Tuesday, September 18, 2018

डिस्कोर्स ः नेपाल र भारत बीचको खुल्ला सीमा ईपीजी समुहको प्रतिबेदनलाई लिएर मधेशमा चिन्ता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल र भारतका प्रबुद्ध समुहले संयुक्त रूपमा तयार गरेको प्रतिबेदनलाई लिएर सीमांचल क्षेत्रका जनतामा बिभिन्न किसिमका आशंका तथा अन्यौल सिर्जना भएका छन् ।
नेपाल र भारत बीचको खुल्ला सीमालाई नियन्त्रण गर्नु पर्ने, खुल्ला सीमालाई तारबारले घेरेर सीलबन्दी गर्नु पर्ने, दुवै देशमा आवत जावत गर्दा परिचय पत्र वा प्रवेश पत्र बोक्नु पर्ने जस्तो नीति ल्याउन प्रतिबेदन तयार पारिएको हो कि भन्ने आशंकाका कारण खुल्ला सीमा क्षेत्रमा बसोबास गर्दै आएका जनतामा भय त्रासको बातारबरण बन्न थालेको छ ।
नेपाल सरकारले २०७२ माघ १४ गते प्रबुद्ध व्यक्ति समूह गठन गरेको थियो ।  पूर्व परराष्टूमन्त्री भेष बहादुर थापाको संयोजकत्वमा नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई र पूर्वकानूनमन्त्री नीलाम्बर आचार्य छन् । भारतद्वारा गठित प्रबुद्ध व्यक्ति समूहमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी.लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती छन् ।
प्रबुद्ध समुहले तयार पारेको प्रतिबेदन भने सार्बजनिक भएको छैन । तर, पनि बिभिन्न संचारमाध्यममा आईरहेका समाचारका कारण सीमांचल क्षेत्रका जनतामा भने त्यस प्रतिबेदनलाई लिएर कौतुहलता भने बढेको छ ।
के भन्छन सीमांचल क्षेत्रका जनता ?
अवकास प्राप्त प्रमुख जिल्ला अधिकारी तथा सहसचिब जिबछ मिश्रका अनुसार प्रबुद्ध समुहको प्रतिबेदनमा  खुल्ला सीमालाई नियन्त्रण गरिनुपर्ने खालका समाचारहरू बाहिर आइरहेकाले यस क्षेत्रका जनतामा भविष्यलाई लिएर आशंका बढेको छ । नेपाली समुह भन्दा पनि भारतीय समुहकै दबाबमा त्यस्तो प्रतिबेदन तयार भएको हुन सक्ने आशंका भए पनि सीमा क्षेत्र नियाँत्रनको नाममा खुल्ला सीमा बन्द गर्न नहुने मिश्रले बताए ।
जनकपुर निबासी मिश्र भन्छन्,‘भारत र पाकिस्तान बीच त्यत्रो दुश्मनी छ । तर, अहिले आएर भारतको पन्जाबका जनतालाई पाकिस्तानमा जान प्रवेशाज्ञा लाग्दैन ।’
त्यत्रो दुश्मनी भएको देशका नागरिकहरूबीच त खुल्ला प्रवेशको दौड शुरु भएको छ, पुरै विश्वमा बिभिन्न देशमा बन्द भएका सीमानालाई त खुल्ला गर्ने समय आएको बेला नेपाल र भारत बीच त्रेता काल देखि नै खुल्ला सीमा रहेको अबस्थामा सीमा क्षेत्रमा तारबार लगाउने कुरा गर्न सान्दर्भिक नहुने मिश्रको तर्क छ ।
