Tuesday, September 18, 2018

मुख्यमन्त्री राहत कोषको रकम मुख्यमन्त्रीद्वारा गृह जिल्लामै खर्च

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको गृहजिल्ला प्रति बढी नै मोह देखिएको छ । आफ्नो नाउँमा रहेको राहत कोषको रकम उनले आफ्नै जिल्लामा खर्च गरेका छन् । आर्थिक बर्ष २०७४÷०७५ मा मुख्यमन्त्री राहत कोषको कुल बजेटको ५ करोड रकम  मध्ये अधिकांश रकम त खर्च नै हुन सकेन, खर्च गरिएको रकम पनि बारा र पर्सा जिल्लामै  मात्र खर्च गरिएको पाईएकोछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लेखा अधिकृत शिलाकान्त लाभका अनुसार मुख्यमन्त्री राहत कोष अन्तरगतको कुल बजेट ५ करोड मध्ये १४ लाख जति खर्च भयो भने ४ करोड ८६ लाख रुपियाँ  बजेट फ्रिज नहुने खातामा स्थानान्तरण गरेर रकमको बचत गरिएको छ ।
मधेश आन्दोलनका घाईतेलाई रकम वितरण
मुख्यमन्त्री राहत कोषको रकमबाट मधेश आन्दोलनका घाईतेलाई ३÷३ लाखका दरले राहत रकम वितरण गरिएको छ ।
पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा नम्बर ३ का घाइते मन्सी राउत, बीरगंज महानगरपालिका ७ मधुवनका घाइते पानालाल प्रसाद यादवलाई जनही ३÷३ लाखका दरले रकम  वितरण गरिएको छ । २७ असार, २०७५ मा मुख्यमन्त्री राउत आफै पुगेर ती घाईतेलाई रकम प्रदान गरेका थिए ।
त्यसै गरी बिरगंज महानगरपालिका १२ कै अर्को एक जना घाइते उपेन्द्र प्रसाद यादबलाई १ लाख रुपियाँ राहत स्वरूप प्रदान गर्ने भनेर चेक काटिएको भए पनि उनले रकम बुझेका छैनन् । अरु घाइतेलाई ३ लाख को दरले राहत वितरण गरिएको तर आफुलाई १ लाख मात्र दिएर विभेद गरेको भन्दै घाइते यादबले राहतको रकम नबुझेको लेखा अधिकृत लाभले बताए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका  सचिब हरि प्रसाद फुयालाका अनुसार प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकबाट नै मधेश आन्दोलनमा घाइते भएकाहरूलाई राहत स्वरूप मुख्यमन्त्री राहत कोष मार्फत रकम वितरण गर्ने निर्णय भएको थियो । अति नै सिकिस्त घाइते भई हिंडडुल गर्न समेत असक्षम भएका घाइतेलाई ३ लाख रुपियाँ सम्म, अर्ध घाइते भएर हिंडडुल गर्न सक्ने खालका घाईतेलाई १ लाख ५० हजार रुपियाँ सम्म  र सामान्य घाईते भएकालाई ५० हजार रुपियाँ सम्म वितरण गरिने भनेर मापदण्ड समेत उक्त बैठक बाटै बनाईएको सचिब फुयालले बताए ।
मधेशमा कुल तीन पटक आन्दोलन भएको छ, तर कुन समयका मधेश आन्दोलनका घाइतेलाई राहत रकम उपलब्ध गराउने भन्ने बिषयमा प्रष्ट  नभएको फुयालले बताए ।
द एक्सक्लुसिभलाई प्राप्त भएको सुचना अनुसार पहिलो चरणमा ती दुई जना पूर्ण घाइतेलाई रकम वितरण गरिएको छ भने बाँकी दोस्रो चरणमा ११ जना अर्ध घाइतेलाई रकम बितरण गरिने घाईतेहरूको सुची तयार भईसकेको छ । उक्त सुची अनुसार बाराका जितेन्द्र यादव, पर्साका उपेन्द्र यादव, रौतहटका रणबीर सिंह, महोत्तरीका सिबेन्द्र महतोलाई जनही एक एक लाख रुपियाँ राहत स्वरूप वितरण गरिने निर्णय गरिएको छ ।
 महोत्तरीको रतौलिका विजय ठाकुर र सप्तरीका भुवनेश्वर मण्डललाई जनही १ लाख ५० हजार रुपियाँ बितरण गरिनेछ । त्यसै गरी महोत्तरीको सुरेश पासवान र शंकर पासवानलाई जनही  दुई दुई लाख, सिरहाका देवनारायण यादव, सप्तरीका श्रबण झा र सर्लाहीका गुयु यादवलाई जनही ३÷३ लाख रकम वितरण गरिने प्रदेश सरकारले निर्णय गरिसकेको छ । ती घाईतेहरूलाई समेत छिट्टै रकम उपलब्ध गराईने सचिब फुयालले बताए ।
बाढी र आगजनीमा पनि बारा र पर्सालाई नै मुख्यमन्त्रीले प्राथमिकता दिएका छन् । १७ असार, २०७५ मा आएको बाढीमा परेर मृत्यु भएका पर्सागढ़ी नगरपालिका ८ का ११ बर्षिय प्रतिमा राम र १५ बर्षिय सुरेन्द्र महतो र बीरगंज महानगरपालिका वडा नम्बर २७ का ७ बर्षिय आलोक यादबको परिबारलाई २२ असार,२०७५ मा जनही ५०÷५० हजारका दरले राहत रकम वितरण गरिएको छ ।
त्यसै गरी बारा जिल्लामा भएको आगजनीबाट पीडित भएका तीन जना परिवारलाई ५० हजार रुपियाँको दरले प्रति परिबार राहत रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कुल बजेट २३ करोड ७९ लाख ९१ हजार रुपियाँ मध्ये फर्निचर तथा फिक्सचर्समा रु. ३६ लाख ८९ हजार ४ सय १७, सबारी साधन खरिदमा रु.११ लाख ७ हजार ५ सय ७०, कम्प्युटर मरम्मत, खरिद लगायतमा रु. ६ लाख ४० हजार ४ सय ८४, संसदीय बिकासका लागि १ सय ७ जना सांसदका लागि १० करोड ७० लाख गरी कुल ११ करोड ८२ लाख ६० हजार ९ सय ४० रुपियाँ खर्च भएको छ ।


२०७५ श्रावण २७ गते आईतबार

No comments:

Post a Comment