Tuesday, September 18, 2018

प्रदेश नम्बर दुईमा सांसदहरूलाई ‘ल्यापटप’ दिने तयारी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर दुईमा प्रदेश सभाले ‘बिजनेस’ नपाइरहेको अबस्थामा प्रदेश सभाले आफ्ना सांसदहरूलाई ‘ल्यापटप’ सुबिधा दिने तयारी गरेको छ ।
द एक्सक्लुसिभले प्राप्त गरेको सुचना अनुसार प्रदेशका १ सय ७ जना सांसदहरूलाई ‘ल्यापटप’ वितरण गर्ने प्रस्ताव सन्दर्भमा छलफल अगाडी बढेको छ । प्रदेश सभा सचिबालयका उपसचिव रंजित कुमार यादवले पनि सांसदहरूलाई ल्यापटप दिने तयारी भईरहेको कुरामा छलफल ब्यापक चलेको बताएका छन् ।
‘प्रदेश सभा सदस्यहरूलाई उपलब्ध गराउने गरिएको बिधेयक, कागजात लगायतका सामग्रीहरू ‘पिजन होल’ मा राख्दा कतिपय सांसदहरूले नपाउने गरेका कारण पेपरलेस बनाउनका लागि सांसदज्युहरूलाई ल्यापटप उपलब्ध गराउने प्रस्तावमा सचिवालयमा छलफल भईरहेको छ,’ उपसचिव यादबले भने, ‘पिजन होलमा राख्दा अरु सांसदले अरुको पिजन होलबाट कागजात लिने, कतिपय तेस्रो पक्षले लिने गरेको हुनाले ल्यापटप दिएर पेपरलेस गर्नु नै उपयुक्त हुने देखिएकाले ल्यापटप सुबिधा दिने तयारी भईरहेको छ ।’
बर्षमा मात्रै दुई देखि ३ करोड रुपियाँ सम्म कागजातमा खर्च भईरहेको अबस्थामा एक लाख रुपियाँ सम्म पर्ने ल्यापटप समेत दिंदा कुल १ करोड सात लाख रकम मात्र खर्च हुने प्रदेश सचिबालयको तर्क छ । ५ बर्षमा ती कागजात बापत १० करोड सम्म खर्च हुने अबस्थामा ल्यापटप दिंदा प्रदेश सरकारको किफायती समेत हुने बताईन्छ । यसका अतिरिक्त सबै कागजात ल्यापटपमै पठाईदिँदा सधैंका लागि अभिलेख समेत माननीयज्युहरूको लागि सुरक्षित हुने देखिएकाले त्यस्तो गर्न लागिएको यादवले बताए ।
तर, कतिपय यस्ता पनि सांसदहरू छन् जसलाई ल्यापटप चलाउन नै आउदैन । त्यसताका लागि ल्यापटप दिएर पनि के फाईदा त भन्ने प्रश्नमा यादब भन्छन्,‘माननीयज्युहरूलाई अधिकृत स्तरको स्वकीय सचिब राख्न त्यसैका लागि त भनिएको हो, कम्प्युटर चलाउन जान्ने स्वकीय सचिब राख्दा उक्त समस्या समधान हुनेछ ।’
तर, प्रदेश सभाका अधिकांस महिला सांसदहरूले आफ्नै श्रीमानलाई स्वकीय सचिब राखेका छन् । उनीहरूलाई पनि ल्यापटप चलाउन आउँदैन, यस्तो अबस्थामा के गर्ने भन्ने बिषयमा उनले भने, ‘अहिले सांसदहरूको स्वकीय सचिवको भरपाई आउने क्रममै छन्, तपाईंले भने जस्तै हामीले पनि त्यो कुरा सुनी त राखेका छौं, तर श्रीमान् वा श्रीमती नै स्वकीय सचिब छन वा छैनन् भन्ने कुरा बिस्तृतमा नकेलाई भन्न सकिन्न ।’
अहिले प्रदेशमा सांसदहरूले मासिक ५२ हजार ६ सय रुपियाँ तलब बापत पारिश्रमिक, कोठा भाडा बापत रु. १५ हजार, संचार सुबिधा बापत रु. ३ हजार, स्वकीय सचिवको तलब बापत रु.३० हजार ५ सय, प्रति बैठक भत्ता बापत रु.१ हजार र यातयात बापत रु. ५ सय प्रति बैठक पाईरहेका छन् ।
प्रदेश सभा सचिवालयका एक जना कर्मचारीले आफ्नो उल्लेख नगर्ने शर्तमा भने, ‘एकै पटक १ करोडको ल्यापटप किन्दा लाखौँ रकम कमिशन बापत आउने भएकाले केही उच्च तहका कर्मचारीले उक्त तयारी गरेको हो ।’ एता अन्य कर्मचारी  कागजको नाउँमा हुने खर्चमा कमिसन वा अनियमितता गर्न पाउने गरेको अबस्थामा ल्यापटप वितरणको पक्षमा कतिपय कर्मचारी नै पनि नरहेको उनले खुलाए ।
प्रदेश सभाका पदाधिकारीहरूमध्ये सभामुख सरोज कुमार यादव, उपसभामुख  उपमा देब र संघीय समाजबादी फोरम नेपालका प्रमुख सचेतक शैलेन्द्र कुमार यादवले गाडी सुबिधा पाएका छन् । सभामुख यादवले एउटा पछुवाका लागि प्रदेश सचिवालयका लागि उपलब्ध गराईएको गाडी समेत प्रयोग गरिरहेको उपसचिव यादबले भने ।
त्यसका अतिरिक्त सबै राजनीतिक दलका संसदीय दलको नेता, प्रमुख सचेतक आदिले गाडी बापत रु.६० हजार मासिक पाईरहेका छन् ।
दलको नेतामा संघीय समाजबादी फोरम नेपालबाट मुख्यमन्त्री लालबाबु राउत, राष्टिूय जनता पार्टी नेपालबाट जितेन्द्र सोनल, नेकपा एमालेबाट सत्यनारायण मण्डल, नेकपा माओबादी केन्द्रबाट रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट रामसरोज यादब छन् ।
त्यसै गरी प्रमुख सचेतकमा  संघीय समाजबादी फोरम नेपालबाट शैलेन्द्र कुमार यादव , राष्टिूय जनता पार्टी नेपालबाट परमेश्वर साह , नेकपा एमालेबाट सुन्दर बहादुर बिश्वकर्मा , नेकपा माओबादी केन्द्रबाट दिलिप कुशवाहा र नेपाली कांग्रेसबाट उपेन्द्र बहादुर कुशवाहा छन । नेपाली कांग्रेसले मात्रै सचेतकमा शोभा लामालाई चयन गरे पनि बाँकी दलहरूले सचेतक चयन गर्न सकेका छैनन् ।
संघीय समाजबादी फोरम नेपालबाट ३० जना, राष्टिूय जनता पार्टी नेपालबाट २५ जना , नेकपा एमालेबाट २१ जना , नेकपा माओबादी केन्द्रबाट ११ जना, नेपाली कांग्रेसबाट १९ जना र नेपाल संघीय समाजबादीबाट १ जना गरी कुल १ सय ७ जना सांसद छन् ।

२०७५ भदौ ०३ गते आईतबार
 

No comments:

Post a Comment