Saturday, October 17, 2015

मधेसी मोर्चाले गल्ती सच्याए

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु पत्रकार सम्मेलनमा ।
अजय अनुरागी
जनकपुरधाम............
मधेसी, थारु, मुस्लिम, दलित, आदिवासी जनजाती, विरुद्ध रहेको उग्रवामपन्थी तथा लोकतन्त्र विरोधी फासिस्ट चरित्र बोकेको अपवित्र गठबन्धनलाई परास्त गर्न त्यसका विरुद्ध मतदान गर्न र सत्ताको खेलबाट बाहिर रही चलिरहेको आन्दोलनलाई निरन्तर जारी गर्न प्रधानमन्त्रीको चुनावमा भाग लिने र नेपाली कांग्रेसका प्रत्यासी सुशिल कोइरालालाई मतदान गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २४ असोजमा निर्णय ग¥यो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्ण र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्ती जारी भएपछि मधेसमा आन्दोलनरत रहेका मधेसी समुदाय झसङ्ग भए । नभन्दै सोही दिन भएको प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, शरत सिंह भण्डारीले नेतृत्व गरेको राष्टिूय मधेस समाजवादी पार्टी र राजकिशोर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सुशिल कोइरालाको पक्षमा मतदान गरे । यद्यपि कोइराला पराजित भए । अर्को तर्फ विजय गच्छदारले नेतृत्व गरेको मधेस केन्द्रित दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका लागि नेकपा एमालेका उम्मेदवार खड्ग प्रसाद शर्मा ओलीलाई मतदान गरे । सौभाग्यवस उनी प्रधानमन्त्रीमा निर्वाचित पनि भए । हो, नेपालको राजनीतिक घटनाक्रममा उक्त दिनको निर्वाचनले राजनीतिमा तिब्र विभाजन र धु्रवीकरण गर्न मद्दत गर्यो ।
गत साउन ३१ गते देखि अनिश्चित कालिन आम हडताल गर्दै सडकमा आन्दोलित मधेसी मोर्चाको उक्त निर्णय पछि मधेसमा व्यापक निराशा देखियो । आन्दोलनकारीहरुले मोर्चालाई आलोचना मात्र गरेनन् तिनीहरुको विरुद्ध नारावाजी तथा जुलुुस प्रदर्शन समेत गरे । जे जस्तो परिस्थिति आएको भएपनि मोर्चाले जुन संविधानलाई जलाएर विरोध गरेको थियो, त्यही संविधानलाई स्वीकार गरेर प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुनु भनेकै संविधानको कार्यान्वयनमा मद्दत गर्नु रहेको भन्दै मोर्चा भन्दा बाहिर रहेर सडकमा विरोध गरिरहेका तराई मधेस राष्टिूय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता भन्छन,“प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुनु मधेसी जनता माथि अन्याय गर्नु सरह हो । त्यसमा पनि जुन व्यक्तिलाई मोर्चाले मतदान गरे तिनै व्यक्तिको नेतृत्वमा रहेको दल र सरकारले मधेस विरोधी संविधान जारी गर्यो र आन्दोलनरत मधेसी जनता माथि गोली बर्सायो ।” तर, जे भए पनि गल्ती भईसक्यो अब सबै जना मिलेर फेरी पनि आन्दोलनलाई उचाईमा पु¥याउनुको विकल्प नरहेको गुप्ताले बताए ।
सबै भन्दा वढी आलोचना सदभावना पार्टी र उनका अध्यक्ष राजेन्द्र महत्तोको भयो । किनभने मोर्चाका अन्य घटकहरुले संविधान सभा मात्र बहिष्कार गरेको थियो, संविधान निर्माण प्रक्रियालाई मात्र बहिष्कार गरेको थियो । तर, सदभावनाले संविधानसभामा बहिष्कार होइन विद्रोह गरेर राजीनामा दिँदै संसदबाट समेत राजीनामा दिईसकेको दावी र प्रचार गर्दै आएका उक्त पार्टीले प्रधानमन्त्री निर्वाचनमा गएर मतदान गरी पल्टिएपछि मधेसमा हार्डलाइनर मानिने महत्तोको सबै भन्दा वढी आलोचना र विरोध भएको पाइन्छ । सदभावना पार्टीका महासचिव तथा प्रवक्ता मनिष सुमन भन्छन्,“ हो हामीले गाईको मासु खाएकै हो । अक्षम्य अपराध भईसक्यो । मधेसी मोर्चाको संगतले र हाम्रै पार्टी भित्रका केही व्यक्तिहरुको जागिर खाने लोभ र लालचले गर्दा त्यस्तो गल्ती हुन गएको हो । अब मधेसी जनताका सामु हामीले प्रायश्चित गर्नै पर्छ ।”
