगत्तै मुल नाईके श्रीनारायण महतो निकट भाई नाईके र पंडित पक्षका कैदीबन्दी बीच विवाद हुँदै आएको थियो । पंडितले ३ महिना पहिले आफ्नो लागि टेलिभिजन मगाएका थिए । तर, मुलनाईके श्रीनारायण महतो पक्षका भाई नाईके नसिव अन्सारीले टिभी खोसेर मुलनाईकेले मात्र हेर्न पाउने भनेपछि दुवै पक्ष बीच विवाद सुरु भएको थियो । पंडितले पटक पटक टिभी फिर्ता माग्दै आएका थिए । टिभी फिर्ता गर्न आग्रह गरेपनि नमानेपछि झड्प भएको थियो । मुल नाईके महतो र उनी निकट भाई नाईकेहरुले आफ्नो निर्देशन नमान्ने कैदीबन्दीहरुलाई पहिला पनि कोठा भित्र थुनेर कुटपिट गर्ने गरेको पंडितको आरोप छ । यसका अतिरिक्त मुल नाईके महतोले कैदी बन्दीलाई खानलाउन समेत समस्या उत्पन्न गर्ने गरेको पंडितको आरोप छ ।
कारागारभित्र भएका पछिल्लो सात वर्षका सात घटना
२०७३ मंसिर १२ गते, महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दीबीच झडप हुँदा २२ जना घाइते  । २०६९ पुस २५ गते बुधवार, मध्यराति सिन्धुली कारागारभित्रै कैदीबन्दीहरूबीच कुटाकुट भयो  । कुटपिटबाट कैदी नीरज देवकोटाको मृत्यु भयो  । घटनामा परी अन्य सातजना कैदी घाइते भए  । २०६९ कार्तिक, प्रहरीको आँखैअगाडि करीब ८० फीट लामो सुरुङ खनेर कुख्यात अपराधीको जत्था पूर्वाञ्चल क्षेत्रीय कारागारबाट फरार  । २०६८ साल मंसिर २० गते, चितवन कारागारभित्र झडप भयो, झडपमा परी घाइते भएका चारमध्ये एकजनाको मृत्यु भयो  । २०६८ साल मंसिर १४ गते, मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा झडप हुँदा १२ जना घाइते भए  । २०६७ साल फागुन २६ गते देशकै सर्वा्धिक सुरक्षित मानिने केन्द्रीय कारागारमै गोली चल्यो, गोली लागि सञ्चार उद्यमी युनुस अन्सारी घाइते भए  ।  २०६६ सालमा पूर्वाञ्चल क्षेत्रीय कारागारभित्र कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भयो  । (स्रोत ( प्रहरी प्रधान कार्यालय)
यसबाहेक पनि कैदीहरूबीचको झगडा, सुरक्षाकर्मीको आँखा छलेर भाग्ने लगायतका थुप्रै घटना भएका छन्  । साथसाथै कर्मचारी र सुरक्षाकर्मीसँगको मिलेमतोमा कैदी फरार हुने जस्ता समाचार त सामान्य नै बनेका छन्  । कतिपय जेलमा थुनिएका कुख्यात अपराधीले जेलभित्रैबाट आफ्नो अपराधको दुनियाँ चलाइरहेको समेत खुल्ने गरेको छ  । यो कुरा प्रहरी प्रवक्ता हेमन्त मल्ल पनि स्वीकार्छन्  । कारागारको क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता लगाएका कारण यस्ता घटना दोहोरिएको प्रहरी प्रवक्ता मल्ल बताउँछन्  ।
कारागार क्षमता १० हजार, तर कैदी १८ हजार
कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका ७२ जिल्लामा ७४ वटा कारागार छन्  । धनुषा, भक्तपुर र बारा जिल्लामा त अहिलेसम्म कारागार नै छैनन्  । काठमाडौं र दाङमा दुई दुईवटा कारागार छन्  । देशभरका सबै कारागारमा कैदी क्षमता जम्मा १० हजार छ  । तर अहिले झण्डै १८ हजारको संख्यामा कैदीबन्दी छन्  ।
अहिले सबैभन्दा बढी कैदीबन्दीको चाप काठमाडौंस्थित केन्द्रीय कारगारमा छ  । १५ सय क्षमताको भौतिक पूर्वाधार रहेको कारागारमा २ हजार ५ सय ८० जना कैदीबन्दी छन्  । त्यस्तै सुनसरीस्थित झुम्का कारागारमा केही पूर्वाधार विकास भएपनि कैदीबन्दीको चाप उस्तै छ  । दुई सय २५ को भौतिक क्षमता रहेको झापा कारागारमा दुई गुणा बढी कैदीबन्दी छन्  । १३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा ३७४ कैदीबन्दी छन्  । विभागका निर्देशक वेदबहादुर कार्कीका अनुसार अहिले कैदीबन्दीको चाप देशभरका ७४ ओटै कारागारमा छ  । विभागको तथ्याङ्क अनुसार ६ वर्षयता प्रत्येक वर्ष एक हजारको संख्यामा कैदीबन्दी थपिइरहेका छन्  ।
कुन आर्थिक वर्षमा कति कैदीबन्दी ?
