Tuesday, January 21, 2014

कुष्ठरोगी अहिले पनि समाजबाट तिरस्कृत


जितेन्द्र झा
नेपाल सरकारले देशबाट कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको छ । अहिले नेपालमा २ हजार बढी कुष्ठरोगी उपचाररत छन् । उपचार गरे निको हुने र नसर्ने रोग हो यो । तर गरिबी र अशिक्षाका कारण चेतना विस्तार हुन सकेको छैन ।
उमेश माझी । ललितपुरको आनन्दवन अस्पतालमा उपचाररत छन् । कुष्ठरोगको पीडा उमेशलाई अरु भन्दा बढी थाहा हुनु पर्छ किनभने यिनी बुबासंगै भर्ना छन्, दुबैजना कुष्ठरोगी हुन् । नेपालमा नयां पत्ता लागेका कुष्ठरोगीमध्ये ६ प्रतिशत बच्चा नै छन् । कुष्ठरोगको उच्च जोखिममा रहेको तराईका जिल्लामा पर्ने रौतहट घर भएका उमेश भन्छन् थाहै नपाई हात तन्किन थाल्यो । 
“यहाँ अप्रेसन गराउन आएको हुं । मेरो दुबै हात बांगिएको छ । यहां आएको एक वर्ष भयो । हात नै तन्किन थाले पछि यस्तो भएको हो । यसलाई निको पार्न व्यायाम गरिरहेको छु । कहिले निको हुन्छ थाहा छैन ।”  उमेश माझी
कुष्ठरोग निवारण भएको मुलुकको सूचिमा पर्छ नेपाल पनि । विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वबाटै कुष्ठरोग उन्मूलन गर्ने घोषणा गरे पनि नेपालमा गरिएको थिएन । सरकारले अन्तर्राष्ट्रिय समुदायसामु तीनतीन पटकसम्म नेपाललाई कुष्ठरोग मुक्त मुलुक घोषणा गर्ने समयसीमा माग गरेपछि मात्र नेपालमा घोषणा भयो । सरकारले निवारण घोषणा गरे पनि र नयां संक्रमितको संख्या घटेको सरकारी तथ्यांक भए पनि नयां रोगी पत्ता लाग्ने क्रम जारी छ । ग्रामीण भेगमा त रोगीको पहिचान गर्नु नै ठूलो चुनौती बनेको छ । निवारण पश्चात पनि तराईका २० जिल्लामा कुुष्ठरोगीको संख्या धेरै छ । कुल नेपाली कुष्ठ रोगीमध्ये तराईका २० जिल्लामा ८० प्रतिशत भन्दा विरामी छन् । रोग लुकाउने कारणले महिलाहरुमा अझै बढी देखिएको छ कुष्ठरोग । नयां विरामीमध्ये ३३ प्रतिशत महिला नै छन् ।
नयां पत्ता लागेका विरामी मध्ये कुष्ठरोगको कारणबाट ३ प्रतिशत विरामी अशक्त भएका छन् । उनीहरुको पुनस्र्थापना तथा जीवीकोपार्जनको समस्या यथावत छ । रोग निको भइसकेपछि पनि समाजले घृणाको नजरले हेर्ने हुनाले रोगीहरु रोगभन्दा समाजको हेराइबाट पीडित छन् । कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले नेपालमा सरकारले कुष्ठरोग निवारण घोषणा गरिसकेको तर उन्मुलन हुन निकै समय लाग्ने बताउंछन् ।
सरकारको दाबी विपरीत कुष्ठरोग विशेषज्ञ भन्छन् देशबाट यो रोग निवारण भएको भन्न मिल्दैन । कुष्ठरोग विशेषज्ञ प्रा.डा. अनिल झाका अनुसार नयां रोगीको संख्या बढदो छ, त्यसैले निवारण भन्न सकिन्न ।  सरकारले कुष्ठरोग निवारणको प्रचार गर्नुभन्दा पनि प्रभावित संख्या घटाउने अभियान थाल्न सक्नुपर्छ । कुष्ठरोग आखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट लाग्ने ज्यादै कम मात्रामा सर्ने रोग हो । औषधिको नियमित सेवन गर्नाले यो रोग निको हुने चिकित्सक बताउंछन् ।
नेपालका ७५ ओटै जिल्लामा सरकारले कुष्ठरोग निवारण कार्यक्रम सन्चालन गरेको जनाएको छ । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०६७–६८ को कात्तिक महिनाको अन्त्यसम्ममा २३ सय बिरामी उपचार गराइरहेका छन् ।
नेपाल कुष्ठरोग निवारणको प्रयासमा रहेको भए पनि तराईका जिल्ला कुष्ठरोगको उच्च जोखिममा छ । नेपालको ६२ जिल्लामा यो रोगको प्रभाव रहेकोमा अहिले शुन्य दशमलव ८६ प्रतिशत मात्र कुष्ठरोगीको संख्या देखिनुले निवारणको प्रयास सफल हुदै गएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । आगामी ५ वर्षमा प्रति १ लाख जनसंख्यामा कुष्ठरोगको कारणले हुने अपांगता ३५ प्रतिशतले कम गर्ने राष्ट्रिय लक्ष्य राखिएको छ ।
निवारणको घोषणा पछि विदेशी सहायता पनि कम हुंदै गएको छ । कुष्ठरोगीको पहिचान, निःशुल्क औषधिउपचार जस्ता काम विदेशी संस्था तथा क्रिश्चियन मिसनहरुबाट हुंदै आएको छ । कुष्ठरोगीकै लागि भनेर खोलीएका अस्पताल विदेशीले नै सहयोग स्वरुप संचालन हुंदै आएको छ । सरकारले समयमै ध्यान नदिने हो भने कुष्ठरोगले झन विकराल रुप लिन सक्छ । डा. झाले सरकारले कुष्ठ रोगलाई प्राथमिकता नदिए भविष्यमा यो झन बढ्न सक्छ । कुष्ठरोग माइक्रो ब्याकटेरियम लेप्रे नामक सूक्ष्म किटानुबाट लाग्दछ । तर अन्धविश्वासमा जकडिएको समाजले यसलाई बंशानुगत वा पापको फल भनेर बुझ्छ । कुष्ठरोगको उपचार पूरा गरेका व्यक्तिमा अपांगता, अशक्तता वा कुरुपता भएपनि उनीहरु विरामी होइनन् । उनीहरुबाट रोग सर्ने कुरै भएन । निको भइ सकेपनि घृणा गर्ने मानसिकता भने कायमै छ समाजमा । ललितपुरको आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार गराइरहेका बालाजु निवासी एकनाथ भन्छन्–पहिला जस्तो समाजमा घृणाको भाव हटेको छ । नियमित औषधि सेवन गरे यो रोग निको हुन्छ एकनाथ भन्छन् ।
रोगबारे समाजमा चेतना विस्तार र समाजमा रोगीको सम्मानित जीवनका लागि सबैले पहल गर्नुपर्छ । कुष्ठरोगको बारेमा यथार्थ भन्दा भ्रम नै बढी छ समाजमा । त्यसैले रोगप्रभावितहरु रोग भन्दा सामाजिक विभेदबाट पीडित छन् । नियमित औषधि सेवनले कुष्ठ रोग निको हुन्छ । तर यसलाई पूर्वजन्मको पापको फल ठान्ने कुरीतिका कारण रोगीले समाजमा तिरस्कृत हुनु परेको छ । रोगी स्वयं पनि उपचार गराउन अघि बढेको पाइन्न ।

मिति ः २०६८ अषाढ १२ गते

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete