Tuesday, September 18, 2018

जनकपुरधाममा माछा, मासु तथा मदिरा बिक्रि वितरणमा निषेध लगाउन महिलाहरूको अभियान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरधाम उपमहानगरपालिका भित्र माछा, मासु तथा मदिरा जन्य पदार्थको बिक्री वितरणमा निषेध लगाउन महिला अगुवाहरूले दबाब दिन थालेका छन् । खास गरेर जनकपुरधाम शहर भित्रको परिक्रमा क्षेत्र भित्रमा कुनै पनि होटेलमा माछा, मासु तथा मदीरा बिक्रि वितरण गर्ने कार्यमा प्रतिबन्ध लागईनु पर्ने महिला अगुवाहरूको माग रहेको छ ।
फागुनमा जानकी मन्दिरलाई केन्द्र मानेर नेपाल र भारतको बिभिन्न स्थानमा लाखौँ तिर्थालूहरू प्रत्येक बर्ष १५ दिनको ‘मिथिला माध्यमिकी परिक्रमा’ गर्छन । जनकपुरधाम बाटै सुरु हुने उक्त परिक्रमा अन्तिम दिनमा जनकपुरधाम शहरको बाहिरि चक्रपथको वरिपरी पांच कोषको दुरीमा ’पन्चकोषी’ परिक्रमा गर्ने गर्छन । त्यसलाई जनकपुरधाममा     ‘अन्तरगृही परिक्रमा’ पनि भनिन्छ ।
त्यही अन्तरगृही परिक्रमा क्षेत्र भित्र माछा, मासु तथा मदीरा बिक्रि, वितरणमा प्रतिबन्ध लगाईनुपर्ने माग गर्दै राजपा नेपाल महिला संघले दबाबमूलक कार्यक्रम गर्न थालेका छन् । राजपा नेपालका महिला संघले त्यसका लागि जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर मेयर लाल किशोर साह, उपमेयर रिता देबी मिश्र, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाही, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साहलाई भेटेर निषेधित क्षेत्र घोषणा गर्नका लागि ज्ञापन पत्र नै बुझाईसकेका छन् ।
’जनकपुरधाम उपमहानगरपालिका एउटा धार्मिक शहर समेत भएकाले साधु सन्त आउँदा शहर भित्र जहाँ तहाँ माछा, मासु तथा मदिरा बिक्रीहुनाले पर्यटकहरूमा जनकपुरधाम प्रति नकारात्मक छाप पर्दा जनकपुरधामको बदनामी भईरहेको छ,’ राजपा नेपाल महिला संघकी केन्द्रिय सदस्य विभा ठाकुरले भनिन्, ‘खास गरेर खुलेआम माछा, मासु र मदिरा बिक्रि वितरण हुँदा हामी महिलाहरू असुरक्षित समेत महशुश गर्छौं ।’
मदिरा सेवनका कारण नै घरमा महिला हिँसाका घटना बढ्नुका साथै समाजमा बलात्कारका घटना समेत बढिरहेकाले पनि जनकपुर शहर भित्र माछा, मासु र मदिरा बिक्रि वितरणमा प्रतिबन्ध लगाईनुपर्छ, ठाकुरले द एक्सक्लुसिभसँग भनिन् । हाम्रो चाहना त पुरै जनकपुरधाम उपमहानगरपालिका मात्रै होईन, २ नम्बर प्रदेश मै भारतको बिहार जस्तो मदिरा बिक्रि, वितरण र सेवनमा पूर्णतः प्रतिबन्ध लाग्नु पर्छ भन्ने हो, तर कम से कम जनकपुरधाम उपमहानगरपालिका भित्रको परिक्रमा क्षेत्र भित्र त प्रतिबन्ध हुनै पर्यो, ठाकुरले बताईन् ।
अहिले १५ दिनको हामीले मेयर र उपमेयरलाई अल्टिमेटम दिएका छौँ, उहाँहरूले बन्द गराउनु भएन भने हामी महिला आफैं प्रहरी प्रशासनको सहयोग लिएर संचालनमा रहेका ती पसलहरू बन्द गराउन जानेछौं, ठाकुरले भनिन् ।
१ भदौ २०४९ सालमा नै सर्बोच्च अदालतले समेत जनकपुरधामको परिक्रमा क्षेत्र भित्र माछा, मासु तथा मदीरा बिक्रि वितरणमा निषेध गर्न फैसला समेत गरिसकेका कारण पनि त्यसको कार्यन्वयन हुन नसक्दा यस्तो स्थिति आएको जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता देबी मिश्रले भनिन् । ‘हामीले आफैं पनि नगरसभाको बैठकबाट जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्र भित्र माछा, मासु र मदीरा बिक्रि वितरणमा प्रतिबन्ध लागाउने निर्णय गरिसकेका छौं, तर महिला अगुवाहरूले भने जस्तै १५ दिनमै त बन्द गर्न सकिन्न ।’
एक बर्ष भित्रमा भने प्रतिबन्ध लगाउन सकिन्छ, मिश्रले बताईन् । जनकपुरधाममा शहरको बाटो फराकिलो बनाउन अहिले नगरबासीले आफ्नो घर भत्काएर पुनर्निर्माण गरिरहेकाले अहिले नै लागु गर्न कठिनाई हुने उपमेयर मिश्रले बताईन् ।
७ नम्बर वडामा प्रतिबन्ध
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष जानकीराम साहले आफ्नो वडा भित्र माछा, मासु तथा मदिरा बिक्रि वितरणमा निषेध लगाएका छन् । संचालित सबै पसलहरूलाई आउँदो ११ मङ्सिर २०७५, सम्म परिक्रमा क्षेत्र भन्दा बाहिर पसल संचालन गर्न निर्देशन दिएका छन् ।
साहको अध्यक्षतामा ७ भदौ, २०७५ मा बसेको वडा सदस्यहरू तथा वडामा संचालन गरिरहेका होटेल ब्यबसायीहरू समेतको बैठकबाट वडा नम्बर ७ भित्र इजाजत लिएका, नलिएका माछा, मासु र मदिरा पसलहरू परिक्रमा क्षेत्रको २ सय मिटर सम्ममा संचालन गर्न नपाउने निर्णय गरिएको छ । उक्त पसल ११ मङ्सिर देखि खाली नगरी अटेर गरेमा कानून बमोजिम कारबाही समेत गरिने निर्णयमा उल्लेख छ ।
 साकाहारी होटेल संचालन गर्न पाईने, तर साकाहारी होटेलमा समेत माछा, मासु तथा मदीरा बिक्रि गरेको पाईए कारबाही हुने निर्णयमा उल्लेख छ । त्यसरी फेला परे पहिलो पटकका लागि ११ हजार रुपियाँ, दोस्रो पटकको लागि २१ हजार, तेस्रो पटकको लागि ५१ हजार रुपियाँ जरिबाना लाग्ने निर्णय गरिएको वडाध्यक्ष साहले बताए ।     चौथो पटक पनि फेला परे त्यो पसलको लाईसेन्स खारेजी     गर्ने निर्णय भएको साहले बताए ।
जनकपुर उपमहानगरपालिका जनकपुरधाम उपमहानगरपालिका भईसकेकाले यहाँ साधु सन्तहरूको आवगमन हुँदा अफ्ट्यारो भईरहेकाले त्यस्तो निर्णय गर्न बाध्य भएको वडाध्यक्ष साहले बताए । वैष्णव पर्यटकहरूलाई जनकपुरमा साकाहारी होटेल भेटाउनै मुस्किल परिरहेको अबस्था उत्पन्न भएकाले पनि उक्त निर्णय गरिएको साहले बताए ।
आफ्नो वडामा माछा, मासु वा मदिरा पसल संचालन नै नगर्न पाउने होईन, तर, परिक्रमा क्षेत्रको २ सय मिटर बाहिर मात्र संचालन गर्न पाउने उनले बताए ।
अहिले जनकपुर शहर भित्र परिक्रमा क्षेत्र भित्र जति पनि होटेल संचालित छन्, वा माछा मासुको पसल संचालित छन्, ती मध्ये कसैलाई पनि उपमहानगरपालिकाको कार्यालयले पसल संचालन गर्नका लागि इजाजत दिएको छैन, साहले बताए । ‘सबै पसल बिना इजाजत संचालनमा छन्, त्यस हिसाबले पनि ती पसलहरू स्वाभाविक रूपले बन्द हुने अबस्था आउँछ,’ साहले भने ।
तर, कोल्ड स्टोरको रूपमा संचालित मदिरा पसललाई के गर्ने भन्ने सबालमा अहिले नै निर्णय त नगरेको तर, त्यस बारे पनि पसल संचालकहरूलाई बोलाएर छलफल गरि निर्णय लिइने उनले द एक्सक्लुसिभलाई बताए ।



२०७५ भदौ ३१ गते आईतबार
 

No comments:

Post a Comment