Tuesday, September 18, 2018

धनुषामा एक बर्षमा १९ जनाको हत्या

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा पछिल्लो आर्थिक बर्ष २०७४÷०७५ मा १९ जनाको हत्या भएको छ । प्रायः जसो हत्याका घटनामा घरायसी विवाद नै प्रमुख कारण रहेको देखिएको छ । विगतमा हत्या हुँदा संगठित अपराधिक समुहका गिरोहहरुले आपसी दुश्मनी साध्नका लागि, पैसा कमाउनका लागि अपहरण गर्ने, चन्दा माग्ने, फिरौति नदिँदा गोली प्रहार गरी हत्या गर्ने जस्ता प्रवृति फेरिएको छ । विगतमा तराईमा भुमिगत सशस्त्र समुह, आपराधिक समुहहरु र केही गुन्डा नाईके समुहहरुको आपसी रञ्जीसका कारण जिल्लामा व्यक्ति हत्या हुन्थ्यो । तर, नेपाल प्रहरीले ती सशस्त्र समुहहरुलाई तह लगाएपछि त्यस्तो किसिमको हत्या गर्ने प्रवृति अन्त्य भएको छ । तर, डर लाग्दो परिस्थिति के देखिएको छ भने अब घरायसी समस्या, घरेलु हिंसा आदिका कारणले व्यक्ति हत्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार अहिले धनुषा जिल्लामा  दर्ता भएको कर्तव्य ज्यानका अधिकांश मुद्दाहरुमा आपसी झैझगडा, लेनदेनका कारण विवाद, मादक पदार्थ सेवन गरी झगडा गर्ने, कतिपय दाईजोका विवाद आदिका कारणले व्यक्ति हत्या हुने गरेको पाइएको छ ।
कतिपय अवस्थामा श्रीमतिले श्रीमानलाई हत्या गरेको छ भने कतिपयमा श्रीमान्ले श्रीमतिलाई । यसका अतिरिक्त छिमेकीहरुका बीचमा विवाद हुँदा हत्या गर्ने प्रवृति वढेको प्रहरी उपरीक्षक थपलियाले बताए ।
पाँच बर्ष अघिको अवस्था हेर्ने हो भने तराईमा सबैभन्दा वढी हातहतियार तथा खरखजानाका मुद्दा दर्ता, चन्दा आतंक, अपहरण, बम विस्फोट, हत्या, हत्या प्रयास लगायतका मुद्दा बढी दर्ता हुन्थ्यो । तर, हत्या बाहेकका ती सबै मुद्दाहरुमा कमि मात्र आएको छैन, एक किसिमले न्यून नै भएको छ । तर, सवारी दुर्घटनामा परी मृत्यु हुने, अंगभंग हुने, आत्म हत्यामा भयानक वृद्धि, लागु औषध सेवनमा वृद्धि जस्ता अपराधहरु भने बढेको छ ।
धनुषामा एक बर्षमा १९ को हत्या
२६ जेष्ठ २०७३ मा धनुषाको जनक ननन्दी गाउँपालिका वडा नं. १ स्थित रामचन्द्र यादवको सुख्खा पोखरीको डिलमा एक जना पुरुषको घाँटी रेटी हत्या गरिएको लास फेला परेको थियो । अन्दाजी ३३ बर्ष उमेर रहेको ती व्यक्तिलाई अज्ञात व्यक्तिहरुले हत्या गरेको हुन सक्ने प्रारम्भीक अनुसन्धान भएपनि मृतकको सनाखत समेत हालसम्म हुन सकेको छैन भने प्रतिवादीहरुको समेत पहिचान हुन सकेको छैन ।
३१ साउन २०७४ मा जनकपुर उपमहानगरपालिका वडा नं.१ स्थित १२ बर्षिय विविका देवी साहलाई सोही ठाउँका रामचन्द्र नुनियाले घाँटी च्यापी हत्या गरेको थियो । घरमा कोई पनि नभएको बेलामा प्रतिवादी नुनियाले उक्त बालिकालाई बलात्कार गर्र्ने प्रयास गर्दा बालिकाले नमानेपछि बालिकाको घाँटी च्यापी हत्या गरेको थियो । प्रतिवादी नुनिया घटना स्थलमै तत्कालै पक्राउ परेको थियो । पक्राउ परेका प्रतिवादी नुनियालाई धनुषा जिल्ला अदालतले जलेश्वर कारागारमा राखि मु्द्दाको पुर्पक्ष गर्न गरेको आदेशानुसार प्रतिवादी नुनिया कारागारमा छन् ।
१० असोज २०७४ मा धनुषाको विदेहनगरपालिका वडा नं. ५, गिद्धा स्थित मोहनी देवी मण्डललाई केही व्यक्तिहरुको समुहले काठको गुलियाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । पुरानो घरघडेरीको लागि पुरानो रिसिवी रहेका कारण विदेह नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० की इन्दिरा देवी मण्डल, बर्ष ४५ कि मनतोरिया देवी मण्डल, बर्ष ३४ को रामबहादुर मण्डल र बर्ष ३० कि तेतरी देवी मण्डलले हत्या गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटबाट उपलब्ध विवरण अनुसार इन्दिरा देवी मण्डल र मन्तोरिया देवी मण्डललाई पक्राउ गरी अदालतमा पेश गरिएको छ भने बाँकी दुई जना प्रतिवादीहरु हालसम्म फरार रहेको छ । आपसी विवादका कारण भएको हत्याका मुख्य प्रतिवादीहरु फरार रहेका छन् ।
