Tuesday, April 30, 2013

खुल्लासिमाका कारण बढदो असुरक्षा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरलाई केन्द्रविन्दु बनाएर महोत्तरी, सर्लाही र सिरहामा आपराधिक सञ्जाल बढदै गएको छ । भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाका (राजन मुक्ति समुह) का कार्यकर्ताले गत मंगलबार दिउँसो जानकी मेडिकल कलेजका सञ्चालक अशोक सिन्हाका सहयोगीमाथि चलाएको गोलीकाण्डको घटना सेलाउन नपाउँदै फेरी भारतीय सुरक्षा बलले भारी मात्रामा महोत्तरी हुँदै जनकपुर लान लागेको हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ ।  सीतामढी बहुडिया देवी स्थानमा बुधबार राति बरामद गरिएको हतियारमा दुई अमेरिकी पेस्तोल, तीन भारतीय पेस्तोल, ३२ वटा गोली, तीन म्यागाजिन र पाँच केजी बम बनाउने विस्फोटक पदार्थ रहेका छन । सीतामढी मेहसौलचौकनिवासी तुफैल अहमद र उसको घरमा काम गर्ने नाम नखोलका कामदारले तराई मधेस विद्यार्थी लिबरेशन  फ्रन्टका अध्यक्ष जलेश्वर नगरपालिका (११ खैरानिवासी मुकेश चौधरीलाई बुझाउन लग्दै गरेको अवस्थामा भारतीय सुरक्षाकर्मी एसएसबीले पक्राउ गरेको छ । एसएसबी २० बी बाहिनीका कमान्डर निरज चन्दको टोलीले पाँच दिन अघिदेखि नै सुराकीका आधारमा अनुसन्धान गरिरहेका छन । सीतामढीको एक होटलमा बैशाख १ गते नै लेनदेन हुने भने पनि हतियारको मुल्यमा कुरा नमिलेपछि ४ गते बुधबार गाउँमा खरिदविक्रीको चाँजोपाँजो मिलाइएको थियो । त्यसैक्रममा पक्राउ गरिएको भारतीय सुरक्षा बलले जनाएको छ । पक्राउपछि तुफैल अहमदले दिएको बयान अनुसार जनकपुरका पुर्वसभासद सञ्जय साह  र रामानन्द युवा क्लबका पुर्वअध्यक्ष जीवनाथ चौधरीलाई हत्या गर्न जनकपुर जान लागेको बताएका थिए । पक्राउ परेका तुफैललाई सितामढी भुतहीका हीरा मिश्रले हतियार दिएका थिए । मिश्र र तुफैल नेपाल र भारतमा हतियार तस्करी गर्नमा माहिर मानिन्छन । तुफैलसँग भारतका एसएसबी, प्रहरी र अन्य खुफिया एजेन्सिले गरेको लामो सोधपुछका क्रममा तुफैलले चैति छठको अवसरमा ठुलो विस्फोटन गराउने योजना रहेको खुलेको छ । एक सप्ता अगाडी नै ५ किलोग्राम विस्फोटक पदार्थ र हतियार नेपाल (जनकपुर) पुगिसकेको बयानको क्रममा तुफैलले खुलासा गरेपछि जनकपुरमा ठुलो त्रास छाएको छ ।   केही समयअघि तौ दुवै मुजफरपुरमा समेत हतियारसहित पक्राउ परेका थिए । उनीहरु कयौपटक जेलसमेत गइसकेका छन । १४ वर्षदेखि हतियार आपुर्तिकर्ताको काम गर्दै आएको ती दुवैको अन्तराष्टिूय गिरोहसँग सम्बन्ध भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तानको मुजफरपुर संस्करणले उल्लेख गरेको छ ।
तराई मधेस विद्यार्थी लिबरेसन फ्रन्टका अध्यक्ष मुकेश चौधरीलाई यसअघि पनि रामानन्दचौकको बमकाण्डमा संलग्न भएको र दर्जनौ अपहरण, हत्या, लुटपाट संलग्न भएको भन्दै महोत्तरी सुरक्षा निकायले मोस्ट वान्टेड सूचीमा राखेको छ । विगत एक महिनायता महोत्तरी र धनुषामा हिंसात्मक घटनामा व्यापक वृद्धि भएको छ । सशस्त्र संगठनहरु सक्रिय भएपछि कार्यालय प्रमुख, स्थानिय निकाय र विकासतर्फ कर्मचारी त्रसित हुन थालेका छन ।
गत चैत्र ११ जिल्ला शिक्षा कार्यालय महोत्तरीका उपसचिव बलबहादुर कार्कीमाथि गोली हान्नु, महोत्तरीको सुन्दरपुर(१ का २४ वर्षीय पंकज यादवको अपहरण गरेको १५ दिनपछि सात लाख फिरौति लिएर पनि हत्या गर्नुले महोत्तरी र धनुषावासी स्वाभाविक रुपमा त्रसित भएका हुन । महोत्तरीकै महदैया तपनपुर(६ का ५० वर्षीय बलराम साहको चैतमै घाँटी रेटी हत्या हुनुजस्ता घटना सामान्यझै भएका छन । गत चैत १९ गते धनुषा जिविसमा भएको बम विस्फोटमा महोत्तरी मनराकटीका अजित सिंहलगायत धनुषाका युवा संलग्न भएको प्रहरीले सार्वजनिक गर्नु र त्यसको जिम्मा अखिल तराई मुक्ति मोर्चा गोइत समुहले लिएको छ । महोत्तरी इटहर्वाकटी(८ घर भएका उपेन्द्र ओझामाथि गोली प्रहार गर्ने महोत्तरीको सीमावर्ती गाविस बथनाहाका दीपक सिंह र दीपकका सहयोगी सञ्जीव झा रहेको तुफैल अहमदले प्रहरीलाई बयान दिएको खबर ७ बैशाखमा अन्नपुर्ण पोष्टमा प्रकाशित छ । ओझाको उपचार अहिले काठमाडौमा भइरहेको छ भने उनका आफन्त र परिवारजन त्रसित मानसिकतामा छन । दीपक सिंह चार महिनाअघिमात्र हतियार, अपहरण र डकैतिलगायतका मुद्दामा जलेश्वर कारागारबाट छुटेका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरुको नामले मात्रै पनि पुरै महोत्तरी र धनुषा काप्ने गरेको छ । प्रहरी दीपकको गाउँ बथनाहामा छापा मार्ने काम गरेको छ भने घटनामा संलग्न भएको आशंकामा केही व्यक्ति पक्राउ गरेको भए पनि अनुसन्धानमा प्रभाव पर्ने भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
खुल्लासिमाका कारण बढदो असुरक्षा
भारतसँगको खुल्ला सिमाना र दण्डहीनताका कारण सीमाबाट भित्रिने साना हतियार आतङकले मुलुकमा आपराधिक मनोवृत्ति बढ्दै गएको छ । साना हतियारको खुल्ला कारोबार र अपराध प्रवृत्तिलाई दलहरुको आशीर्वाद लाग्ने गरेका कारण हतियार आतङक झाङगिएर गएको हो । प्रहरीले विभिन्न योजना बनाएर नियन्त्रणको पहल गरे पनि अपराध मनोवृत्ति न्यूनीकरण हुन सकेको छैन । यतिबेला प्रहरी(प्रशासनलाई साना हतियार आतङक टाउको दुखाइको विषय बनेको छ । नेपाल(भारत सीमाको १७४७ किलोमिटर लम्बाईको रेखा खुल्ला र कमजोर भनी कहलिएको छ । सन् १९५० को सन्धिपश्चात् राजनीतिक प्रणालीमा समाहित भएको सीमा पृथक छ । राजनीतिक रेखाले दुई देशलाई छुट्टाए पनि त्यस क्षेत्रका बासिन्दाबीचको सामाजिक अन्तरसम्बन्धलाई छुट्टाउन सकिरहेको छैन । बरु उनीहरूले सुरक्षाका नाममा जबर्जस्ती लादिने चुनौतीसँग जुध्दै आएका छन । सीमाबलले दुवैतर्फका बासिन्दाको सामाजिक आर्थिक गतिविधिमा अवरोध पुर्यागउँदा विद्रोहको रुप लिइदिन्छ । केन्द्रको प्रभाव कमै महसुस गर्ने उनीहरूको असन्तुष्टिको गलत फाइदा संगठित आपराधिक समूहहरूले लिनुले समस्या गहिरिएको छ । धनुषा जिल्ला अन्तरगत नेपाल र भारत बिच ४१ किलोमिटरको सिमा छ । उक्त सिमामा सुरक्षाका लागि खास गरी सशस्त्र प्रहरी सुरक्षाबल तैनाथ गरिएको छ । फुलगामा, जटही, धनौजी र खजुरी गरी ४ वटा बोर्डर आउटपोस्ट खडा गरिएको छ । एक जना प्रहरी निरीक्षकको कमाण्डमा ५० जना सशस्त्र प्रहरीबल एउटा विओपीमा खटिएका हुन्छन । यसरी हेर्ने हो भने २ सय जना सशस्त्र प्रहरीबल सिमा सुरक्षाका लागि खटिएको हुन्छ । यसका अतिरिक्त लङग रेन्ज पेटूोलिङका लागि पनि सुरक्षाकर्मी परिचालन हुन्छन तर पनि खुल्ला सिमाका कारण सिमाबाट नेपाल प्रवेश गरेर हुने अपराधी गतिविधि नियन्त्रण हुन सकेको छैन । एक जना सशस्त्र प्रहरी अधिकृतका अनुसार अपराधीलाई पहिचान गर्न पनि गाह्रो हुन्छ भने अपराधीले जहिले पनि प्रहरीलाई छल्दै प्रहरी चेकपोस्ट भएको बाटो प्रयोग नगरी अन्य वैकल्पिक बाटोको प्रयोग गरेको हुन्छ । सुरक्षाकर्मीको संख्या थप्नु पर्ने, चेकपोस्ट थप्नुपर्ने, स्रोत साधन बढाउनुपर्ने, गस्ती पेटूोलिङग का लागि गाडि थप्नुपर्ने र इन्धनको व्यवस्था गर्दा सिमामा सुरक्षा प्रदान गर्न झन सहज हुने उक्त अधिकृतले बताए । 
