Saturday, October 17, 2015

जनकपुरमा बेवारिसे शवको रहस्य

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेशमा जारी आन्दोलनको क्रममा विहीवार सर्वसाधारणले मानव साङ्लो निर्माण गरि एकता प्रदर्शन गरिरहँदा जनकपुर उप(महानगरपालिकामा शव भेटिएको खबरले जनकपुर मात्र नभई नेपाल भरि नै चर्चा पाएको छ ।  आन्दोलनरत्त पक्षले घटनाको न्यायीक छानबिन गर्नु पर्ने माग गरेका छन् भने , प्रहरीले पत्रकार सम्मेलन मार्फत शव बेवारिस रहेको जनाएको छ ।
जनकपुर उप(महानगरपालिका कार्यालयमा कार्यरत्त अछवा डोमसहितका व्यक्तिहरु एउटा रिक्सामा तीन वटा शव बोकेर विहिवार श्मशान गईरहेका बेला  खोजीनीति गर्दै जाँदा अन्य ४ वटा शव र कंकाल फेला परेको खबरले देशै भरि चर्चा पायो ।  जनकपुर उप(महानगरपालिकाको वडा नं. ७ विसपिट्टी स्थित स्मसान जाने बाटोमा मानव साङ्लोमा सहभागी  सर्वसाधारणले दुर्गन्धका कारण शंका लागेपछि सोधपुछ शुरु गरेका थिए   ।
घटनास्थल पुगेका संघीय मधेशी मोर्चाको घटक नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले आन्दोलनका क्रममा शव फेला पर्नु शंकास्पद रहेका कारण छानबिन गर्नु पर्ने बताए । एउटा शवलाई हेर्दा छातीमा गोली लागेको र टाउकोमा कालो पट्टी बाँधेको आशंका रहेकाले गम्भीर विषय रहेको बताउँदै उनले उच्चस्तरीय छानबिन हुनु पर्ने माग गरे ।  शव फेला परेको खबरले घटनास्थलमा ठूलो संख्यामा आन्दोलनकारी तथा सर्वसाधारण भेला भएका थिए । संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाका शेषनारायण यादवले आन्दोलनको क्रममा यस्ता घटना उजागर भएका कारण न्यायीक छानबिन हुनु पर्ने जिकिर गरे । उनले प्रहरी र जनकपुर अंचल अस्पताल लगायतका सरोकारवालाहरुले प्रक्रिया पुरा नगरेर शवलाई जथाभावि गाडेको प्रति आपत्ति जनाउँदै छानबिन गर्नु पर्ने माग गरे ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले विहीवार साँझ सवा सात बजे पत्रकार सम्मेलन गरि धनुषाको विभिन्न समय र स्थानमा फेला परेका बेवारिस शवहरु  रहेको दाबी गरेको छ । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली , बरिष्ठ प्रहरी उपरिक्षक सुरेश विक्रम शाह, जनकपुर अंचल अस्पतालका मेसु डा. संजय ठाकुर , जनकपुर उप(महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पूण्य प्रसाद लुईंटेल र सुरक्षा अधिकारीहरु उपस्थित रहेको  पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक गणेश थापा क्षेत्रीले धनुषा जिल्लाका विभिन्न स्थानमा फेला परेका बेवारिस शवको फोटो, मुचुल्का लगायतका आवश्यक कागजातहरु देखाएका थिए । थापाले हालै मात्र विहिवार तीनसहित ६ वटा शवको व्यवस्थापन गर्न जनकपुर उप महानगरपालिकालाई आवश्यक विवरण सहित पत्राचार गरेको जानकारी गराए ।  