Tuesday, September 18, 2018

प्रहरी हिरासतमा रहेका यादबको मृत्यु भएको आठ दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रहरी हिरासतमा रहेका बाँके जिल्लाका रामनोहर यादवको मृत्युलाई लिएर मधेशमा आक्रोश बढ्दै गएको छ ।  मृतक यादवको शबलाई पोष्टमार्टम नगरेका कारण बिभिन्न जिल्लाहरूमा संघीय सरकारको आलोचना हुनुका साथै जनस्तरमा समेत आक्रोश बढ्दै गएको छ । मृत्यु भएको सात दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता नगरेको, मृतकको शबको पोष्टमार्टम नगरेको भन्दै सरकारको बिरुद्धमा माहौल बन्दै गएको छ । प्रत्येक दिन जसो मधेशका बिभिन्न जिल्लाहरूमा श्रद्धान्जली सभा आयोजन गरिने गरिएको छ ।
जाहेरी दर्ता गरी शबको पोष्टमार्टम गर्न पिडित पारिबार पक्षको माग रहेको भए पनि त्यसो नगरिंदा राष्टिूय मानब अधिकार आयोगमा उजुरी दिइएको छ ।सिरहा गोलबजारका मेकानिकल ईन्जिनियर समेत रहेका रामेश्वर प्रसाद सिंह लगायतले २० भदौमा जाहेरी दर्ता तथा शब परीक्षण गर्नका लागि पहल गरिदिन भन्दै आयोगमा निबेदन दिएका थिए ।‘प्रहरी हिरासतमा मृयु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरी पाउँ भनी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरी हाल सम्म पनि मृतकको शब परीक्षण नगरिएकाले लाशको सदगत समेत हुन सकेको छैन । मृतकका आमा,बुबा,श्रीमती, छोरा छोरी खाना समेत खाईरहेका छैनन्,’ आयोगमा दर्ता  गराइएको  निवेदनमा उल्लेख छ ।
पक्राउ परेका बेला रामनोहरको गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट बाट उनी एकदमै ठिक अबस्थामा थिए, तर हिरासतमा हुँदा अचानक मृत्यु नै हुने सम्मको अबस्था आउनुमा प्रहरीको चरम यातना हुन सक्ने परिवार पक्षको आशंका रहेकाले जाहेरी दर्ता गरेर शबको पोष्टमार्टम हुनु पर्ने माग राख्दै सुरुमा काठमाडौंको महानगरीय प्रहरी वृतमा  दर्ता गर्न जाँदा प्रहरीले इन्कार गरेको सिंहले द एक्सक्लुसिभ सँग भने । त्यस पछि प्रहरी प्रधान कार्यालय नक्सालमा समेत जाहेरी दर्ता गराउन जाँदा जुन जिल्लामा घटना भएको हो सोही जिल्लामा दर्ता गराउन भनियो, उनले बताए । त्यस पछि बर्दिया स्थित जिल्ला प्रहरी कार्यालयमा समेत जाहेरी दर्ता गराउन जाँदा दर्ता गरिएन ।
सामान्य रूपमा शबको पोष्टमार्टम गरियोस् भन्ने खालको सामान्य जाहेरी लिएर आए मात्र दर्ता हुने प्रहरीले भनिरहेको छ तर, छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने भन्ने व्यहोरा सहितको जाहेरी पिडित परिबारले दर्ता गराउन खोज्दा घटना भएको ११थ् दिन हुन लाग्दा पनि शबको पोष्टमार्टम नगरिएको निवेदक सिंहले बताए ।
शब जति पुरानो हुँदै जान्छ त्यति नै यातना दिइएको छ भने त्यो प्रमाण नष्ट हुन सक्ने रणनीति तहत राज्यले यादबको शबको पोष्टमार्टम गर्न नचाहेको सिंहले बताए ।
मृतक यादबको शब काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतक यादवका माइला भाई बिष्णु प्रसाद यादव शब बुझ्नका लागि काठमाडौंमा रहेका छन् ।
बाँकेको जानकी गाउँपालिका(६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला १५ भदौमा मृत्यु भएको थियो । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा गडबडी देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद मैनालीले बताएका छन् ।
‘हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि शुरूमा स्थानीय जिल्ला अस्पताल गुलरियामा लगिएको थियो, त्यहाँबाट नेपालगञ्ज नर्सिङ होम हुँदै काठमाडौं पुर्याइएको थियो,’ एसपी मैनालीले भने, ‘स्वास्थ्यमा पहिले खासै समस्या त देखिएको थिएन । मृत्युको कारण त रिपोर्ट आएपछि स्पष्ट होला । तर, उच्च रक्तचाप मृत्युको कारण हुन सक्ने सम्भावना छ ।’
तर, स्वतन्त्र मधेश गठबन्धनले प्रहरीले यादवलाई हिरासतमा चरम यातना दिएका कारण मृत्यु भएको भन्दै घटनाको उच्च स्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गरेका छन् । मृतक यादबलाई शहीद घोषणा गरिनु पर्ने, मृतक परिवारलाई क्षतिपुर्ती स्वरूप राहत वितरण गर्नु पर्ने, दोषी प्रहरी उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीलाई कारबाही गरिनु पर्ने लगायतका माग राखेका छन् ।
प्रहरीको भनाई 
१७  भदौमा गृह मन्त्रालय  १३ भदौको राति  हिरासतमा यादवको हातखुट्टा नचल्ने भएको थियो । यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीवार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा । प्रकाश थापाले यादवलाई आइसीयूमा राख्न निर्देशन दिएका थिए । त्यसपछि यादवलाई काठमाडौं पठाइएको थियो ।
