Saturday, October 17, 2015

गच्छदारमा देखिएको बेदानन्द झा प्रवृति

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई अहिले मधेसमा गद्दारको संज्ञा दिइएको छ । प्रधानमन्त्रीको चयनमा नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद शर्मा ओलीलाई मतदान गरी उनीसँगै सत्तामा साझेदार भएपछि आन्दोलनरत मधेसी जनताले गच्छदारलाई गद्दार भन्दै उनको विरोध प्रदर्शन गरिरहेका छन् । विगत २ महिना देखि अधिकार प्राप्तिका लागि मधेसी र थारु समुदाय सडकमा आन्दोलित छन् । तर, गच्छदारले ती दुवै समुदायको भावनालाई लत्याउँदै सत्तामा पुग्नुले उनको चरित्र फेरी पनि उजागर भएको छ । हुन त उनी गत जेष्ठ २५ गते कांग्रेस, एमाले र माओवादीसँगै १६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी संविधान निर्माणमा लाग्ने र सत्तामा जाने संकेत दिईसकेका थिए । त्यो बेला पनि उनलाई मधेसी जनताले गद्दार भनेकै थिए । तर, जब उनले भने अनुसार प्रादेशिक सिंमाकन गर्न ३ दल तयार भएन, पार्टी भित्रै नेताहरुद्वारा पार्टी फुटाउने चेतावनी दिइएपछि उनी ४ दलिय गठबन्धनबाट अलग्गिएका थिए । र संविधान निर्माण हुँदै गर्दा प्रक्रियाबाट बाहिरिएका गच्छदार रुदै के भनेका थिए भने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जारी गरिएको संविधानलाई स्वामित्व ग्रहण गर्न सकिएन । तर, अहिले आएर एमाले र एमाओवादीसँग ८ बुँदे सम्झौताको नाउँमा ३ मन्त्रालय सहित पार्टीको तर्फबाट नेतृत्व गर्दै उपप्रधान सहित भौतिक योजना तथा पुर्वाधार मन्त्रालय पाएर उनी सत्तामा टाँसिएका छन् । उनको यो चरित्रलाई हेरेर मधेसी जनताले जसरी पानी विना माछा बाँच्न सक्दैन त्यसरी नै सत्ता विना गच्छदार बाँच्न सक्दैन भन्ने आलोचना भईरहेको छ । सत्ता प्राप्तिका लागि जनताको जस्तो सुकै मुद्दालाई विर्सजन गर्न तयार हुने गच्छदारको यो प्रवृतिलाई बेदानन्द प्रवृति भनेर चिनिन्छ ।
के हो वेदानन्द प्रवृति ?
बेदानन्द झा नेपाल तराई कांग्रेस पार्टीका अध्यक्ष थिए । तर, आफ्नो व्यक्तिगत स्वार्थ पुर्तीका लागि उनी अजेण्डालाई त्यागेर सत्तामा लागेका कारण उनलाई पनि मधेसमा गद्दारको संज्ञा दिइन्छ । सन् १९५१ मा बलदेव दास यादव र कुलानन्द झाले नेपाल तराई कांग्रेसको स्थापना गरेका थिए । तराई प्रदेशलाई छुट्टै स्वसाशित राज्यको रुपमा स्थापना गराउने, हिन्दी भाषालाई राज्य भाषाको रुपमा मान्यता दिलाउने, नेपालको नागरिक सेवामा मधेसीहरुलाई उचित प्रतिनिधित्व तथा साझेदारी दिलाउने र मधेसी समुदायहरुको लागि सेनामा प्रवेश गर्न छुट्टै तराई रेजिमेन्ट खडा गर्न संघर्षरत रह्ने प्रमुख सैद्धान्ति उद्देश्यका सात उक्त पार्टीको स्थापना गरिएको थियो । मधेसी जनतालाई नेपालीको सरकारी जागिरमा प्रतिनिधित्व सँगै क्षेत्रिय स्वायतता र स्वशासनको सवाल उठाइरहेको उक्त पार्टी तराई मधेसमा कमै समयमा धेरै प्रभावशाली भईसकेको थियो । उक्त पार्टीले नीतिगत रुपमै मधेसीहरुमाथि भईरहेको अन्याय, भेदभाव, उपेक्षा र शोषणको भण्डाफोर गर्दै उपनिवेशबाट मुक्ति दिलाउनको लागि काम गर्न थाले । खास गरेर गरिबी, बेरोजगारी र अकाल पीडित मधेसीहरु माथि जमिन्दारहरु, मालपोत असुली गर्नेहरु र राणा शाषकहरुको अत्याचार बढ्दै जाँदा ती जमिन्दारहरुका बिरुद्ध मधेसी किसानहरुले गरिरहेको संघर्षहरुलाई तराई कांग्रेसले