‘नेपाल र भारत प्रवेश गर्नका लागि एउटा मात्र निश्चित बाटो तय गर्दा जनतालाई गाह्रो र परेशानी मात्र हुन्छ, बोर्डरमा तारबारले घेरेर पर्खाल बनाउनुको कुनै आबश्यकता नै छैन,’ जनकपुर नागरिक समाजका अगुवा अमरचन्द्र अनिल भन्छन्,‘हो, तस्करी भईरहेको छ भने दुवै देशका सुरक्षाकर्मी र कर्मचारीतन्त्रको मिलेमतो र राजनीति संरक्षणमा भईरहेकाले त्यसकै आडमा बोर्डरलाई नियन्त्रण गर्नु पर्छ भन्ने नीति ल्याउनु हुँदैन ।’
नेकपा एमालेका नेता तथा पुर्ब सांसद शीतल झा भने खुल्ला सीमालाई प्रबुद्ध समुहले भने जस्तै नियन्त्रण नै गर्नु पर्छ भन्ने बिचार सँग सहमत त छैनन्, तर खुल्ला सीमालाई दुरुपयोग गर्दै दुवै देशमा भई रहेको आपराधिक क्रियाकलापलाई नियन्त्रण भने गर्र्नै पर्ने बिचार व्यक्त गर्छन् । झा भन्छन्,‘दुवै देशका प्रबुद्ध समुहलाई ‘क्रस बोर्डर टेररीज्म’ को चिन्ता भएको हुन सक्छ । नेपालको भुमि प्रयोग गरेर आतंकबादी भारतमा सहजै प्रवेश गर्न सक्ने स्थिति छ भने नेपालमा आपराधिक गतिबिधि गरेर भारतमा लुकेर बस्ने स्थिति देखिएको छ ।’
नेपाललाई परेशानी नभए पनि भारतलाई नै परेशानी बढेको छ, नेपालको भुमि प्रयोग गरेर आतंकबादी भारतमा छिर्न सक्ने, पाकिस्तानबाट भारतीय नक्कली रुपियाँ प्रवेश गर्न सक्ने खतरा भारतलाई रहेको छ भने नेपालका चेलीबेटीलाई भारतमा बेच्ने , लागु औषधिको कारोबार गर्ने लगायतका खतरा नेपाललाई समेत रहेकाले विगतकै जस्तो यथास्थितिमा नेपाल र भारत बीचको खुल्ला सीमा रही नै रहूस भन्ने पक्षमा आफु नरहेको झाले बताए ।
‘भारतमा आतंककारी गतिबिधि गर्ने आतंकबादी नेपालबाट पक्राउ पर्छन, नेपालमा अपराध गर्ने भूमिगत सशत्र समुहहरू भारतमा खुलेआम बस्ने गरेको अबस्थामा दुवै देशका नागरिकको सुरक्षा समेत जोखिममा रहेकाले खुल्ला सीमा नै रहिरहनु पर्छ भन्ने साहास समेत आफु संग छैन,’ एमाले नेता तथा पुर्ब सांसद झाले भने ।
यद्यपि गठन गरिएको प्रबुद्ध समुह असमावेशी मात्रै नभएर सीमांचल क्षेत्रको प्रतिनिधित्व नभएकाले प्रतिबेदनले यस क्षेत्रको भावनालाई समेट्न सक्नेमा बिश्वस्त नरहेको उनले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय सदस्य निर्मल कुमार चौधरीले भारतीय क्षेत्रमा सीमामा खटिएका सीमा सुरक्षा बल (एसएसबी )ले नेपाली नागरिक भारतमा जाँदा परिचयपत्र खोज्न थालेको बताए ।  ‘भारतीय रेलमा चढ्दा टिकेट साथ् परिचयपत्र समेत खोज्ने गरेका छन्,नेपालका बिद्यार्थी भारतमा पढ्दा पासपोर्टकै आधारमा कोलेजले सम्झौता गर्छन्’ चौधरीले भने ।
