Saturday, October 17, 2015

रामचन्द्र झाको विद्रोही चरित्र

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
एकिकृत नेकपा माओवादीका पोलिट व्यूरो सदस्य तथा मधेस व्यूरो प्रमुख रामचन्द्र झाले मधेसको मुद्दाहरु संविधानमा सम्बोधन नगरिएको भन्दै पार्टीबाट विद्रोह गरी नयाँ शक्ति निर्माणमा जुटेका छन् । एमाओवादी नेतृत्वले मुद्दासँग बेइमानी नगर्ला भन्ने कुरामा विश्वस्त भएपनि अन्ततः प्रचण्डले धोका दिएपछि विद्रोह वाहेक उनीसँग अन्य विकल्प नै थिएन । महत्वपुर्ण कुरा के हो भने अहिले उनी मात्रै  होइन, उनकै अगुवाईमा एमाओवादी भित्र रहेका मधेसी नेताहरु महेन्द्र पासवान, प्रभु साह, रामकुमार शर्मा, रामरिझन यादव लगायतका थुुप्रै मधेसी नेताहरुले विद्रोहमा साथ दिएका छन् । र, पार्टीको साधारण सदस्य, संसदमा सांसद पदबाट समेत राजीनामा गरिसकेका पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ तरिकाले नयाँ शक्ति निर्माणका लागि  अगामी  वढीसकेका छन् ।
मधेस आन्दोलन उचाई लिईरहेको अवस्थामा बाबुराम भट्टराईलाई १२ असोजमा जनकपुर ल्याएर कार्यक्रम गराउन उनी सफल भए । प्रतिकुल अवस्था, व्यापक विरोधका बावजुद उनले भट्टराईलाई जनकपुरमा ल्याउन सक्नुले उनको जुझारुपना अझै पनि कायमै रहेको जनकपुरमा सर्बसाधारणहरुले चर्चा गर्ने गरेका छन् ।
 झा को यो कदम सही हो वा गलत, त्यो भोलीका दिनमा राजनीतिक घटनाक्रमले पुष्टि गर्दै जानेछन् । धेरैले झाले एक दम ठीक काम गरे, कुनै पार्टी भित्र नेतृत्वको गुलाम भएर आफ्ना समुदायका जनताको मुद्दालाई विर्सेर सम्झौता वा आत्मसमर्पण गर्नु भन्दा विद्रोह गरेर साहासिक काम गरेको भन्दै व्याख्या विश्लेषण गरिरहेका छन् भने केहीले झाले धेरै ठुलो जुवा खेलेर आफ्नो राजनीतिक करियरलाई नै दाउमा लगाएर धेरै ठुलो जोखिम मोलेको पनि भन्ने गरेका छन् । जे जसरी टिका टिप्पणी हुँदै गर्दा पनि झा भने अत्यन्तै उत्साहित र सक्रिय भएका छन् ।जसरी उनले मधेसका जिल्लाहरुमा एमालेका संगठन निर्माणका लागि आफ्नो यूवाअवस्थाको उर्जा लगाएका थिए, ठीक त्यस्तै चमक अहिले उनको अनुहारमा देखिन्छ ।
एमाओवादीमा विद्रोह
नेकपा एमाले परित्याग गरेर एमाओवादीमा लागेका झा उक्त पार्टीमा पनि संतुष्ट हुन सकेनन् । खासगरी संगठनको सवालमा एमाओवादी भन्दा एमाले कै ठीक रहेको उनले महसुस गरे । हुन त उक्त पार्टी भित्र प्रचण्ड, बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ गरी ३ वटा गुट रहेपनि उन ीभने अध्यक्ष प्रचण्डकै खेमामा बसे । यस सबालमा झा भन्छन,“ म जहिले पनि पार्टीको नेतृत्वलाई मान्दछु । एमालेमा हुँदा माधव नेपाल, झलनाथ खनाल दुवै जना नेतृत्वमा हुँदा उनी निकट थिएँ । किनभने पार्टीको आधिकारिक नेतृत्व जो हुन्छ त्यसकै लाइनमा हिड्नु नेता तथा कार्यकर्ताको दायित्व हुन्छ । त्यसैले एमाओवादीमा पनि अध्यक्ष प्रचण्डकै नजिक बसेर काम गरें ।”
