Saturday, October 17, 2015

मधेसीले कहिलेसम्म र कति सहादत दिनुपर्छ ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेसी जनताले आफ्नो हक अधिकार प्राप्तिका लागि ज्यानको आहुति दिने गरेको भएपनि राज्य सत्ताले ती सहादतलाई सम्मान गर्न सकेको छैन । मधेसी जनअधिकार फोरम नेपालले गरेको प्रथम मधेस आन्दोलनमा ४४ जना मधेसी बिर सपुतहरुले गरेको सहादतबाट राज्यद्वारा गरिएको सम्झौता कार्यान्वयन गराउन दोस्रो मधेस आन्दोलन गर्नु परेको थियो । उक्त दोस्रो जनआन्दोलनमा १० जना बिर मधेसी योद्धाले ज्यान गुमाउनु परेको थियो ।
 प्रथम र दोस्रो जनआन्दोलनमा रमेश महत्तो, बेचन यादव, रामस्वरुप मेहता, श्यामसुन्दर मेहता, हरिलाल मेहता, प्रमोद सदा, विनय सहनी, मोहम्मद मोदासिन, भगवती मण्डल, निर्मल राजवंशी, असरफ मिया अन्सारी, माजीव आलम अन्सारी, जमिर आलम, तल्लु हास्ता, कोइली कोइरी, खोहरे गोरिया, सदानन्द मेहता, राजकुमार कामत, रामानन्द मेहता, दिपेन्द्र साह, महाविर साह, राजेश ठाकुर, कारी ठाकुर, शिवशंकर यादव, सेठ अव्दुल असरफ, आसिफ अलि मिकरानी, दिनेश राय, रामनारायण साह, राम एकवाल राय, जिवधारी यादव, विनोद राय, संजय कुमार दास, जितेन्द्र मोखैता, राजेश यादव, तुलाराम त्रिपाठी, काशीराम हरिजन, माता प्रसाद वर्मा, बाबुनारायण यादव, पवन कुमार साह, दिनदयाल मण्डल, विखल यादव, दिलेर राम यादव, कमला गिरी, गुल्जार खाँ, राजेश ठाकुर, गुल्टेन, कल्बारु पासवान, सुतार मुखिया, विस्कुट मिया, चन्द्रीका यादव, असलम पठान, गंगा दास र विरवल मुखिया गरी ५४ जना बिर सपुतहरुले सहादत दिएका छन् ।
उक्त सहिदहरुले दिएको सहादत पश्चात २०६४ साल भदौ १३ गते सम्पन्न २२ बुँदे सम्झौता र २०६४ साल फागुन १६ गते सम्पन्न ८ बुँदे सम्झौता कार्यान्वयन गराउनका लागि गत साउन ३१ गते देखि जारी मधेस आन्दोलनमा ४० जना भन्दा वढी मधेसी विर योद्धाहरुले सहादत दिईसकेका छन् । तर, राज्य अहिले पनि गम्भीर बन्न सकेको छैन ।
नेपालको हरेक राजनीतिक आन्दोलनमा मधेसी जनताको महत्वपुर्ण भुमिका मात्र रहेको छैन, सहादत दिने बेलामा समेत मधेसी समुदाय अन्य समुदाय भन्दा एक पाइला अगाडी नै रहेर योगदान पु¥याएको पाइन्छ । निरंकुश राणा शासन विरुद्धको आन्दोलन होस वा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध गरिएको आन्दोलन वा मधेस आन्दोलन, हरेक आन्दोलनमा अग्रणी भुमिका मात्र निर्वाह गरेका छैनन्, आफ्नो प्राणको आहुति दिने सहिदहरुको सूचिमा पनि अग्रपंक्तिमा रहेका छन्, मधेसी समुदाय । जब जब राजनीतिक पार्टीहरुले आन्दोलन थाल्दछन् , मधेसलाई त केन्द्र विन्दु बनाउँछन्, तर, पछि गएर मधेसको मुद्दालाई, मधेसी बीर सपुतले दिएको बलिदानीलाई तिव्र गतिमा विर्सन्छन् । कहिले कांग्रेसको झण्डा बोकेर लोकतन्त्रको आन्दोलनमा, त कहिले बामपन्थीहरुको झण्डा बोकेर साम्यवादको आन्दोलनमा मधेसी ओर्लिए । यहाँ सम्म कि मधेस मुक्तिको लागि मधेस केन्द्रित दलहरुले गरेको आन्दोलनमा समेत मधेसीले सहादत दिए ।
