Tuesday, September 18, 2018

बालिकाको अपहरण, बलात्कार पछि हत्या अपराधी पक्राउ गर्न नसकेको भन्दै स्थानीय आन्दोलित

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरीको औरही नगरपालिका १ का सन्तोष चौधरीकी दुधे बालिका सोनालिका चौधरीको अपहरणपछि हत्या गर्नेलाई प्रहरीले हालसम्म  पक्राउ गर्न नसकेपछि स्थानीयबासी आन्दोलित भएका छन् ।
औरही नगरपालिकाको वडा नं १ स्थित औरही बजारमा किराना पसल चलाउँदै आएका चौधरीकी आठ महिने छोरी सोनालिकाको गत आइतबार अपहरणपछि हत्या  भएको थियो । गत आइतबार साँझ चौधरीकी ८ महिने छोरीलाई पसलमा आमासँगै रहेको बेला भंगाहा सीतापुर ६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा  अपहरण गरी लगेका थिए । एक दिन पछि सोमबार बालिकाको शव औरही गाउँभन्दा पूर्व खेतमा भेटिएको थियो ।
बालिकालाई बलात्कार गरी हत्या गरिएको शबको प्रकृतिले देखिए पनि बलात्कार नै गरेर हत्या भएको हो भन्ने बारे शबको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र एकिन बताउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
बालिकाको अपहरण भएको खबर स्थानीय प्रहरीले पाउँदा पनि बालिकालाई अपहरणकारिको चुंगलबाट सकुसल किन उद्धार गर्न सकिएन भन्ने प्रश्नमा एसपी कार्कीले द एक्सक्लुसिभसँग भने,‘बालिका अपहरण भएको सुचना पाए लगत्तै राति १० बजे देखि नै अपराधीलाई खोज तलास गर्न बिभिन्न ओप्रेसन चलायौं, तर घना जङ्गल, उखुको घारी, धान खेति, खोला सहित खुल्ला क्षेत्र भएका कारण अपहरित बालिकालाई जोगाउन सकिएन ।’
जुन पसलको सामुन्ने बाट अपहरणकारीले बालिकालाई अपहरण गरेर लागेका थिए, त्यसको सिसिटिभी क्यामेराको फूटेज त्यही पसलबाट उपलब्ध भए पछि अभियुक्तको पहिचान समेत भई सक्दा पनि महोत्तरी प्रहरीले हाल सम्म प्रतिबादिलाई पक्राउ गर्न असफल भएको छ । बालिकाको हत्या नै किन गरियो भन्ने बिषय प्रतिवादी पक्राउ परे पछि मात्र खुल्न सक्ने एसपी कार्कीले द एक्सक्लुसिभलाई बताए ।
आमा संगै बसेर बालिकालाई खेलाउदै गरेको अबस्थामा लगेको भन्ने कुरा सिसिटिभी क्यामेराको फूटेजबाट प्रष्ट देखिएको एसपी कार्कीले बताए । अपहरणकारीले फिरौतीको लागि अपहरण गरेको थियो वा अन्य उद्देश्यका लागि त्यो प्रष्ट हुन सकेको छैन । तर, बालिकालाई बलात्कार गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
फरार रहेका प्रतिबादीलाई पक्राउ गर्न घटना भएको दिन १० भदौको राती १० बजे देखि नै सम्पूर्ण प्रहरी जनशक्ति परिचालन गरिएको एसपी कार्कीले बताए । उनका अनुसार महोत्तरी जिल्लाको सम्पूर्ण प्रहरी जनशक्तिका अतिरिक्त थप जनशक्ति मगाएर खोज तलाशको क्रमलाई तिब्रता दिइएको छ । ‘महोत्तरी जिल्लाको नजिकका थप जिल्लाहरू, सीमावर्ती भारतीय क्षेत्रका अन्तर्राष्टिूय बोर्डर क्षेत्रका गाउँहरूका साथ् साथै प्रतिवादी लुकेर बस्न सक्ने सम्भावित हरेक स्थानहरूमा सर्च ओप्रेसन जारी मात्र होईन तिब्र बनाएका छौं, जुन सुकै बेला पनि उनी पक्राउ पर्ने छ ।’
स्थानीयबासीहरुको सहयोग लिएर प्रहरीले उसको खोजतलाश जारी राखेको उनले बताए ।
हाल सम्मको अनुसन्धानबाट प्रतिवादी र मृतक बालिकाकी आमा सँग खासै चिनजान रहेको भन्ने कुरा नदेखिएको एसपी कार्कीले बताए ।