यसरी चौतर्फी विरोध भईरहँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने २६ असोजमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुनु बाध्यता रहेको बताएको थियो । आफ्नो प्रतिपक्षीय अडान स्पष्ट पार्न, सडक र संसद भित्रको संघर्षलाई समायोजन गर्न तथा सम्मानित सर्बोच्च अदालतको निर्णयको सम्मान र व्यवस्थापिका संसदको नियमावली अनुसार प्रधानमन्त्रीको निर्वाचनमा अनुपस्थित÷तटस्थ रह्न नपाउने कानुनी बाध्यताका कारण प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुनु परेको प्रेस विज्ञप्तीमा मोर्चाले जनायो । यसको अर्थ आफुहरुले आफ्ना राजनीतिक मुद्दाहरु नछाडेको र प्रतिगामी संविधान स्वीकार समेत नगरेको तथा आफुहरुको हक अधिकारलाई संबैधानिक रुपले सम्बोधन नगरेसम्म आन्दोलन निरन्तर रुपमा जारी नै रहने बताएको थियो ।
मोर्चाले गरेको उक्त निर्णयलाई मधेसका कतिपय राजनीतिक विश्लेषकहरुले सकारात्मक रुपमा लिएको समेत पाइन्छ । विगतमा कांग्रेस, एमाले र एमाओवादीको अटुट गठबन्धनलाई तोडेर विभाजन गर्नु, नेपाली कांग्रेसलाई प्रतिपक्षको कित्तामा उभ्याउन सक्नु र संसदीय दल भएका कारण संसदलाई समेत सम्मान गर्नु एउटा प्रजातान्त्रिक दलले निर्वाह गर्नुपर्ने चरित्र समेत प्रदर्शन गरेको रुपमा धेरैले विश्लेषण गर्ने गरेको पाईन्छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अमरेश नारायण झा भन्छन,“ हिजो सम्म हाम्रा शत्रुहरु शक्तिशाली थिए । आज हामीले त्यो तागतलाई भत्काएर कमजोर पारिदिएका छौं । अब हाम्रा अजेण्डामा साथ दिने ती दुश्मन शक्तिबाट अलग्याउन सक्नु ठुलो सफलता हो ।” त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य डा.सुरेन्द्र झा भन्छन,“ मोर्चाले गरेको यो निर्णय कुनै भावनामा आएर वा आवेशमा आएर वा भुलबस गरिएको निर्णय होइन । यो रणनीतिक निर्णय हो । हिजोसम्म हामी सडकमा मात्र थियौं र सदनमा शासकहरु एकपक्षिय रुपमा राजनीति गर्दै हिडेका थिए । अहिले हामी राजनीतिक रुपमा पनि र अन्तराष्टिूय समुदायको समेत विश्वास जित्न र आन्दोलनमा समर्थन र सदासयता जुटाउन सफल भएका छौं ।”
डयास माओवादी अलग्गिए
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जारी आन्दोलनमा कार्यगत एकता गर्दै आएको नेकपा (माओवादी भने मोर्चाको उक्त निर्णयबाट असंतुष्ट हुँदै अलग्गिएको छ । उक्त पार्टीका धनुषा सेक्रेटरी श्याम यादवले २७ असोजमा जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री निर्वाचनमा मधेस आन्दोलनमा सक्रिय राजनीतिक दलहरुले मतदान प्रक्रियामा भाग लिनुलाई जारी मधेस आन्दोलन र अधिकार प्राप्तिको संघर्षमा घात भएको बताइएको छ । उक्त कार्यले मधेसी जनताको आत्म निर्णय र स्वशासन सहितको स्वायत्त मधेस प्रदेश स्थापनाको चाहना र सपनालाई प्रभावित गर्ने भन्दै अब मधेसी मोर्चासँग संग सँगै जान कठिन हुने भन्दै अलग्गिएको छ । तर, आन्दोलनमा आफु सडकमै रहेको भन्दै गत २८ असोजमा उक्त पार्टीले जनकपुरमा खवरदारी जुलुस समेत गरेको थियो । यति मात्र होइन त्यसपछि गरिएको कोण सभामा मधेसी मोर्चा विरुद्ध उनका नेताहरु खनिएका थिए ।
मधेसी मोर्चाले गल्ती सच्याए