१३ असोज २०७४ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ स्थित स्थानमा दशैंको मेला हेरि फर्किने क्रममा सोही ठाउँका ५५ बर्षिय प्रेम बहादुर तामाङ्गलाई सोही स्थानका असर्फी सदा, रासलाल सदा, पलास देवी सदा र श्रीवति सदाले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए । घाईते तामाङ्गको उपचारको क्रममा मृत्यु भएको थियो । पक्राउ गरिएका प्रतिवादीहरु सबै जनालाई धनुषा जिल्ला अदालतले जलेश्वर कारागारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको छ ।
२८ असोज २०७४ मा जनकपुर उपमहानगरपालिका वडा नं.३ का रामवृक्ष यादवको हत्या गरियो । बाख्रा धपाई दिएको निहुँमा प्रतिवादी घुरन साहलाई गालीगलौच गर्दा रामवृक्ष यादवलाई घाँटी च्यापी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको थियो । उक्त घटनामा धनुषा नगराईन नगरपालिका वडा नं.३ बस्ने बर्ष ६३ का प्रतिवादी घुरन साह सुडीलाई धनुषा जिल्ला अदालतले १९ कार्तिक २०७४ मा २० हजार घरौटी लिएर तारेखमा छोडेको थियो । उक्त मुद्दामा बास्तविक हत्या नभई फसाउने उद्देश्यले मुद्दा दर्ता गराएको जस्तो लागेको हुनाले प्रमाण समेतको अभावमा प्रतिवादी सुडि धरौटीमा रिहा भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । अहिले उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
२ कार्तिक २०७४ मा धनुषाको सबैला नगरपालिका वडा नं. १३ स्थित अन्दाजी बर्ष ३५ कि एक महिलाको लास फेला परेको थियो । स्यामलो बर्ण, ५ फिट उचाई, कालो कपाल, रातो हरियो बुटा भएको सुतीको खुट्टामा बेरिएको, ३÷४ दिन पहिले हत्या गरी फालिएको एक महिलाको लास फेला परेको थियो । हालसम्म मृतक महिलाको सनाखत हुन सकेको छैन भने हत्यामा संलग्न प्रतिवादीहरुको पनि पहिचान खुल्न सकेको छैन ।
३ मंसिर २०७४ मा धनुषाको मिथिला नगरपालिका वडा नं.३ स्थित प्रदिप कुमार ठाकुरको हत्या भएको थियो । पुरानो रिसिवीका कारण मिथिला नगरपालिका वडा नं.२ बस्ने विरेन्द्र ठाकुर बडही, मनोज कुमार महरा र सुनिल कुमार महतोले घाँटी थिचि हत्या गरेको मुद्दा दर्ता भएको थियो । बैदेशिक रोजगारीमा जानका लागि लेनदेन विवाद भएका कारण लिएको पैसा फिर्ता नगरेपछि हत्या गरिएको थियो । सबै जना प्रतिवादीहरु र मृतक एक आपसमा साथी नै रहेका थिए । धनुषा प्रहरीले प्रतिवादी विरेन्द्र ठाकुर र मनोज कुमार महरालाई पक्राउ गरेको भएपनि सुनिल कुमार महतो हालसम्म फरार रहेका छन् ।
८ मंसिर २०७४ मा जनकपुर उपमहानगरपालिका वडा नं. २ स्थित बर्ष २२ की रंजना कुमारी शर्माको हत्या भएको थियो । ससुरा देवनारायण ठाकुरले बुहारी शर्मासँग अनैतिक सम्बन्ध राख्न खोज्दा रंजनाले इन्कार गरेपछि रंजनाका श्रीमान समेतले मिलेर रंजनाको घाँटी थिचि हत्या गरेको भन्दै मृतक रंजनाकी आमा प्रभा देवी ठाकुरले जाहेरी दर्खास्त दिएकी थिईन । धनुषा प्रहरीले उक्त घटनामा प्रतिवादीहरु बर्ष ६५ का देवनारायण ठाकुर, उनको श्रीमति बर्ष ६० कि सुमित्रा ठाकुर, उनका छोरा बर्ष ३० का आनन्द मोहन शर्मा, अर्का छोरा बर्ष ३५ का अरविन्द ठाकुर र अर्की बुहारी रिन्कु कुमारी ठाकुरलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी वढाएको थियो । धनुषा जिल्ला अदालतले ९ पुष २०७४ मा प्रतिवादी देवनारायण ठाकुरलाई जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । त्यसैगरी सुमित्रा देवी ठाकुरलाई र रिन्कु कुमारी ठाकुरलाई साधारण तारेखमा छोडेको थियो भने अन्य दुई जना प्रतिवादीहरु आनन्द मोहन शर्मा र अरविन्द ठाकुरलाई जनही १०(१० हजार रुपैयाँ घरौटीमा छोडेको थियो । मुद्दा अहिले पनि अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
१४ मंसिर २०७४ मा औरही गाउँपालिका वडा नं. ६ को चक्कर स्थित बर्ष १९ कि खैतुन खातुनलाई रहिम मंसुर लगायतका व्यक्तिले हत्या गरेको भन्दै जाहेरी दरखास्त दर्ता भएको थियो । उक्त घटनामा प्रतिवादी भनिएका व्यक्तिहरु औरही गाउँपालिका वडा नं. ६ का बर्ष ४२ का रहिमान मंसुर, उनको श्रीमति बर्ष ३५ का रुवेदा खातुन, अन्य प्रतिवादीहरु मस्तकिम मियाँ मंसुर र उनका श्रीमति बर्ष ४९ कि जमिला खातुन हालसम्म फरार रहेका छन् ।
२५ मंसिर २०७४ मा जनकपुर उपमहानगरपालिका वडा नं.१ भानु चौक देखि वकिल टोल जाने बाटोमा तुल्सी साहको मृत्यु भएको थियो । प्रतिवादी विजय कुमार मेहथाले तुल्सी साहलाई बोलाई तिमी मलाई घरसम्म पुर्र्याईदेऊ भने पश्चात मृतक तुल्सी साहले आफ्नै बा.८५ प ४६६१ नम्बरको मोटरसाईकलमा राखि पुर्याउन गएको अवस्थामा तुल्सी साहको टाउकोमा रडले प्रहार गरी टाउको छतविछत अवस्थामा वेहोस भएको थियो । स्थानीय मानिसहरुले घाईते तुल्सी साहलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लगि प्राथमिक उपचारका साथ थप उपचारको लागि विराटनगर नियूरो अस्पतालमा लग्दा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा प्रहरीले जनकपुर उपमहानगरपालिका वडा नं.२ बस्ने प्रतिवादी विजय कुमार मेहथालाई पक्राउ गरेको थियो । तर, पछि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशानुसार जिम्मा जमानीमा प्रतिवादी मेहथा छुटेका थिए । मुद्दा अहिले पनि अदालतमा विचाराधिन अवस्थामा छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उक्त घटनामा हत्याको पर्याप्त कारण सहितको प्रमाण फेला नपरेपछि उक्त घटना सवारी दुर्घटनाका कारण भएको प्रमाणको आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा जमानीमा छुटेको हो ।
९ पुष २०७४ मा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा बस्दै आएको अन्दाजी बर्ष ३५ को राधेश्याम अमातलाई निजकै श्रीमति मन्जु देवी अमातले हत्या गरेको जाहेरी दरखास्त दर्ता भएको छ । राधेश्याम अमात मादक पदार्थ सेवन गरेका कारण निज मन्जु देवीले घर बाहिरबाट ढोका बन्द गरी राधेश्यामलाई आगो लगाई जलाई हत्या गरी फरार रहेको भन्दै मुद्दा दर्ता गरिएको छ ।  अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रतिवादी मन्जु देवीको अन्य पुरुषसँग अनैतिक सम्बन्ध गाँसिएको, मापसे गरेर श्रीमान् घरमा आएर सँधै झगडा  गर्ने गरेपछि  श्रीमान् राधेश्यामलाई जिउँदै जिउमा  पेटूोल  छर्केर आगो लगाई घरको ढोका  बन्द गरी हत्या गरेका थिए ।
