Tuesday, September 18, 2018

जनकपुर–जयनगर रेल ः पूर्ण भारतीय व्यवस्थापन कि आंशिक नेपाली हिस्सेदारी ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
केही दिन अघि भारतको जयनगर देखि खजुरी सम्म रेल परीक्षण सफल भएको छ । आउँदो एक महिना सम्ममा जनकपुरधामहुंदै धनुषाको कुर्था सम्म पनि रेलको परीक्षण सम्पन्न हुने बताइएको छ । पुष वा माघ देखि विधिवत रूपमा ‘प्यासेन्जर टूेन’ संचालनमा आउने दाबी गरिएको छ ।
रेलका आबश्यक पूर्बाधार निर्माण सम्पन्न हुने चरणमा भए पनि रेलको इन्जिन र कोच सम्बन्धी टुंगो नलागेका कारण रेल संचालनमा आईहाल्छ भन्ने कुराको सुनिश्चितता भने देखिंदैन । जनकपुरधाम स्थित रेल बिभाग साईट कार्यालय जनकपुरका ईन्जिनियर बिनोद ओझाका अनुसार नेपाल सरकार, रेल बिभाग र भारतीय पक्ष संग तत्काल भारतबाट रेल र कोच  लीजमा नै लिएर भए पनि रेल संचालनमा ल्याउने गरी नेपाल सरकारले तयारी अगाडी बढाएको छ ।
तर, कुन मोडेलको लीजमा संचालन हुने भन्ने बिषयमा ओझाले केही पनि बताउन चाहेनन् ।
अहिले नेपाल सरकारको रेल बिभाग मातहत नेपाल रेल्वे कम्पनी संचालनमा रहे पनि कम्पनीको अस्तित्व नामका लागि मात्र सिमित भएको छ । बिगतमा रहेका २ सय १८ जना कर्मचारीलाई अवकास दिएर हटाए पछि मात्र १७ जना स्थाई कर्मचारी कार्यरत छन् । रेल सेवा संचालनका लागि नेपाल सरकारले आफ्नै कर्मचारी भर्ना गरेर आफ्नै स्वामित्व र ब्यबस्थापनमा संचालन गर्ने हो वा सबै कुरा भारतीय पक्षकै हुने भन्ने बिषयमा टुंगो लाग्न सकेको छैन ।
रेल संचालनका लीज दुई किसिमका हुन्छन । एउटा ‘वेट लीज’ र अर्को ‘डूाई लीज’ । वेट लीजमा रेल, इन्जिन, कोच, ब्यबस्थापन, कर्मचारी सबै भारतीय पक्षकै हुनेछन, रेल सेवा बापत प्राप्त हुने आम्दानी पनि उनीहरूकै हुनेछन् । र, केही रकम मात्र नेपाल सरकारलाई दिनेछन् । अर्को डूाई लीजमा सबै सामग्री उनीहरूको हुने, तर ब्यबस्थापन, कर्मचारी,आम्दानी सबै हाम्रो हुने र केही रकम मात्र उनीहरूलाई दिने हुन्छ ।
यस्तो अबस्थामा कस्तो लीजको सहमति हुँदैछ भन्ने बारे नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक तुला बहादुर डाँगी पनि बेखबर छन् । ‘कस्तो किसिमको लीजमा लिने भन्ने बिषयबारे आफुलाई केही पनि जानकारी छैन । रेल विभागका महानिर्देशक, नेपाल सरकारका उच्च तहका पदाधिकारीलाई मात्र थाहा हुने कुरा हो ।’
यति मात्र होईन, रेल्वे संचालनका लागि रेल ‘वर्क शप’ नै बनेको छैन । कतै बन्ने कुरा उल्लेख पनि भएको छैन ।अनि रेल कसरी संचालनमा आउन सक्छ भन्दै डाँगी भन्छन्,‘प्रत्येक दिन रेल चले पछि इन्जिन,कोच सबैलाई वर्क शपमा लगेर दिनहुँ चेक जांच गरेर मात्र चलाउने गरिन्छ ।’ तर वर्क शप ग्यारेजको निर्माण प्रक्रिया पनि शुरु भएको छैन ।
