Tuesday, September 18, 2018

प्रदेश सांसद भन्छन् ः प्रदेशमा असुरक्षा बढ्यो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थित बैरिया टोलका संजय कुमार साहको ११ बर्षीय छोरा सुजित साहको १३ मङ्सिर,२०७४मा घरबाटै अपहरण भयो । अपहरण भएको ४ दिन पछि गाउँको नजिकै डेढ किलोमिटर पर रहेको एउटा पोखरीमा उक्त अपहरित बालक सुजितको हत्या गरी फालिएको अबस्थामा लाश बरामद भयो । उक्त घटनामा प्रहरीले अनुसन्धान प्रक्रिया ठीक ढंगले अगाडी बढाउन नसकेकै कारण बालकको हत्या भयो ।
तर, त्यही परिबारका संजयकै आफनै शाखै भाई शिवजी साहको ६ बर्षीय छोरा आयोग साहको गत ३१ असार, २०७५मा  बिहान साढे ८ बजेको समयमा घरबाटै अपहरण भयो । अपहरण भएकै दिन केही घण्टा नबित्दै दिनको ११ बजे तिर गाउँको नजिकै रहेको पोखरीमा अपहरित बालक आयोगको हत्या गरेर फालिएको अबस्थामा लाश फेला पर्यो ।
माथिका ती दुई घटनाका कारण उक्त साह परिबार अत्यन्तै शोकाकुल मात्र भएका छैनन्, हाल सम्म कसले अपहरण गर्यो, किन अपहरण गर्यो, किन दुवै जना बालकलाई हत्या गरियो भन्ने प्रशनको उत्तर आउन सकेको छैन । पहिलो घटनाकै सफल अनुसन्धान भई अपराधी पत्ता लागेर कानून बमोजिम कारबाही भएको भए त्यो परिबारले दोस्रो सन्तान गुमाउन पर्दैनथ्यो भन्दै पर्सा जिल्लाका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले आज आइतवार प्रदेश सभामा प्रदेशमा आपराधिक घटना धेरै बढेको बताएका थिए ।
सांसद साहले प्रदेश सभामा बिशेष समय लिएर एकै दिन तीन जना बालिका बलात्कृत हुनु परेको घटनाबारे समेत ध्यानाकर्षण गराएका थिए । गत ४ साउन, २०७५मा पर्सा जिल्लाको पतेर्बा सुगौली गाउँपालिकाका एक जना १५ बर्षीय बालिकालाई ४५ बर्षिय केदार बहादुर कार्कीले, सखुवा पर्सौनी गाउँपालिका महुवन १ का १४ बर्षीय बालिकालाई अमरुद गुरोले  र पर्सा गढी नगरपालिका वडा नम्बर ८ स्थित हरिपुरमा १४ बर्षीय बालिकालाई ४५ बर्षिय टेट महराले बलात्कार गरेको घटनाबारे उनले ध्यानाकर्षण गराए । एकै दिन पर्सा जिल्लाका तीन अलग अलग ठाउँमा बालिका बलात्कृत भएको घटना बारे सांसद साहले बताए ।
प्रदेशको मुख्यमन्त्री लाल बाबु राउतकै गृह जिल्ला पर्सा र उनको आफनै गाउँ पालिकामा बलात्कारको घटना बढे पनि मुख्यमन्त्रीले केही पनि गर्न नसकेको भन्दै प्रदेश सरकार र मुख्यमन्त्रीको काम कारबाहीको सांसद साहले आलोचना गरेका थिए ।
त्यसै गरी प्रहरीले बिना आधार र प्रमाण एक जनाको परिवारमा बालबिबाह रोक्ने नाउँमा प्रहरीले आतंक मचाएको भन्दै घटनाबारे प्रदेश सभा मार्फत प्रदेश सरकारको सांसद साहले ध्यानाकर्षण गराएका थिए । बिरगंज महानगरपालिका वडा नम्बर २२, मनियारी टोल स्थित उमेश प्रसाद साह र संगीता यादब बीच परम्परा अनुसार बिबाह कार्यक्रम आयोजन गरिएको थियो । २६ असार, २०७५ मा  बिहेका लागि केटा पक्ष जयन्ती सहित केटी पक्षको घरमा आइसकेका थिए । तर, बिहे हुने नपाउँदा प्रहरीले हस्तक्षेप गरेर केटा र केटी दुबैलाई लगेर थुन्यो । बाल बिबाह भईरहेको छ, कानूनले त्यस्तो बिबाहलाई अबैधानिक भनेकोले बिबाह रोकिएको भन्दै प्रहरीले बेहुला र बेहुलीलाई थुनेर राख्यो । पछि कसले उजुरी दियो, उजुरीमा आधार र प्रमाण के छन् भन्दा प्रहरीले केही पनि देखाउन सकेन । तर, केटाको नागरिकता अनुसार उमेर २१ बर्ष र केटीको नागरिकता नभए पनि मेडिकल परिक्षण अनुसार उमेर २२ बर्षको थियो । स्थानीय समाजले कडा बिरोध गरेपछि मात्रै बेहुला र बेहुलीलाई छोडियो । २८ असारमा उनीहरूको बिहे भयो ।
सांसद साहले प्रदेश सरकारको ध्यानाकर्षण गराउंदै भने, ‘त्यो परिवारको मान हानी मात्र भएन, बिहे दिन भोज र जयन्ती स्वागतका लागि तयार पारिएको लाखौँ रुपियाँको सामान नष्ट हुन गयो । त्यसको क्षतिपुर्ती कसले दिने ?’