 देशको लागि सहादत दिने सहिदहरुको मधेस मुक्तिको सपना अझसम्म साकार हुन सकेको छैन । संविधान सभाबाट निर्माण भईरहेको नयाँ संविधानले सहिदहरुको सपना साकार हुने अपेक्षा गरिएको थियो । तर, जारी गरिएको प्रारम्भिक संविधानको मस्यौदामा अन्तरिम संविधानबाट प्राप्त गरिएको अधिकार तथा उपलब्धिहरु समेत गुम्न सक्ने खतरा उत्पन्न भएको छ ।
सहादतको कथा
भारतको वैरगनियामा २००७ साल १० र ११ गते सम्पन्न नेपाली कांग्रेसको अधिवेशनबाट सशस्त्र क्रान्ति गर्ने निर्णय लिएको थियो । मात्रिका प्रसाद कोइरालालाई उक्त क्रान्तिको सर्बोच्च कमाण्डर बनाइयो । विपी कोइरालालाई पुर्वी क्षेत्र, महेन्द्र विक्रम साह र सुवर्ण शम्शेरलाई पश्चिमी क्षेत्रको कोडिनेटर कमाण्डर बनाइयो । नेपाली कांग्रेसको झण्डा बोकी सशस्त्र क्रान्तिमा होमिएका मुक्ति सेनाका प्रेम सिंह र कन्चन मुखिया माघ ४ गते जनकपुर धाममा राणाहरुको सेनासँग लडाई गर्दै सहिद भएका थिए । त्यसैगरी २१ नभेम्बर १९५० इसबीका दिन राणा सेनाहरुले चलाएको गोलीबाट मदन पाण्डेय, रमानुज पाण्डेय, क्रिपा दयाल सिंह र कृष्ण दास भक्त सहिद भएका थिए । सशस्त्र क्रान्ति सम्बन्धि तथ्याङ्क अनुसार राणा शासन विरुद्ध भएको जनक्रान्तिमा नेपालको लगभग ४ सय जना र भारतको लगभग १ सय जना क्रान्तिकारी यौद्धाहरु सहिद भएका थिए । जसमध्ये १ सय भन्दा वढी मधेसी विर सपुतहरुले सहादत दिएको बताइन्छ । २००७ साल फागुन ७ गते १ सय ४ बर्षको एकतन्त्रीय राणा शासनको अन्त भयो । देशमा प्रजातन्त्रको स्थापना भयो । तर, मधेसी जनतालाई कुनै पनि अधिकार दिइएन ।
राजा महेन्द्रले कु गरी अन्तरिम संविधानलाई निलम्बन गरी संविधान सभाको निर्वाचन बेगर राजाको पहलमा शक्तिशाली राजतन्त्र सहित नयाँ संविधानको घोषणा गर्यो । कांग्रेस मन्त्री मण्डलका सदस्यहरु नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुलाई शाही सेनाले बन्दी बनाएर निर्वाचित संसदलाई भंग गरेका थिए । राजा महेन्द्रले गरेको प्रजातन्त्रको हत्याको विरुद्धमा मधेसको सप्तरी, महोत्तरी र सर्लाही लगायतका जिल्लाहरुमा आन्दोलन सुरु गर्यो । सुखदेव सिंह, सरोज कोइराला र रामेश्वर प्रसाद सिंहले उक्त आन्दोलनको अगुवाई गरेका थिए । तर, त्यसैकारण २०१९ सालमा सुखदेव