मधेश केन्द्रीत दलहरुले कांग्रेसलाई प्रधानमन्त्रीको निर्वाचनमा मतदान गरेर गरेको गल्तीलाई सच्याउँदै सभामुख र उपसभामुखको निर्वाचनमा सहभागी भएनन् । यद्यपि सभामुखमा एमाओवादी उम्मेदवार ओनसारी घर्ती मगर र उपसभामुखमा राप्रपा नेपालका गंगा यादव निर्विरोध निर्वाचित भएका छन् । यति मात्र होइन मधेसी मोर्चाले कांग्रेसलाई राष्टूपति निर्वाचनमा पनि नसघाउने भएका छन् । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेद्वार सुशील कोइरालाको पक्षमा मतदान गरेपनि असफल भएका मधेश केन्द्रीत दल अव हुने सत्तासमीकरणका कुनै खेलमा सहभागी नहुने निश्कर्षमा पुगेका छन् । राष्टूपति र सभामुखको निर्वाचनमा आफ्नो उम्मेद्वार खडा गर्ने तयारी गरिरहेको कांग्रेसले मधेश केन्द्रीत दलबाट सहयोगको अपेक्षा गरेको थियो । तर, मधेश केन्द्रीत दलहरुले सहयोग गर्न नसकिने जवाफ दिएपछि कांग्रेसले आफ्नो  उम्मेदवार खडा गरेन ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुर भन्छन, ‘हामीले विभिन्न कारणले कांग्रेसलाई प्रधानमन्त्री निर्वाचनको बेला मतदान गर्यौं । तर यसको अर्थ यो होइन कि अब हामी उनीहरुले जे भने पनि मान्छौं । महाराजगञ्जस्थित शशांक कोइरालाको घरमा बसिरहेका पूर्व प्रधानमन्त्री एवं काँग्रेसका सभापति सुशील कोइरालाले छलफलका लागि मधेशी दलहरुलाई आफ्नै निवासमा बोलाएका थिए । बैठकमा कोइरालाले प्रधानमन्त्री निर्वाचनमा आफूलाई सहयोग गरेकोमा मधेश केन्द्रीत दलहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग र सहकार्य गर्नका लागि आग्रह गरेका थिए ।
उनले सभामुख, राष्टूपति, उपराष्टूपतिको चुनावमा पनि मधेश केन्द्रीत दलहरुको साथ चाहिएको कुरा राख्दै सहमतिमा उम्मेद्वारहरु चयन गर्ने अफर राखेका थिए । तर, मधेश केन्द्रीत दलहरुले कोइरालको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।
प्रधानमन्त्री निर्वाचनमा भाग लिएको कारण मधेशबाटै ठूलो आलोचना खेप्नुपरेको र आन्दोलनलाई ठूलो धक्का लागेको पनि उनीहरुले काग्रेस नेतालाई सुनाएका थिए । ‘अहिले पनि हामीले मधेशबाट गाली खाइराख्नुपरेको छ । हामी फोन अफ गरेर बस्न बाध्य भएका छौं,’ उनले भने, ‘अब हामी सत्ताको खेलमा जाँदैनौं ।’ बैठकमा मधेशी नेताहरुले जनताले अहिले सत्ताको खेलमा लाग्ने म्यान्डेट नदिएको कुरा कोइरालासमक्ष राखेका थिए । कोइराला सरकारकै पालामा मधेशमा ४० जना भन्दा बढीले ज्यान गुमाएको स्मरण गराउँदै मधेशी नेताहरुले कुन आधारमा सहकार्य गर्ने भन्ने प्रश्न गरेका थिए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभामुख, राष्टूपति, उपराष्टूपतिको चुनावमा आफ्नो कुनै चाँसोको विषय नरहेको बताए । उनले मधेश केन्द्रीत दल अब कुनै पनि चुनावमा भाग नलिने र आन्दोलनलाई सशक्त बनाएर लाने स्पष्ट पारे ।
राष्ट्रपतिमा महन्थ ठाकुर ?
अहिले राष्ट्रपतिको लागि विभिन्न राजनीतिक व्यक्तिहरुको नाउँ चर्चामा रहेपनि मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुरको नाउँ समेत चर्चामा रहेको बताइन्छ । खास गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा महन्थ ठाकुरको नाउँ समेत आईरहेको भन्दै चर्चामा ल्याएका थिए । ठाकुर सँगै उनले मन्त्रि परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी, उनकै पार्टीका अमिक शेरचन आदिको नाउँ राष्ट्रपतिका लागि प्रस्ताव गरेको पाइन्छ ।
के साँच्चै महन्थ ठाकुर राष्ट्रपति बन्ने दौडधुपमा लागेकै हुन त भन्ने प्रश्नमा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष वृषेश चन्द्र लाल भन्छन,“ यो सबै प्रचण्डले फैलाएको अफवाह हो । महन्थ ठाकुरसँग मैले प्रष्ट कुरा गरेको छु, जबसम्म संविधानको पुनर्लेखन वा संशोधन हुँदैन तबसम्म राष्ट्रपतिको कुरा सोच्नै नसक्ने बताएका छन्् ।” भोली परिस्थिति के हुने हो त्यसले निर्धारण गर्नेछ, यदि ठाकुर राष्ट्रपतिका प्रत्यासित नै हुने हो भने त्यसको लागि तमलोपाले निर्णय गर्नेछ, त्यसपछि मधेसी मोर्चाले निर्णय गर्नेछ र त्यसपछि मात्र कांग्रेस वा अन्य दलसँग सल्लाह गर्न सकिने लालले बताए । तर, अहिले सत्ताको कुनै खेलमा आफुहरु नलागेको उनले प्रष्टयाए ।





२०७२ कार्तिक ०१ गते आईतबार

No comments:

Post a Comment