शव व्यवस्थापनको मुख्य जिम्मेवारी बोकेको जनकपुर उप( महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत लुईंटेलले आवश्यक प्रक्रिया पुरा गरि कर्मचारी मार्फत शव व्यवस्थापन गराएको  बताए । त्यस्तै जनकपुर अंचल अस्पतालका प्रमुख डा. ठाकुरले पोष्टमार्टम पश्चात शव व्यवस्थापनका लागि जनकपुर उपमहानगरपालिका कार्यलयलाई जिम्मा दिने गरेको र सो वापतको आवश्यक रकम उपलब्ध गराउने मात्र  आफ्नो दायित्व रहेको बताए । उनले भने “ शव व्यवस्थापनको जिम्मेवारी उप(महानगरपालिका कार्यालयको   हो ।” घटनास्थलमा भेला भएका सर्वसाधारणले भने, विधिवतरुपमा शदगती गर्नु पर्ने ठाउँमा मानवीय मान्यता विपरित जथाभावि शव गाडेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । रिक्सामा लाँदै गरेको तीन वटा सहित उत्खनन् गरेर निकालिएका सातवटा शवलाई मानवअधिकारकर्मीको रोहवरमा जनकपुर अंचल अस्पताल ल्याईएको संघीय समाजवादी फोरम धनुषाका अध्यक्ष शेषनारायण यादवले बताए ।
शवहरुको सम्बन्धमा बुझन आयोगले टोली खटाए
जनकपुर उपमहानगरपालिका(२३ दुधमतीमा फेला परेको शवबारे राष्टिूय मानव अधिकार आयोगले सत्यतथ्य बुझ्ने भएको छ । आयोगका सदस्य मोहना अंसारीले शुक्रबार विज्ञप्ति जारी गर्दै दुधमती घटनाबारे चासो व्यक्त गरेका छन् ।
हुलाकी सडकमा मानव साङ्लो बनाउने कार्यक्रमको क्रममा स्थानीयले फेला पारेको शवबारे आयोगको क्षेत्रीय कार्यालय जनकपुरबाट खटिएको टोलीले बसविट्टी गाउ नजिकको दुधमति नदिको किनारमा गाड्नका लागि रिक्सामा लैजादै गरेको वेवारिसे भनिएको ३ वटा शव भेटेका थिए । स्थानीय बासिन्दाले घेराउ गरी गाड्न नदिई विवाद उत्पन्न भएको घटनाप्रति राष्टिूय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । उक्त, शवहरु लिइ जाने दुई जना रिक्सा चालक र एक जना सहयोगीले सोही नदीको किनारमा गाडिएका थप चार वटा शवहरु खनेर निकालेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको विज्ञप्तिमा बताइएको छ । आयोगको टोलीले राजनीतिक दल, प्रहरी प्रशासनसूग समन्वय गरी बिहीबार राती नै जनकपुर अञ्चल अस्पतालमा ७ वटा शवहरु सुरक्षित राखि घटनाको सम्बन्धमा सत्य तथ्य संकलन गर्ने कार्य आरम्भ गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न आयोगले केन्द्रीय कार्यालयबाट समेत अनुसन्धान टोली खटाएको बताइएको छ ।
घटनाको सम्बन्धमा सत्य तथ्य सार्वजनिक हुनु अघि नै उक्त घटनालाई लिई असामान्य परिस्थिति सिर्जना हुन नदिई आयोगको अनुसन्धान प्रक्रियालाई आवश्यक सहयोग पु¥याउन आयोग आन्दोलनरत राजनीतिक दल तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ । यता, तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरको दुधमति नदी किनारमा फेला परेको शवको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । यस सम्बन्धमा जनतामा व्यापत  शंका(उपशंकाको निवारणको लागि प्राप्त शवहरुको पोस्टमार्टम रिपोर्ट, मुचुल्का इत्यादी सम्पूर्ण कानूनी दस्तावेज समेतको विश्वसनीय जानकारी जनसमक्ष ल्याउन सरकार र मानवधिकार संघ(संस्थाहरु संग तमलोपाले आग्रह गरेको छ ।

२०७२ आशिन १७ गते आईतबार

No comments:

Post a Comment