सिंहलाई राजविराजको सेना व्यारेकमा गोली प्रहार गरी हत्या गर्यो । मुक्ति सेनालाई सहयोग तथा व्यवस्थापन गरेको भन्दै रक्सौलमा १९ जनवरीका दिन कांग्रेसी नेता विश्वनाथ प्रसाद अग्रवाललाई गोली प्रहार गरी गम्भीर घाइते बनाइयो । जनकपुरमा विद्यार्थी नेता दुर्गानन्द झाले राजा महेन्द्रलाई लक्क्षीत गरी बम प्रहार गरे । बम विस्फोटनबाट राजा महेन्द्र चढेको कार क्षतिग्रस्त भएपनि उनी बाँच्न सफल भए । सोही कारण दुर्गानन्द झालाई २०२०साल माघ १५ गते केन्द्रिय कारागारमा गोली प्रहार गरी हत्या गर्यो । सोही बम काण्डमा गिरफ्तार गरिएका जनकपुरका अर्को यूवा नेता अरबिन्द्र कुमार ठाकुरलाई १६ बर्ष पछि २०३४ सालमा विजया दशमीको अवसरमा रिहा गरिएको थियो । त्यसैगरी योगी साहलाई १० बर्षको कैद सजाय भोग्नु पर्यो । ठिक त्यस्तै दोस्रो बम काण्ड विरगञ्जमा भयो । दुखा सहनी र कपलेश्वर झा तथा दल सिंह थापा मगर र कप्लेश्वर लाललाई जन्म कैदको सजाय दिइयो । पछि उनीहरु २०३७ सालमा रिहा भएका थिए । बम काण्ड पछि तत्कालिन सरकारले डाँकाहरुलाई जेल मुक्त गरी क्रान्तिकारी नेताहरुको हत्या गराउन थालिएको थियो ।
पञ्चायती व्यवस्थामा सन् १९६३ मा भुमि सुधार कार्यक्रम लागु गरिएको थियो । भुमि सुधारको नाउँमा  मधेसीहरुलाई जमिनबाट विस्थापित गराउने कार्यको थालनी भयो । कपिलबस्तु जिल्लाको कुशमाहा गाउँका अनेक किसान थारुहरुलाई उसको जग्गाबाट विस्थापित गरी पहाडी खस ब्राह्मणहरुलाई बसाइयो । थारुहरुको जमिन ती खस ब्राह्मणहरुलाई दिनुका साथै थारुहरुलाई दैनिक मजदुरी अर्थात बन्धुवा मजदुरको रुपमा काम गर्न लगाइयो । जग्गा मालिक थारुहरु ती खस ब्राहम्णहरुका हरवाह चरवाहको रुपमा दास बन्न बाध्य भयो । पञ्चायती सरकारको नीतिका कारण मधेसी समुदायमा आक्रोश वढ्दै गयो । विभिन्न जिल्लाहरुमा विद्रोह सुरु भयो । उक्त विद्रोहका दौरान सरकारी प्रतिवेदन अनुसार पुलिसले चलाएको गोली लागेर करिब ९ जना किसानहरु सहिद भएका थिए । एक दर्जन भन्दा वढी घाइते भएका थिए ।
यति मात्र होइन किसानहरुलाई शोषण गर्नका लागि सन् १९६५मा अनिवार्य बचत यौजना सुरु गर्यो । उक्त योजनाको विरोधमा सन् १९६९ मा मधेसी किसानहरुले प्रदर्शन गरे । कपिल बस्तुको तौलिहावामा जवर्जस्ती अनिवार्य बचत संकलनको विरुद्धमा किसानहरुले प्रशासनिक प्रमुखहरुलाई घेराउ गरे । उक्त संघर्ष चाँडै रुपनदेही सम्म फैलियो । ३० भन्दा वढी गाउँहरु ३ सप्तासम्म फायरिग गर्दै रहयो । जसमा २३ जना किसानहरुको हत्या गरिएको थियो ।कतिपय किसानहरुको घरमा आगो लगाइएको थियो ।  