एका तर्फ प्रहरीले अपराधीलाई पक्राउ गर्न बिभिन्न ओप्रेसन जारी राखेको बताईराहे पनि स्थानीय बासीहरू थप आक्रोशित बन्दै गएका छन् । घटना भएको घटना भएको पाँच दिन भइसक्दा पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बर्दिबास(जलेश्वर सडकमा सवारी आवागमन अवरुद्ध पारी आन्दोलन गरेका छन् ।
उनीहरुले अपहरणकारी र हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । घटनाको विरोधमा स्थानीयले औरही बजारसमेत बन्द गरेका छन् । बजार, पसल, शिक्षण संस्थासमेत बन्द भएका छन् । बन्दका कारण बर्दिबास(जलेश्वर औरही सडक अवरुद्ध भएको छ ।
स्थानीयले सडकमा टायर बाली प्रदर्शन गरिरहेका छन् । तत्काल दोषी पत्ता लगाइ कारबाही र पीडितलाई उचित क्षतिपूर्ति, हत्यारालाई पक्राउ र  छानबिन समिति गठन गर्नुपर्ने जस्ता माग राखी स्थानीयले बजार बन्द गराएका हुन् । औरहीका व्यापारी, बुद्धिजीवि, विद्यार्थी, समाजसेवी एवं सर्वसाधारण नागरिक समाजका सयौं महिला पुरूषहरू आन्दोलनमा सहभागी छन् ।
उनीहरूले बालिका बलात्कारी एवम् हत्यारालाई पक्राउ नगरेसम्म संघर्षका कार्यक्रम यथावत राख्ने चेतावनीसमेत दिएका छन् ।
चक्का जामका कारण जलेश्वर(बर्दिबास सडकखण्डको औरही बजारको दुवैतिर सयौं बस, टूक, जीप, कार, मोटरसाईकल अलपत्र परेका छन् भने हजारौ यात्रु अलपत्र परेका छन् ।
एसपी कार्कीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक नकुल पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादर खडका र ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टको कमाण्डमा १ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
 ‘हामी अपराधीलाई पक्राउ गरेर कारबाही गर्न प्रतिवद्ध छौं। तर, यसरी बन्द, हड्तालमा स्थानीय उत्रिएपछि अपराधीलाई नियन्त्रणमा लिन अप्ठ्यारो हुन्छ,’ उनले भने,‘ यसका लागि हामीले सादा पोशाकका प्रहरीसमेत नेपाल(भारत सीमा तथा छिमेकी जिल्लामा खटाइसकिएका छांै । ’
आरोपीका आमा बुवा पक्राउ
यता महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ स्थित आठ महिने बालिकालाई अपहरण पश्चात बलात्कार गरी हत्या गरेका प्रतिबादिको आमा र बुवालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय औरही प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) शंकर श्रेष्ठले द एक्सक्लुसिभसँग भने,‘प्रतिवादी बारे थप कुराहरू खुल्न सक्छ की भन्ने आधारमा उसका बुवा र आमा दुबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।’ तर, उनका आमा बुवाबाट पनि खासै कुरा खुल्न नसकेको श्रेष्ठले बताए ।
अहिले सम्मको प्रारम्भिक अनुसन्धानबाट फरार रहेका प्रतिवादी बिगतमा पनि चोरी गर्ने गरेको पाइएको छ । स्थानीयहरूबाट प्राप्त सुचना अनुसार आफनै आफन्तका घरमा जाँदा कसैको साइकल चोरी गर्ने, कसैको मोबाइल चोरी गर्ने जस्ता आपराधिक क्रियाकलापमा संलग्न रहने गरेको असई श्रेष्ठले बताए ।
केही महिना अघि मात्रै सिरहा जेलबाट उनी छुटेर आएको बताईए पनि त्यसको पुष्टि नै भने अहिले हुन नसकेको उनले बताए ।
