Tuesday, September 18, 2018

बरिष्ठ साहित्यकार राजेन्द्र बिमल बाल्यकालमा कुटाई खाएर कबिता लेख्न सिकेका थिए


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
माघ महिनाको कठयाङ्ग्रिने शीतलहरीमा प्रायः सबै मानिस घरमै सुतिरहन मन पराउँछन् तर ७ देखि ८ वर्षको उमेरका दूई बालक रामचन्द्र मल्लिक र भोला भनिने राजेन्द्र शम्सान घाट निस्कन्छन् , ‘भाव’ को खोजीमा  । प्रातः ४ बजे पुगेका  ती दूई बालक जनकपुरधामको ऐतिहासिक रंगभुमि मैदान बारह विघा स्थित शम्सानघाटमा प्रकृति निरीक्षण गर्न भन्दै पुग्छन् । घण्टा, दुई घण्टा वित्छ । सूर्योदय हुन्छ, अनि भोलाको मुखबाट निस्कन्छ ‘मेरे मनमे एक भाव आया’, ‘प्रातः समय देखा रवि गोला’ ।
अर्को पंक्तिको खोजीमा घण्टौं विताउँछन् र रित्तो हात घर फर्किन्छन् । भारत विरौलीका शिक्षक ‘विन्देश्वर मास्टरसाहेब’ ले कविता लेख्नका लागि दिएको उपाय ‘ऐसे करो कि किसी निर्जन स्थानमे प्रकृतिके  गोदमे जाओ, निरीक्षण करो, वहाँ भाव उत्पन्न होंगे और लिख डालो कविता’ को खोजीमा भोला एउटा पंक्ति लिएर मास्टरसाहेव कहाँ फर्किन्छन् । मास्टरसाहेबले भोलालाई कुटदै ‘जैसा रामचन्द्र वैसा भोला’ देस्रो पंक्ति थपिदिन्छन् ।
२६ मार्च १९४७ मा जनकपुरको देवी चौकमा जन्मिएका राजेन्द्र विमलको बाल्यकाल देखि नै साहित्य प्रति रुचि थियो । घरमै काका युगेश्वर लाभले प्राथमिक शिक्षा दिएका कारण ५ वर्षको उमेरमा सरस्वती माध्यमिक विद्यालयमा एकै पटक ५ कक्षामा नामांकण गराएका विमलले विक्रम सम्वत २०१८ मा एसएलसी, २०२० मा आइए र त्यसपछि वीए उत्तीर्ण गरेका थिए ।
१० वर्षकै उमेरमा सरस्वती स्कुलमा ओयोजना हुने सांस्कृतिक गोष्ठीमा हरिमोहन बाबु स्टाइलको मैथिली तथा प्रेमचन्द्र बाबु स्टाइलको हिन्दीका साना साना कथा सुनाउने गर्थे । त्यसबेला उनले विद्यालयमा सुनाएका ‘गरिब तेरा ठिकाना नही’ हिन्दी कथा अहिले पनि त्यसै याद रहेको विमल सम्झिन्छन् ।
कुनै पनि चराचुरुङगी मर्दा दुई तीन दिनसम्म खाना समेत नखाने विमल सहित अर्का चार जना साथि रामचन्द्र मल्लिक, सूर्य नारायण दत्त , कौशल किशोर लाल, बौवा लाल भक्कानिदै ठुल्ठुलो  स्वरमा रुने गर्थे ।
जानकी मन्दिरमा रहेको जानकी बाग, हनुमान बाग (जो अहिले लोप भईसकेको छ ) तथा बारह विघा मैदानमा दिनहुँ  कुनै न कुनै चरा मर्थे र चारै जना साथीहरू  रुँदै ,कराउदै मृत चराको संस्कार गर्थे । भिख मागेर केही पैसा जुटाएर मृत चराको श्राद्व गर्दथे  । र, जम्मा भएका बच्चाहरुसंगै  भोज समेत गर्थे । मिथिलामा श्राद्ध पछि भोज गर्ने परम्परा छ ।
राती स्याल हुवाऊँ हुवाऊँ (हुइयाँ हुइयाँ )गर्दा विमल आफ्नो आमालाई सोध्ने गर्थे, ‘त्यो स्यालले के भनेको हो ?’ अनि आमा भन्थिन्,‘स्यालले मलाई गुद्री (झुत्रा झुत्री ), गुद्री दे भन्छन् ।’ बिमल त्यस पछि बुवाको सर्टको गोजीबाट १ रुपियाँ सुटुक्क  चोरेर स्याल बस्ने दुलो (प्वाल) मा गएर त्यो १ रुपियाँ राखिदिन्थे । र, भन्थे गुद्री  पनि किनी हाल्नु र खाना पनि खाई हाल्नु ।
यी कुराहरुको नियती नै बनेकाले विद्यालय नजाने विमल सधैं आफ्ना  शिक्षकबाट  बेस्सरी कुटाई खान्थे । कुटाइबाट पीडा असहय भए पछि विमलले हिन्दीमा कविता नै लेखिहाले ।
‘अब दुःख सहा नहिं जाता विधाता,
घरमे जो आता तो पिटाई मैं खाता,
स्कुलमे मास्टर पिताता, विधाता’