बुद्धको जन्म स्थल लुम्बनीमा बन्दुकले किसानहरु माथि आक्रमण गरिएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टीले पनि लोकतान्त्रिक अधिकार अपहरित भई सकेपछि राजा स्वेक्षाचारी कार्यको विरोध गर्न थालियो । मनमोहन अधिकारी , मोहन विक्रम सिंह जस्ता सिर्ष नेताहरुलाई बन्दी बनाइयो । कतिपय नेताहरु काठमाण्डौबाट भागेर भारत पुगे र त्यहाँबाट सरकारको विरोध गर्न थाले । उक्त आन्दोलनका दौरान धनुषाका सुर्यनाथ यादवले सहादत दिएका थिए । सरकार विरुद्ध संघर्ष गरेको आरोपमा यादवलाई २०२१ सालमा जेल पठाइयो । जेलबाट मुक्त भएपछि २०३१ सालमा जनकपुरका पञ्च नेता हेम बहादुर मल्ल तत्कालिन अञ्चलाधिस लिला राज विष्टले सुर्यनाथ यादव र उनका सहयोगीहरुलाई हत्या गर्न झिझाको डाँकाहरुलाई पठाइएको बताइन्छ । तर, डाँकाहरुद्वारा हत्या गराउने प्रयास विफल भएपछि २०३२ सालमा उनलाई पुनः गिरफ्तार गर्यो । सुरुमा सिरहा र पछि काठमाण्डौको सेन्टूल जेल नख्खु जेलमा राखियो । जनमत संग्रहको घोषणा पश्चात २०३७ साल बैशाखमा उनलाई रिहा गरियो । पछि फेरी २०४२ साल जेष्ठ १० गते उनलाई गिरफ्तार गरियो । २०४२ साल असोज ४ गते कम्यूनिष्ट नेता सुर्यनाथ यादवलाई सरकारले कायरता पुर्वक हत्या गर्यो । भारतमा जारी नक्सलवादी आन्दोलनको प्रभाव पुर्वी नेपालको झापा, मोरंग जस्ता जिल्लाहरुमा पनि पर्यो । र, झापामा आन्दोलन सुरु भयो । झापा संघर्षका दौरान २०२९ सालमा झापाका विरेन्द्र राजबंशी, २०३३ सालमा सिरहाका रामपृत यादव, २०३३ सालमा मोरंगको बलेश्वर राय, २०३६ सालमा धनुषाका झपसी मण्डल र २०४६ सालमा झापाको छविलाल राजबंशी सहिद भए । यसका अतिरिक्त रामाधिनखत महत्तो, मज्जुल अहमद, हरिकृष्ण चौधरी र भेटला राजबंशी २०३२ सालमा मारिए । यसरी हेर्ने हो भने बामपन्थी विचार बोकेका मधेसीहरुले मधेसी मुक्ति मोर्चा स्थापना गरी नक्सलवादी व्यवस्था अपनाई सिमावर्ती सरकारी चौकीहरुमा छापामारी गरी रातो झण्डा लिएर साम्यवादको प्रचार गरेको थिए । सोही अवधिमा मधेस मुक्ति मोर्चाका नेता रघुनाथ रायलाई रुपन्देहीको मर्चवारमा र रामजी मिश्रलाई कपिलबस्तुमा गोली हानी हत्या गरियो । नेपाली कांग्रेसद्वारा प्रजातन्त्रको पुनः स्थापनाका लागि संचालित सशस्त्र संघर्षका क्रममा तत्कालिन सेनासँग यूद्ध गर्दै गर्दा महोत्तरीका यूवा विद्यार्थी शिवचन्द्र मिश्र २०१९ आश्विन २४ गते सम्सीमा सहिद भए । त्यसैगरी रौतहतको बंकुलमा सेनासँग लड्दै २०१८ सालमा रामविलास राय यादव, पर्साको सुलेमान मिया र बाराको भोला साह कानु मारिएका थिए । रौतहतको जलिल मियाँलाई २०१९ सालमा गिरफ्तार गरी २० बर्षको कैद सजाय दिइयो । २० बर्षको सजाय काटेपनि मियाँलाई रिहा गरिएन । विरगञ्ज जेलमा २०४४ सालमा उनको निधन भयो । त्यसैगरी भरतपुरको भारत गोपाल झालाई पनि २०१९ सालमै गिरफ्तार गरिएको थियो । खानामा विष दिएर २०२० साल चैत्र ६ गते झाको हत्या गराईयो ।
