Tuesday, September 18, 2018

बलात्कारीलाई सजायबारे प्रदेशसभामा बहस मृत्युदण्ड देखि नपुंसक बनाएर आजीवन काराबाससम्मको सजाय माग

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दुई नम्बर प्रदेशमा बलात्कारीलाई कस्तो सजाय दिनु पर्ने बिषयमा प्रदेशका सांसदहरूले अनौठो किसिमको माग गरिरहेका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा तत्कालिन नेकपा माओबादी केन्द्रकी सांसद रुबी कुमारी कर्णले बलात्कारीलाई नपुंशक बनाएर आजीवन जन्मकैदको सजाय दिने कानून बनाउन प्रदेश सरकारसँग माग गरेका छन् ।
२ नम्बर प्रदेशमा बलात्कारको घटना धेरै बढिरहेको अबस्थामा बलात्कार के कति कारणले हुने गरेको भन्ने कुराको खोजी गर्दै निदानको उपाय समेत खोज्नु पर्ने बताउंदै सांसद कर्णले भनिन्,‘हिजो केही माननीय सांसदज्युहरूले बलात्कारीलाई फाँसी(मृत्युदण्ड)को सजाय दिने कानून बनाउन माग गर्नु भएको थियो, तर त्यो संग म सहमत छैन ।’ बलात्कारीलाई नपुंशक नै बनाएर आजीवन काराबास दिने कानून बनाउनु पर्छ, सप्तरीकी सांसद कर्णले भनिन् ।
त्यसै गरी नेपाली कांग्रेसकी सांसद शोभा लामाले पनि सोहि प्रकारको कानून बनाउन माग गरेकी छन । ‘बलात्कार गर्ने बलात्कारीको यौनांग काटेर गाउँ समाजमा घुमाएर अनि मात्र जेल पठाउनु पर्ने कानून बनाउन आबश्यक छ ।’ मुख्यमन्त्री लालबाबु राउत ज्युले ‘बेटी पढाउ बेटी बचाउ अभियान’ आजबाट बिधिबत रूपमा एक कार्यक्रम गरि संचालन गर्नु भएको छ, तर अहिले बेटीलाई पढाउनु भन्दा पनि पहिले सुरक्षा आबश्यक रहेको सांसद लामाले बताईन् ।
त्यसै गरी नेपाली कांग्रेसकी सांसद प्रमिला देबी दासले पनि महोत्तरीको औरही घटना बारे प्रदेश सरकारले छानबिन गरेर सत्य तथ्य सदनलाई जानकारी गराउनु पर्ने माग गरेकी छन् ।
प्रदेशमा चेली सडकमा हिंड्दा पनि जिस्काउने गरिन्छ, बिहे गरेर घरमा जाँदा घरेलु महिला हिँसा हुन्छ, दाइजो का लागि यातना दिइन्छ, बोक्सीको आरोप लगाईन्छ, भन्दै प्रदेशमा महिला असुरक्षित रहेको उनले बताइन् ।
गाउँ देखि शहर सम्म अबैध खुल्ला मदिरा पसल संचालित छन, भारतको बिहार जस्तै दुई नम्बर प्रदेशमा पनि मदीरा बिक्रि, वितरण र सेवनमा प्रतिबन्ध लगाईनु पर्ने सांसद दासले बताईन् ।
राजपा नेपालकी सांसद सुरीता साहले पनि औरहीमा भएको घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् । महोत्तरी जिल्लामा लागु औषधको सेबन गर्ने, नसाको सुई लिने, ट्याब्लेट खाने क्रम धेरै बढेकाले बलात्कारका घटना बढिरहेको भन्दै महोत्तरीकी सांसद साहले भनिन्,‘प्रदेश सरकारले यो प्रदेशमा लागु औषध सेबनको कामलाई पूर्णतः नियन्त्रित गरिनुपर्ने आबश्यकता छ ।’
राजपा नेपालका सांसद मनिष सुमनले पनि प्रदेशमा भईरहेको बलात्कारका घटना हेर्दा आफुलाई मानब भनाउदा पनि लाज लागिरहेको बताएका थिए । छोरी भएकै आरोपमा छोरीहरू बलात्कृत हुनु अत्यन्तै दुर्भाग्यपूर्ण अबस्था रहेकोले बलात्कारीलाई फाँसी (मृत्युदण्ड)को सजाय दिंदा पनि कमै हुने सांसद सुमनले बताए ।
आफु पनि छोरीको पिता रहेकाले छोरीको पिता हुनुमा आफुलाई गर्ब समेत भएको सुमनले बताए ।
औरही बालिका अपहरण र हत्या बारे सरकारको जबाफ
महोत्तरीको औरही नगरपालिकामा एक जना ७ महिने बालिकालाई अपहरण, बलात्कार र हत्या गरिएको सबालमा सांसदहरूले प्रश्न उठाए पछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सदनमा जबाफ दिएका छन् । औरहीमा एक जना ९ महिने बालिकाको अपहरण पश्चात हत्या गरेको घटना अत्यन्तै दुखद, निन्दनीय मात्रै होईन हामी सबै मर्माहत भएका छौं । निश्चित रूपमा त्यो मानबिय प्रवृति हुन सक्दैन, तथापि यो सत्यलाई स्वीकार गर्नु पर्ने अबस्था रहेको मन्त्री यादबले बताए ।
उक्त घटनाका दोषीलाई पक्राउ गर्नका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासी समेतले बिभिन्न किसिमका अभियानहरू जारी राखेका छन्, तर घना जङ्गल, उखु घारीमा प्रतिवादी लुकेर भाग्दै गरेको अबस्था रहे पनि चाँडो भन्दा चाँडो प्रतिवादी पक्राउ पर्ने छ, मन्त्री यादवले प्रतिबद्धता जनाएका थिए ।
बलात्कारीलाई कडा भन्दा कडा कानून बनाएर सजाय गर्ने कानून पनि प्रदेश सरकारले बनाईरहेको उनले सदनलाई जानकारी गराएका थिए ।
औरहीमा भएको बालिका अपहरण र हत्या घटनाको छानबिन गर्न एक उच्च स्तरीय छानबिन समिति पनि बनाएर छानबिन गर्नुका साथै दोषीलाई कडा भन्दा कडा कारबाही गरिने मन्त्री यादवले बताएका थिए ।
 



२०७५ भदौ १७ गते आईतबार
 

No comments:

Post a Comment