Tuesday, September 18, 2018

डोम समुदायको पीडा छुवाछूत कायमै, छोराछोरीलाई पढाए पनि काम पाउँदैनन

बेचन मल्लिक  ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
‘दुई का खेत बेचेर आफ्नो छोरालाई पढाएँ,  तर कहीं पनि उसले जागिर पाउन सकेन, आखिर अन्त्यमा ९ दिन अघि बैदेशिक रोजगारीमा उ मलेसिया पुग्यो,’ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६, कपिलेश्वर स्थित ५५ बर्षिय उर्मिला मल्लिक बताउँछन् । खेतको नाममा पुर्खाले दिएको जम्मा जम्मी २ का खेत बेचेर छोरा सरोजलाई ब्याचेलर सम्म पढाएँ, तर उसलाई कसैले पनि यहाँ काम दिएन, उनले भनिन् ।
स्थानीय तहको चुनावमा राजपा नेपालका बिक्रम पंजियार वडा अध्यक्षमा चुनाब लडेका थिए । मेरो छोरा सरोजलाई उनले भनेका थिए, ‘छोरा यस पटक मदत गर, जिते पछि तिमीलाई नगरपालिकामा जागिर लगाईदिनेछु,’ सरोजकी आमाले आँखाबाट आँशु झार्दै भनिन्, ‘हामीले बिगतमा पनि उहाँकै परिवारलाई भोट दिंदै आएका थियौं, यस पटक पनि उहाँलाई भोट दियौं ।’
तर, उहाँले चुनाब जितेर गए पछि एक पटक पनि हामीलाई फर्केर सोध्नु भएको छैन की कसरी गुजारा गरिरहेका छौ, आखिर मेरो छोरा नै उहाँलाई पटक पटक भेटेर कतै जागिर लगाईदिन भन्न जाँदा उपमहानगरपालिकामा जाउ भनेर सधैं प्रधान(वडाध्यक्ष)जीले टार्नु हुन्थ्यो, उर्मिलाले सुनाईन् । उपमहानगरपालिकामा जाँदा सडक बढार्ने काम गर्छु भने गर भन्थे, मेरो छोराले ब्याचेलर पास गरेकाले त्यो काम गर्दिन, ओफिसको काम दिलाईदिनुस् भन्दा दिएनन, आखिर विदेश नै जानु पर्यो, उनले भनिन् ।
जब जागिर नै पाउदैन भने त्यत्रो खर्चा गरेर छोरा छोरीलाई किन पढाउने, पढाएर पनि काम नलाग्ने रहेछ, उनले सुनाईन् ।  छोरा गएको ९ दिन भईसक्यो, उसले काम पाएको छैन, ईदको बिदा पछि काम दिन्छ रे भन्दै छोराले रुँदै फोन गरेको थियो, उनले भनिन् ।
६ भदौ बुधबार बिहान ८ बजे  द एक्सक्लुसिभकर्मी त्यहाँ पुग्दा उर्मिला आफैं, उनका श्रीमान बेचन मल्लिक, काखमा बच्चा बोकेकी उनकी बुहारी सबै आफ्नो परम्परागत शीपमूलक काममा व्यस्त थिए । बाँसको चंगेरा, छिट्टी, डाला  (टोकरी) बनाउने काममा व्यस्त थिए ।  आफु पत्रकार हो, यसो तपाईं संग केही कुरा गरौँ भनेर प्रश्न सोध्दा हुन्छ  भनेर उर्मिलाले जबाफ दिईन । परिबारका सबै सदस्य लाग्नु ब हेको छ, कतिको कमाई हुन्छ यो चंगेरा बुनेर सोध्दा उर्मिलाले टोकरी बुन्दै जबाफ दिईन्, ‘हुँदैन अब प्रोफिट । दिन भरि सबै परिबार लागेका हुन्छौं तर पनि नाफा हुँदैन ।’ ५÷६ दिन लगाएर सबै जना दिन रात लागेर १० वटा सम्म चंगेरा बनाउछौं, ज्यालादारी पनि पुग्दैन, उनले बताइन् ।
उर्मिला मल्लिक  टोकरी बुन्दै ।