उक्त कविता लेखेर शिक्षकलाई सुनाए पछि त झन कुटाई खाने विमलको कलमबाट विस्तारै भने परिपक्व रचनाहरु जन्मिन थाले । भारत पैन्चोभका अर्का शिक्षक ‘जिवछ बाबु’ पनि विमललाई कुटने गर्थे । उनी प्रति पनि विमलले मैथिलीमा बाल्यकालमै कविता लेखेका थिए ।
‘छैथ जिवछ बाबु गुरु हमर
पहिरैथ सदखैन ओ चश्मा छैथ
खाधी कुर्ता खाधी धोती लय कोख सतत
मोटका डन्टा कोख राखैत, मोटका पोथी जखने आवैथ ओ डन्टा लए
घुसिया जाइत छी बेन्च तर छैथ जिवछ बाबु गुरु हमर’

सांस्कृतिक गोष्ठीमा विमलले उक्त कविता सुनाए पछि जिवछ मास्टरसाहेबले उनलाई त्यति कुटे कि विमलले पाइन्टमै पिशाब गरेका थिए ।
सन् १९५९ मा भारतीय पत्रिका आर्याव्रतमा हिन्दीमा ‘खटमल और जोंक’ बालकथा र १९६२ मा ‘कचनारका पेड’ छापियो जुन की धेरै लोकप्रिय भएको थियो । पटनाबाट प्रकाशित मिथिलामिरमा ‘मुइल बच्चा’ छापियो ।
साहित्यको वातावरण जनकपुरमा दुरदराज सम्म पनि नभएको बेला डा.धीरेन्द्र जनकपुर आए पछि उनले सिकाउनु भएको गुणलाई विर्सिए घोर अपराध हुने भन्दै विमल भन्छन्,‘मेरो लागि डा. धीरेन्द्रको भुमिका विवेकानन्द सरह नै छ , उहाँले पुस्तक दिएर साहित्य लेखनमा परिपक्वता कसरी ल्याउने कुरा मात्र सिकाउनु भएन, आफुले लेखेको रचना  भारतका पत्रपत्रिकामा प्रकाशित समेत गर्न लगाउनुहुन्थ्यो ।’
मैले लेखेको उपन्यास ‘पतझरक कली’ करेक्सनका लागि भारतीय साहित्यकार धुमकेतुलाई दिएको तर नष्ट भएकोमा विमल दुःखी छन् । त्यही वर्ष अर्को उपन्यास ‘चान आहाँ उदास छी’ करेक्सनका लागि डा.धीरेन्द्रलाई दिएको तर उक्त उपन्यास सुरक्षितै रहेको धीरेन्द्रका छोरा पुटुलले जानकारी दिएको भए पनि अप्रकाशित नै रहेको विमलको भनाई छ ।
नेपाली समालोचक घटराज भट्टराई लाई दिएको ‘रोएको जून’ र ‘खहरेको तिर्खा’, नरनारी प्रकाशनलाई पठाएको ‘आग का समन्दर’ नष्ट गरियो । डायमण्ड शम्सेरको उपन्यास ‘बसन्ती’ आफैले हिन्दी अनुवाद गरेको भए पनि मगध विश्वविद्यालय पटनाका प्राध्यापक डा । दिनानाथ शरणले आफ्नो नाम दिएर भुमिका समेत चर्चा नगरेकोमा विमल अत्यन्त दुःखी छन् ।
विद्यार्थीकालमा घर परिवारको आर्थिक अवस्था त्यति सम्पन्न नभएकाले सन् १९६९ मा हिन्दी भाषामा डूप  गरेर स्नातकोत्तर गरेका थिए । पछि बनारस हिन्दु विश्वविद्यालयबाट भाषा विज्ञानमा उनले  विद्यावारिधि गरे ।
नेपाली, मैथिली भाषामा समेत स्नात्तकोत्तर उत्तीर्ण गरेका विमल प्राध्यापक पेशामा लाग्नु अघि पत्रकारिता पेशामा आवद्ध थिए । वि.संं.२०२९ मा त्रिभुवन बिश्वबिद्यालयको किर्तिपुर स्थित केन्द्रीय क्याम्पसको बुलेटिनका संस्थापक सम्पादक थिए, उनी । अंग्रजीमा ‘जर्नल अफ दि युनिभर्सिटी’ का लागि विमल कार्यकारी सम्पादकमा नियूक्त भए पनि पछि प्रकाशन नै भएन ।