श्रेष्ठका अनुसार प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको २०र२० जनाको सुरक्षाकर्मीको टोलीले सम्भावित बाहिरि क्षेत्रमा खोज तलासको काम जारि राखिएको छ । त्यसै गरी बिभिन्न प्रहरी निरीक्षकको कमाण्डमा १५र१५ जनाको टोली सम्भावित भित्रि क्षेत्र, जङ्गल र उखु घारिहरूमा खोज तलासलाई तिब्र बनाउनुका साथै सशत्र प्रहरीको पनि छुट्टा छुट्टै टोली परिचालन गरिएको छ । फरार प्रतिवादी पक्राउ गर्न नजिक नजिक पुगेको भए पनि हालसम्म सफलता हात नलागेको श्रेष्ठले बताए ।
उनका अनुसार घटना भएकै दिन देखि चौबिसै घण्टा प्रहरी के दिन के रात भन्दै परिचालित भएको छ ।आज मात्रै प्रतिवादी महोत्तरीकै पथलैयाको जमुनिया स्थित एक उखु घारीमा लुकेर बसेको छ भन्ने सूचनाका आधारमा दिन भरि स्थानीय र प्रहरीले संयुक्त रूपमै मिलेर खोजतलास गरेको भए पनि उपलब्धि हात पर्न नसकेको श्रेष्ठले बताए ।
एता उद्योग बाणिज्य संघ औरहीको अगुवाइमा अनिश्चितकालिन  आन्दोलन जारी राखिएको छ । उद्योग बाणिज्य संघ औरहीका अध्यक्ष श्रबण चौधरीका अनुसार बालिकालाई बलात्कार गरेर हत्या गरेको बाहिरबाट पनि देखिएको हुनाले पनि स्थानीयबासी, उद्योगि ब्यापारी, नागरिक समाज र बिभिन्न राजनीतिक दलले संयुक्त रूपमै अनिश्चितकालिन आन्दोलनलाई जारी राखेको छ ।
भोली देखि उद्योग बाणिज्य संघका मटिहानी, गौशाला, बर्दिबास, रामगोपालपुर, जलेश्वर लगायतका शाखाहरूलाई पनि बजार बन्द गर्न हामीले अनुरोध गरेका छौं, चौधरीले बताए ।
यति सम्म घटना भईसक्दा पनि औरही नगरपालिकाका मेयर सुनिल कुमार यादवले कुनै चासो देखाएका छैनन्, काठमाडौं कार्यक्रममा गएका छन भनेर भने पनि कम से कम टेलिफोन त उठाउन सकिन्थ्यो, तर त्यो पनि मेयरले नगरेको भन्दै जनता आक्रोशित भईरहेको उनले बताए ।
त्यस क्षेत्रबाट प्रदेश सभामा  संघीय समाजबादी फोरम नेपालका निर्बाचित सांसद कौशल कुमार यादब र प्रतिनिधि सभा सदस्य तथा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले समेत कुनै चासो नलिएको उद्योग बाणिज्य संघ औरहीका अध्यक्ष चौधरीले बताए ।
‘कम से कम पिडित पक्षको घरमा आएर ती सांसद, मन्त्री वा मेयरले बुझ्ने काम गर्नु पर्थ्यो, तर हालसम्म कोई पनि आउन सकेका छैनन्’ चौधरीले भने । जनता आफै पनि दिन रात खटेर फरार प्रतिवादी खोज्ने काममा लागेको उनले बताए ।
औरही नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजकिशोर चौधरीले भने,फरर प्रतिबादिको पहिचानका  लागि स्थानीयले उसको नागरिकता, पासपोर्ट आदिबाट पनि फोटो खोजेर प्रहरीलाई दिएका छन् । यसका अतिरिक्त सिसिटिभी क्यामेरामा समेत उनको फोटोको पहिचान भई सकेको छ । प्रहरी र जनता संयुक्त रूपमै प्रतिबादिलाई दिन रात खोज्ने काममा लागेको उनले बताए ।
गत आइतबार प्रतिबादिले पिडितको आमाले संचालन गरेको पसलमा सुरुमा टोपी किन्ने बहाना बनाएर टोपी किन्न गएको तर मुल्य बढी भयो भन्दै टोपी किनेका थिएनन । त्यस पछि पसलमै आमा संगै रहेकी ती बालिका संग फरार प्रतिवादीले खेल्ने बहाना बनाउदै बालिकालाई अपहरण गरेर लागेका थिए । भोलि पल्ट ती बालिकाको लाश फेला परेको थियो । पसलमा जडान गरिएको सिसिटिभी क्यामेरामा उनको पहिछां खुलेको थियो । प्रतिवादी महोत्तरीकै भंगहा नगरपालिकाका सीतापुर जमुनिया वडा नम्बर ६ का २५ बर्षिय भारत साह रहेको भन्ने कुरा खुलेको छ । घटना भएको पाँच दिन बितिसक्दा पनि फरार प्रतिवादी साह पक्राउ पर्न सकेका छैनन् ।
  




२०७५ भदौ १७ गते आईतबार
 

No comments:

Post a Comment