एमाओवादीमा आईसकेपछि उनको पार्टी भित्रको अन्तर संघर्ष र आफ्नै क्षेत्रभित्रको अन्तर संघर्षका कारण दोस्रो संविधानसभाको चुनावमा आफ्नै पार्टीबाट श्रवण बरबरियाले बागी रुपमा उम्मेदवारी दिएपछि चुनावमा पराजित हुनु परेको थियो । अन्तर संघर्ष त एउटा कारण छदै थियो तर उक्त चुनावमा मत पेटिका र मत पत्र नै विभिन्न चलखेल गरी परिवर्तन गरिएका कारण आफु पराजित हुनुपरेको झाको ठहर छ । यद्यपि उनी पार्टी भित्र सक्रिय रहे । तर, एमाओवादीको महाधिवेशनमा उनलाई स्थायी कमिटि सदस्यमा नलगिएपछि उनी निराश भएका थिए । हुन त प्रचण्डले जसरी पनि झालाई स्थायी कमिटिमा ल्याउनुपर्छ भनेर निर्देशन जारी गरेपनि केही नेताहरुले धोका दिएपछि उनी पोलिट व्यूरोमा सिमित हुन पुगे । र, जुन मुद्दाका लागि उनी एमाओवादीमा आएका थिए उक्त मुद्दालाई विसर्जन गरेर जसरी संस्थापन पक्ष एकहोरो ढंगले संविधान निर्माण गरी दिपावली समेत मनाउन लागेपछि उनी पार्टीबाट विद्रोह गर्न बाध्य भए । मधेसमा आन्दोलन भईरहेको, ४० जना भन्दा वढी मानिसले ज्यान गुमाईसकेको अवस्थामा पार्टीले दिपावली मनाउनु उनको लागि ठुलो धोका भएको ठहर गर्दैै बाबुराम भट्टराईलाई नेतृत्व दिएर पार्टीबाट विद्रोह गर्न लगाएका छन् । यद्यपि झाले औपचारिक रुपमा नै एमाले जस्तै राजीनामा त दिईसकेका छैनन् तर उनी अब औपचारिक रुपमै एमाओवादीबाट अलग्गिसकेका छन् ।
एमालेमा विद्रोह
नेकपा एमालेबाट राजनीतिक करियर सुरुवात गरेका उनी अन्ततः एमालेबाट पनि निस्कनु पर्यो । खास गरेर उक्त पार्टी एउटा खास सम्प्रदायको प्रतिनिधित्व गर्ने पार्टीमा मात्रै रुपान्तरण हुने, मधेस, आदिवासी जनजाति, उपेक्षित वर्गहरुको प्रतिनिधित्व नै गराउन नखोज्ने अवस्था देखेपछि उनी एमाले पार्टी परित्याग गरी माओवादीमा लागेका थिए । तत्कालिन एमाले उपाध्यक्ष अशोक राईको अगुवाईमा एमाले परित्याग गरे पनि झा भने राईसँगै गएनन् । राईले संघीय समाजवादी पार्टी नै खोले भने झा केही दिन स्थिर बसेर माओवादीमा प्रवेश गरे ।
एमाले राजनीतिक मुद्दाका हिसाबले कमजोर हुँदै गएको र पार्टीभित्र विधि स्थापना र व्यक्ति व्यवस्थापन गर्ने कुरामा समेत चुक्दै जानु, संविधानका अन्तरवस्तु र राज्य पुनःसंरचनाका मुद्दामा एमाओवादी नजिक देखिनु,  हेटौंडा महाधिवेशनपछि एमाओवादीले प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्णरूपमा स्वीकारिसकेको अवस्थामा झा माओवादी प्रति आकर्षित भएका थिए । पार्टीभित्र राजनीतिक मुद्दा, संगठन व्यवस्थापन, विधि व्यवस्थापन लगायतका विषयमा विमति राख्दै आएपनि उनले राखेका सैद्धान्तिक विमति र व्यक्ति व्यवस्थापनका मुद्दालाई एमालेले सधै बेवास्ता गरेपछि उनी अन्ततः पार्टीबाट राजीनामा दिन बाध्य भएका थिए । नेकपा एमालेले एक हदसम्म उनलाई अवसर पनि नदिएको होइन तर निर्णायक तहसम्म भने लगेन । पोलिट व्यूरोसम्म मात्र राख्ने नीति निर्माण गर्ने तह स्थायी समिति वा पदाधिकारी सम्म नलग्ने एमालेको साम्प्रदायिक चरित्रका कारण उनी असन्तुष्ट भएका थिए । खास गरी पहिलो संविधानसभाको निर्वाचनका क्रममा मधेस मुद्दामा एमाले पार्टीको प्रवृतिले पार्टी परित्याग गर्न झन् ठुलो मद्दत गरेको थियो ।