किन पक्राउ परेका थिए ?
यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले भदौ ७ गते बिहीवार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरेर राज्यविप्लवको मुद्दा लगाई हिरासतमा राखेको थियो । पक्राउ भएकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमै छन् ।
उपप्रधानमन्त्री यादबलाई स्वतन्त्र मधेश गठबन्धनका ती कार्यकर्ताहरूले कार्यक्रममा अबरोध पुर्याउन सक्ने, यादवलाई कालो झण्डा देखाउन सक्ने,शहीदहरूको शहादत तथा तिनको बलिदानीबारे प्रश्न गर्न सक्ने पुर्ब तयारीका साथ् कार्यक्रममा सहभागी भएका कारण उनीहरूलाई पक्राउ गरिएको थियो । उक्त घटना पछि मधेशमा उपेन्द्र यादवको समेत आलोचना भईरहेको छ ।
उच्चस्तरीय छानबिन गर्न सांसदहरूको माग
राष्टिूयसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिनु आपत्तिजनक भएको बताएका छन् । त्यसै गरी प्रतिनिधि सभाको बैठकमा समेत बिभिन्न सांसदहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले गत बुधबारको बैठकमा बिशेष समय लिएर घटनाको विभागीय होईन, न्यायिक छानबिन हुनु पर्ने माग राकेका थिए । ‘कस्टडी भनेको सरकारले जिम्मा लिनु हो, जिम्मा लिएको अबस्थामा मान्छे मारिएको छ, घटनाको छानबिन गरी कारबाही गरिनुपर्छ,’ सिंहले भनेका थिए ।
त्यसै गरी कांग्रेसकै अन्य सांसदहरू तेजुलाल चौधरी, भारत साह, संघीय समाजबादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरिया, राजपा नेपालका सांसद प्रमोद साह लगायतले प्रतिनिधि सभाको बैठकमा घटनाको उच्चस्तरीय छानबिन हुनु पर्ने माग गरेका थिए ।
गृह मन्त्रालयको जबाफ
हिरासतमा रहेको समयमा अस्वस्थ्य भएका रामनोहर यादवको उपचारका लागि अधिकतम प्रयत्न गर्दा गर्दै पनि निजको मृत्युको बिषयलाई लिएर प्रहरीको हिरासतमा मृत्यु भएको, यातना दिइएको, मानबोचित ब्यबहार नगरिएको जस्ता विषयहरू समाचारमाध्यममा आएकोमा यसमा कुनै सत्यता नरहेको गृह मन्त्रालयले जनाएको छ ।
१७  भदौमै गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुबेदीद्वारा जारी बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । ७ भदौमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादब सहभागी रहेको कार्यक्रममा अबरोध पुर्याउने उद्देश्यले हुलहुज्जत गरी कालो झण्डा देखाउने र बिखण्डन सम्बन्धी नारा लगाउने राममनोहर यादब समेत चार जनालाई प्रहरीले  नियन्त्रणमा  लिएको गृह मन्त्रालयले खुलाएको छ ।
जिल्ला अदालत बर्दियाबाट प्रथम पटक ७ दिनको म्याद थप भई अनुसन्धान भईरहेको अबस्थामा १४ भदौमा बिहान ६ः१५ बजेको समयमा एक्कासी बिरामी भई बेहोस भएको थियो ।
प्रहरीले तत्कालै जिल्ला अस्पताल गुलरिया पुर्याएकोमा सो अस्पतालले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान सिफारिश गरेको थियो । उक्त अस्पतालमा सघन उपचार कक्ष नहुँदा उक्त अस्पतालको सिफारिशमा यादवलाई नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारार्थ लगिएको मन्त्रालयले जनाएको छ ।
त्यहाँ पनि उपचार हुन नसकी १५ भदौमा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मेडिकल सामग्री सहित स्वास्थ्यकर्मी गयाप्रसाद चौधरी, यादवका नातेदार दीपाक पासी र प्रहरी सहायक निरीक्षक निम बहादुर राउत समेतको टोली पठाईएकोमा यादवको मृत्यु उपचारार्थ रहेकै अबस्थामा त्रिवि अस्पतालमा १६ भदौमा भएको गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यसअघि पनि प्रहरीले यादवलाई पटक(पटक पक्राउ गर्ने गरेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसभन्दा अगाडि २०७२ चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ फागुण ३ गते सफाई दिएको थियो ।
२०७३ मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो,’ विज्ञप्तिमा लेखिएको छ । ‘त्यसैगरी, २०७४ साल असार  २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा असार १९ गते यादवलाई रिहा गरिएको थियो ।’
प्रहरीले हिरासतमा यातना दिएको कारण उनीहरुले बाँके जिल्ला प्रहरी विरुद्ध दर्ता गरेको यातना तथा क्षतिपूर्ति मुद्दा समेत बाँके जिल्ला अदालतमा विचाराधीन रहेको छ । स्वतन्त्र मधेश गठबन्धनले यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने तथा बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने मांग गरेको छ ।




२०७५ भदौ २४ गते आईतबार
 

No comments:

Post a Comment