Sunday, April 7, 2013

अपहरण र हत्याको घटनाले सुन्दरपुर मगरथानामा सन्त्रास


संतोष सिंह   
महोत्तरी सुन्दरपुर(१ मगरथाना टोलमा एक वर्ष भित्र दुई जनालाई अपहरण पश्चात फिरौतिको बार्गेनिङ्ग गर्दै हत्या भएको छ । हत्याको घटनाबाट आसपासको बस्ती  स्तब्ध बनेको छ । गत वैशाख २ गते अपहरणमा परेका सुन्दरपुर(२ का सञ्जय साहलाई ८ दिन पछि बैशाख १० गते भारतीय क्षेत्र भेडियाहीमा फालिएको अवस्थमा सव भेटेको घटनाबाट स्तब्ध मगरथानामा चैत ४ गते जलेश्वरबाट मोटर साइकलमा जनकपुर फर्किदै गरेका सुन्दरपुर(१ का २२ वर्षिय पंकज यादवको अपहरण भएको १५ दिन पछि आइतबार शव भेटेको छ । दुवै युवाको हत्या प्रकरण मिल्दा जुल्दा भए पछि आसपासका क्षेत्रमा पनि घटनाको असर परेको छ । फिरौति लिएर अपहरणकारीले युवकको हत्या गरेको घटनाबाट भारतीय सिमा संग जोडिएको महोत्तरीको ग्रामिण क्षेत्र त्रसित भएको छ । एक वर्षमा दुई युवकको अपहरण पछि हत्या हुने मगरथाना भारतिय सिमाबाट ५ कि.मि दुरीमा रहेको छ । सिमा संग जोडिएको गाउ भएकोले मगरथानामा दुई युवकको लगातार भएको हत्या पछि अपहरण र फिरौतीको चलखेल समान्य बनेको छ ।  अपहरण पछि रात दिन फोन सम्पर्कमा बस्ने अपहरणकारीको पत्ता लगाउन प्रहरी कुनै कसर बाँकी राख्दैनन । तर सफलता भने अझै भेटन सकेको कुनै घटना छैन । अपहरण पछि फिरौती लिएर पनि हत्या गर्नु आट गरि सकेका अपहरणकारी माथि प्रहरीको छाया समेत पर्दैन ।
    महोत्तरीका प्रहरी उपरीक्षक पवन खरेल भन्छन,“ घटना हुनु भन्दा अगाडी नै हुने अपराधको सुराक प्रहरीले पाएको अवस्थामा अपहरीत व्यक्तिलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको थुप्रै उदाहरणहरु छन तर पंकजको घटनामा अपराधीले अपहरण गरेकै दिन हत्या गरेको देखिन्छ । यति सम्म कि धनुषाको टूक धनी किशोरी यादवको हत्या भएको ४ दिन पछि मात्र प्रहरीले अपहरणको खवर पायो । ”कुनै पनि घटना नहुन दिनका लागि अपराधिक समुहमा प्रहरीको गुप्तचर हुनु आवश्यक छ र जोखिम वहन गरेर सूचना दिने व्यक्तिसँग सूचना किन्नका लागि नेपाल प्रहरीसँग न त संयन्त्र छ र न त बजेट व्यवस्था नै भन्दै प्रहरी उपरीक्षक खरेल भन्छन,“ समाजमा अपराध पुर्णतः न्युन गर्न सकिन्न तर प्रहरीले गर्ने भनेको घटित अपराधको सफल अनुसन्धान गरी दोषी व्यक्तिलाई कानुनको कठघरा भित्र उभ्याउन सक्नु हो, र त्यसमा प्रहरी सफल भएको छ ।”
    महोत्तरीको गौशाला नजिक रहेको मगरथानामा राजनीतिक द्वन्द्ध र जातीय विवादले अपराधिक गतिविधि फस्टाउदै गएको छ । यादव र साह बस्ति रहेको यहाँ राजनीति र जातीय द्वन्द उत्कर्षमा छ । सजिलै भारतबाट हतियार ल्याउन सक्ने र अपहरण गरि भारतको भुमिमा राखेर फिरौती माग्न सक्ने मगरथानामा प्रहरीको पहुँच फितलो रहेको स्थानिय बुद्धिजिबिको दावि छ । गौशालामा सजिलै धम्कि दिएर चन्दा संकलन गर्न सक्ने अवस्थामा अपराधिका लागि मगरथाना बिश्राम स्थल बनेको छ ।
    गत वैशाखमा गहुँ दाइ गरी ट्याक्टर लिएर फर्किदै गरेका सुन्दरपुर(२ का सञ्जय साहको परिवार संग अपहरणकारीले रु. ५० लाख फिरौतिमागेका थिए । रकम दिन नसक्ने परिवारले बताए पछि ६ दिन सम्म फिरौतिका लागि अपहरणकारीले बार्गेनिङ्ग गरेका थिए । सातौ दिन ११ लाख रुपैयामा सहमति गरेर अपहरणकारीले भारतमा बोलाए पनि फिरौति लिन आएका थिएन । आठौ दिनमा अपहरणकारीले फिरौति लिएर व्यक्तिलाई सकुशल फिर्ता गरे आफै असुरक्षित हुने भएकोले अपहरणकारीले साहलाई हत्या गरी सिमामा फालेका थिए । हत्या पछि प्रहरीले अनुसन्धानका क्रममा एक पुर्व गाविस सचिव सहित केहिलाई पक्राउ गरी जेल पठाए । साहको हत्यामा संलगनको आरोप लागेका गाउकै केहि प्रतिष्ठित व्यक्ति अझै फरार रहेको छ । राजनीतिक दवावमा घटना दवाउने प्रसाय समेत भएको स्थानियहरुको आरोप छ । साहको हत्या र आइतबार हत्या भएका यादवको घर करिब ५ सय मिटरको दुरीमा रहेको छ । दुबैको हत्यालाई एक अर्का संग जोडे्र स्थानियहरुले व्याख्या गरेका छन् । 
यादवको छिमेकि तरहारी टोलमा वैशाखमै विवाहको हुने टुङ्गो लगेको थियो । दवै पक्षको आनजान भइ सकेको थियो विवाहका लागि मिति मात्र तय गर्न बाँकि थियो काका लक्ष्मण यादवले बताए । यादवको अपहरण पछि घरमा चुल्हो बलेको थिएन । उनको मृत्युको खबर पछि दुई कान्छो भाइ, दिदी , हजुर आमा र फुफु मुर्छित भएका छन् । उनिहरुलाई गाउमै उपचार भइरहेको स्थानिय स्वास्थ्यकर्मी विश्वनाथ यादवले बताए ।
यादव परिवारले अपहरण कारीलाई कोसि आसपासका क्षेत्रमा गएर तीन दिन अघि सात लाख फिरौति बुझाएको स्थानियले बताएका छन् । अपहरण जनकपुरबाट भएकोले अनुसन्धान धनुषा प्रहरीले नै गरेको महोत्तरीमा कुनै जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सुरज खडकाले बताए । यादवको शव महोत्तरीको रातु खोलामा भेटेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment