Tuesday, September 18, 2018

शहीद परिवारको सहयोगका लागि प्रदेश सरकारबाट ‘विशेष व्यवस्था’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका लागि २ नम्बर प्रदेश सरकारले ‘विशेष व्यवस्था’ गरेको छ । प्रदेश सरकारले मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्दे्शिका २०७५ जारी गर्दै सहयोग गर्ने व्यवस्था गरेको हो । शहीद परिवारका सदस्य र घाइतेले पढ्न चाहेको सरकारी विद्यालयमा १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिने निर्दे्शिकामा उल्लेख छ । शहीद परिवारका सदस्य र घाइतेलाई दिइने सीपमूलक तालिममा पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
प्रदेश सरकारको कुनै पनि सरकारी कार्यालयमा कुनै कर्मचारीको दरबन्दी रिक्त भएमा प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति नहुन्जेलसम्म ज्यालादारी तथा करार सेवामा लिइने पदमा योग्यता र कार्यक्षमताको आधारमा शहीद परिवारका सदस्य र घाइतेलाई पहिलो प्राथमिकतामा राख्ने अनिवार्य रूपमा लागू गरिने निर्दे्शिकामा उल्लेख छ ।
आन्दोलनको नेतृत्व गरेका मधेश केन्द्रीत २ राजनीतिक दल संघीय समाजवादी फोरम नेपाल र राष्टिूय जनता पार्टी (राजपा) नेपाल प्रदेशको सरकारमा छन् । दुवै दलले नेतृत्व गरेका विभिन्न आन्दोलनमा शहीद भएका व्यक्तिका पत्नी, बालबालिकाको अवस्था भने अत्यन्तै दयनीय रहेको छ । तर, प्रदेश सरकारले निर्दे्शिका जारी गरेका कारण शहीद परिवार आशावादी छन् ।
महोत्तरी गाउँपालिकाको महोत्तरी गाउँका रामविवेक यादव मधेश आन्दोलनका क्रममा शहीद भएका हुन् । सुरक्षाकर्मीले चलाएको गोली लागेर २०७२ भदौ २३ गते यादव शहीद भएका थिए । स्नातक उत्तीर्ण गरेर गाउँकै एक संस्थागत विद्यालयमा प्रिन्सिपलको रूपमा कार्यरत यादव आन्दोलनमा सहभागी हुनका लागि महोत्तरीको जलेश्वर गएका थिए । मातृकाप्रसाद यादवले नेतृत्व गरेको तत्कालीन नेकपा माओवादीसँग समेत आवद्ध रहेका यादव आन्दोलनमा सहभागी भएका बेला शहीद भएका थिए ।
ईन्दु यादव र ईन्दोदेवी यादवको एक्लै छोरा रामविवेक गुमाउनुपर्दा आमाबुवाको संसार नै सिद्धियो । त्यसभन्दा पनि ठूलो बज्रपात ७ महिनाअघि नै विवाह गरेर घर भित्रिएकी उनकी पत्नी अनिला यादवलाई पर्यो । पति गुमाउँदा अनिलाको कोखमा ६ महिनाको बच्चा उनको गर्भमै थियो । पति गुमाउँदा समस्यामा परेकी अनिलालाई प्रदेश सरकारले सहयोग गरेको छ ।
प्रदेश सरकारको स्थापना भएपछि मुख्य न्यायाधिवक्ताको कार्यालयमा जेठ १६ गते करार सेवामा रहने गरी कार्यालय सहयोगीको रूपमा उनले जागिर पाएकी छन् । मासिक १६ हजार २ सय ३० रुपैयाँको पारिश्रमिकले मात्र घर चलाउन गाह्रो हुने उनले सुनाइन् । ‘करारमा जागिर दिइएको छ, प्रदेश सरकारले कमसेकम स्थायी गरिदिओस्,’ उनले सरकारसँग अनुरोध गरिन् ।
तेस्रो मधेश आन्दोलन शुरू भएको बेला सप्तरी भारदहका राजीव राउत भनिने राजेन्द्र राउत प्रथम शहीद भएका थिए । २०७२ भदौ १ गते राजमार्गमा सुरक्षाकर्मीले चलाएको गोली लागेर राउतको मृत्यु भएको थियो । उनको शहादतले बुवा भीम राउत, आमा मधियादेवी राउत, पत्नी निलमदेवी राउत, डेढ वर्षका छोरा आर्यन राउत र कान्छो ३ महिनाकी छोरी आरजुकुमारी राउत सहारा विहीन भएका थिए । तर, अहिले प्रदेश सरकारले रोजगारीको व्यवस्था गरिरहेको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको रूपमा निलमलाई पनि प्रदेश सरकारले जागिरको व्यवस्था गरिरहेको छ । करार सेवामा कार्यालय सहयोगीको रूपमा उनलाई नियुक्ति दिने तयारी गरिएको छ । मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भने, ‘निलमदेवी राउतलाई आफ्नै कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्ति दिने तयारी गरिएको छ ।’

२०७५ भदौ १७ गते आईतबार
 

No comments:

Post a Comment