नेपाल र भारत बीचको खुल्ला सीमालाई नियन्त्रित गर्दा नेपाल र भारतको समेत ब्यापारमा असर पर्न सक्ने जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह बताउँछन् । अहिले जनकपुरमा महोत्तरीको जलेश्वर स्थित भिठामोड नाका मार्फत मालसामान आईरहेको छ, हामीले धनुषाको जटही लाई पनि व्यापारिक नाका बनाउन प्रयास गरिरहेको अबस्थामा सीमामा कडाई गरेर एउटा मात्र निश्चित नाकामार्फत ब्यापार गर्दा समस्या आउन सक्ने साहले बताए । ‘दुवै देशमा अहिले नागरिकले बिना वर्क परमिट काम गरिरहेका छन्, भोली के हुने हो भन्ने अन्यौलता आएको छ, दुवै देशमा रोजगार गरिरहेका मानिसलाई समेत समस्या हुन सक्ने तर्फ उनले दुवै देशका सरकारलाई ध्यानाकर्षण गराए ।
नेपाल र भारत बीच भएको खुल्ला सीमाकै कारण नेपालको ब्यापार सुख्दै गएको तथा पारीको ब्यापार फस्टाउदै गएको नेपाल उद्योग बाणिज्य संघ २ नम्बर प्रदेशका अध्यक्ष शिब शंकर साह बताउँछन् । सीमा क्षेत्रमा वारिको ब्यापार चौपट भएको छ तर, पारीको ब्यापार दिन दुगुना रात चौगुना भएको छ, नेपाली नागरिक नै पनि सस्तो दरमा सामान किन्नका लागि पारी गईरहेका छन्, त्यसैले सीमा नियन्त्रण गरिनु नेपालको हितमा हुने साहको तर्क छ ।
‘प्रबुद्ध समुहले खुल्ला सीमामा तारबार लगाउनु पर्ने कुरा यदि प्रतिबेदनमा राखेका छन् भने त्यसको म स्वागत गर्छु,’ साहले भने, ‘त्यसै पनि नेपाल र भारत बीच आकास र पातालको अन्तरालमा ब्यापर घाट भईरहेको छ । त्यो ब्यापार घाटा कम गर्न पनि खुल्ला सीमालाई नियन्त्रण गर्नु आबश्यक छ ।’
बर्षौं देखि खुल्ला सीमाको उपभोग गरिरहेको अबस्थामा काठमाडौं र दिल्लीले चाहँदैमा सीमामा तारबार लाग्न नसक्ने राजपा नेपालका नेता राजु चौधरी बताउँछन् । दुवै देशको सम्बन्ध राजनीतिक नभएर जनस्तरमा रहेको, रोटी र बेटीको सम्बन्ध रहेकाले धार्मिक, सांस्कृतिक सम्बन्धमा अड्चन ल्याउने गरी प्रबुद्ध समुहले प्रतिबेदन तयार पारे पनि लागु हुन नसक्ने चौधरीले बताए ।
दिल्ली र काठमाडौंले जबर्ज्स्ति लागु गर्न खोजे पनि दुवै देशको सीमा  क्षेत्रमा बसोबास गर्ने जनताले धार्मिक, सांस्कृतिक जनविद्रोह गर्न सक्ने राजपा नेता चौधरीले बताए ।
खुल्ला सीमाकै कारण अपराध बढेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र बताउँछन् । एका तिर वारिका सयौं युवाहरू लागु औषध सेवन गर्नका लागि प्रत्येक दिन पारि जाने गरेका छन्, हजारौं युबा कुलतमा फसेका छन् भने अर्को तिर भारतको बिहारमा मदिरा प्रतिबन्धित भए पछि  प्रत्येक दिन हजारौं भारतीय मदिरा सेवन गर्न वारी आईरहेको मिश्रले बताए ।
मदिरा सेवन गर्ने बेला देखि मदिराको नशा नउत्रिए सम्म वारि नेपालकै सीमावर्ती मदिरापसलमा रातभर भारतीय नागरिक रहिरहँदा सीमा क्षेत्रका गाउँका महिलाहरू घरबाट बाहिर निस्कन सक्ने स्थिति समेत नरहेकाले खुल्ला सीमा बन्द भएकै राम्रो हुने मिश्रले बताए । यदि दुवै देशमा आवागमन हुँदा परिचयपत्र बोक्ने परे के समस्या हुन्छ र, मिश्रको प्रश्न छ ।