सन् १९६६÷६७ मा नेपाल उद्योग वाणिज्य संघको बुलेटिनका सम्पादक भएर समेत काम गरे । पछि त्यहि बुलेटिन ‘व्यापार’ पत्रिकामा परिवर्तित भयो । मैथिलीको आँजुर, अर्चना सहित विज्ञान प्रविधिका समेत सम्पादक रहेका थिए ।
पछि त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदमा नियूक्त भए पछि वि.सं.२०३० मा विराटनगरमा हिन्दी विषय र २०३४ मा जनकपुर आएर नेपाली विषय पढाउने गरेका १ जनवरी २०१० मा सह(प्राध्यापक भई डा.विमलले अवकास पाएका थिए ।
मिथिला नाटयकला परिषदमा प्रत्येक सप्ताह साहित्य चक्र सञ्चालन गरी विभिन्न साहित्यकारको उदयमान हुनुमा विमलको भुमिका महत्पुर्ण मानिन्छ । धर्मेन्द्र विहवल, रमेश रञ्जन झा, धिरेन्द्र प्रेमर्षी, सुनिल मल्लिक , रोशन जनकपुरी, अमरेन्द्र यादव, दिपेन्द्र झा सहितका साहित्यकारहरुको रचनालाई सच्चयाउने काम गरी दोश्रो डा । धीरेन्द्रको भुमिका निर्वाह गरेका थिए ।
मैथिली साहित्यको कथा, कविता, सहितका विधामा कमवेश लेखिए पनि यात्रा, संस्मरण, रेखा चित्र, रिपोर्ताज, निबन्ध, उपन्यास, समालोचना सहितका विधा शुन्य रहेको, केही भए पनि अप्रकाशित रहेकोले मैथिली साहित्य धेरै ऋणात्मक अवस्थामा रहेको विमल बताउँछन् ।
उनले थुप्रै रचनाहरूको अनुबाद समेत गरेका छन् । सरुभक्तको उपन्यास पागल बस्तीको हिन्दीमा, भारतीय साहित्यकार रबिन्द्रको ‘नेपाल उर्फ ला पार की डायरी’ लाई नेपालीमा, रमेश रंजनको मैथिलीमा लेखिएको ‘संगोर’ उपन्यासलाई नेपालीमा ‘उमस’ अनुबाद गरेका छन् । त्यसै गरी मैथिलीमा हरिमोहन झाको प्रसिद्ध पुस्तक ‘खट्टर काकाक तरंग’ लाई नेपालीमा ‘खट्टर काकाको तरंग’ अनुबाद गरेका छन् ।
कबि सिद्धि चरण श्रेष्ठको ‘उर्वशी’,मोदनाथ प्रश्रितको ‘मानब महाकाव्य’,चाँदनी शाहका ‘केही कविताहरू’ लाई पनि मैथिलीमा अनुबाद गरेर छापिएको बिमल बताउँछन् ।
भारतका साहित्यकारहरु भारतेन्दु, हरिश्चन्द्र, घनश्याम दास विरला, सन्त गोविन्द दासले साहित्यका लागि आफ्नो सर्वश्व नै अर्पण गरेका कारण त्यहाँको साहित्यमा उच्च कोटीका ग्रन्थ पाइन्छ  तर मैथिली साहित्यमा त्यस्तो उदार हृदय भएकाहरुको अत्यन्त अभाव हुनु दुखद रहेको उनी बताउँछन् । मैथिली साहित्यकारहरुमा साधनाको अभाव हुनु, आफ्नो भाषा साहित्य, संस्कृतिप्रति हिनता वोध हुनु नै मैथिली साहित्यको दुरावस्थाका प्रमुख कारण रहेको विमल औंल्याउँछन् ।
भारतमा कन्नड भाषामा लेख्ने कवि सुव्रमन्यम भारती, हिन्दीमा लेख्ने रामधारी सिंह दिनकर राष्टू कवि हुनसक्छन् , वंगलामा लेखेर रविन्द्रनाथ टैगोर नोवेल पुरस्कार पाउन सक्छन् भने नेपालमा मातृभाषामा लेख्ने साहित्यकारहरुलाई  क्षेत्रिय साहित्यकार भनेर अबमुल्यन गर्ने गरिएको उनी टिप्पणी गर्छन् । विमल भन्छन् , ‘म त राष्टू कवि माधव घिमिरेलाई देवता नै ठान्छु , उनको चरण स्पर्श गर्न चाहन्छु तर मैथिलीमा पनि घिमिरे सरह लेख्ने स्रष्टालाई समान स्तरले हेरिनु पर्यो  ।’