नेतृत्व दिने प्रयत्न गरेकै कारण उक्त पार्टी लोकप्रिय हुँदै गएको थियो । पार्टी स्थापना भएको दुई सालमै ६० हजार भन्दा वढी सदस्य बनाईसकेको थियो । उक्त पार्टीलाई तराईको शक्तिको रुपमा हेरिन थालिएको थियो । हुन त शासक वर्गले उक्त पार्टीलाई संकुचित विचारधारा भएको साम्प्रदायिक तथा विखण्डनकारी पार्टीका रुपमा पनि प्रचार प्रसार गरे । सन् १९५३ मा पार्टीका नेता बेदानन्द झाले सल्लाहकार सभामा मधेसीहरुको उचित प्रतिनिधित्वको माग गरे । पार्टीको तेस्रो वैठक २९ मई १९५७मा भयो । उक्त बैठकमा तराई क्षेत्रलाई क्षेत्रिय स्वायतता दिलाउने प्रस्तावलाई पारित गर्यो । यति मात्र होइन उक्त पार्टीका प्रतिनिधिहरुले आम निर्वाचन हुनु अगावै संविधानसभाको प्रतिनिधिहरुको चुनाव गराउनु पर्ने माग गरेका थिए । तर, ११ फरबरी १९५८ मा राजाले शाही घोषणाद्वारा आम चुनावको घोषणा गरे ।
१९५८ को आम चुनावको लागि तराई कांग्रेस भाषा, भौगोलिक, आर्थिक, सामाजिक संगठनको आधारमा तराई र पहाडलाई दुई वा सो भन्दा वढी प्रान्तमा विभाजित गरेर  आन्तरिक प्रशासनलाई पुर्ण अधिकार दिएर नेपाल यूनियनको स्थापना गराउने घोषणा पत्र सहित चुनावमा सहभागी भयो । उक्त पार्टीले २१ निर्वाचन क्षेत्रहरुमा आफ्नो उम्मेदवार उठाए । चुनावमा उक्त पार्टीले कुल ३६ हजार १ सय ७ अर्थात २.१ प्रतिशत मत प्राप्त गरेका थिए । तर, दुर्भाग्यबस कुनै पनि उम्मेदवारले जित हात पार्न सकेनन् ।
त्यसपछि सन् १९६० मा बेदानन्द झा उक्त पार्टीको अध्यक्ष बने । उनले आफ्नो व्यक्तिगत स्वार्थपुर्तीका लागि पार्टीलाई राजा समक्ष सुपुर्द गरिदिए । २ अप्रिल १९६३ मा राजा महेन्द्रले डा.तुल्सी गिरीको नेतृत्वमा मन्त्री परिषदको गठन गरे । बेदानन्द झाले उक्त मन्त्री परिषदमा सहभागी हुँदै तराई कांग्रेसलाई पञ्चायती व्यवस्थामा विलिन गरिदिए । उता तराई कांग्रेसका महासचिव राम जनम तिवारीले पनि स्वर्ण शमशेर मार्फत तराई कांग्रेस पार्टीलाई नेपाली कांग्रेसमा विलिन गरिदिए । यसरी हेर्ने हो भने जसले मधेसी जनताको अधिकारका लागि पार्टी गठन गरे उसले नै अर्थात बेदानन्द झाले नै सत्ता प्राप्तिका लागि पञ्चायती व्यवस्थामा पार्टीलाई विलिन गरे । अर्थात मधेसी जनताको भावनालाई कुल्चदै सत्ता प्राप्तिका लागि मरिहत्ते गर्ने बेदानन्द झालाई मधेसी जनताले गद्दारका रुपमा व्याख्या विश्लेषण गर्दै आएका छन् । यसकारण गच्छदारले अहिले अपनाएको बाटोलाई बेदानन्द झा प्रवृतिको पुनरावृति भएको राजनीतिक विश्लेषकहरु अथर््याउँछन् ।
पर्सा र बाराका फोरम लोकतान्त्रिकका नेताले पार्टी छाडे
 मधेसको माग पूरा नहुँदै सरकारमा सहभागी भएको भन्दै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्सा र बाराका पार्टी अध्यक्ष सहित सम्पूर्ण कार्य समितिले राजीनामा गरेका छन् । माग पुरा नहुन्जेल नाकाबन्दी जारी राख्ने बताएका छन् । सोमबार साँझ वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा अध्यक्ष शशीकपुर मियाँले सीमांकन र संविधान संशोधन नहुँदै पार्टी सरकारमा सहभागी भएकाले परित्याग गरी आन्दोलन जारी राख्ने बताए । पार्टीका केन्द्रीय कोषाध्यक्ष बीरेन्द्रलाल नेपाली, पूर्व मन्त्रीद्धय कलावती पासवान, दुर्गादेवी महतो, मुस्लिम फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष मन्जरुल हक समानी, शिक्षक फोरमका