सदनमा लडाकु सांसदको रुपमा उदय
२०५१ को मध्यावधि चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार शिवधारी यादवलाई पराजित गरी पहिलो पटक उनी सदनमा पुग्न सफल भएका थिए । जिल्लाको स्थानीय राजनीतिमा आक्रामक, जुझारु तथा लडाकु नेताको रुपमा छवि बनाएका झाले सदनमा समेत जुझारुपन देखाएर सिंगो राष्टूमै एक आक्रामक नेताको रुपमा पहिचान बनाउन सफल भएका थिए ।
पहिलो पटक संसदमा पुग्दा  रामचन्द्र झा सदनमा सशक्त ढंगले प्रस्तुत हुँदै एउटा मिलिटेन्ट फोर्सको रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए । २०५२ सालको असोज महिनामा तत्कालिन नेकपा एमालेका महासचिव मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव लगिएको थियो । कांग्रेसका तर्फबाट सभामुख रामचन्द्र पौडेल थिए । मतदानका लागि सबै ढोकाहरु बन्द गराइएको थियो । तर, सभामुख पौडेलले सुटुक्क पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका लागि ढोका खोलिदिए ।  जुन कि नगर्नु पर्ने थियो । त्यही भएर एमाले सांसद रामचन्द्र झा, निल बहादुर तिलिमा पुन लगायत ४÷५ जना सांसदहरुले थापाका लागि ढोका खोल्ने मर्यादापालकलाई  आक्रमण गरी थापालाई समेत हातपात गरेका थिए । झाका अनुसार नियम भनेको सबैको लागि बराबर हुन्छ । तर, कोही पुर्व प्रधानमन्त्री हुँदैमा नियम तोडेर उसको लागि ढोका खोल्न त हुँदैन । त्यसका लागि नै प्रतिवाद गरिएको थियो ।
अर्को प्रसङ्ग २०५५ तिरको हो । एमालेका अमृत कुमार बोहरा स्थानीय विकास मन्त्री भएको बेला स्थानीय निकाय स्वायत्त शासन ऐनमा एउटा राम्रो प्रावधान राखिएको थियो । उक्त ऐनमा स्थानीय निकायका पदाधिकारीले भ्रष्टाचार र जनविरोधी काम गरेको पाइएमा सम्वन्धित पार्टीको निर्णय सिफारिसमा  स्थानीय निकायका उक्त पदाधिकारीलाई पदबाट फिर्ता बोलाउन सकिने प्रावधान राखिएको थियो । स्थानीय निकायमा भ्रष्टाचार र जनविरोधी कार्य गर्नबाट स्थानीय पदाधिकारीलाई रोक्नका लागि उक्त व्यवस्था गरिएको थियो । जुन, धेरै राम्रो व्यवस्था थियो ।
