Tuesday, April 30, 2013

धनुषामा नाम मात्रको पशु विकास सम्बन्धि ‘सरकारी संयन्त्रहरु’


अजय अनुरागी
पशुपालन व्यवसायको दिगो विकास र यससँग सम्वन्धित व्यक्ति, समूह, समुदायको आर्थिकस्तर वृद्धि गर्न आवश्यक आधारभूत सेवाहरू उपलव्ध गराउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयको व्यवस्था गरिएको हो । पशु चौपायमा देखिएका सामान्य खालका रोगको पनि उपचार गराउन नपाउदा धनुषा जिल्लाका अधिकांश गाविसका कृषकहरु समस्यामा परेका छन् । व्यवसायिक रुपमै भैसि पालन, बाख्रा पालन, बङगुर पालन र कुखुरा पालन गर्दे आएका किसानहरुले पशु चौपायामा समय समयमा देखिएका सामान्य खालका रोगको उपचार गराउने उपचार केन्द्र नहुदा समस्यामा परेका हुन् । धनुषाको ठाढी झिझा गाविसमा विगत डेढ दशक देखि पशु सेवा केन्द्र नहुँदा पशुहरु रोगी भएपछि उपचार अभावमा मर्ने गरेको छ । ठाढी(झिझा (१ का महेश्वर गोइत भन्छन,“ १५ वर्ष अघि सम्म हाम्रो गाउँमा भेटनरी थियो, पशुहरुको सहज उपचार हुन्थ्यो तर भेटनरी गएपछि त्यहाँ प्रहरी चौकी छ । पशुहरु विरामी भयो भने उपचारको कुनै उपाय नै छैन, भगवान भरोसे रहन्छौं ।” पशु उपचार केन्द्र नभएकै कारण त्यस गाउँमा पशुपालन प्रति स्थानियबासी आकर्षित हुन सकेको छैन । यसरी ठाढी(झिझा जस्तै धनुषाका अधिकांश गाउँमा भेटनरी सेवा उपलब्ध छैन ।
पुश चौपाया बिरामी भएको बेलामा भेटनरीमा जादा कहिले चिकित्सक नभेट्ने त कहिले औषधि नहुने जस्ता समस्याले गर्दा आफुहरुले सेवा पाउन नसकेको स्थानिय किसानहरुले गुनासो गरेका छन् । आवश्यक परेको बेला उपचार सेवा पाउन नसक्दा आङखना पशु चौपायाहरु सामान्य समस्याबाट पनि मर्ने गरेको किसानहरुले बताएका छन् ।
पशुहरूको संरक्षण, सम्वर्धन र गुणात्मक सुधार गरी उत्पादकत्व र पशुजन्य पदार्थहरूको उत्पादनमा वृद्धि गरी कृषकहरूको आयआर्जनमा वृद्धि गर्ने, पशुपालन व्यवसायको व्यवसायीकरण र विविधिकरण गरी अवसरहरू बढाउनको साथै यस पेशालाई बढी लाभप्रद बनाउने, पशु पंक्षी र पशुपंक्षीजन्य उत्पादनको बजार व्यवस्थापन, पशुआहाराको व्यवस्थापन र वातावरण संरक्षणमा सहयोग पुर्याउने, जनस्वास्थ्यको संरक्षण र सम्बर्धनमा सहयोग पुर्याउने, पशुपालन व्यवसायको माध्यमबाट गरिवी तथा सामाजिक दृष्टिकोणबाट पिछडिएको वर्ग र महिला वर्गको आर्थिक तथा सामाजिक व्यवस्थामा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयको व्यवस्था गरिएको हो ।  तर ती उद्देश्यहरु पुर्ती गर्नमा सरकारी अनुदानमा सञ्चालित पशु सेवा कार्यालय अक्षम देखिन्छन । धनुषामा पशु विकासकै लागि जिल्ला पशु सेवा कार्यालय, क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला, क्षेत्रीय सेवा तालिम केन्द्र, पशु क्वारेन्टाइन कार्यालय, राइजोवियम प्रयोगशाला, चरण तथा आहारा विकास लगायत दर्जनौ सरकारी संयन्त्रहरु स्थापित भएपनि त्यसबाट स्थानिय कृषकहरु लाभान्वित हुन सकेका छैनन । वि.