Saturday, October 17, 2015

कांग्रेसका मधेसी नेताहरुले किन गरेनन् विद्रोह ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विगतका मधेस आन्दोलनहरुमा नेपाली कांग्रेसमा रहेका मधेसी नेताहरुले विद्रोह गरेको भएपनि अहिले जारी मधेस आन्दोलनमा कांग्रेसका कुनै पनि मधेसी नेताहरुले विद्रोह गरेका छैनन् । स्थानीय देखि केन्द्रिय तहका नेताहरु मध्ये कसैले पनि पार्टी परित्याग गरेका छैनन् । हुन त जारी मधेस आन्दोलनमा स्थानीय तहका नेताहरु जुलुस नारामा सहभागिता जनाएका छन् तर पार्टीबाट अलग्गिने निर्णय भने गर्न सकेका छैनन् ।
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव भन्छन,“ हो मधेसीहरुको माग पुरा हुनुपर्छ भन्ने सवालमा हामी पनि सहमत छौं । हामी पनि आ(आफ्नो तरिकाले माग पार्टी भित्र उठाउँदै आईरहेका छौं । यसको मतलव यो होइन कि हामीले आफ्नो घर नै परिवर्तन गर्नुपर्छ । घर विग्रेको छ भने घरमा बसेर मर्मत सम्हार गर्ने हो न कि घर नै फेरी दिने हो ।” यादवको उक्त भनाईले प्रष्ट के बुझिन्छ भने उनीहरु पार्टी भित्रै रहेर संघर्ष गर्ने तर पार्टी परित्याग नगर्ने मनस्थितिमा छन् ।
विगतमा विद्रोह गरेका नेताहरुको पार्टीको अवस्था राम्रो नभएको उदाहरण देखेर नै कुनै पनि केन्द्रिय नेताले पार्टी परित्याग नगरेको बताइन्छ । खास गरेर संविधान निर्माण भईरहँदा नेपाली कांग्रेसका सांसद डा.अमरेश कुमार सिंह, डा.चन्द्रमोहन यादव, महेन्द्र यादव, सुरेन्द्र चौधरी, दिनेश परशैला लगायतका कतिपय मधेसी नेताहरु पार्टीको नेतृत्वबाट असंतुष्ट हुँदै विद्रोह गर्ने चेतावनी दिईरहे पनि पार्टीको निर्णय र ह्वीपलाई मानेर संविधानसभामा संविधान निर्माणको प्रक्रियामा सहभागी हुनुका  साथै जारी गर्न  सम्म साथ दिए ।
विमलेन्द्र निधिको नाटक
नेपाली कांग्रेसका सभाषद, केन्द्रिय सदस्य तथा तत्कालिन भौतिक योजना तथा पुर्वाधार मन्त्री समेत रहेका विमलेन्द्र निधिले संविधान निर्माण सन्दर्भमा प्रधानमन्त्री सहित सभामुख र ४ दलका शिर्ष नेताहरुलाई लिखित सुझाव कार्यान्वयनका लागि औपचारिक रुपमै पत्र लेखेर दिएका थिए । खास गरी अहिले सिमाङ्कनको खाका कोर्नु भन्दा अगाडी निर्वाचन क्षेत्रको निर्धारण गर्नुपर्ने निधिको माग रहेको थियो । उनका अनुसार अहिले सहमति भएका १ सय ६५ निर्वाचन क्षेत्रको सिमा निर्धारण गरिनुपर्ने, जसरी विगतमा २ सय ४० निर्वाचन क्षेत्रको सिमा निर्धारण गर्दा जुन मापदण्ड अबलम्बन गरिएको थियो सोही मापदण्ड अबलम्बन गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने निधिको तर्क छ ।
प्रदेश संख्याले निर्वाचन क्षेत्र संख्यामा भाग गरेर औषत संख्या निकाली एउटा प्रदेशमा कति निर्वाचन क्षेत्र हुन्छ भन्ने कुरा टुङ्गो लगाई त्यसबाट बाँकी रहेका शेष संख्यालाई वा कुनै बाट झिकेर कुनै अर्कोमा थपेर हिमाल, पहाड र तराई मधेसका प्रदेशहरुमा थप घट गरेर प्रदेशहरुको निर्माण गरिनुपर्ने उनको तर्क छ । साथै कुन भु भागका जनता कता पट्टीको प्रदेशमा रहन चाहन्छ त्यो निर्णय गर्ने अधिकार त्यहाँको जनताको रहनुपर्ने उनको धारणा छ । प्रदेशहरुको निर्माण गर्दा राज्यले वा संविधानले कुनै सम्भावित प्रदेशहरु माथि र त्यहाँका बासिन्दाहरुमाथि अविश्वास गरेर र शंका गरेर सिमाङ्कन र अधिकारको सुचि निर्माण गर्नु अनि प्रदेशहरुबाट खतराका मनोगत अनुमान गरेर केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने नाउँमा तानाशाह केन्द्र पनि बनाउनु हुँदैन भन्ने तर्क निधिको रहेको छ । त्यसैगरी राष्टिूय अखण्डतालाई दिर्घायु बनाउनका लागि संसारमा उपलब्ध प्रणालीहरु मध्ये संघीय लोकतान्त्रिक प्रणाली नै सर्बोत्तम प्रणाली रहेकाले शंकालु र संकुचित मनले नभई उदार भावले गर्नुपर्ने उनको भनाई रहेको छ । त्यसैगरी नागरिकताका सवाल र न्यायपालिकाको सवाल लगायतका विषयहरुमा पनि उनले  गत  साउन ३१ गते  पत्र लेखेका थिए ।