 तर, कांग्रेस र एमालेबाट फुटेर गएको मालेको सरकारले उक्त व्यवस्थालाई परिवर्तन गर्न सदनमा लगेको विधेयक जवरजस्ती पास गर्न खोज्दा झाले कालर समातेर घोक्रेठ्याक लगाउँदै सभामुख  रामचन्द्र पौडेलको कालर समातेर आसनबाट तान्न खोज्दा मनमोहन अधिकारीले रोकेका थिए । त्यतिबेला एमालेले ३१ दिन सम्म लगातार संसद अवरोध गरेका थिए । तत्कालिन मन्त्री राधाकृण मैनालीलाई समेत उनले सदनमा घोक्रेठ्याक लगाउँदै सभामुख माथि आक्रमण गरेका थिए । यद्यपि हो हल्लाका बीच कांग्रेसले उक्त विधेयक संसदमा पास गरेको थियो । यसरी हेर्ने हो भने संसदमा उनी अत्यन्त आक्रामक र सशक्त ढंगले प्रस्तुत भएका थिए । यति मात्र होइन त्यो बेलाको संसदमा तराई मधेसका सवालमा प्रश्नकालमा सबैभन्दा वढी प्रश्न गर्ने भुमिका पनि उनले अत्यन्त गम्भीरताका साथ उठाउने गरेका थिए । त्यसपछि उनी मिलिटेन्ट फोर्सबाट एउटा विकास पुरुषको छवि बनाउने तर्फ केन्द्रित भएका थिए । जसअनुसार उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष र स्थानीय विकास मन्त्री हुँदा धनुषाको विकासका लागि ठुलै पहल गरेका थिए ।     २०३१ सालदेखि नै मोहनविक्रमले नेतृत्व गरेको चौथो महाधिवेशनमा आबद्ध झा २०३९ सालमा तत्कालीन नेकपा (माले) को सम्पर्कमा आएका थिए । २०४० सालमा उनी अध्ययन गर्न भागलपुर गए । त्यहाँ उनले समाजशास्त्रमा स्नाकोत्तर गरे । २०४५ सालमा त्रिवि सेवा आयोगमा परीक्षा दिए । लिखितमा पास भएर मौखिक परीक्षाको तयारी हुँदै थियो, जनआन्दोलनको तयारी चल्न थाल्यो । २०४६ सालभन्दा पहिलेदेखि नै कम्युनिष्टहरूको संसर्गमा रहे पनि उनले सक्रिय रूपमा राजनीतिचाहिँ २०४६ सालको आन्दोलनसँगै थालेका हुन् । २०४७ मा नेकपा एमाले गठनसँगै राजनीतिमा होमिएका उनी २०४८ को पहिलो संसदीय निर्वाचनमा धनुषाबाट सांसदका लागि भएको चुनावमा हारे । तर २०५१ को मध्यावधिमा चाहिं क्षेत्र नं २ बाट जिते । यस बीचमा उनी २०४९ सालको जिल्ला विकास समितिको चुनावमा धनुषामा सभापतिको उम्मेदवार भएका थिए, तर पराजित हुनुर्पयो । २०५६ मा पनि उनले चुनाव हारे । २०६४ को संविधासभा चुनावमा पुनः विजयी भए । पार्टीमा पनि जिल्ला कमिटी हुँदै अञ्चल, केन्द्र हुँदै पोलिटव्युरो सदस्यसम्म भए । संविधासभापछि बनेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्चको सरकारमा स्थानीय विकास मन्त्री भए ।
नयाँ शक्तिको तयारीमा
झा अब नयाँ किसिमको समाजवादको लक्ष्य लिएर नयाँ शक्तिको तयारीमा लागेका छन् । मधेसका विभिन्न जिल्लाहरुबाट नेपाली कांग्रेस, नेकपा एमाले र मधेस केन्द्रित दलहरुबाट समेत कतिपय नेता तथा कार्यकर्ताहरुले आफुहरु पनि नयाँ शक्तिमा लाग्ने झाले बताएका छन् । सामाजिक न्याय, भ्रष्टाचार मुक्त शासन, सुशासन, विकास, आर्थिक क्रान्ति आदि प्रमुख लक्ष्य रहेपनि आफु माकर््सवादको निर्देशक सिद्धान्तलाई मान्ने झाले बताएका छन् । अहिले मधेसका  विभिन्न जिल्लाहरुमा भेला सकेर चाँडै जनकपुरमा बुद्धिजीवि, व्यापारी, यूवा, पेशागत कर्मचारीहरु  आदि सबैलाई समेटेर गेट टुगेदर कार्यक्रम गर्ने झाले बताएका छन् । झा अब चिन्तकको  भुमिकामा रहेर नयाँ बन्ने पार्टीको सेकेन्डम्यानको   भुमिकामा रह्ने बताइएको छ ।


२०७२ आशिन १७ गते आईतबार

No comments:

Post a Comment