केन्द्रीय कोषाध्यक्ष सरोज यादव, युवा फोरमका अध्यक्ष इश्वरचन्द यादव, बुद्धिजीवि फोरमका बिपी यादव लगायतले पार्टी परित्याग गरेको उनले बताए । वाराका पनि सम्पूर्ण पार्टी कार्यसमिति र भातृ संगठनले राजीनामा गरेको जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले बताए । पार्टीमा बस्ने नैतिकता नरहेकाले परित्याग गरेको उनीहरुले बताएका छन् । अन्य मधेसी दलले पनि मधेस आन्दोलनको भावना विपरित कार्य गरेकाले सबैलाई राजिनामा गर्न आग्रह समेत गरेका छन् । नयाँ संविधान प्रति विमति राख्दै जारी आन्दोलनको बीचमै मधेसवादी दलले प्रधानमन्त्री निर्वाचनमा सहभागि भएर मधेस विरोधी काम गरेको मियाँले बताए । आन्दोलनरता मधेसवादी दल दुई कित्तामा बाँडिएर प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइराला र केपी शर्मा ओलीको पक्षमा मतदान गरेर मधेस आन्दोलनको भावना विपरित कार्य गरेको उनीहरुको दाबी छ । ’यो मधेसवादी दलको दुर्भाग्य हो,’ पर्सा अध्यक्ष मियाँले भने, ’दुबै मोर्चा त्यत्तिकै दोषी छन् । कोइरालालाई मतदान गर्ने कम दोषी र ओलीलाई मतदान गर्ने बढी दोषी भन्ने हुँदैन् ।’ एक मधेसवादी दलले संविधानसभामा राजीनामा दिएर आन्दोलनमा व्यापक प्रचारबाजी गरेपनि प्रधानमन्त्री निर्वाचनमा भाग लिएर उसको चरित्र उदांगीएको उनको भनाई छ । ’मधेस विरोधी भनेर जुन संविधान जलाइयो, त्यही संविधान अन्तर्गत भएको प्रम चुनावमा सहभागिता जनाएर सबै मधेसवादी दलले जनतासँग धोखा गरेका छन्,’ उनले भने, ’मधेसीका माग पुरा नहोउन्जेलसम्म आन्दोलन जारी रहन्छ ।’ वीरगन्जमा आन्दोलन चर्काउने देखि नाकाबन्दी सुरु गर्नेमा हाम्रै कार्यकर्ता अगाडि रहेको उनले दाबी गरे । जारी आन्दोलनमा कुनै पार्टीको झन्डा मुनि नबसि संघर्ष गर्ने निर्णय भएको नेताले जनाएका छन् ।
सिरहामा फोरम लोकतान्त्रिकका नेताद्वारा सामूहिक राजीनामा
मधेसी जनतालाई धोका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले सामूुहिक राजीनामा दिएका छन् ।
अध्यक्ष रामचलित्तर साहको अध्यक्षतामा सिरहाको गोलबजारमा बसेको बैठकबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । मन्त्री पाउने लोभमा मधेस र मधेसीको एजेण्डा छाडेर सरकारमा अध्यक्ष गच्छदार सहभागी भएकाले पार्टीबाट सामूहिक राजीनामा दिने निर्णय गरिएको जिल्ला अध्यक्ष साहले जानकारी दिनुुभयो । यस्तै सो पार्टीका केन्द्रीय सदस्यद्वय शत्रुुधनप्रसाद सिंह र लक्ष्मण यादवले समेत राजीनामा दिने घोषणा गर्नुभएको छ ।
धनुषा कार्यसमिति गच्छदारको पक्षमा
विजय गच्छदारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिएर प्रधानमन्त्रीमा निर्वाचित गर्नुका साथै आफु पनि उपप्रधानमन्त्री सहित सत्तामा गएपछि मधेसका जिल्लाहरुमा कार्य समिति नै राजीनामा दिई बाहिरिँदै गरेको बेला धनुषामा कुनै प्रभाव परेको छैन । उमाशंकर अरगरियाको अध्यक्षतामा गठित फोरम लोकतान्त्रिकको धनुषा जिल्ला कार्य समितिले विद्रोह गर्नुको साटो गच्छदारलाई संरक्षण गर्ने र सहयोग गर्ने भएका छन् । गच्छदारले एमाले र एमाओवादी संग मधेसका मागहरुलाई सम्बोधन गराउन ८ बुँदे लिखित सम्झौता गरेर सरकारमा गएको र मधेसको माग पुरा गराउन सफल नभए आफुहरु राजीनामा दिने फोरम लोकतान्त्रिकका धनुषा अध्यक्ष उमाशंकर अरगरियाले द एक्सक्लुसिभलाई बताएका छन् । हुन