Tuesday, September 18, 2018

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मिथिलांचल क्षेत्रमा हजारौं महिलाहरूले अग्नी परीक्षा दिनु पर्नेछ । त्यो पनि आफ्नो श्रीमानको लामो आयुको कामनाका लागि । मिथिलांचलमा केही समुदाय खास गरेर ब्राम्हण, कायस्थ  र सोनार जातिमा नब बिबाहिता महिलाहरूले आफ्नो दिर्घायू को कामनाका लागि अग्नी परीक्षाबाट गुज्रिनु पर्ने हुन्छ ।
रामायणकालमा सीताले अग्नी परीक्षाबाट आफुलाई परीक्षित गर्नु परेको भए पनि आजको एकाईसौं शताब्दीमा समेत मिथिलामा महिलाले अग्नी परीक्षा दिनुपरेको छ । तर, महिलाले त्यसलाई अन्यथा मान्दैनन् । हजारौं बर्ष देखि चल्दै आएको उक्त लोक परमपरालाई सहर्ष स्वीकार गर्छनन्, ती महिलाहरू । चाहे जतिसुकै पढेलेखेको महिला होस, कुनै पनि महिलाले भने बिरोध गर्दैनन् । अझ के मान्यता छ भने अग्नी परीक्षाबाट जति ठुलो घाउ भयो त्यत्ति नै आफ्नो नब बिबाहित श्रीमानको आयु पनि लामो हुनेछ ।
तपाइंलाई अचम्म लाग्न सक्छ कि आजको आधुनिक युगमा पनि यस्तो हुन्छ र ! महिला अधिकारको यत्रो ठुलो आवाज उठिरहेका बेला, समानताको कुरा उठिरहेका बेला, लैंगिक समानता र भेदभाव रहित समाजको अबधारणा अघि बढी रहेका बेला मिथिलामा महिलाले अझै पनि अग्नी परीक्षा दिनु पर्ने हुन्छ त? त्यो पनि श्रीमानकै लागि । हो, दिनु पर्छ । र, आजकै दिन ‘मधुश्राबणी’  राति हजारौं नब बिबाहित महिलाले त्यो अग्नी परीक्षा दिनु पर्नेछ । र, सहर्ष स्वीकार गर्दै उक्त अग्नी परीक्षामा सहभागी हुँदैछन् ।
‘मधुश्राबणी’को अन्तिम दिन नब बिबाहित महिलालाई तिनको श्रीमानले  दुवै आँखा बन्द गर्नेछन्, र एक जना महिलाका सहयोगी ‘बिधकरी’ महिलाले पानको पातमा प्वाल पारेर बल्दै गरेको दियोको ’टेमी’ले खुट्टा र घुँडामा डाम्ने छन् । बिधकरी भनेको त्यो महिला हो जसले बिभिन्न पूजा तथा बिधि बिधान मिलाउन नब बिबाहित महिलाकै दिदि, बहिनी वा आफन्त रहन्छन् । विहे भएको दिन देखि नै उक्त बिधकरी नब बिबाहित महिला र पुरुष दम्पतिको सहयोगमा खटिएका हुन्छन ।  टेमी भन्नाले बल्दै गरेको धागोको दियो हो । त्यो टेमीले डाम्दा नब बिबाहित महिलालाई जति ठुलो फोका हुन्छ त्यति नै लामो आयु उनको श्रीमानको हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।
के हो ‘मधुश्राबणी’ पर्ब ?
मिथिलामा नब बिबाहित महिलाहरूले मनाउने अति नै विशिष्ट पर्ब हो, ‘मधुश्राबणी’ । साउन महिनाको कृष्ण पक्षको पंचमी तिथि देखि उक्त पर्ब ‘मधुश्राबणी’ प्रारम्भ हुन्छ । साउन महिनाकै शुक्ल पक्षको त्रितिया तिथि अर्थात आज सम्पन्न हुँदैछ । यो पूजाको समयाबधि कुल १३ दिनको हुन्छ । ब्रत शुरु हुने पंचमीका दिन नब बिबाहित महिलाको ससुराली पक्षबाट खानेकुरा, कपडा लत्ता, पूजाका बिभिन्न सामग्रीहरू, माटोले बनाइएका नाग अर्थात ‘बिषर’का मूर्तिहरू भारको रूपमा आउने गर्छ ।
बेहुला पक्ष वा बेहुली पक्षबाट बिभिन्न सामग्री पठाउँदा त्यसलाई भार भन्ने गरिन्छ । अहिले मधुश्राबणीमा बेहुला पक्षबाट बेहुली पक्षलाई भार आएको छ , ठीक त्यसै गरी कोजाग्रात पूर्णिमामा बेहुली पक्षले बिभिन्न खाने सामग्री, लत्ता कपडा सहितका सामग्रीको भार बेहुला पक्ष समक्ष पुर्याउनु पर्ने हुन्छ ।
यो ब्रतमा खास गरेर शिब, पार्वती, नाग, नागिन, बिषहर वा अन्य देबी देवताको पूजा हुने गर्छ । प्रत्येक दिन ब्रतालु नब बिबाहित महिलाहरू आफ्ना सखी, संगी, साथीहरू संगै  भगबतीका गीत गाउँदै फूल टिप्न बाग बगैंचामा जाने गर्छन् । कतिपय देबस्थल, तीर्थस्थल भएका ठाउँमा पुगेर बिभिन्न बगैंचाबाट संकलन गरिएका फूललाई बाँसले बनेको हस्त निर्मित डालामा सजाउने गरिन्छ ।  फूल टिप्ने कामलाई  मिथिलामा ’फूल लोरही’ पनि भनिन्छ ।  संकलित फूल ले नै भोलि पल्ट बिहानको समयमा पूजा गर्दै देबी देवतालाई अर्पण गरिन्छ ।
१३ दिन सम्म यसरी नै प्रत्येक दिन अलग अलग पूजा हुन्छ । र, प्रत्येक दिन अलग अलग देबी देवताका बिभिन्न कथाहरू ब्रतालु महिलालाई सुनाईन्छ ।
आज तेर्हौं दिन अन्तिम दिन ‘मधुश्राबणी’ ब्रत समापन हुंदै छ । आजकै दिन पूजामा सहभागी हुने सबै सुहागिन ‘अहिबाती’ महिलालाई चुडी,सिन्दुर,टिका, आदि बस्तु वितरण गरिन्छ ।आजकै दिन ती बिबाहित महिलालाई उनको श्रीमानले सिन्दुर्दान गर्नेछन । बिबाहका दिन गर्ने सिन्दुरदाङ आज पनि दोहोरिन्छ । त्यस पछि श्रीमानले महिलाको दुवै आँखा बन्द आफ्नो हातले बन्द गर्नेछन्, र बिधकरीले बल्दै गरेको दियो अर्थात टेमीले दुवै खुट्टा र घुँडामा डाम्ने छन् ।
१३ दिन सम्म बिबाहित महिलाले र बिधकरीले अनूना अर्थात नुन नभएको खाना खान्छन । ससुराली पक्षबाटै आएको लुगा लगाउछन, खाना खान्छन । आज समापन भएका दिन मीठो परिकार खाने गरिन्छ । खीर, मिठाई आदिको भोज हुने गर्छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ की बर्षा झाको पनि केही महिना अघि मात्र बिबाह भएको छ । उनी पनि यस पटक मधुश्राबणी ब्रत गरिरहेकी छन् । ‘अग्नी परीक्षा भन्दा पनि आफ्नो सभ्यता संस्कृति र परम्परालाई निरंतरता दिदा असाध्यै खुशी लागेको छ,’ बर्षाले भनिन्,‘आदिअनादी कालदेखि चली आएको परम्परालाई अब आउने पुस्ताले पनि निरन्तरता देओस भन्ने कामना समेत गर्दछु ।’ 
मिथिलाको सभ्यता, संस्कृति, परम्परा नै मिथिलाको सम्पति रहेकोले पनि परम्परालाई दिन पाएकोमा आफुलाई गौरबपूर्ण अनुभूति समेत भएको बर्षाले बताईन् ।

२०७५ भदौ ०३ गते आईतबार
 

No comments:

Post a Comment