भारतीय सरकारको कुल ७ अर्ब भारतीय रुपियाँको लगानीमा अहिले रेल सेवा निर्माणका काम भईरहेको छ । पहिलो चरणमा भारतको जयनगर देखि धनुषाको कुर्था सम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्था देखि महोत्तरीको भंगहा सम्म १८ किलोमिटर, तेस्रो चरणमा महोत्तरीको भंगहा देखि बर्दिबास सम्म १७ किलोमिटर गरी कुल ६९ किलोमिटर रेल सेवा निर्माण भईरहेको छ । जस मध्ये भारतको जयनगर देखि धनुषाको कुर्था सम्म ३४ किलोमिटर रेल सेवा केही महिनामै संचालनमा ल्याउने नेपाल सरकारले तयारि अगाडी बढाएको छ ।
भारतको २८ बिघा जग्गा उपयोग हुंदै
भारतको जयनगर देखि नेपालको बोर्डर धनुषाको इनरबा सम्म रेल सेवा संचालनमा ल्याउनका लागि १९९४ साल देखि तत्कालिन नेपालका राणा सरकारले  भारतकको २८ बिघा जग्गा उपयोग गरेको देखिन्छ । उक्त २८ बिघा जग्गा मध्ये नेपाल सरकारले १९ बिघा जग्गा भारत सरकार संग ७ हजार ६ सय ५२ रुपियाँमा किनेको थियो भने बाँकी ९ बिघा जग्गा लीजमा लिएको थियो । रेल्वे कम्पनीका महाप्रबन्धक डांगीका अनुसार तत्कालिन भारतको दरभंगा महाराजलाई लिज बापत रकम बुझाउने भनेर १९९४ सालमै सहमति भएको थियो । ‘अहिले पनि बिहारको मधुबनीमा २ हजार रुपियाँ बार्षिक लीज बापतको रकम हामीले बुझाउंदै आएका छौं,’ डांगीले द एक्सक्लुसिभसंग भने ।
यसका अतिरिक्त भारतको रक्सौल अमलेखगंज रेल सेवा संचालन हुँदा समेत नेपाल सरकारले भारत बिहारको रक्सौलमा १९ बिघा जग्गा किनेको थियो, जसको स्वामित्व अहिले पनि रेल बिभाग नेपाल सरकारको रहेको डाँगीले भने ।
यसरी भयो नेपालमा पहिलो रेलको स्थापना 
बिक्रम सम्बत १९९४ सालमा, रामजानकी बिबाह पंचमीको अबसर पारेर नेपालमा पहिलो पटक रेल सेवा संचालनमा आएको थियो ।  नेपालका तत्कालिन श्री ३ सरकार र भारतका ईस्ट इन्डिया कम्पनीसंग भएको सम्झौता अनुसार नेपालबाट भारत तर्फ काठ ढुवानीका लागि रेल सेवा संचालन गरिएको थियो । नेपालको जंगलबाट साल, सखुवा प्रजातिका काठ ढुवानी गर्ने उद्देश्यले भारतीय लगानीमा नेपालमा रेल सेवा संचालनमा ल्याइएको थियो ।
पहिलो चरणमा भारत बिहारको जयनगर देखि धनुषाको जनकपुरधाम हुंदै महोत्तरीको बिजलपुरा सम्म ५८ किलोमिटर सम्म रेल सेवा संचालनमा आएको थियो । १९९४ साल देखि काठ ढुवानी मात्रै गर्दै आएको उक्त रेल सेवा केही बर्ष पछि संचालन रोकिएको थियो । महोत्तरीको बिजलपुरा र भंगहा बीचको एउटा पूल भत्किए पछि उक्त सेवा अबरुद्ध भएको थियो । २००७ सालमा उक्त सेवा पूल भत्किएका कारण भारतको जयनगर देखि महोत्तरीको भंगहा सम्ममा मात्र सिमित भएको थियो । भारतका लागि आबश्यक काठ ढुवानी सम्पन्न भए पछि मात्र ‘प्यासेन्जर टूेन’ संचालनमा आएको थियो । २०१८ सालको मंसिरमा रामजानकी बिबाह पंचमी कै दिन देखि भारतको जयनगर देखि महोत्तरीको भंगहा सम्म ५८ किलोमिटर दुरीमा ‘प्यासेन्जर टूेन ’ संचालित भएको थियो । दुई समय ‘अप एंड डाउन’ सेवा प्रदान गरिरहेको उक्त रेल सेवा फेरी पनि अबरुद्ध भयो ।२०५८ सालमा महोत्तरीको बिग्ही पूल भत्किंदा भारतको जयनगर देखि जनकपुरधाम सम्म २९ किलोमिटर सम्म मात्र रेल सेवा संचालन भएको थियो ।
