Tuesday, January 21, 2014

राष्ट्रिय जनगणनामा मैथिली भाषा


रामनारायण देव
नेपालमा वि.सं. १९६८ देखि राष्ट्रिय जनगणना गर्न शुरु भएको हो । यो २०६८ सालमा आइपुग्दा एक शताब्दी पुगेको छ । शुरुमा जनगणना गर्दा जनसंख्याको बृद्धिलाई मात्र प्राथमिकता दिइन्थ्यो तर २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पछि विकास र निर्माणलाई पनि दृष्टिगत गरेर जनगणना गर्न थालिएको छ ।
प्रजातन्त्रको पुनःस्थापना पछि २०४८, २०५८ सालमा जनगणना भइसकेको छ भने अहिले लोकतान्त्रिक गणतान्त्रिक शासनकाल अर्थात २०६८  साल असारमा एघारौं जनगणना भइरहेको छ । लक्ष्य प्राप्तिका लागि राष्ट्रिय जनगणनाको निकै ठुलो महत्व रहेको हुन्छ । खासगरी दोश्रो जनआन्दोलन पछि भुलुक संघीयता र गणतन्त्रमा गएपछि सबै जातजाति, भाषा भाषीहरु आ–आफ्नो पहिचानका लागि आन्दोलनरत छन् । संविधानसभाबाट निर्माण हुने संविधानमा सबै क्षेत्र, समूह, जाति, वर्ग लिङ्ग र भाषाभाषीले आ–आफ्नो हक, अधिकार र पहिचान सुरक्षित र प्रत्याभूति गराउन चाहन्छन्। अहिलेको राष्ट्रिय जनगणनामा भाषाभाषीको पनि गणना गर्न लागिएका यस प्रति सबै बढी नै संवेदनशील बनेका छन् ।
विगतमा भएका चारवटा राष्ट्रिय जनगणनामा नेपाली पछि मैथिली भाषाभार्षीलाई दोश्रो स्थानमा देखाएको छ मैथिली नेपालको प्राचीन र अत्यन्त समृद्धिशील साहित्य भएको भाषा हो ।
तराईको विस्तृत भूभागमा बोलिने यस भाषाभाषीको जनसंख्या विगत वर्षमा निकै बृद्धि भएको छ । पूर्वमा झापा देखि पश्चिममा रौतहटसम्म बोलिने भाषा मूलरुपमा मैथली हो । यो क्षेत्र प्राचीन मिथिला राज्य अन्तर्गत पर्दछ । नेपाल र भारतको मिथिला क्षेत्रमा मैथिली भाषाभाषीको जनसंख्या पाँच करोडभन्दा बढी छ । नेपालमै करिब १० जिल्लामा मैथिली बोलिन्छ । सरदर रुपमा प्रत्येक जिल्लामा पाँच लाखका दरले गणना गर्ने हो भने नेपालमा मैथिलीभाषीको संख्या कम्तीमा ५० लाख हुन आउँछ । २०५८ को राष्ट्रिय जनगणनामा मैथिलीभाषीलाई करिब १३ प्रतिशत मात्र देखाइएको छ । जबकि त्यो भन्दा अघिल्लो अघिल्लो राष्ट्रिय जनगणनामा १२.५ प्रतिशत देखाइएको थियो । यसरी एक दशकमा मैथिलीभाषीको संख्या बढ्नु पर्नेमा करिब यथास्थितिमै देखिनुले सरकारी तथ्याङ्कप्रति शंका उत्पन्न हुन पुगेको छ । विगतको राष्ट्रिय जनगणनामा मैथिलीभाषीलाई कटाएर थारु, बज्जिका र भोजपुरी भाषामा मिलाईदिएकाले मैथिलीभाषीको संख्या घटेको हो ।
