Tuesday, September 18, 2018

सांसद बबिता चौधरीको पीडा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजपा नेपालबाट समानुपातिक कोटामा निर्बाचित भएकी सांसद बबिता चौधरी केही दिन अघि प्रदेश सभाको बैठकमा सम्बोधन गरिरहँदा उनको आँखाबाट आँशु झरेको थियो ।
सभामुख सरोज कुमार यादबको ध्यानाकर्षण गराउंदै उनले मधेश आन्दोलनका क्रममा मारिएका घटना बारे प्रसंग उठाएकी थिइन् । सदनमै पनि तेस्रो मधेश आन्दोलनका क्रममा शहादत दिएका शहीदहरूको तस्बीर नराखिएकोमा उनले आपत्ति जनाएकी थिइन् । ‘मैले आफ्नो छोरा र ससुरा गुमाएकी छु, तर शहीदहरूको फोटोमा मेरो छोरा र ससुराको फोटो नै छैन,’ सांसद चौधरीले भनिन् , ‘यही सदनमा कतिपय माननीय ज्युहरूले त्यो फोटोमा तपाइंको छोरा र ससुरा कुन हो भनेर भन्दा मैले चिनाउन सकिरहेको छैन ।’
उनले भनिन्, ‘म सदनबाटै पिडित छु । मेरो परिबार जस्तै मधेशमा ७५ जनाले ज्यान गुमाएका छन् । ती नै शहीदहरूको बलिदानीका कारण आज २ नम्बर प्रदेशमा मधेश सरकार गठन भएको छ । तर, शहीदहरूको फोटो नै राखिएको छैन ।’
महोत्तरीको सरकारी कार्यालयमा समेत शहीदहरूको फोटो राखिएको छैन । २ नम्बर प्रदेशका सबै सरकारी कार्यालयहरूमा शहीदहरूको फोटो राखिनुपर्ने उनको माग थियो । जसरी मधेश आन्दोलनका क्रममा सशत्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्यालाई लिएर अदालतमा मुद्दा दर्ता भएको छ, मान्छे पक्राउ परेका छन्, त्यसै गरी मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट मारिएका व्यक्तिहरूलाई पनि अदालतले न्याय दिनु पर्छ, उनले सदनमा सम्बोधन गर्दै भनेकी थिइन्,‘मैले पनि निर्दोष छोरा र ससुरा गुमाएकी छु । प्रहरीले हत्या गरेको छ । त्यसको पनि छानबिन हुनु पर्छ ।’
गिरिश चन्द्र लाल आयोगले गरेको छानबिन प्रतिबेदन सार्बजनिक गरी उक्त प्रतिबेदन अनुसार दोषीलाई कानूनको कठघरामा ल्याउनु पर्ने चौधरीले सदनमा प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
२०७२ सालको मधेश आन्दोलनका क्रममा उनको परिवारमा ठुलै बज्रपात भएको थियो । २३ भदौ २०७२ मा उनले आफ्ना छोरा रोहण चौधरी र त्यसको दुई दिन पछि २५ भदौमा ससुरा गणेश चौधरी गुमाउनु परेको थियो । सुरक्षाकर्मीले चलाएको गोलीबाट उनीहरूको निधन भएको थियो ।
सधैं जसो ट्युसन पढ्न रोहण घरबाट निस्किएका थिए । ट्युसन सकिएपछि रोहन चौधरी घरतिर फर्किरहेका थिए । १० कक्षामा अध्ययनरत रोहण लाई बाटोमा भेटिएका मामा विनोद चौधरीले ‘बाटोमा झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति पनि बढाए । तर, महेन्द्र चोक काट्नै पाएनन् । प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो । उनी ठाउँका ठाउँ ढले । शहीद रोहणकी आमा बबिता चौधरी भन्छन, ‘हमर बेटाके फिर्ता दिय (मेरो छोरा फिर्ता देऊ), मेरो छोराको के दोष थियो?’
रोहण जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा पढ्थे । ‘पढाइमा राम्रो थियो, उसको इच्छा बुझेर डाक्टर वा इन्जिनियर बनाउने सपना थियो,’रोहणका बुवा  विनय चौधरीले भावविह्वल हुँदै भने । रोहणको सहादत बहेको दुई दिन पछि उनका हजुरबुवा गणेश चौधरी पनि मारिएका थिए  । गणेश साँझ हिँडडुल गर्न रतवाडा गाउँनजिक रहेको हटिया पुगेका बेला प्रहरीले गोली प्रहार गरेको थियो । बायाँ आँखामै गोली लागेर उनी साइकलसहित सडक किनाराको खेतमा ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भयो ।
‘दुनियाँको सारा विपत मेरै परिवारका लागि पर्खेर बसेको रहेछ, ‘छोरा र बुबा गुमाएका विनयले भने, ‘मेरा बुबा र छोराको के दोष थियो ? निर्दोष छोरा र बुबा मार्नेको कहिल्यै भलो हुँदैन ।’
गणेश रेडक्रस उपशाखा जलेश्वरका सभापति थिए । उनी जिल्ला शाखामा ३० वर्षसम्म मन्त्री भएका थिए । उनले जनवानी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका थिए । त्यसैगरी राष्टिूय  समाचार समितिका महोत्तरी सम्वाददाता भएर समेत उनले काम गरेका थिए । यति मात्र होइन उनी रेडक्रस आँखा उपचार केन्द्रको व्यवस्थापक समेत रहेका थिए । 
भोज राज घिमिरे गृहमन्त्री भएका बेला जलेश्वर नगरमा उनी नगर पञ्चायतका उपसभापति समेत बनेका थिए । इस्माइल अन्सारी सभापति भएका बेला उनी उपसभापति भएका थिए । महोत्तरीका प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत पत्रकार कुमरकान्त झा भन्छन्,‘उनी सदैव राजसंस्था र पञ्चायती व्यवस्थाका पक्षधर थिए । जब उनी नगरको उपसभापति भएर जनमत संग्रहमा बहुदललाई पराजित गरी निर्दललाई जिताउन भुमिका निर्वाह गरे तब उनलाई २०३६ साल तिर तत्कालीन राजा वीरेन्द्र शाहले सेवा पदकसमेत प्रदान गरेका थिए ।’
उनी रेडक्रस र पत्रकारिताका अतिरिक्त शिक्षा क्षेत्रमा पनि गम्भीर थिए । महोत्तरीको जलेश्वरमा मनिपाल इन्जिनियरिङ्ग कलेज संचालन गराउनमा उनले ठुलो योगदान निर्वाह गरेका थिए । त्यसैगरी उनी जलेश्वर क्याम्पसको संस्थापक सदस्य पनि थिए ।
गुरु पुर्णिमाका अवसरमा रोहण चौधरीले लेखेको पत्र
आदरणीय सम्मानीय गुरु वर्ग, सम्पुर्ण विद्यार्थी साथी भाईहरु  । म आज गुरु पुर्णिमाको विशेष दिनमा उज्जयालो भविष्य दिने यहाँ उपस्थित गुरु वर्गहरुका बारेमा केही भन्न गईरहेको छु ।
हामी आज जे पनि छौ त्यो सबै गुरुको कारणले नै हो । यदि आज अहिले यो संसारमा गुरु नभएको भए हामी बाँदर जस्तै हुन्थ्यौं । गुरु हाम्रो जीवनको महान सम्पती हो । हामीले गुरुलाई भगवानको रुपमा मान्ने गर्छौं । हामीले गुरुको कारणले नै विद्या हासिल गर्न पाएका छौं ।
यदि गुरु नभएको भए आज कोही पनि व्यक्ति शिक्षित हुन सक्ने थिएन होला । गुरुको कारणले नै हामी सहि र गलत छुट्याउन सक्छौं । गुरुले गर्दा नै शिक्षित हुन्छौं र आफ्नो भविष्य बनाउन सक्छौं । शिक्षा विनाको जीवन अधुरो हो भने गुरु विनाको जीवन पनि अधुरो नै हो । यदि हामी विद्यालय गयौं र त्यहाँ गुरु नै छैन भने त्यो विद्यालयको केही पनि काम छैन । गुरुले गर्दा नै मानिस डाक्टर, इन्जिनियर, पायलट बन्छन् । गुरुलाई हामीले सधै सम्मान गर्नुपर्छ । उहाँहरुलाई सधै खुशी राख्नुपर्छ । र, कहिले पनि अपमान हुने काम हामीले गर्नु हुँदैन ।
विद्यालयमा हामी धेरै कुराहरु सिक्छौं । त्यो सबै गुरुहरुबाट प्राप्त गछौं । विद्यालयमा गएर हामीले थाहा नभएका कुराहरु सिक्छौं । यदि गुरुहरु नभईदिएको भए आज हाम्रो देशको अवस्था धेरै कमजोर हुन्थ्यो । गुरुको चित्त दुखाउनु भनेको आफ्नो बुवा र आमाको अपमान गर्नु हो । हामीले कुनै पनि नराम्रो काम गर्नु हुँदैन, जुन कामले गुरुको चित्त दुखोस् । यति भन्दै म तपाईहरुको माझमा एउटा कविता भन्न चाहन्छु ।
गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वर । गुरु भनेको ब्रम्हा, विष्णु र परमेश्वर हो । गुरु भनेको साक्षात देवता हो । गुरुलाई हामी सबैले सम्मान गर्नुपर्छ । यति भन्दै म आफ्नो दुई शव्द समाप्त गर्दछु, धन्यवाद ।
मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर धेरै नागरिकको ज्यान गएको थियो । महोत्तरीमा नै पछिल्लो २०७२ सालको मधेश आन्दोलनमा ६ जनाको ज्यान गएको थियो । एकै परिवारबाट बाजे र नातिको समेत ज्यान गएको घटनाले  महोत्तरी जलेश्वरकी बबिता चौधरीले मधेश आन्दोलनका क्रममा आफ्ना छोरा र ससुरा गुमाएकी थिइन् ।


२०७५ भदौ २४ गते आईतबार
 

No comments:

Post a Comment