सं.२०३६÷०३७ साल तिर वैदेशिक सहयोगमा धनुषा, महोत्तरी, सर्लाही, बाँके र वर्दिया गरी ५ जिल्लाहरुमा पशु विकास आयोजना सञ्चालित थियो । करिब २ सय जनालाई प्रशिक्षण दिएर पाँचै जिल्लामा उक्त आयोजना सुरुवात गरिएको थियो । सोही क्रममा धनुषामा २९ वटा पशु विकासका लागि सेवा केन्द्र र उप केन्द्र स्थापित भयो । २०४९ साल तिर वैदेशिक अनुदान कटौति भयो र उक्त आयोजना तत्कालिन श्री ५ सरकारलाई हस्तान्तरण गरियो । सरकारले २ सय जतिको संख्यामा रहेको जनशक्ति कटौति गरी १८ वटामा सिमित गर्यो । आयोजनाको म्याद ५ वर्ष थपिए पनि अन्ततः फेज आउट भयो । खर्च कटौतिका लागि सरकारले पशु विकास र कृषि विकास दुवैलाई एउटैमा गाभे पनि द्धन्द्ध देखेपछि २०५२ सालमा सरकारले पुनरावलोकन गरी दुवैलाई फेरी अलग गर्यो । आयोजना फेज आउट भएपछि गाउँमा स्थापित सेवा केन्द्र र उप केन्द्र पनि विस्थापित भयो । नेपाल सरकारको तर्फबाट अहिले धनुषामा महेन्द्रनगर, धनुषाधाम, फुलगामा, बैदेही र यदुकोहा गरी ५ गाविसमा सेवा केन्द्र सञ्चालित छन । त्यसैगरी नगराईन, बसहिया, कुर्था, लक्ष्मीनियाँ, ढल्केबर, तारापट्टी सिसिया, गोदार, भटियन, कनकपट्टी, सोनिगामा टिलही, तिनकोरिया चौक, सिंग्याही मडान, खजुरी गरी १३ वटा उप(केन्द्र सञ्चालित छन ।
सेवा केन्द्रमा १ जना प्राविधिक सहायक, १ जना नायव प्राविधिक सहायक र १ जना कार्यालय सहयोगी गरी ३ जना, उप(केन्द्रमा १ जना ना.प्रा.स.  र १ कार्यालय सहयोगी गरी २ जना जनशक्ति कार्यरत छन । तिनीहरुको काम भनेको पशुहरुकोा प्राथमिक उपचार गर्नु हो । जनकपुरको जिल्ला पशु विकास केन्द्रमा १ वर्षमा औसत १० हजार पशुहरुको उपचार हुने गरेको पशु चिकित्सक वरुण कुमार मल्लिक भन्छन,“ खास गरी जनकपुरमा  गाई, गोरु, भैसी, बाख्रा, कुकुर, घोडा, बाँदर, सुगा, परेवा, खरायो सहितको घाउ, ज्वरो, भाइरल डिजिजको उपचार हुने गरेको छ । सर्जिकल म्याहोरियल अन्तरगत कप्न, गज, सिरिज, निडल, थर्मामिटर, टिन्चर आयोडिन, टिन्चर वेन्जाइन, वोरिक एसिड, कैलोमेल पाउडर, (अक्सी टेटूासाइक्लिन, जीट जस्ता इन्जेक्सन) पनि निःशुल्क प्रदान गरिन्छ ।
क्षेत्रीय प्रयोगशालाको लाखौको उपकरण प्रयोग विहिन
मध्यमाञ्चल विकासक्षेत्र अन्तरगतका १६ जिल्लाहरुका लागि जनकपुरमा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला वर्षीदेखि सञ्चालित छन । पशुहरुमा कुन रोग लाग्यो त्यसको डायग्नोसिसका लागि सञ्चालित उक्त प्रयोगशालामा लाखौ रकमको दर्जनौ उपकरणहरु छन तर ती उपकरणहरु हाल सम्म प्रयोगमा आउन सकेको छैन । पशु विर्य राख्ने भाँडो अटोक्लेभ, इन्क्युवेटर, वाटर वाथ, फ्रिजर, कार्वन डाइअक्साइड इन्क्युवेटर, हट एयर ओभन लगायत दर्जनौ उपकरण विद्युत अभावका कारण प्रयोगमा आउन सकेको छैन । प्रयोगशालाका प्रमुख, वरिष्ठ पशु चिकित्सक डा. सुुर्यदेव साह भन्छन,“ पशुहरुको रोग अन्वेषणका लागि उपलब्ध उपकरणहरु थ्री फेज लाइनको विद्युत अभावमा उपकरण प्रयोग विहिन छ । आफ्नै जेनरेटर हुँदा हुँदै पनि सञ्चालनमा आउन सकेको छैन । आफ्नै टूान्सफर्मर कस्तो अच्चम छ । लाखौको उपकरण विद्युतको वहानामा हालसम्म प्रयोग नै हुन सकेको छैन । आज सम्म उक्त प्रयोगशालाले कुनै पनि नयाँ कुरा पता लगाउन सकेको छैन । महोत्तरी हर्दिया(४ का लक्ष्मेश्वर साहले आफ्नो कुखुरा फार्मका लागि एक लौटमा त्याएको ५ सय कुखुरामा वर्ड फ्लु त भएको छैन भन्दै ३ वैशाख २०७० मा मरेको कुखुराको क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालामा जाँचका लागि ल्यायो । त्यहाँ मृत कुखुराको पोष्टमार्टम गर्दा वर्ड फ्लु नभएर ‘गमबोरो’ नामक रोग पत्ता लाग्यो । गमबोरो भाइरल डिजिज हो जसको प्रकोप भए समुहमा रहेका ३० देखि ४० प्रतिशत सम्म कुखुरा मर्छन । यसरी पशुको मृत्युको कारण पत्ता लगाउने तथा त्यस प्रति सबै कृषक सचेत नभएकै कारण सरकारले उपलब्ध गराएको संयन्त्रको सदुपयोग भइरहेको छैन ।  कुनै पनि पशुहरु एकाएक मर्न लागे भने त्यसको मृत्युको कारण पत्ता लगाउने एक जनावरबाट अर्को जनाबरमा सर्ने सरुवा रोग भए त्यहाँ गएर सैम्पल ल्याई जाँच गरी रोग पत्ता लगाई त्यसको उपचारका लागि जिल्लाको मेटनरीमा पठाएर रोग नियन्त्रण गर्ने जस्ता महत्वपुर्ण दायित्व बोकेको उक्त प्रयोगशालाको भौतिक पुर्वाधार भएपनि सेवाग्राहीले त्यसको उच्चत्तम सदुपयोग गर्न सकेका छैनन । पशुलाई थनेल भए त्यसको जाँच गराउनका निम्ति दुध लिएर जाँच गराउन आउँछन, पशुले खाना नखाए पशुको पेसाव र गोवर लिएर जाँच गराउन औसतमा महिनामा १० वटा किसान जतिको मात्र आउने गरेको भन्दै पशु चिकित्सक डा. साह भन्छन,“ जनकपुरमा रहेको प्रयोगशाला बारे स्थानीय कृषकमा जानकारी नै नभएको अवस्था छ भने अर्को तर्फ सामान्य तालिम लिएका गाउँघरका क्वेक चिकित्सकहरुले सेवाग्राहीलाई यहाँ सम्म आउनै दिदैन ।” १ महिना जतिको तालिम लिएका प्राथमिक उपचार सम्म मात्र गर्नेहरु धनुषामा मात्रै करिव २ सयको हाराहारीमा छन । तिनीहरुले आफुलाई डाक्टर साह पशुहरुको उपचार गर्न लाग्दा सिरियल भएको अवस्थामा मात्रै जनकपुर पठाउने गरेको वा कतिपय उपचारकै अवस्थामा मृत्यु समेत भएपनि त्यस्ता व्यक्तिहरुमाथि कारवाही गर्न वा त्यसको नियन्त्रण गर्न सरकार सँग कुनै संयन्त्र पनि रहेको देखिदैन ।
तालिम केन्द्रको काम औपचारिकतामै सिमित
मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका लागि जनकपुरमा क्षेत्रीय पशु सेवा तालिम केन्द्रले प्रदान गर्दै तालिम औपचारिकतामै सिमित भएको देखिन्छ । एउटा तालिम वापत जिल्ला पशु विकास कार्यालयको करिव रु.५० हजार सम्म खर्च पर्छ तर तालिमको व्यवहारिक रुपमा कृषकहरुले उपयोग गरिरहेको देख्दिैन । उक्त तालिम केन्द्रले सहायक स्तर, कृषक स्तर र उद्यमी व्यवसायी स्तर गरी ३ स्तरको तालिम प्रदान गर्ने गर्छ । सहायक स्तर तालिम अन्तरगत रोग निदान तथा प्रयोगशाला विधि, फिल्ड इपिडोमियोलिजी, जीआईएस तालिम, पशु प्रजन्न तथा कृत्रिम गर्भाधान, योजना तर्जुमा तथा व्यवस्थापन, प्रशिक्षक प्रशिक्षण (शीप विकास), चरण तथा पशु आहार व्यवस्थापन, सफा तालिम अन्तरगत व्यवस्थापन, सफा दुध तथा मासु उत्पादन तालिम प्रदान गरिन्छ । कृषक स्तर तालिम अन्तरगत व्यवसायिक गाई भैसी पालन, बाख्रा पालन, बंगुर पालन, कुखुरा पालन, चरन तथा पशु आहार व्यवस्थापन, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता पुनर्तागडी, पशु पंक्षी पालनमा जैविक सुरक्षा, समुह सहकारीकरण, घाँसेवाली तथा घाँस वीउ उत्पादन तालिम प्रदान गरिन्छ । त्यसै गरी उद्यमी, व्यवसायी स्तर अन्तरगत सफा मासु उत्पादन, दुग्ध सफा र स्वच्छ दुध उत्पादन, पशु बधशाला व्यवस्थापन तथा सञ्चालन, घाँसको वीउ उत्पादन तालिम दिइन्छ । तालिम केन्द्र जनकपुरका लेखापाल पशुपति घिमिरे भन्छन,“ एक व्यक्तिलाई तालिम दिदा सरकारको रु. १० हजार सम्म खर्च हुन्छ तर त्यसको प्रतिफल कृषकको व्यवहारिक जीवनमा नआउनु दुःखद हो ।” तालिम अनुसार किसानले काम गरेको छ वा छैन भन्ने अनुगमन पनि गरिदैन । पशुपक्षीपालन पेशालाई व्यवसायिककरण, विविधिकरण गरी आयमुलक तथा सम्मानित पेशाको रुपमा बिकास गरी देशको कुल राष्टिूय उत्पादनमा योगदान पुर्याउने पशु सेवा बिभागको उद्देश्य प्राप्तिमा टेवा पुर्याउन पशु सेवा तालीम तथा प्रसारका कृयाकलापहरुको महत्वपूर्ण भूमिका रहेकाले बिभागको स्थापनाकालदेखि नै विभिन्न तालिम तथा प्रचार प्रसार कार्यक्रमहरु सञ्चालन गरिदै आइएको छ । बि.सं. २०३७ साल कार्तिक २७ गते पशु बिकास तथा स्वास्थ्य बिभागको स्थापना हुँदा तालीम तथा प्रसार शाखाको पनि स्थापना गरिएको थियो । पशु सेवाको क्षेत्रमा देश भित्रै मध्यमस्तरीय जनशक्ति तयार गर्ने कार्यमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग सहकार्य गर्ने र सेवारत जनशक्तिको दक्षता अभिवृद्धिको लागि उच्च शिक्षा अध्ययन तथा स्वदेशी एवं वैदेशिक तालीमको मनोनयन लगायतका प्रकृया सहजीकरण गर्ने कार्यहरु यस शाखाबाट हुँदै आएको थियो । यसका साथै पशु पालक कृषकहरु तथा फिल्डस्तरमा कार्यरत मध्यमस्तरीय प्राविधिकहरुको लागि प्राविधिक पुस्तिका, पम्पलेट, फिलपचार्ट, फोल्डर आदि प्रचार प्रसारका सामाग्रीहरुको प्रकाशन तथा बितरणका कार्यक्रमहरु पनि संचालन गरिदै आएको पाईन्छ ।
