Tuesday, September 18, 2018

जो मोदी र ओलीका सामु राम र सीता बने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गत २८ बैशाख, २०७५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधामको जानकी मन्दिरमा आउँदा दुवै जना प्रधानमन्त्रीले जनकपुरधामका दुई जना बालकहरूलाई नमस्कार गरेका थिए ।
जानकी मन्दिर दर्शन गर्न जानकी मन्दिरमा पुगेका दुवै जना प्रमहरूले माता जानकीको दर्शन गर्नु भन्दा पहिले प्रांगणमा सजाईएको सिंहाशनमा बसेका दुई जना बलाकहरूलाई आफ्नो दुवै हात जोडेर प्रणाम गर्दै ती बालकहरूको शिरमा फूलको माला समेत लगाएका थिए ।
दुवै प्रमले ती दुई जना बालकलाई ढोग्दा बालकद्वयले प्रम मोदी र ओलीलाई आशिर्बाद पनि दिएका थिए ।
तपाईंहरूलाई अचम्म लाग्न सक्छ होला की को हुन् त्यस्ता दुई जना बालक जसका सामु शक्तिशाली प्रम मोदी र ओलीले आफ्नो शिर निहुराएका थिए? किन शिर निहुराउनु पर्यो? किन आशिर्बाद लिनु पर्यो ?
मोदी र ओलीले ती दुई जना बालकलाई ढोगेर आशिर्बाद माग्नुको खाश कारण ती दुई बालक त्यो दिन भगवान राम र सीताको स्वरूपमा सिंहाशनमा आशिन थिए । जनकपुरधाम  उपमहनागरपलिका वडा नम्बर ८ स्थित बिहार कुण्डको आश्रममा बस्दै आएका १२ बर्षिय अनुष कुमार झा र ११ बर्षिय आकाश कुमार मिश्र राम र सीताको स्वरूपमा सजिएका थिए । नबिकान्त झाका छोरा अनुष ‘राम’ बनेका थिए भने ूुब नारायण मिश्रका छोरा आकाश ‘सीता’ बनेका थिए ।
अनुष जनकपुरधामको याज्ञबल्क्य संस्कृत नमुना माविमा कक्षा ७ मा र आकाश चिल्डूेन होली प्लेसमा कक्षा ६ मा अध्ययनरत छन् ।
उनीहरू बिहार कुण्डको युगल बिनोद कुन्जमा बस्दै आईरहेका छन् । उनका बुवाका पुर्बज बिगत बर्षौं देखि त्यहाँ मन्दिरमा पूजा आज्ञा गर्ने गर्छन् ।
भारतीय प्रम मोदी आउने भए पछि जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णवले बिहार कुण्डका महन्थ उदयकान्त शरणलाई भगवान राम र सीताको स्वरूपको झाँकी तयार गरेर ल्याउन अनुरोध गरेका रहेछन् । त्यसै अनुसार २८ बैशाखका दिन महन्थ उदयकान्त शरणले आकाश र अनुषलाई २ घण्टा लगाएर राम र सीताको स्वरूपमा सजाएका थिए ।
प्रमहरू मोदी र ओली आउने दिन आकाश र अनुष बिहानको ५ बजे नै उठे । उठेर नित्य कर्म गर्दै नुहाएर तयार हुनका लागि बिहार कुण्डको मन्दिरमा आए । महन्थ उदयकान्त शरणले दुवै जनाको मेक अप गरे, पोशाक पहिर्याए, र त्यस पछि मुकुट लगाईदिए । करीब दुई घण्टा भन्दा पनि बढी समय मेक अप गर्न लागेको महन्थ उदय शरणले बताए । बिहान १० बजेको समयमा मोदी जानकी मन्दिर आउने कार्यक्रम तय भएकाले राम र सीताको स्वरूपमा सजिएका दुवै बालक ९ बजे जानकी मन्दिर पुगे ।
जानकी मन्दिरको प्रांगणमा सिंहाशन सजाइएको थियो । दुवै बालक सिंहाशनमा गएर बसे । भगवान राम र सीता जस्तै देखिईरहेका थिए । एक दमै स्थिर, शान्त र प्रशन्न मुद्रा भावमा आशन जमाएका थिए ।
भारतीय प्रम मोदी आउनु भन्दा पहिले नै नेपालका प्रम ओली जानकी मन्दिरमा आईपुगेका थिए । उनलाई मन्दिर भित्रकै बैठक कक्षमा बस्ने ब्यबस्थापन गरिएको थियो । केही समय पछि भारतीय प्रम मोदी पनि आए ।