नेपाल र भारत बीचको खुल्ला सीमामा प्रवेशका लागि प्रबेशपत्रको कुरा गर्नु भनेको एक किसिमको पर्खालको निर्माण गर्नु हो, राजनीतिक विश्लेषक तथा मधेश मामिलाका जानकार चन्द्रकिशोर बताउँछन् । विश्वको कतिपय देशको उदाहरणले देखाउछ की सीमा ब्यबस्थापनको नाउँमा पर्खाल खडा गरिनु आत्मघाती कदम भएको छ, चन्द्रकिशोरले भने, ‘युरोपका कतिपय देशमा युद्ध नै भएर सीमामा पर्खाल लगाईयो, तर अहिले तिनीहरू पनि सीमालाई खुल्ला राख्ने तर्फ अगाडी बढिरहेको छ भने नेपाल र भारत बीचको खुल्ला सीमा बन्द गर्ने कुरा सोच्न समेत सकिन्न ।’
नेपालमा तेस्रो मुलुकबाट हवाई मार्ग मार्फत सुन तस्करी हुन्छ, त्यो सिंह दरबारले गराउँछ, नेपालमा जाली नोटको कारोबार हुन्छ, त्यो सिंह दरबारले गराउँछ, लागु औषधको कारोबार हुन्छ, सिंह दरबारले गराउँछ, दक्षिण भारतबाट नेपाल हुँदै चीन सम्म पुग्छ, त्यो सिंह दरबारले गराउँछ, त्यस कारण अपराध हुनु, तस्करी हुनु राज्यको कमजोरी हो, खुल्ला सीमा कारण होईन, चन्द्रकिशोर तर्क गर्छन् ।
चीनमा त सीमा बन्द नै छ तर त्यहाँ कसरी रक्तचन्दन पुग्छ, चीनबाट आएको सुन नेपाल हुंदै भारत सम्म कसरी तस्करी हुन्छ, त्यसका लागि त खुल्ला सीमा छैन, तर पनि तस्करी भईरहेको छ, उनले भने ।
काठमाडौं र दिल्ली दुवै देशको राज्यको कमि कमजोरीलाई ढाकछोप गर्नका लागि खुल्ला सीमा नियन्त्रण गर्ने बहाना बनाउने चस्मा परिबर्तन गर्नु आबश्यक रहेको भन्दै चन्द्रकिशोर भन्छन्,‘बिगतमा मधेश आन्दोलनमा शहरबाट आन्दोलनकारी सीमामा पुगेका थिए, काठमाडौंलाई लाग्यू की यो अन्तिम प्रहर हो । त्यसैले मधेश विद्रोहको शक्तिलाई निरीह गर्ने काठमाडौंको षड्यन्त्र तहत खुल्ला सीमा बन्द गर्ने कुरा अगाडी आएको छ ।’
प्राध्यापक भोगेन्द्र झा भन्छन्,‘नेपाल भारत बीचको खुल्ला सीमा बाधक होईन, सधैं साधक बनेको छ । खुल्ला सीमालाई ब्यबस्थापन गर्ने नाममा सील गर्ने कुरा गर्नु भनेको मधेश बिरोधि मानसिकता रहेको प्रष्ट हुन्छ ।’
२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादब नेपाल र भारत बीच खुल्ला सीमालाई बन्द गर्नु भनेको संघीयता र २ नम्बर प्रदेश बिरुद्ध षड्यन्त्र गर्नु रहेको बताउँछन् । दुवै देशका भ्रष्ट सुरक्षाकर्मीका कारण बोर्डरमा तस्करी हुन्छ, अपराधि अपराध गरेर भाग्ने गर्छ, त्यसको बहानामा सीमा बन्द गर्ने कुरालाई २ नम्बर प्रदेश सरकारले स्वीकार्न सक्दैन, मन्त्री यादबले बताए । खुल्ला सीमा यो परदेशको लागि ठुलो अबसर र सम्भावना रहेकाले त्यसको प्रदेश सरकारले प्रतिबाद गर्ने उनले बताए ।

२०७५ भदौ ३१ गते आईतबार

No comments:

Post a Comment