नेपाल र भारतबीचको सीमामा हुने आपराधिक घटना दुवै देशको साझा समस्या हो । एकको सीमा क्षेत्रमा हुने घटनाको असर अर्को क्षेत्रमा परिहाल्छ । सीमामा हुने सहज आवत्जावत् र विनापासपोर्ट या भिसा पस्न सक्ने अवस्था मात्र मुख्य समस्या होइन । त्यसो हो भने दुवैतर्फ सीमामा तैनाथ सुरक्षाकर्मीले आपराधिक गतिविधिलाई कडा जाँच गरी घटाउन सक्नुपर्ने हो । तर सीमामा सुरक्षाकर्मीको संख्या जति बढाउँदै लगे पनि आपराधिक गतिविधि नघटेको तथ्यांक छ । सीमाबाटै लागुऔषध, हातहतियार, जाली नोट, मानव तस्करीका घटना बढ्दो छ । दुवै देशका लागि यो सतर्क हुनैपर्ने सवाल हो । नेपाल र भारतले खुल्ला सीमा भएर आतंकवादी गतिविधिले प्रश्रय पाउन सक्ने र आन्तरिक सुरक्षामा चुनौती आउने खतरामा सधै जोड दिँदै आएका छन ।
हतियार कसरी नेपाल भित्रिन्छन्
प्रहरी(प्रशासनलाई चुनौती िदंदै हतियार ओसारपसारमा गिरोहहरु नै सक्रिय रहेका छन् । नेपालमा प्रायः अमेरिका इटाली र भारतमा बनेका पेस्तोल भारत हुँदै नेपाल भित्रिने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतको बिहार जोगवनी रक्सौल सीतामढी पटनालगायत ठाउँबाट नेपालको विराटनगर राजविराज भण्टाबारी वीरगाज भएर हतियार नेपाल आउने गरेका छन् । व्यक्ति तथा विभिन्न सामान बोकेका टूकमा हालेर हतियार नेपाल भित्रिने गरेको पाइन्छ । कति त खुलेआम सार्वजनिक यातायातका साधनबाट समेत तस्करहरुले हतियार नेपाल भित्रयाउने गरेको पाइन्छ । प्रहरीले सवारी जाँच गरे पनि हतियार बरामद हुन सकेको छैन । विशेष जाँचको अभावले साना हतियार सजिलै नेपाल भित्रिने गरेका छन् । स्रोतका अनुसार बजारमा पाइने हतियार ३ हजारदेखि १० हजार भारतीय रुपैयाँसम्ममा सीमापार किन्न पाइन्छ । दलालले नेपालमा ठूलो कमिसन खाएर १५ देखि ४० हजार रुपैयाँसम्ममा किनबेच गर्ने गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार ९ एमएमको पेस्तोल ३० हजारमा किनबेच हुने गरेको छ । यस्तै ७ एमएम र ६ एमएमको क्रमशः २० र १५ हजार रुपैयाँमा किनबेच हुने गरेको छ । हतियार कारोबारमा भारतीय र तराईका नागरिक सक्रिय रहेको प्रहरीको भनाइ छ । हतियार आतङकले सर्वसाधारण त्रसित भए पनि प्रहरीको विशेष योजना भने खासै देखिंदैन । तल्लोस्तरका प्रहरीहरु सक्रिय भएर अपराधीलाई पक्राउ गरे पनि राजनीतिक दवाबमा मुद्दालाई कमजोर बनाएर उनीहरु छाडिने प्रवृत्तिले तल्लोस्तरका प्रहरीको मनोबल गिर्ने गरेको उनीहरुले गुनासो पाइन्छ । आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीसँग भने कुनै विशेष योजना छैन । प्रहरीले पुरानै जाँच अप्रेसन प्रक्रियालाई निरन्तरता दिँदै आएको छ । लङ रेन्ज पेटूोलिङ एलआरपी योजनाअन्तर्गत कडाइका साथ जाँच सुरु गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । बढ्दो असुरक्षा र आतंकप्रति प्रहरी सचेत भए पनि खुल्ला सिमानाका कारण भित्रिने हतियार नेपालका लागि चुनौती भएको छ । सीमा नाकाबाट अवैध भित्रिने हतियारबारे सरकार गम्भीर भएर समाधानमा लाग्ने र प्रहरीले जाँचमा कडाइ गर्ने हो भने केही हदसम्म अपराध नियन्त्रण गर्न सकिन्छ ।

No comments:

Post a Comment