सुदुर पश्चिममा रहेका बिभिन्न जातजाति र जनजातिको लोकजीबन, लोकसाहित्यलाई नेपाली साहित्यको मुलधारमा ल्याउनु पर्ने उनी बताउँछन् । नेपाल भित्र रहेका सबै भाषाभाषीहरू खास गरेर जनजातिका शिष्ट साहित्य र लोक साहित्यको बीचमा अनुवादको माध्यमले विनिमय हुनु आबश्यक रहेको ठान्दछन्, उनी । यसका साथै यी शिष्ट र लोक साहित्य सित विश्वलाई परिचित गराउने प्रयास समेत हुनु पर्ने उनको तर्क छ ।
बिश्व साहित्यमा आएका प्रवृतिगत र शैलीगत परिबर्तन संग परिचित गराउदै जाने दायित्व पनि नेपाली साहित्यकै रहेको उनी बताउँछन् । नेपालका अन्य भाषा साहित्य सित सम्बद्ध साहित्यकारहरूले ती अन्य साहित्यलाई बोके मात्र हाम्रो साहित्य समृद्ध हुन सक्ने उनी बताउँछन् ।
राष्टिूय  प्रतिभा पुरस्कार, जगदम्वाश्री पुरस्कार, बगर फाउण्डेशन गोपाल प्रसाद रिमाल सम्मान, वैद्यनाथ सियादेवी मैथिली पुरस्कार प्रतिष्ठान,संस्कृति र दर्शन प्रज्ञा पुरस्कार, मैनाली कथा पुरस्कार, कलाश्री पुरस्कार, विद्यापति पुरस्कार  सहित दर्जनौं पुरस्कार र सम्मानबाट बिमल सम्मानित भईसकेका छन् ।
उनले लेखेका रचनाहरू नेपालको कलेजमा पढाउने गरिन्छ । कक्षा ९ को नेपाली किताबमा ‘बन्धनबाट मुक्ति’ नामक कथा,त्रिभुवन बिश्वबिद्यालयको बीएडमा ‘लंका काण्ड’ नामक कथा, पोखरा बिश्वबिद्यालयको एमएमा ‘चरा बोल्छ’ कथा पढाउने गरिन्छ । यसका साथै मैथिली भाषामा प्राथमिक कक्षा देखि स्नातकोत्तर सम्मको तहमा उनले लेखेका रचनाहरू पाठ्यक्रममा समाबेश गरिएको छ । कथा, कविता,निबन्ध,संस्मरण आदि रचनाहरू समाबेश गरिएको बिमल बताउँछन् ।
साहित्यिक, शोधपरक, अनुसन्धानात्मक, समालोचनात्मक विधामा दुई दर्जन भन्दा बढी पुस्तक लेखि सकेका बिमल अहिले ७२ बर्षको उमेर भई सक्दा पनि साहित्यिक काममा नै व्यस्त छन् । उनका रचनाहरू प्रायः नेपाली, मैथिली,हिन्दि र अंग्रेजी भाषामा लेखिएका छन् ।
साहित्यमा उनको योगदान यति सम्म छ की उनी जिउंदै रहेको अबस्थामा अहिले उनको नाउँमै चार वटा प्रतिष्ठानहरू खुलेका छन् ।
’नेपालका सबै भाषा र संस्कृति बीच पारस्परिक विनिमयको प्रक्रियालाई तिब्र र प्रगाढ बनाए मात्र राष्टिूय एकताको भावना सुदृढ हुन्दै जानेछ, एकै राष्टिूय जीवनका समन्वित लहर नभएर छुट्टा छुट्टै द्विप भएर बस्ने हो भने त्यसले अनिष्ठलाई निम्त्याउन सक्ने छ’, विमलले अन्त्यमा भने ।


२०७५ श्रावण २७ गते आईतबार

No comments:

Post a Comment