एक जनाले मजदूरी गर्दा दिनको कम्तिमा पनि ५ सय रुपियाँ ज्यालादारी पाउने गर्छन्, हामी त सबै परिबार लागेका हुन्छौं, जोद्नुस ज्याला नै कति पर्न जान्छ, तर एउटा टोकरी २ सय देखि ३ सय रुपियाँ सम्ममा मात्र बजारमा बिक्रि हुने गर्छ ।
डोम समुदायले बनाएको ती टोकरीहरू प्रायः जसो पर्वमा उपयोग हुन्छ । छठ,चौर्चन, पूजा, बिबाह, ब्रतबन्ध, मुरण आदि सबैमा प्रयोग हुने गरेको उनले बताईन् ।
यसका अतिरिक्त डोम समुदायले गाउँ पनि जोत्ने गर्छन् । गाउँ जोत्नु भनेको गाउँमा कसैको ब्रतबन्ध, पूजा, मरण हरण लगायत कुनै पनि काम पर्दा त्यो डोमबाट नै सामानहरू लिनुपर्ने हुन्छ । एक जना डोमले ५ वटा सम्म गाउँ जोत्ने गर्छन् ।
गाउँ जोत्दा पनि अब धेरै फाईदा छैन, बेचन मल्लिकले भने, ‘प्रायः जसो गिरहत (मालिक)ले त्यति पैसा पनि दिदैंन, तै पनि हामीले नगरे हुँदैन ।’
बाँस पनि किन्नु पर्छ, एउटा बाँस ३ सय सम्ममा दिन्छ । फाईदा छैन, तर पनि पुर्खा देखि सबिले गर्दै आएको काम नगरे के गर्ने? अन्य ब्यबसाय गरौँ, हुँदैन । तरकारी बेचौं, कसैले डोम हो भनेर किन्दैन, चिया पसल खोलौं, कसैले चिया पिउँदैन, बेचन मल्लिकले भने ।
उनका बुहारी काम टोकरी बुन्दै ।
जीबन त बिताउनु पर्यो, अनि अरु काम पनि आउदैन,त्यसैले बाँसकै टोकरी बनाएर बेच्नु परेको छ । सरकारले बरु त्यसका लागि केहि गरिदिए हुन्थ्यो, उनले भने ।
मेरो गाउँमा छुवाछूत यति सम्म छ की यहाँ त डोमको अँतरी (आन्द्रा )पनि छुवाउछ । यही चिया पसलमा अरुले चिया पिउँदा सिसाको गिलासमा दिन्छ तर, हामीलाई सिसा होईन प्लाष्टिकको गिलासमा दिन्छ । जब की प्लाष्टिकको गिलासमा चिया पियो भने बिरामी हुन्छ, बेचन मल्लिकले भने ।
छूवाछूत कतिपय गाउँमा हटिसक्यो, तर यो जनकपुरधाम उपमहानगरपालिकाको कपिलेश्वर गाउँमा भने हटेको छैन । कर कुटुम्ब (आफन्त नातेदार ) अन्य गाउँबाट आउँदा ठुलै बेईज्जति हुन्छ, तर पनि यो गाउँमा पसल देखि सबै ठाउँमा छुवाछूत हटेको छैन, बेचनले भने ।
हाम्रो घरमा बिहे बारी हुँदा स्कूलमा बरियाती (जयन्ती ) राख्थ्यौं, भोज भात पनि गर्थ्यौं, तर अब स्कूलमा त्यसो गर्न दिंदैन । डोमको लागि सामुदायिक दलान पनि छैन, धेरै अफ्ट्यारो हुने गरेको छ भन्दै बेचनले भने, ‘वडा अध्यक्षले एउटा सामूदायिक दलान बनाइदिनु पर्यो ।’
 गाउँमा हामी डोम समुदायलाई सबैले अवहेलना नै गर्छन्, गरीबलाई कसैले पनि हेर्दैन, उनले गुनासो व्यक्त गरे ।
बेचनको परिवारमा उनका श्रीमती,दुई छोरा, दुई बुहारी, नाती नातीनीहरू छन् ।
अरु केहि नभए पनि कम से कम छुवा छुत  हटाईदिनु पर्यो, छुवा छुत हाते कुनै काम गरेर पनि बाच्न सकिने उनीहरूले बताए ।

उर्मिला मल्लिक, बेचन मल्लिक र उनका बुहारी काम टोकरी बुन्दै ।

२०७५ भदौ १० गते आईतबार
 

No comments:

Post a Comment