त विगतमा १६ बुँदे सहमति गरेर मधेसमा ३ प्रदेशको पक्षमा पार्टी नेतृत्व गईरहेको बेला आफुहरुले लेखेरै दुई प्रदेशमा नआए राजीनामा दिने भनेर पत्र लेखेपछि गच्छदार पनि दुई प्रदेशमा आईसकेको उनले बताए । यति मात्र होइन अनौपचारिक कुराकानीमा एमाले अध्यक्ष ओलीले पुर्वमा झापा बाहेक मोरंग र सुनसरी मधेस प्रदेशमा दिन सकिने र निर्वाचन क्षेत्रको सवालमा हिमाली भेगका ५ वटा दुर्गम जिल्लाहरु बाहेक बाँकी सबै ७० जिल्लाहरुमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न पार्टी अध्यक्ष गच्छदार सामु प्रतिवद्धता व्यक्त गरेका कारण आफुहरु राजीनामा नदिने अरगरियाले बताएका छन् । भोलीका दिनमा विभिन्न मधेसी, मुस्लिम लगायतका संवैधानिक आयोगहरुमा सत्ता पक्षले एकलौटी नियूक्ती गर्न सक्ने भएकाले चेक एण्ड व्यालेन्स गर्नका लागि पनि सरकारमा सामिल हुनु आवश्यक रहेको अरगरियाले बताएका छन् ।
शरतसिंह र राजकिशोरले खोले सुशीललाई भोट हाल्नुको कारण
संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध राष्टिूय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी र मधेशी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीमा काँग्रेसका सभापति सुशिल कोइरालालाई मतदान गर्नुको कारण खोलेका छन् । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले आफैंले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चा छाडेर गएपछि सो मार्चामा बाँकी रहेका दुई दलका उनीहरुले विज्ञप्तीमार्फत स्पष्टिकरण हुन् । मधेशी, थारु, आदिवासी जनजाति र उत्पीडित समुदायको अधिकारलाई कुण्ठित पार्ने धाराहरु र कतिपय विषय जो अन्तरिम संविधानमा थियो तर अहिले हटाईएको तथा धाराहरुलाई मात्रै मोर्चाले जलाएको भन्दै मोर्चाले सम्पूर्ण संविधान र निर्माण प्रकृयामा अधिकारबाट वञ्चित गर्ने धाराहरु बाहेक अन्य धाराहरु सँग आपत्ति नभएको कारण मतदान गरेको जनाएको छ । यस्तै आफूहरु संविधानसभाबाट मात्रै बाहिरिएको कारण पनि मतदान गरेको मोर्चाको स्पष्टिकरण छ ।
राष्टिूयता र राष्टिूय अखण्डतालाई कमजोर पार्न माले, एमाले र मण्डलेहरुको अप्राकृतिक गठबन्धनको विरुद्धमा आफूहरुले लोकतन्त्रको पक्षमा मतदान गरेको समेत दाबी गर्दै मधेश विरुद्धमा भई रहेको धु्रवीकरणलाई रोक्न अन्तरिम संविधान बमोजिम भएको अहिलेको संक्रमणकालीन व्यवस्था बमोजिम नै मतदान गरेको प्रष्टिकरण दिएको छ । मोर्चाले मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले एकाएक सत्तासाझेदारीमा लागेर धोका दिएको समेत आरोप लगाएको छ । यस्तै मोर्चाले मधेसमा निरन्तर आन्दोलन गर्ने पनि विज्ञप्तीमार्फत जनाएको छ ।
१६ भदौमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मधेश आन्दोलनका लागि नयाँ मोर्चाको घोषणा गरेका थिए । शरद सिंह भण्डारी नेतृत्वको राष्टिूय मधेस सद्भावना पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिकलाई मिलाएर गच्छदारले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । गत साउन २५ गते ३ दलसँग मिलेर गच्छदारले १६ बुँदे सम्झौता गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अलग्गिएका थिए ।
उपप्रधान तथा भौतिक योजना तथा पुर्वाधार मन्त्रीको
सपथ ग्रहण गर्दै विजय कुमार गच्छदार ।
२०७२ कार्तिक ०१ गते आईतबार

No comments:

Post a Comment