आर्थिक वर्ष २०६९ र २०७० – ११ हजार , आर्थिक वर्ष २०७० र ०७१ – १३ हजार र चालु आर्थिक वर्ष – १७ हजार ९ सय ६६ जना । (स्रोत ः कारागार व्यवस्थापन विभाग)
भूकम्पका कारण अहिले नुवाकोट, महोत्तरी, खोटाङका कारागार त्रिपालमुनि छन्  । बर्खाको समयमा धनकुटा, ताप्लेजुङ र खोटाङ कारागारमा कैदीबन्दी छाता ओडेर सुत्न बाध्य छन्  ।
कारागार क्षमता बढाउने योजना कछुवाको गतिमा
अहिले कारागार व्यवस्थापन विभाग, शहरी विकास मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयले नयाू कारागार निर्माणको काम थालेका छन्  । अपराधको प्रकृति हेरर छुट्टा(छुट्टै राख्ने व्यवस्थासहित २६ जिल्लामा कारागार बनाउने प्रक्रिया थालिएको छ  । नयाू कारागार बनेपछि समस्या समाधान हुने दाबी गर्छ कारागार व्यवस्थापन विभाग  । तर क्षमता विस्तारको कामले भने गति लिन सकेको छैन  ।
समस्याको निकास के त ?
अहिले देशभरका कारागारालाई क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ  । प्रहरी प्रवक्ता मल्ल भन्छन् ( ‘कारागारको दुरवस्थाका कारण पनि सुरक्षामा कठिनाई भएको हो  ।’ तर यसो भन्दैमा सुरक्षा निकाय र कारागार प्रशासनको लापरवाही भएको छैन चाहिँ भन्न मिल्दैन  । हुनपनि घटना श्रृङ्खलाबद्ध रूपमा भएको छ, सुरक्षामा कमजोरी भएको पनि सबैलाई थाहा छ, घटनाबारे प्रतिवेदन पनि निस्कन्छ, अब सुरक्षामा नचुक्ने प्रतिबद्धता पनि दोहोरिन्छ तैपनि समस्या भने बढिरहेको छ  । यस विषयमा अनुसन्धान गरी चाूडोभन्दा चाूडो समस्याको निकास खोज्नुपर्छ  ।
कैदीबन्दीको वार्षिक खर्च मात्रै ६० करोड बढी
कैदीबन्दीको संख्या बढेसँगै उनीहरूको खानपान, लुगाफाटो औषधि उपचार लगायतमा राज्यको खर्च समेत बढेको छ  । सरकारले कैदीबन्दीलाई दैनिक ४५ रुपैयाू र ७ सय ग्राम चामल उपलब्ध गराउूदै आएको छ  । यसमा मात्र राज्यको वार्षिक ६० करोड हाराहारी खर्च हुँदै आएको छ  । आर्थिक वर्ष २०७२र७३ सरकारको ५९ करोड १९ लाख ९१ हजार खर्च भएको थियो  । चालू आर्थिक वर्षको ४ महिनाभित्रमा ५९ करोड ६३ लाख २८ हजार खर्च भइसकेको कारागार व्यवस्थापन विभागका निर्देशक वेदबहादुर कार्की बताउँछन्  ।

२०७३ पौष ०३ गते आईतबार

सिके राउतका समर्थकहरु उच्च अदालतको आदेशबाट रिहा

रिहा भएपछि डा.सिके राउतले जुस खुवाएर
 आफ्नो समर्थकको अनशन तोडाउँदै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गत मंसीर २१मा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राऊ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना बंदीहरुलाई जनकपुर उच्च अदालतको आदेशमा धनुषा प्रहरीले  बुधबार रिहा गरेको छ । मंसीर २३ गते बिहीबार बंदीहरुको तर्फबाट जनकपुर उच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा  बुधबार अदालतले कैदीहरुलाई छोडने फैसला सुनाएको थियो ।