यसका अतिरिक्त २०१८ मा कांग्रेसद्वारा चलाइएको सशस्त्र संघर्षका दौरान २०१९ सालमा बाराको हरि सहनी मल्लाह, परिक्षण ठाकुर लोहार, मोहन साह कानु, रामचन्द्र महत्तो कोइरी र रौतहटको सुखारी हजरा सहिद भए । सोही आन्दोलनका दौरान चितवनका बुद्ध सिंह राणा, रौतहटका शेष पांचु र गणेश राउत कुर्मी जस्ता यौद्धाहरुको हत्या गराईयो । तत्कालिन सरकारले जारी गरेको शिक्षा नीति एवम प्रजातन्त्र विरोधी संघर्षको क्रममा २०२९ सालमा धनुषाको यदुकोहामा २ जना विद्यार्थीहरु कामेश्वर र कुशेश्वर सहिद भएका थिए । २०३६ सालमा धनुषाका झपसी मण्डल, मुगालाल महत्तो र मोहन राम महत्तो मारिएका थिए । २०३६ साल जेष्ठ ५ मा महोत्तरी करैयामा मिथिलेश दुवे र जेष्ठ ६ गते सर्लाही हरिपुर्वाका ललन राय, अमृत साह, शेख मियाँ जान, बुधन अन्सारी, सुरत ठाकुर, इसरायल शेख, रामबाबु चौधरी लगायतले सहादत प्राप्त गरेका थिए ।
२०४२ सालको सत्याग्रहको समयमा बम काण्डको अनुसन्धानको नाउँमा गिरफ्तार गरिएका राजबन्दीहरु डा.लक्ष्मीनारायण झा (एलएन झा), सत्यनारायण साह, इश्वर लामा, पदम लामा, साकेत चन्द्र मिश्र र दिलिप चौधरी हालसम्म बेपत्ता छन् । अर्थात उनीहरु राज्यद्वारा मारिएको बताइन्छ । यसका अतिरिक्त महेश्वर चौलागाई, माझी खान ठाकुर, परिक्षण ठाकुर, हरिहर राय यादव, शंकर प्रसाद शर्मा, श्रीहर्ष खनाल, मिश्रलाल शर्मा, बैकुण्ठ अधिकारी, डाँकमान तामाङ सहित थुपै्र व्यक्तिहरु २००८ साल देखि २०४६ साल सम्म राजनीतिक कारणबाट सरकारद्वारा गायव गराइएको छ ।
२०४५ पुष २६ गते जनकपुरधाममा सत्यनारायण पाठकलाई धनुषाका सिडिओले आफ्नो अंगरक्षकको पेस्तोल खोसेर गोली प्रहार गरी हत्या गरेका थिए । त्यसैगरी २०४६ सालको आन्दोलनको प्रारम्भिक दिनमै तत्कालिन पुलिसले आक्रमण गरी गम्भीर घाइते भएका शिक्षक महादेव झाको पछि मृत्यु भएको थियो । २०४६ फागुन ९ गते धनुषाको यदुकोहामा तत्कालिन प्रहरी प्रशासनद्वारा गरिएको गोली प्रहारमा पहिलो पटक महिला पनि सहिद भएका थिए । जानकी देवी यादव, भुवनेश्वरी देवी यादव र सोनावत्ती देवी यादव गरी ३ जना महिलाहरु, उदय शंकर मण्डल र रामनारायण यादव गरी ५ जना एकै पटक एकै ठाउँमा धनुषाको यदुकोहामा सहिद भएका थिए । चैत्र २४ गते रामविलास ठाकुरले सहादत पाए । सहिदहरुको सूचिमा थुप्रै मधेसी बीर सपुतहरु छन् । सप्तरीका विहारी चौधरी, कैलु चौधरी, रौतहटका मुकुट ओझा, शेख पाचु, बाराका बैद्यनाथ गुप्ता र दिपक गुप्ता पनि छन् । उनीहरुलाई रक्सौलमा हत्या गरियो । त्यसैगरी सप्तरीको कन्चनपुरका सुरेश कुमार गुप्ता, चैतु साह, पशुपति यादव, बाराका भोला साह, गेना साह, रौतहटका बलदेव राय यादव, दिपनारायण गिरी, सुखारी हजरा, नरबहादुर कुँवर र रानी मियाँ छन् । त्यसैगरी धनुषाका श्रीधर ठाकुर र शुभनारायण साह पनि सहिदहरुको पंक्तिमा छन्, जसले विद्यार्थी कालमा अनेक कष्ट सहेर पनि संघर्ष गरे र आन्दोलनमा प्रहरीको कुटाईबाट मारिए ।
यसरी हेर्ने हो भने समानता, स्वतन्त्रता र राष्टिूयताका लागि सरकारको गलत नीति तथा कार्यक्रमका विरुद्ध विभिन्न समयमा भएको अनेकौ संघर्षमा बहुदलिय व्यवस्थाको पुनः स्थापना पछि पनि सेकडौं मधेसीहरु सहिद भए । जसमध्ये २०४८ सालमा अर्घाखाँचीमा बसिर मियाँ, बारामा लक्ष्मी चौधरी, २०४९ सालमा सप्तरीका रामप्रसाद सिंह, रुपन्देहीका ओमप्रकाश यादव, २०५० सालमा सर्लाहीका कपिलदेव सिंह, विजय महत्तो, दाङ्गका नारायण चौधरी, कृष्ण चौधरी, कपिलबस्तुका हरिनारायण यादव, धनुषाको क्रान्तिकारी साम्यवादी नेता रामवृक्ष यादव (मास्टर साहेव) र सिरहाको टिराहु चौधरी लगायतले सहादत दिएका थिए । रामवृक्ष यादव २०५१ साल भाद्र २ गते तत्कालिन कांग्रेस सरकारको कार्यकालमा सहादत प्राप्त गरेका थिए । उनी तत्कालिन एकता केन्द्र तथा संयूक्त जनमोर्चाका केन्द्रिय सदस्य थिए ।
त्यसैगरी २०५६ सालमा सिरहाका विष्णदेव यादव, उत्तम लाल साह, योगेन्द्र प्रसाद सिंह, किशुन देव यादव र सर्लाहीका सन्तविर कुशवाहा पनि पुलिसले चलाएको गोलीबाट मारिएका थिए । यसका अतिरिक्त भुमिगत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)द्वारा २०५२ सालबाट संचालित जनयूद्धका दौरान बर्दियाका रामबहादुर थारु, बासु चौधरी, विजय चौधरी, रत्न कुमार चौधरी, शिव प्रसाद चौधरी, त्रिभुवन चौधरी, राजकुमार चौधरी, भुवनेश्वर पण्डित, आशा चौधरी, रामप्रताप साह लगायत अनेकौं मधेसीहरुले सहादत प्राप्त गरेका थिए । जनताको जनवादी व्यवस्था, समानता, स्वायत्त शासन र आत्म निर्णयको अधिकारको लागि गरिएको उक्त जनयूद्धमा सैकडौं मधेसी विर सपुतहरुले सहादत दिएका छन् । २०६२÷०६३ जनआन्दोलन पश्चात जारी गरिएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि भएको दुई पटकको मधेस विद्रोहमा करिब ५४ जना मधेसी विर सपुतहरुले सहादत दिएका छन् ।
तसर्थ मधेसी सामु यो प्रश्न खडा भएको छ कि अधिकार प्राप्तिका लागि मधेसीले यो देशमा कहिले सम्म र कतिको संख्यामा सहादत दिनुपर्छ ? राज्यले त्यसको जवाफ दिनै पर्छ ।

२०७२ कार्तिक ०१ गते आईतबार

No comments:

Post a Comment