पशु सेवा क्षेत्रको संगठन पुनःसंरचनाको क्रममा बि.सं. २०४० सालमा प्रसार प्रसार तथा तालिम शाखालाई केन्द्रीय तालीम तथा प्रसार केन्द्रको नामाकरण गरियो । आ.व. २०४४ र २०४५ सालबाट दुई क्षेत्रमा क्षेत्रीय पशु सेवा तालीम केन्द्रहरु क्रमशः जनकपुर र नेपालगंजमा स्थापना गरी कृषकहरु  फिल्ड स्तमा कार्यरत प्राविधिकहरुलाई व्यवस्थित रुपमा तालीम प्रदान गर्ने कार्यको थालनी गरियो । बि.सं. २०५२ साल श्रावण १ गतेबाट पुनःसंरचना पश्चात पशु सेवा बिभाग अन्तर्गत पांचौ क्षेत्रमा क्षेत्रीय पशु सेवा केन्द्रमा पशु सेवा तालीम महाशाखाको स्गापना गरियो भने सो तालीम महाशाखालाई बि.सं. २०५७ सालबाट पशु सेवा तालिम तथा प्रसार निर्देशनालय नामाकरण गरिएको छ ।
धनुषाको जनकपुर, सर्लाहीको रंजितपुर र बाँकेको गौघाटमा गरी नेपालमा कुल ३ ठाउँमा चरण तथा घाँसे वाली वीउ वृद्धि फार्म स्थापित छन । पशुका लागि चाहिने घाँसेवालीको उत्पादन तथा विक्री गर्ने काम हो उक्त फार्मको खास गरी हिउँदे, वर्षे घाँस मध्ये वर्षिक, जै, टियोसेन्टी घाँसेको वीउ उत्पादनको गरी प्रत्येक जिल्लाबाट माँग भए अनुसार बिक्री गर्ने गरिन्छ । जनकपुर स्थित फार्मले आ.व. २०६८÷०६९ मा २५ क्विन्टल वर्षिम, ५ टन जै र २० क्विन्टल टिवन्टल टियोसेन्टी दशै भरीका जिल्लाका लागि विक्री गरिएको पशु सेवा प्राविधिक गुन्देश्वर ठाकुरले वताए । फार्मले धनुषाको ११ हेक्टर जग्गामा उक्त घाँसे वीउ उत्पादन गर्छ । उक्त घाँस खाँदा गाई भैसीलाई दाना कप खुवाउनु पर्ने र किसानको आर्थिक भार नपर्नुका साथै गाई भैसीको दुध उत्पादनमा सचेत वृद्धि हुने उद्देश्यले उक्त फार्म सञ्चालन भएको हो । यसका अतिरिक्त प्राकृतिक गर्भाघानको लागि सर्वसाधारणलाई नियमानुसार अन्नत नस्लको राँगो र साँढेबाट गाई भैसीलाई प्राकृतिक प्रजनन सेवा समेत उपलब्ध छ । प्रति गाई भैसी रु. १ सय लिई प्राकृतिक प्रजनन सेवा उपलब्ध रहे पनि अपेक्षकृत सेवाग्राही आउन सकेको छैन ।
नाम मात्रको ‘राइजोवियम तथा विउ विजन प्रयोगशाला’
विक्रम सम्बत २०५० सालमा चरन तथा आहारा विकास फार्म जनकपुर अन्तरगत एशियाली विकास बैकको योगदानमा दोस्रो पशु विकास आयोजनाको सहयोगमा २०५२ सालमा जनकपुरमा राइजोवियम प्रयोगशाला स्थापित भएको हो । यसको कार्यक्रम स्वीकृत भई सञ्चालित रहे तापनि विभिन्न प्राविधिक कठिनाइले गर्दा इनाकुलम उत्पादन हुन सकिरहेको थिएन । २०५५ साल देखि मेशिन जडान भई सुक्ष्म जैविक मल उत्पादन भई विक्री वितरण गर्दै आएको छ । ४ मंसिर २०६० मा तत्कालिन मन्त्रीपरिषदको निर्णय अनुसार नाम परिमार्जन भई राइजोवियम तथा विउ विजन प्रयोगशाला जनकपुर भएको छ । उच्च पहाड, मध्य पहाड, तराई