यति गर्दा पनि अन्ततः उनी पनि संविधान निर्माण देखि हस्ताक्षर गर्दै जारी गर्ने सम्मका कामहरुमा सक्रिय भए । निधिसँगै मधेसी(थारू सभासद्हरूले आफ्ना प्रस्तावको सुनुवाई नभए पार्टी नीति उल्लंघन गर्दै व्यक्तिगत संशोधन हाल्ने कांग्रेसका ५८ जना सांसदहरुले चेतावनी दिएका थिए । तर, उनीहरु मध्ये कसैले पनि व्यक्तिगत संशोधन हालेनन् ।
यी सबै देखेर कांग्रेसमा सहभागी एक मधेसी सांसद भन्छन,“ कांग्रेसमा एउटा विचित्रको रोग छ । पार्टीमा भईरहेको भेदभावलाई सहर्ष स्वीकार गर्ने तर पार्टीलाई परित्याग नगर्ने रोग किन पनि हावी छ भने पार्टी भित्रका मधेसी नेताहरुमा दासत्वको मनोविज्ञान कायम रहेको देखिन्छ । विद्रोह किन पनि गरिएन भने कतिपय नेताहरुलाई आउँदो सरकारमा मन्त्री बनाईदिने सपना बाँडिएको थियो । तर, अहिले पार्टी नै सरकारमा नगएको अवस्थामा आगामी फागुनमा हुने भनिएको कांग्रेसको केन्द्रिय महाधिवेशनमा चुनाव जिताउन मद्दत गर्ने आश्वासन दिइएको छ ।”
विगतमा मधेस विद्रोह हुँदा नेपाली कांग्रेसका तत्कालिन मधेसी शिर्ष नेताहरु महन्थ ठाकुर, विजय कुमार गच्छदार, शरत सिंह भण्डारी, जय प्रकाश प्रसाद गुप्ता, वृषेश चन्द्र लाल लगायत थुप्रै सिनियर र स्थानीय नेताहरुले विद्रोह गरी पार्टी मात्र परित्याग गरेनन् विभिन्न मधेस केन्द्रित दलहरुमा सहभागी भएर मधेस विद्रोहको अगुवाई नै गरे ।
तर, यसपटक किन विद्रोह भएन भन्ने सवालमा कांग्रेस परित्याग गरी तमलोपाका उपाध्यक्ष बनेका बृषेश चन्द्र लाल भन्छन,“ विद्रोह गर्नका लागि धेरै ठुलो आँट र साहस चाहिन्छ । तर, अहिले कांग्रेसका मधेसी नेताहरुमा मधेसी जनता प्रति कुनै माया छैन । माया के मा छ भने कसरी उनीहरु आफ्ना नेताका वफादार बनेर सत्तामा जान सकिन्छ, पार्टीमा नेताको रुपमा स्थापित हुन सकिन्छ र मधेसीको नाउँमा प्रतिनिधित्व प्राप्त गर्न सकिन्छ ।”
जसरी केन्द्रिय नेताहरु आफ्ना व्यक्तिगत स्वार्थ र राजनीतिक भविष्यका कारण पार्टी भित्र विद्रोह गरेनन् त्यसरी नै स्थानीय तहमा पनि नेता तथा कार्यकर्ताहरु पार्टी भित्रै रहेका पाइन्छन् ।
    कांग्रेस धनुषाका नगर सभापति धिरेन्द्र मोहन झाका अनुसार अहिले सेन्टिमेन्ट जे जस्तो भएपनि कांग्रेस भित्रै बसेर आफ्नो राजनीतिक करियर बन्न सक्ने सम्भावना भएका कारण कोई पनि अलग्गिएका छैनन् । अब स्थानीय निकायको निर्वाचन हुने हुँदा पनि कांग्रेसको मधेसमा संगठन पुरानो र बलियो भएका कारण चुनाव जित्न सजिलो हुने भएकाले पनि कांग्रेसमा भाँडभैलो नमच्चिएको झाले बताए ।
    नेपाली कांग्रेस धनुषाका कार्य समिति सदस्य गणेश झाका अनुसार अहिले कांग्रेस आफ्नै अगुवाईमा मधेसको मुद्दाहरुलाई संविधानमा संशोधन गराउन चाहन्छ । त्यसका लागि कांग्रेस अब सडक र सदनमा संघर्ष गर्ने तय भईसकेकाले पनि कांग्रेस भित्र विद्रोह हुन सकेको छैन ।
उनका अनुसार कांग्रेस छोडेर धेरै साथीहरु जाने मनस्थिति बनाईसकेका थिए तर छोडेर जाने कहाँ, गएकाहरुको हालत पनि नाजुक छ, फेरी राजनीतिक संरक्षण पनि आवश्यक पर्छ । त्यसकारण कांग्रेस भित्र हलचल भएपनि त्यसको परिणाम देखिएन ।


२०७२ कार्तिक ०१ गते आईतबार

No comments:

Post a Comment