दाउरा तथा कोईलाले चल्ने रेल इन्जीनबाट ‘न्यारो गेज’मा उक्त सेवा संचालित भएको थियो । रेल सेवा सन्चालनका लागि आबश्यक सम्पूर्ण पूर्वाधार, रेल टूयाक, स्लीपर, रेल स्टेसन, आदि सबै निर्माण तत्कालिन ब्रिटिश ईन्डिया कम्पनीकै लगानीमा सम्पन्न भएको थियो ।
भारतले जर्मनका म्यानचेस्टर कम्पनीका अति नै बहुमुल्य इन्जिनहरू राम, सीता,महाबीर, गुहेश्वरी, गोरखनाथ, रामा, सुर्य, चन्द्र,कृष्णा किनेर नेपाल सरकारलाई प्रदान गरेको थियो ।
ती ईन्जिनहरू अहिले पनि खजुरी स्टेसनको ‘वर्क शप’ मा राखिएको छ । एउटा संग्रहालय बनाएर त्यसलाई संरक्षण गरिनुपर्ने स्थानीयबासीहरूले पटक पटक आबाज उठाएको भए पनि नेपाल सरकारले त्यस प्रति चासो देखाउन सकेको छैन ।
रेल, कोच, इन्जिन, सबै भारत सरकारको सहयोगमा संचालित थियो । शुरुमा उतैका कर्मचारी र ब्यबस्थापन समेत रहेको थियो । पछि नेपालकै जनशक्तिलाई तालिम दिएर नेपाल सरकारको कर्मचारी तथा ब्यबस्थापनमा रेल सेवा संचालनमा आएको थियो ।
२०५१ सालमा कोईला इन्जिनले चल्ने रेल डिजेल इन्जिनबाट बिस्थापित भएको थियो । भारत सरकारले ४ वटा डिजेल इन्जिन(जेडीएम ५ टाईप ) र १८ वटा कोच सहयोग स्वरूप नेपाल सरकारलाई प्रदान गरेको थियो ।
इन्जिन डूाइभर र केही प्राबिधिक कर्मचारीले दुई बर्ष जति रहेर नेपालका कर्मचारीलाई प्रशिक्षित गरेर फर्किएका थिए ।
भारतमै पहिले देखि संचालनमा रहेको धेरै पुरानो कोच र इन्जिन प्रदान गरिएको थियो, जो की लामो समय चल्न सकेन । उक्त इन्जिनबाट दैनिक ३ सेवा रेल सुचारु भए पनि पछि इन्जिन बिग्रने र मरम्मत गर्न समय लाग्ने भएकाले फेरी दुई पटक सेवामा नै सिमित हुन पुगेको थियो ।
सेवा अबरुद्ध हुने र नियमित हुने क्रम चलिरहेकै बेला नेपाल सरकार र भारत सरकार बीच उक्त रेल सेवालाई ‘न्यारोगेज’ बाट ‘ब्रोडगेज’ सेवामा स्तरोन्नति गर्ने सम्झौता भयो । स्तरोन्नतिको काम शुरु हुन लाग्दा माघ २०७१ साल देखि रेल सेवा पूर्ण रूपमा अबरुद्ध भयो ।
साबिकमा नेपाल रेल कम्पनी मार्फत व्यावसायिक रूपमा उक्त रेल सेवा संचालनमा रहे पनि रेल बिभाग स्थापन भएपछि सबै काम विभागले हेर्न थाल्यो । रेल सेवा अबरुद्ध भए पछि कम्पनीमा कार्यरत २ सय १८ जना कर्मचारीलाई अबकास दिइयो । अहिले १७ जना मात्र स्थायी कर्मचारी कार्यरत छन ।त्यो पनि रेलको सम्पतिको रेखदेख र संरक्षण गर्नका लागि ।
ब्रोडगेजमा स्तरोन्नतिको काम शुरु भए पछि नेपाल रेल कम्पनीका काम नलाग्ने पुराना सबै सामान हरू लिलाम गरी बिक्रि गरियो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक तुला बहादुर डांगीका अनुसार पहिलो चरणमा जयनगर देखि जनकपुर सम्मको रेल टूयाक लिलामी गरियो । दोस्रो चरणमा काठका स्लीपर, तेस्रो चरणमा जयनगर देखि जनकपुर हुंदै बिजलपुरा सम्मका २३ वटा पुराना रेल स्टेसनका भवनहरू र चौथो चरणमा बाँकी रहेका सबै फलामका सामग्रीहरू लिलाम गरि बिक्रि गरियो । मुल्यांकन समिति कायम गरेर टेन्डर प्रक्रिया मार्फत ती कुराहरूको लिलामी गरिएको थियो लिलामी बाट ६ करोड रुपियाँ राजश्व कम्पनीले प्राप्त गरेको थियो ।
 


२०७५ भदौ ०३ गते आईतबार
 

No comments:

Post a Comment