हाल मैथिलीभाषी क्षेत्रमा नै मैथिलीभाषाको विरोध भइरहेको सुन्दा दुःख लागेको छ । विभिन्न राजनीतिक दल र समूहको स्वार्थमा परेर मैथिलीभाषालाई अल्पमतमा पार्न षड्यन्त्र भइरहेको छ । कुनै पनि भाषा एउटै शब्द र स्वरमा बोलिदैन । भौगोलिक क्षेत्रको अन्तर, जातीय, शिक्षा संस्कृति र बौद्धिक अवस्थाले गर्दा भाषाले एउटै रुप लिन सक्दैन । यो प्रायः सबै भाषामा लागू हुन्छ । कुनै पनि भाषाको दुई रुप हुन्छ, एउटा लिखित र अर्को मौखिक । लिखितमा साहित्यिक शिष्ट शब्दहरुको प्रयोग गरिन्छ यसमा व्याकरणको पनि ख्याल गरिन्छ तर मौखिक रुपमा बोल्दा ती कुराको विचार गरिदैन ।
मैथिलीभाषामा पनि यही नियम लागू हुन्छ । मैथिली क्षेत्रगत र जातिगत हिसाबले फरक फरक बोलिन्छ । जस्तै सप्तरीको मैथिली र रौतहटको मैथिली बोलाईमा अन्तर छ । यो स्वाभाविकै हो तर भाषा वैज्ञानिकका अनुसार ती सबै मैथिली नै हुन् । प्रत्येक भाषाका विभिन्न भाषिका हुन्छन्  जसलाई बोली भनिन्छ । भाषा वैज्ञानिकका अनुसार भाषा र बोलीमा फरक हुन्छ । एउटै भाषामा धेरै बोली हुन्छन् । बोलीले कहिले पनि भाषाको रुप ग्रहण सक्दैन । भाषाविज्ञानमा (फिनोलोजी) र मोर्फालोजी हुन्छ । त्यसैले यो विभिन्न खण्डमा विभिन्न स्वरमा उच्चारण गर्ने सबै बोली मैथिली नै हो ।
कतिपय मासिन भाषा र बोलीमा फरक देख्दैनन् । अलिकति शब्दको उच्चारणमा फरक देख्यो कि त्यसलाई अर्के भाषाको नामकरण गर्न पुग्छन्् । मैथिलीमा पनि त्यस्तै भएको छ । सर्लाही र रौटहटतिर बोलिने मैथिलीलाई अङ्गिकार बज्जिका नामकरण गरिएको छ जुन भाषा बैज्ञानिकका दृष्टिकोणले विलकुल गलत हो । त्यो मूलमा मैथिली नै हो । यसरी नै मैथिलीभाषी क्षेत्रमा मगही भन्ने नयाँ भाषाको जन्म भएको हो । मगही भाषा मिथिला क्षेत्रमा नभएर गङ्गा नदी भन्दा दक्षिण भारतको पटना र गया जस्ता क्षेत्रमा बोलिन्छ । त्यो क्षेत्र प्राचीन मगह र मगध राज्यको नामबाट चिनिन्छ । गंगा नदीदेखि उत्तरको भूभागलाई मिथिला र त्यहाँ देखि दक्षिणको मगह भनिन्छ । प्राचीन राजधानी राजगृह थियो भने पछि पटनामा स्थानान्तरित भएको इतिहास छ । चाणक्यको जन्म पनि यही मगधमा भएको थियो ।
यसरी गंगा देखि दक्षिण भगहबाट एकैचोटी नेपालको तराई क्षेत्रको मिथिलामा कसरी मगही उडेर आयो यो बडो आश्चर्यको विषय भएको छ । आफ्नो मातृभाषा मैथिलीलाई छाडेर गंगापारिको मगहीलाई मातृभाषा बनाउनु कतिसम्म न्यायोचित छ सवैले बुझ्न जरुरी छ । निश्चय नै मैथिली र मगही भाषा एक आपसमा मिल्छन् । यसको अर्थ यो होइन कि मैथिलीको स्थान मगहीले ग्रहण गरोस् । भारोपेली भाषा परिवारमा मैथिली, नेपाली, बंगाली हिन्दी, मगही, भोजपुरी