Tuesday, September 18, 2018

प्रदेश सभामा महोत्तरीमा बालिका बलात्कार र हत्याको बिषयमा सरकारलाई ध्यानाकर्षण बलात्कारीलाई फाँसीको सजाय दिने कानून बनाउन सांसदको माग

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२ नम्बर प्रदेशमा बलात्कारको घटना बढ्दै गईरहेकाले बलात्कारिलाई फाँसीकै सजाय हुनुपर्ने प्रदेश सभा सांसदहरूले प्रदेश सरकारसँग माग गरेका छन् ।
आज प्रदेश सभाको बिशेष समयमा बोल्दै बारा की सांसद ज्वाला कुमारी साहले बलात्कारीलाई प्रदेश सरकारले आफ्नै कानून बनाएर फाँसीको सजाय निर्धारण गर्ने गरी कानून बनाउन प्रदेश सरकारसँग आग्रह गरेका छन् । ‘यो प्रदेशमा बलात्कारको संख्या बढ्दै गएको छ, रोकिनुपर्नेमा न्यूनीकरण समेत हुन सकेको छैन, त्यस कारण कडा भन्दा कडा कानून बनाउनका लागि बलात्कार गर्ने बलात्कारीलाई फाँसी नै दिनुपर्ने कानून बनाउन आबश्यक छ,’बारा ३ (१)बाट तत्कालिन नेकपा माओबादी केन्द्रबाट निर्बा्चित सांसद साहले बताईन् ।
त्यसै गरी महोत्तरीकै सांसद शारदा देबी थापाले महोत्तरीको औरहीमा गत आइतबार एक जना आठ महिने दुधे बालिका सोनाली चौधरीलाई अपहरण गरेर बलात्कार गर्दै हत्या गरिएको भए पनि स्थानीय प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेकोमा प्रहरी प्रशासनको आलोचना गरेका छन् । उमेर पुगेका महिलाको बलात्कार हुँदा अलि सामान्य रूपमा लिने गरिन्छ तर, दुधे बालिकाको समेत बलात्कार गर्ने घटना हुनु प्रदेशकै लागि लज्जास्पद बिषय रहेको सांसद थापाले बताइन् ।
महोत्तरी १(१)बाट निर्बा्चित तत्कालिन नेकपा एमालेकी सांसद थापाले उक्त घटना भए पछि सिसिटिभी क्यामेरामा रहेको फूटेजको आधारमा स्थानीयबासीको सहयोगले अपराधीको प्रष्ट पहिचान भईसकेको भए पनि अपराधीलाई खोजि गर्ने काम भई नै रहेको जबाफ मात्र आईरहेको बताईन् ।
महोत्तरीको औरही नगरपालिका मात्रै होईन, औरही संगै टाँसिएका अन्य स्थानीय तह र अब बिस्तारै जिल्ला नै आन्दोलित हुने अबस्था आइसकेकाले तत्कालै अपराधिलाई पक्राउ गरेर प्रहरीले सार्बजनिक गरोस्, थापाले बताईन् ।
एका तर्फ मुख्यमन्त्री लाल बाबु राउतज्युले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ चलाउनु भएको छ तर, अर्को तर्फ चेलीबेटी असुरक्षित हुंदै गएका छन्, प्रदेश सरकारले त्यसको जबाफ दिनुपर्ने सदनमा बोल्दै सांसद थापाले प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
सदनमा उठेका सवालहरूमा प्रदेश सरकारका मन्त्रीहरूले जबाफ नदिने गरेको भन्दै सांसदहरूले प्रश्न उठाए पछि सभामुख सरोज कुमार यादवले प्रदेश सरकारलाई जबाफ दिन भन्दै रुलिंग गरेका छन् । प्रदेश सभाको बैठक अहिले पनि जारी नै छ ।

 



२०७५ भदौ १७ गते आईतबार
 

No comments:

Post a Comment