९ फागुन २०७४ मा जनकपुर उपमहानगरपालिका वडा नं.१ मा प्रतिवादी दिलिप कुमार यादव समेतले मिलेर आफ्नै कोठामा आफ्नै छोरी १६ बर्षिय स्नेहा कुमारी यादवको हत्या गरेको थियो । उक्त घटनामा धनुषा सहिदनगर नगरपालिका घर भई हाल जनकपुर उपमहानगपालिका वडा नं. १ बस्ने प्रतिवादी दिलिप कुमार यादव र राधेश्याम गोईतलाई पक्राउ गरेको थियो । २३ चैत्र २०७४ मा धनुषा जिल्ला अदालतले दुवै जना प्रतिवादीलाई जलेश्वर कारागारमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । त्यसैगरी अन्य प्रतिवादीहरु धनुषा सहिदनगर नगरपालिका वडा नं. ७ बस्ने हेमशंकर भण्डारी, अजय मण्डल, जमुना मण्डल, जिल्हा दास र प्रदिप यादव, सरिता देवी, संयूता कुमार दास र धनुषाधाम नगरपालिका वडा नं. १ बस्ने महेश कुमार सिंह हालसम्म फरार रहेका छन् ।
३ चैत्र २०७४ मा जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित सुनिषटा बराललाई घाँटी थिचि हत्या गरियो । घटनाका प्रतिवादी धनुषा लक्ष्मिनियाँ वडा नं. ५ बस्ने बर्ष २६ का मनिषचन्द्र यादव र जनकपुर रमदैया स्थित जानकी मेडिकल कलेजको लेखा शाखामा कार्यरत प्रमोद मण्डल हालसम्म फरार रहेका छन् । सुबेदी झुन्डिएको अवस्थामा फेला परेको थियो । आत्म हत्या नै भएपनि आत्म हत्या गर्नुपर्ने कारणसँग प्रतिवादीहरु जोडिएका कारण हत्या मुद्दामा परिणत भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
३ चैत्र २०७४ मा धनुषाको कमला नगरपालिका वडा नं. ८ स्थित कमला खोलामा ७ बर्षिय बालक रमन सदालाई अज्ञात व्यक्तिले अपहरण गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । कमला नदिको खोलामा पानीमा मृत अवस्थामा फेला परेपछि पानीबाट निकाली हेर्दा सदाको ज्यानमा धारिलो हतियारले आक्रमण गरिएको पाइएको थियो । उक्त घटना किन र कसले गराएको हो भन्ने विषयमा धनुषा प्रहरीले हालसम्म केही पनि पत्ता लगाउन सकेको छैन ।
१८ चैत्र २०७४ मा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ इच्छापुर स्थित घरायसी बादविवादमा बर्ष ४५ कि तेतरी देवी भण्डारीले आफ्नै श्रीमान रामसरोज भण्डारीको हत्या गरेको भन्दै मृतकका पिता राजेन्द्र भण्डारीले जाहेरी दरखास्त दर्ता गराएका थिए । घटनाका प्रतिवादी तेतरी देवी भण्डारी हालसम्म फरार छन् ।
७ बैशाख २०७५ मा धनुषाको सबैला नगरपालिका वडा नं. १० खरिहानी स्थित २० बर्षिय अन्जनी देवी दासलाई निजको आफ्नै श्रीमान् प्रतिवादी दिपेन्द्र दास समेतले मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको थियो । प्रतिवादी दास हाल फरार रहेका छन् ।
१३ अषाढ २०७५ मा धनुषा कमला नगरपालिका वडा नं. ५ स्थित राजेश कुमार चौधरी र धर्मेन्द्र कुमार मण्डल समेतले घरेलु मदिरा विक्री वितरण गरिरहेको अवस्थामा सोही ठाउँका रामनाथ पासवान, रामचन्द्र पासवान, गंगा कुमार पासवान, मणि पासवान, समिर मियाँ अन्सारीको मृत्यु भएकाले निज प्रतिवादीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही गरि पाऊँ भन्ने व्यहोराको जाहेरी दर्ता भएको थियो । उक्त घटनाका प्रतिवादीहरु कमला नगरपालिका वडा नं. ७ बस्ने बर्ष २५ का राजेश चौधरी र वडा नं. ६ बस्ने धर्मेन्द्र कुमार मण्डल हालसम्म फरार छन् ।
२३ अषाढ २०७५ मा धनुषाको मिथिला नगरपालिका वडा नं. ९ स्थित बर्ष ४५ का लेखबहादुर भुजेललाई चोर हो भन्दै रुखमा बाँधी केही व्यक्तिहरुले कुटपिट गरी घाईते बनाएका थिए । गम्भीर घाईते भएको भुजेललाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लगिरहेको अवस्थामा बाटोमा नै मृत्यु भएको थियो । घटनाका प्रतिवादीहरु मिथिला नगरपालिका वडा नं. ९ बस्ने फाल्गुनी देवी पौडेल, शिव कुमार खत्री, हरिबहादुर अधिकारी, ज्ञानबहादुर क्षेत्री र दिपक श्रेष्ठलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान अगाडी वढाएको छ ।



२०७५ श्रावण १३ गते आईतबार

No comments:

Post a Comment