र अवधी भाषाहरु पर्दछन् । यी परिवारका भाषा एक अर्कासित मिल्नु कुनै आश्चर्य होइन । भाषा बैज्ञानिकहरुले नेपालमा प्रमुख चार परिवारको भाषा बोलिन्छ भनी देखाएका छन् । यसमध्ये इन्डो आर्यन (भारोपेली) सिनो तिब्बेतन (चीनी–तिब्बती अस्ट्रो एसिटिक–आग्नेय) टिबटो–बर्मिज (मंगोलियन) भाषा परिवार रहेका छन् । भरोपेली भाषामा हिन्दुहरुले बोल्ने भाषाहरु पर्दछन् भने अन्य भाषा परिवारका भाषाहरु मंगोलियन र द्रविड समूहका मानिसले बोल्ने गरेका छन् ।
मैथिलीभाषामा अहिले राजनीतिकरण गरी बज्जिका, अंगिका र थारुभाषा र निर्माण भइरहेको छ । थारुहरुको आफ्नो छुट्टै भाषा छैन । मिथिला क्षेत्रका थारु मैथिली बोल्छन्, भोजपुर क्षेत्रका थारु भोजपुरी बोल्छन् भने अवधी क्षेत्रका थारु अवधी भाषा बोल्छन् । मैथिलीभाषी क्षेत्रका थारुहरु आफ्नै ढंगको उच्चारणमा मैथिली बोल्छन् । अरु मैथिलीभाषा क्षेत्रका जातिले बोल्ने भाषाभन्दा अलि बेग्लै खालको भाषा बोल्छन् तर समष्टिगत रुपमा मैथिली नै हो । मैथिलीका कतिपय ठेट शब्दलाई बचाएर थारुहरुले राखेका छन् ।
थारु जातिबाट धेरै मैथिली साहित्यकारहरु भएका छन् । बूढापाका थारुहरु मैथिली कवि विद्यापतिका गीत गाउँछन् । भने थारु महिलाहरु पनि विवाहहरुमा कवि विद्यालपतिका मुधर गीत           गाउँछन् । एउटै गाउँमा थारु र मैथिल ब्राहम्णहरु बस्छन् र तिनीहरु आपसमा मैथिलीमै कुरा गर्दछन् । यसरी एउटै भाषाभाष िभएर पनि अलग–अलग देखाउनु राजनीतिक षड्यन्त्र बाहेक अरु के हुन सक्छ । विगत केही वर्ष देखि थारु जातिबाट आएका नेताले आफूलाई मैथिलीभाषी नभन्नु र आफुलार्य मधेसी समुदायबाट अलग राख्ने प्रयास गर्नुका पछाडि राजनीतक स्वार्थ नभएर के हुन सक्छ । थारु एउटा स्वतन्त्र भाषा हो भने यस्को आफ्नो लिपि, व्याकरण र साहित्य पनि हुनु पर्ने हो । पुस्तौदेखि मैथिली बोल्दै आएका थारुहरु अहिले आएर यो मैथिली होइन थारु हो भन्नु अज्ञानता हो ।
तराईमा सबै जातिले आफ्नौ जातीय र पारिवारिक वातावरण अनुसार मैथिली बोल्छन् । सवैमा केही न केही अन्तर देखिन्छ । जस्तो मैथिली ब्राहमणले बोल्ने मैथिली र यादवजातिले बोल्ने मैथिलीमा फरक हुन्छ । यसकवो मतलब यो होइन कि यादवले बोल्ने भाषा यादव भाषा र ब्राहमणले बोल्ने भाषा ब्राहमण भाषा हो । यसरी जातै पिच्छै भाषा छुट्टयाउन हो भने थुप्रै भाषाको उत्पति हुन्छ । तराईमा पहाडमा जस्तो जातै पिच्छे भाषा हुँदैन । यहाँ क्षेत्रीय भाषाहरु मात्र बोलिन्छ । यता केही मधेशवादी दलका नेताले तराईमा