जनकपुरमा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुलाई विनाकारण पक्राऊ गरी हिरासतमा राखेकोमा धनुषाको सिडिओ दिलीप चापागाईं र एसपी लालमणी आचार्यको चौतर्फी निन्दा भएको थियो । हङकङ स्थित एशियन ह्युमन राइट्स कमिशनले समेत सो विषयमा आफ्नो रिपोर्ट जारी गरी विरोध गरेको थियो । सामाजिक कार्य गर्दा समेत पक्राऊ गरेको विरोधमा गत बिहीवारदेखि नै संजय कुमार यादव र उपेन्द्र रोहिता अनशनमा बसेका थिए, भने मंसीर २६ गते आइतबारदेखि मुबारक हुसैन, अभिमन्यु महतो र फुलचन मुखिया गरी थप ३ जना पनि प्रहरी हिरासतमै अनशनमा बसेका थिए । प्रहरी हिरासतबाट मुक्त भए पछि डा. सी. के. राउतको हातबाट उनीहरुले अनशन स्थगित गरेका छन् ।
गत मंसीर २१ का दिन विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा  रामशंकर महासेठ, संजय स्वराजी, रामप्रताप मण्डल, अभिमन्यु कुमार महतो, मोबारक हुसेन, विश्वनाथ चौधरी,  विरेन्द्र कुमार मण्डल, उमाकान्त यादव, धिरज कुमार यादव,  विष्णु स्वराजी,  फुलचन कुमार मुखिया, शिव कुमार रोहिता, लक्ष्मी नारायण यादव, जितेन्द्र सिंह, रोशन कुमार यादव, मनोज स्वराजी र  विवेक कर्णलाई धनुषा प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरीलाई अपशव्द प्रयोग गरेको कारण पक्राउ ः धनुषा एसपी
 २१ गतेका दिन जानकी मन्दिरको परिसर भित्र रामशंकर महासेठ समेत १७ जनाको समुहमा भई हो हल्ला गरिरहेको अवस्थामा प्रहरी टोली गई निजहरुलाई सम्झाई बुझार्य गदै त्यस्ता उत्श्रृङखल कार्य नगर्न भनेकोमा उल्टै प्रहरी टोलीलाई अपशव्द प्रयोग गरी गालीगलौच तथा अभद्र व्यवहार गरेको हुँदा निजहरु १७ जनालाई पक्राउ गरी प्रतिवेदन साथ केही सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरी पहिलो पटक ६ दिनको लागि म्याद अनुमति लिई उक्त म्याद भित्र बयान लिने कार्य समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले उच्च अदालतमा बुझाएको लिखित जवाफमा उल्लेख छ ।
जानकी मन्दिर जस्तो देशको मुख्य तिर्थ स्थलको महिमा बोकेको स्थान, प्राचिन स्मारकहरु भएको ठाउँ, पुरातत्व सम्बन्धि ऐतिहासिक वा कलात्मक बस्तुहरुले सज्जित स्थलमा विभिन्न ठाउँहरुबाट दर्शनको लागि आउने दर्शनालुहरुलाई मन्दिर दर्शन गर्न जाने पुर्व मुल गेटमा यी पक्राउ प्रतिवादीहरु हो हल्ला गरी अनावश्यक हर्कत देखाई बाधा अडचन खडा गर्दै शान्ति अवस्थालाई खलल पुर्याउने काम गरेको, डर त्रासको बातावरण सिर्जना गरेको हुँदा प्रहरी टोली सो स्थानमा पुगी निज प्रतिवादीहरुलाई सो कार्य नगर्न आग्रह गर्दा समेत उल्टै अपशव्द प्रयोग गरी गालीगलौच गर्दै दुव्र्यवहार गर्दै राष्टू सेवकलाई आफ्नो कर्तव्य पालन गर्नमा बाधा पुर्याएको, सरसफाई गर्न सो स्थानमा गएको भन्ने भनाई बनावटी र कपोलकल्पित रहेको धनुषाका प्रहरी उपरीक्षक आचार्यद्वारा उच्च अदालत जनकपुरमा प्रस्तुत गरिएको लिखित जवाफमा उल्लेख छ ।


२०७३ पौष ०३ गते आईतबार