त्यसै गरी बारा जिल्लाका नेपाल कम्युनिष्ट पार्टीका सांसद सुन्दर बहादुर विश्वकर्माले पनि प्रदेशमा असुरक्षा र अशान्ति बढेको भन्दै एउटा घटना बारे सदनलाई यसरी ध्यानाकर्षण गराए । बाराको जितपुर सिमरा उपमहनागरपालिका वडा नम्बर ७ स्थित स्थानीय ब्यबसायी ललन गुप्ताका ९ बर्षीय छोरा अंकित गुप्ताको दिन दहाडै घरबाट अपहरण भयो । प्रहरी प्रशासनको सुस्त गतिको अनुसन्धानका कारण बालक अपहरण गर्ने अपराधीको पता लाग्न सकेन ।
केही दिन पछाडी एक ठाउँमा एउटा लाश फेला पर्यो । पछि बेबारिशे भन्दै बालकको लाशलाई गाडियो । अचम्म भन्नु पर्छ, केही दिन पछाडी प्रहरीले अपहरणको आशंकामा पक्राउ गरेका एक व्यक्तिबाट अनुसन्धानको क्रममा बेबारिशे भनेर गाडिएको बालकको लाश अपहरित बालक अंकित गुप्ताकै रहेको पोल खुल्यो । बुवा ललन गुप्ताले फिरौतीका लागि रकम पनि बुझाए । तर,बुवाले आफ्नो बालक सकुशल फिर्ता पाउन सकेनन ।उक्त घटना पछि सबै ब्यापारी र ब्यबसायी त्रसित छन्, असुरक्षित छन् भन्दै सांसद विश्वकर्माले भने, ‘प्रदेशमा एकदमै जनता असुरक्षित भैसकेका छन् । प्रदेश सरकारले शान्ति ब्यबस्था कायम गर्न सकेको छैन ।’
अपराधीले एउटा बालकको दिन दहाडै अपहरण गर्छ, बुवाले फिरौतीको रकम पनि बुझाउँछ तर न त बालकको सकुशल उद्धार हुन्छ न त अपराधी नै पता लाग्दछ सांसद विश्वकर्माले प्रदेश सभामा बिशेष समय लिएर प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशमा महिला असुरक्षा र घरेलु हिँसा बढ्दै गएको प्रदेश सभा सदस्य करिमा बेगमले पनि सरकारको आलोचना गरेका थिए । संघीय समाजबादी फोरम नेपालकी सांसद बेगमले प्रदेशमा प्रहरीको काम ठीक नरहेको भन्दै एउटा आत्म हत्या प्रयासको घटना बारे ध्यानाकर्षण गराईन् । बारा जिल्लामा प्रीति साह भन्ने एक जना बुहारीले गत ६ साउन, २०७५मा आत्महत्या प्रयास गरिन् ।
बिहेको बेला माइतबाट भरपुर दाइजो लिएर आएकै थिइन् । दुइ वटा बच्चा समेत भईसकेपनि थप दाइजोका लागि श्रीमान्, सासु र ससुराले प्रताडना दिइरहेका कारण उनले आत्महत्या प्रयास गरिन् । त्यहाँका प्रहरी उपरीक्षक मीरा कुमार पनि महिला नै हुन् । सासु, ससुराको चरम यातनाका कारण बुहारीले आत्महत्या प्रयास गर्नुपरेकाले सासु ससुरालाई थुनेर कारबाही गर्न भन्दा पनि प्रहरी उपरीक्षकले कुनै पनि सुनुवाई गरेन, सांसद बेगमले भनिन्,‘प्रदेशमा चेली बेटी देखि बुहारी सम्म असुरक्षित भईरहेका छन्, घरेलु हिँसा देखि महिला हिँसा, बलात्कारका घटना बढेको बढ्यै छ, प्रदेश सरकारले किन कुनै पनि एक्सन लिइरहेको छैन?’
त्यसै गरी कांग्रेसका सांसद नरेश कुमार यादबले प्रदेशमा भईरहेको आपराधिक घटनाबारे भने, ‘प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबले कहिल्यै पनि सदनलाई कुनै जबाफ किन दिइरहनु भएको छैन?’ केही महिना अघि धनुषा जिल्लाका राष्टिूय सभाका सदस्य मुक्ता कुमारी यादवका छोरा रुपेश यादबको हत्या भए पनि धनुषा प्रहरीले घटना सबारी दुर्घटनाको भएर घटनालाई अर्कै तिर मोड्ने काम गरिरहेको उनले बताए । घटना बारे प्रहरीमा सांसद यादबले छानबिनको लागि उजुरी दिन जाँदा स्वतन्त्र तराई मधेश निर्माणको नाउमा एउटा पत्र लेखेर सांसद यादबलाई धम्की दिंदै छानबिन गराउने तर्फ लाग्यो भने तिम्रो सबै परिवारको छोरा जस्तै हत्या हुनेछ भन्ने चेतावनी दिइएको उनले सदनलाई जानकारी गराए ।
यसरी प्रदेश सभाको आज बसेको बैठकमा अधिकांस सांसदहरूले बिशेष समय लिएर सम्बोधन गर्दै प्रदेशमा बढ्दै गएको अपराधिक गतिबिधि बारे ध्यानाकर्षण गराएका थिए ।   

२०७५ श्रावण २० गते आईतबार

No comments:

Post a Comment