हिन्दीभाषालाई मातृभाषाका रुपमा लेखाउन निर्देशन दिएका छन् । जबकि हिन्दी तराईवासीको मातृभाषा हुदै होइन । मेचीदेखि महाकाली सम्मका तराईमा मैथिली, भोजपुरी र अवधी भाषा बोलिन्छ । पूर्वी नेपालको झाषाको राजवंशीहरु भाषा बोलछन् । जुन बंगाली मैथिलीको सममिश्रण भाषा हो । सतारहरु सन्थाली भाषा बोल्छन् । कहाँ पनि हिन्दी मातृभाषी छैनन् ।
विगतका राष्ट्रिय जनगणनामा मारवाडीहरुले हिन्दी भाषीका रुपमा आफूलाई प्रस्तुत गरेका थिए तर मारवाहीहरुको मातृभाषा मारवाही नै हो । हिन्दी भारतमा पनि प्रायः मातृभाषाका रुपमा बोलिँदैन । उत्तर प्रदेशको खडीबोली ब्रजबोली, बघेली जस्ता बोली हिन्दीको उत्पत्तिको आधार हो । हिन्दी एक किसिमले सम्पर्क भाषा हो । जो उत्तरी भारतको विहार, उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान र उत्तराखण्डमा बोलिन्छ । दक्षिण भारतको तामिनाडू, चेन्नाई बम्बई, महाराष्ट्र, आन्धप्रदेशतिर हिन्दी न बुझिन्छ न बोलिन्छ । दक्षिण व्यापकरुपमा हिन्दीको विरोध हुँदै आएको छ । हिन्दीले भारतको राष्ट्रभाषा भएर पनि सम्पूर्ण भारतमै सर्वसम्मतरुपमा मान्यता नपाइरहेका बेला तराईवासीको मातृभाषाको रुपमा लेखाउनु कहाँसम्मको राष्ट्रियता हो । आफ्नो राष्ट्रियता र मातृभाषालाई तिलाञ्जलि दिएर कुनै पनि स्वाभिमानी नेपालीले अर्काको भाषालाई मातृभाषाका रुपमा स्वीकार गर्दैनन् । निश्चय नै हिन्दी विशल देन छ । यो भाषाको साहित्य पनि विशाल र विस्तृत छ । हिन्दी भारतीय उपमहाद्वीपको सबभन्दा बढी बोलिने भाषा पनि हो । यति हुँदाहुँदै पनि हिन्दीलाई कुनै पनि मैथिली, भोजपुरी र अवधी भाषीले मातृभाषाका रुपमा स्वीकार गर्ने छैनन् । मधेशवादी नेताहरुको आफ्नो राजनीतिक स्वार्थ र लाभ होला र उनीहरुलेमधेशीको नाममा राजनीति गर्ने र दानापानी हिन्दी मालिकको खाने जस्तो द्वैधचरित्रलाई त्याग्नुपर्दछ ।
अतः समस्त मैथिलीभाषीले राष्ट्रिवय जनगणनामा लेखाउने पहिलो कोष्ठमा मातृभाषाका नाममा मैथिली र सम्पर्क भाषाका नाममा नेपाली लेखाउन उपयुक्त हुनेछ । हिन्दी त्यत्तिकै सम्पर्क भाषाका रुपमा चलनचल्तीमा छैदैछ । अब हिन्दीको सट्टा नेपाली नै सम्पर्क भाषाका रुपमा लेखाउन राष्ट्रियताको दृष्टिकोणले पनि उत्तम हुनेछ । किनभने नेपाली राष्ट्रभाषा त हुँदै हो र विगत केही दशक देखि हिमाल देखि तराई सम्म सञ्चारको क्रान्तिले यसले अब नेपाल भित्र सम्पर्क भाषाको स्थान बनाइसकेको छ ।

मिति ः २०६८ अषाढ १२ गते

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete