Tuesday, April 30, 2013

रोजगारी प्रति नयां मानसिकता बनाऔं


जितेन्द्र चौधरी
मुलुकमा वेरोजगारीको डर लाग्दो तथ्याङ्क छ । दैनिक करिव १ हजारको संख्यामा अदक्ष, अद्र्घदक्ष वेरोजगारहरु क्षणिक रोजगारको निम्ति विदेसिने गरेका छन् । उनीहरुले त्यो क्षणिक रोजगारी पनि महँगोमा किन्नु परेको छ । मलेसिया तथा खाडी मुलुकमा भए करिब एक लाख र अन्य विकसित मुलुकमा भए दशौं लाख सम्मको मुल्यमा रोजगारी किन्नु परेको यर्थाथ कसैको अगाडि छिपेको छैन । दक्षिणी छिमेकीे मुलुक भारतमा रोजगारीका निम्ति छिरेका नेपालीको संख्या यकिन नभए पनि त्यो लाखौंमा रहेको छ । यसरी हेर्दा भारत, मलेसिया, खाडीमुलुक, एशियाका अन्य केही विकसित मुलुक तथा युरोप अमेरिका लगायतका देशमा गरी करिव ७० लाख नेपालीहरु विदेशमा करारमा जागीर गरे पनि ती सबै बेरोजगारी नै हुन् । करार सकिएर स्वदेश फर्किदा उनीहरु पनि विकल्प वीहिन नै देखिन्छन् । कुरा यहाँ वेरोजगारी सम्स्याको छ । यस समस्याको सर्जक को हो त ? त्यो विकराल समस्या सिर्जनामा कसलाई दोष जान्छ ? यसरी दैनिक विदेशिनु पर्ने अवस्था कसरी सृजना भयो त ? विषय गम्भीर छ । यसमा राज्य व्यवस्था, पाठ्यक्रम, स्वयं बेरोजगार व्यक्ति र उसको चेतना प्रमुख हुनसक्छ । यहाँ अधिकतम शैक्षिक वेरोजगारहरु सरकारी विधालयबाट उत्पादित छन् । व्यवहारिक तथा प्राविधिक शिक्षा बाट वण्चित ती शिक्षितहरु शहरमा छ्यापछ्याप्ती छन् । जागीर मागिरहेका छन्, जिउनका निम्ति संघर्ष गरिरहेछन् । भनसुन चल्यो र कृपा आशिर्वादले मिल्यो भने कतिले रोजगारी पाए अन्यथा यहाँ बहुसंख्यक वेरोजगार छन् । दश जना आवश्यक्ता मागेकोमा यहाँ दश हजार जनाको दरखास्त परेको हुन्छ ।
रोजगारीको खोजीमा आउने शिक्षित र अर्धशिक्षितले शहर ढाकेको छ । पढेपछि जागीर खानुपर्दछ भन्ने मानसिकता आम बनिसकेको छ । पढेकाहरु गाँउ बस्नै हुन्न भन्ने मान्यता पनि यो मुलुकमा स्थापित भईसकेको छ । अव्यवहारिक र प्रविधिशुन्य पाठ्यक्रम अनुसार उत्पादित ती युवाहरु शहरमा सिमित कोटाले नगण्यलाई मात्र रोजगारी प्रदान गरेको छ । त्यसमा पनि स्वच्छ प्रतिस्पर्धा र इमान्दार छनौट प्रकृया छैन् । बोलवालाको भनसुन र घुस प्रणालीमा ती रोजगारी भरिएका छन् । बैंक तथा वितिय स्ांस्थाका सिमित आवस्यकतामा प्राविधिक ज्ञानको अभावले प्रतिस्पर्धाबाट हात पार्न सक्नेको संख्या न्युन हुन्छ । ठूलाठूला उधोग, कलकारखाना हामीकहा छैन र भएमा पनि फिट हुने प्राविधिक शिक्षा र ज्ञान यहाँका बेरोजगारहरुमा छैन् । त्यसैले पढेर उच्च शिक्षा लिएका भनिएकाहरु प्नि न्युन कोटीको जनरल वर्कर तथा लेबर भिषामा विदेश गइरहेका छन्, जान बाध्य छन् । विदेश जाने सबैले आर्थिक उन्नति गर्छन् नै भन्ने पनि छैन । कतिले विदेशमै ज्यान गुमाउनु परेको छ । कति अपांग बन्नु परेको छ भने कति अलपत्र परेर गल्ली गल्ली भौतारिन परेको तितो यर्थाथ पनि हामी सँग छ । विदेश जानेहरुबाट आएको रेमिटान्सले मुलुकको सबैभन्दा ठुूलो आर्थिक पाटो धानेको भए पनि विदेशिनेहरुका निम्ति चैन भने छैन । आफ्ना युवाहरुलाई विदेश जान प्रोत्साहन गर्ने र त्यसबाट आएको रेमिटान्सले देश चलाउने दाऊमा राजनीति गर्नेहरुलाई पनि लाज लाग्नुपर्ने हो । आफ्ना कर्मठ युवाहरुलाई देश विकासमा सही ढंगबाट परिचालन गरी उत्पादनशीलतामा अगाडी बढाउनुको अलावा राजनीतिक पार्टीहरुले युवाहरुलाई गलत स्वार्थमा दुरुपयोग गर्ने र राज्यले विदेश जाने मानसिकतालाई बढावा दिने गरेको दुवै लज्जास्पद छ । रोजगारीको अवसर दिन नसक्नु, व्यवहारिक शिक्षा दिन नसक्नु, बेरोजगारी समस्या सृजना गर्नेमा सबैभन्दा बढी दोष राज्य, राज्यव्यवस्था र पाठ्यक्रलाई जान्छ । आफैपनि केहि गर्न सकिन्छ, गाउमा पनि सम्भावना छ, पढेर गाउमै बसेर केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास नभएका, खालि सहरको जागीर खाने जागीरे मानसिकता बोकेका शिक्षित युवाहरुको पनि उतिकै दोष छ । केहि सिमित शिक्षक पेशामा लागेकाहरु बहेक पढेलेखेका युवाहरु गाउमै बसी सिर्जनशील काम गरेको थोरै मात्रामा भेटिन्छ । गाउका अधिकांश मध्यमवर्गका नेपालीहरुको धेरै थोरै आफ्नै नीजि जग्गा भएको पाइन्छ । उनीहरु त्यो आफ्नै जग्गामा आधुनिक र वैज्ञानिक ढंग बाट व्यवसायिक उत्पादनमा लाग्दा आर्थिक उर्पाजन हुन्छ भन्ने आत्मविश्वास सहितको चेतना बोकेको पाईँदैन । चेतना भएका तर आर्दशको रुपमा भाषण मात्र गर्ने र व्यवहारमा उर्तान हिच्किचाउनेहरु पनि सहरमा आफ्नो ठोस पेशा नहुदा अलपत्र नै छन् । देशलाई कृषि प्रधान मुलुक भनेर परिभाषित गरिए पनि खासमा नेपाललाई कृषि प्रधान मान्न सकिने अवस्था छैन् । कृषकहरु आफ्ना निम्ति मात्र आवश्यक खाधान्न पनि उत्पादन गर्न सकेको अवस्था छैन । कृषि पेशामा आश्रित भनिएकाहरुले नै यहाँ खाधान्न किनेर खाइरहेको अवस्था छ । वर्षेनी लाखौं टन बराबरको खाधान्न नेपालले भारत लगायतका मुलुकबाट खरिद गर्नु परेको अवस्था छ । निर्वाहमूखि कृषि सम्म नभएको मुलुकलाई कसरी कृषिप्रधान मुलुक भन्ने ? त्यो मुलुक जसले आफ्नो देशका निम्ति आवश्यक खाधान्न उत्पादन गरेर मुलुक चलाउने आर्थिक आम्दानीका निम्ति अन्य मुलुकलाई खाधान्न विक्रि गर्न सक्छ भने त्यो मुलुकलाई मात्र कृषि प्रधान मान्न सकिन्छ । दैनिक भोकमरी बाट अक्रान्त मुलुकलाई कृषि प्रधान देश भनेर परिभाषित गर्नु पनि अर्को लाजमर्दो अवस्था हो । जागीर खोज्दै हातमा शैक्षिक प्रमाण पत्रको फाइल बोकेर यता र उता भौतारिनु भन्दा सरक्क गाउमा फर्केर सम्मानजनक ढंगबाट व्यवसायिक कृषि र पशुपालनमा लाग्दा हुन्छ । जागिरे मानसिकता त्यागेर अर्थपूर्ण तवरले आफ्नै उपायमा स्वरोजगार बन्ने आँट गर्दा हुन्छ । आम नेपालीको गाउँमा थुप्रै सम्भावना छ । देशले लाखौं टन खाधान्न, मासुजन्य खाधपदार्थ, दुधजन्य खाधपदार्थ, तरकारी, फलफुल आदि कृषिजन्य सामग्री खरिद गरिरहेको अवस्थामा हाम्रा लाखौं वेरोजगार युवाहरु नीजि तथा सामुहिक ढंग बाट संगठित भईगए फर्किएर उत्पादनमा लागिपर्ने हो भने हामी कोही वेरोजगार हुनेछैनौ । शहरको सिमित रोजगारीमा मरिहते गर्नु भन्दा आफ्नै परिवेशमा सम्मानजनक स्वरोजगार अवलम्वन गर्नु बुद्धिमता हुनेछ । यहाँका केहि व्यक्ति तथा समुह प्रति यो भन्न खोजिएको होइन । आम बनिसकेको प्रवृति प्रति भनिएको हो । जसले रोजगारीको सृजना र गाउका विपन्न तथा असक्षमलाई रोजगार दिन सकिन्छ ।




मिति ः २०७०–०१–१५

No comments:

Post a Comment