मोदीलाई प्रम ओलीले स्वागत गरेका थिए । त्यस पछि मोदी जानकी मन्दिर प्रवेश गर्न लाग्दा सिंहाशनमा सजिएको ती राम र सीताको स्वरूपलाई मोदीले दुवै हात जोडेर, शिर निहुराउँदै ढोगे । त्यस पछि राम र सीता दुवैलाई फूल सहितको माला पहिर्याए ।
अनि राम र सीताको स्वरूपमा सजिएका ती दुवै बालकले आशिर्बाद पनि दिए ।
आकाश र अनुषले द एक्सक्लुसिभ सँग भने, ‘त्यो दिन हामी दुवै जना अत्यन्तै खुशी थियौं, किन भने नेपालका प्रम ओली र भारतीय प्रम मोदीलाई लाइभ पहिलो पटक अत्यन्तै नजिकबाट हेर्न पाएका थियौं ।’
हाम्रो आँखा अगाडी नै दुवै जनालाई हेर्न पाउँदा धेरै खुशी लागेको थियो, उनीहरूले भने । मोदी र ओलीले हाम्रै सामुने हात मिलाएका थिए, उनीहरूले मोदी र ओली बीच भएको कुरा यसरी सम्झिए, मोदीले ओलीलाई भनेका थिए, ‘चलिए अब हमारा रिस्ता पक्का होगया ।’ अर्थात हाम्रो सम्बन्ध अब बलियो भयो ।मोदी त्यती बेला अत्यन्तै भावुक बनेका थिए, त्यहाँ उपस्थित रहेका महन्थ उदयकान्त शरणले सुनाए ।
त्यस पछि मोदी र ओली जानकी मन्दिरमा पूजा गर्न भित्र पट्टि लागे ।
यसरी झाँकी बनेर प्रस्तुत भएका आकाश र अनुषको लागि भने त्यो नौलो मौका थिएन । उनीहरू बिगतमा पनि जानकी नवमी, राम नवमी, राम जानकी बिबाह पंचमी, झुला,लगायत अन्य धार्मिक उत्सवमा यसै गरी राम र सीताको स्वरूपमा झाँकी बनिसकेका छन् । बिगत तीन बर्ष देखी ती दुवै बालकले झाँकीमा सहभागिता जनाउने गर्छन् ।
महन्थ उदयकान्त शरणका अनुसार झाँकी बन्नु सामान्य कुरा होईन । कतिपय बेलामा ८ घण्टा सम्म त्यही स्वरूपमा बालकहरू रहने गर्छन् । कसरी बस्ने, कसरी बोल्ने, कसरी मुखाकृति राख्ने,कसरी ब्यबहार दर्शाउने लगायतका कुराबारे ती बालकहरूलाई प्रशिक्षण दिने गरिएको छ ।
करीब ५० पटक सम्म राम र सीताको स्वरूप ग्रहण गरेका बालकको पढाई लेखाईमा असर पर्दैन त भन्ने सबालमा महन्थ उदयकान्त शरण भन्छन्,‘यसरी झाँकी जाने भनेको धार्मिक अवसरका बेला मात्र हो, त्यो दिन प्रायः जसो बिद्यालय पनि बन्द नै रहने गर्छ, जस कारण पढाई लेखाई प्रभावित हुँदैन ।’
महन्थ उदयकान्त शरण अहिले ५० बर्षको भईसकेका छन्, उनी आफैं पनि बिगतमा बालक हुँदा हजारौं पटक राम र सीताको स्वरूपमा झाँकीमा सहभागिता जनाइसकेका छन् ।
उनका अनुसार त्रेता युगमा जतिबेला भगवान रामको साकेतबास (स्वर्गारोहण) भईरहेको थियो, त्यति बेला भगवान हनुमानले पनि आफु पनि तपाईं संगै म पनि जान्छु, मैले तपाइंको दर्शन कसरी गर्ने भनेर भने पछि रामले यसो भनेका थिए, ‘कुनै ब्राम्हण किशोरलाई पन्च संस्कारले दीक्षित गरेर वैष्णव बनाई एउटालाई राम र अर्को लाई सीताको स्वरूप बनाए त्यही स्वरूपमा मैले दर्शन दिनेछु ।’
पन्च संस्कार भनेको वैष्णव,नामाकरण,कन्ठी धारण, तिलक र बिरक्त बनाउने परम्परा हो । त्यस पछि यसरी नै मिथिलांचलमा रामानन्दीय वैष्णव परम्परा अनुसार जानकी नवमी, राम नवमी, रामजानकी बिबाह पंचमी, झूला आदिको उत्सवमा राम र सीताको स्वरूप बनाएर झाँकी प्रदर्शन गर्ने गरिएको महन्थ उदयकान्त शरणले बताए ।    


२०७५ भदौ ३१ गते आईतबार

No comments:

Post a Comment