तथा भित्री मधेश क्षेत्रको लागि उपयुक्त हुने कोशे घाँसवालीको लागि इनोकुलम उत्पादन गरी घाँसको उत्पादनमा वृद्धि ल्याउने, माटोमा राइजोवियम ब्याक्टोरियाको वढी भन्दा वढी उपस्थिति गराई स्थिरिकरण विधिबाट नाइटूोजनको आवश्यकता परिपुर्ती गर्ने र विभिन्न घाँसेवालीहरुको विउ विजनको विश्लेषण तथा परिक्षण गरी गुणात्मक सुधार ल्याउने उक्त प्रयोगशालाको कलेक्सन गरी अध्ययन गर्ने, जैविक मलको उपयोगिताबारे जानकारी गराउने, प्राविधिक लिफलेट प्रकरण गरी इनोकुलम बारे सूचना प्रवाह गरी जनचेतनामा वृद्धि ल्याउने नतिजा प्रदर्शनको माध्यमबाट कृषकहरुलाई कोशे घाँसबाली लगाउन प्रोत्साहित गर्ने, तालिम गोष्ठी, छलफलको माध्यमबाट इनोकुलमको प्रयोगबारे जानकारी गराउने प्रयोगशालाको अल्पकालिन उद्देश्य हो । यसका अतिरिक्त वर्षिम घाँस,  स्टाइलो घाँसमा सुक्ष्म जीवाणु मिलाएर घाँसको उत्पादनमा वृद्धि गराएर कृषकको पशु पालन व्यवसायलाई प्रोत्साहित गर्नु, धान, मकै, घाँस, तोरी, राईको वीउमा जर्मिनेशन कति प्रतिशत हुनेछ भनेर विश्लेषण गर्नु जस्ता प्रमुख कार्य रहे पनि प्रयोगशाला नाम मात्रमा सिमित भएको छ । प्रयोगशालाका पशु विकास अधिकृत रुपनारायण यादवका अनुसार गत वर्ष २०६८ मा १८६ केजी, चालु वर्षको चैत्र सम्ममा १३८ केजी इनाकुलम उत्पादन गरी बिक्री गरेको छ भने गत वर्ष २१०  र चालु वर्षको चैत्र सम्ममा ११३ वटा वीउको परीक्षण विश्लेषण मात्र गरिएको छ । फेरी परीक्षण गरिएको विउको जर्मिनेशन प्रयोगशालाले भने अनुसार भयो वा भएन त्यसको कहिल्यै अनुगमन समेत भएको छैन । १ कठ्ठा खेतमा घाँस उत्पादनको लागि ४० ग्रामको एक प्याकेट रु. ६ मा प्रयोगशालाले बिक्री गर्छ । १ वर्षमा प्रयोगशालाले बैशाख(जेठ र अशोज(कात्तिक गरी दुई महिना इनोकुलम उत्पादन गर्छ ।
के हो इनोकुलम ?
 बोट विरुवा हुर्कन र वढनका लागि चाहिने अति आवश्यक तत्व हो, नाइटूोजन । वायुमण्डलमा ७८ प्रतिशत नाइटूोजन पाइन्छ । यो नाइटूोजन वोट विरुवा तथा जीव जन्तुले लिन नसकि त्यसै खेर गइरहेको हुन्छ । यसरी खेर गइरहेको वायुमण्डलीय नाइटूोजन तत्वलाई कुनै पनि माटोमा भएको सुक्ष्म जीवाणुले स्थिरिकरण गरी बोट विरुवालाई उपलब्ध गराउन सक्दछ । यस्तो फाइदा जनक जीवाणुहरुलाई प्रयोगशालामा माटो, गीर्खा वा जराबाट झिकी, शुद्धिकरण गरी वढी प्राङगारिक पदार्थ भएको माटोमा राखी एक प्रकारको मल बनाइन्छ । यही मललाई जीवाणु मल वा सुक्ष्म जैविक मल वा इनोकुलम भनिन्छ ।  सुक्ष्म जैविक मल आँखाले नदेखिने जीवाणु युक्त हुनाले सावधानिपुर्वक प्रयोगशालामा मात्र बनाउन सकिन्छ । यसरी बनाइएको प्रति ग्राम सुक्ष्म जैविक मलमा अनगिन्ती संख्यामा सुक्ष्म जीवाणुहरु पाइन्छन ।

मिति ः २०७०–०१–१५

No comments:

Post a Comment