Sunday, April 7, 2013

६ बुँदे माँग राख्दै दुई कैदीद्धारा आमरण अनशन


 
अजय अनुरागी

महोत्तरीको जलेश्वर कारागारमा दुई कैदी ६ बुँदे माँग राख्दै आमरण अनशनमा बसेका छन । धनुषाको सोनीगामा टिल्ही–८ का ४५ वर्षीय कैदी जगरनाथ यादव गत २२ चैत्र दिनको ११ बजे देखि आमरण अनशनमा बसेका छन । त्यसैगरी धनुषाको नाथपट्टी विसरभोरा –८ का ५० वर्षीय सिंहेश्वर यादव २३ चैत्र दिनको १२ बजे देखि आमरण अनशनमा बसेका छन । छानविन आयोग गठन गरी निर्दोष मानिसलाई यथासिघ्र रिहा गरियोस, पुर्वाग्रही ढंगले कसैलाई कुनै जाल झेलमा पक्राउ नगरियोस, देशभरीका कारागारहरुमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी बन्दीहरुलाई रिहा गरियोस, कारागारलाई सुधारगृहमा रुपान्तरण गरियोस माँग सहित दुई जना कैदी बन्दी कारागारमा आमरण अनशनमा बसेका छन । २०६२ मा कारागारमा आएका जगरनाथ यादव कर्तव्य ज्यान मुद्दामा २० वर्ष र अपहरण मुद्दामा १२ वर्ष कैद सजाय र सिंहेश्वर यादव लागुऔषधको मुद्दामा १० वर्ष कैद सजाय काटिरहेका छन । जलेश्वर कारागारका निमित प्रमुख सोभेन्द्र ठाकुरका अनुसार अनशनबारे महोत्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई जाहेरी गराइसकेका कारण चाँडै अनशन टुटाउन स्थानिय प्रशासन सक्रिय हुनेछ । कर्तव्य ज्यान मुद्दाका सजाय भोगिरहेका महोत्तरी सुन्दरपुर ३ मगरथानाका कुसेश्वर यादव भन्छन,“ क्षमता भन्दा वढी कैदीहरुलाई एउटा कोठामा राखेको कारण एक हातको ठाउँमा सुत्नु पर्दछ, एक जना सुत्दा अर्को जना जागेर बस्नु पर्दछ, यति यातना सहनु भन्दा हामीलाई फाँसी नै दिए हुन्थ्यो ।” कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी विताईरहेका जनकपुर–१० का रतिश कुमार दत्त भन्छन,“ जलेश्वर कारागार सुधारगृह होइन चरम यातनागृह बनेको छ । शौचालय जान लामो लाईन लाग्नु पर्छ, खानेपानीको व्यवस्था छैन, लोडसेडिङ हुँदा अध्यारोमा वस्नुपर्छ ।” कुसेश्वरका अनुसार कारागारमा अधिकांश व्यक्तिहरु निर्दोष छन पछि निर्दोष व्यक्ति जेलबाट बाहिर निस्किए झन खतरनाक अपराधी बन्ने निश्चित छ । द एक्सक्लुसिभ सम्वाददातालाई अनशनकारीहरुको तस्बीर लिन कारागार प्रशासनले प्रतिवन्ध लगाएको थियो ।
कैदिहरुको पिडा र जीर्ण भौतिक संरचना
सामान्यतया एउटा  कोठा भित्र कतिजना बस्न सक्छन होला ? भन्ने प्रश्नको जवाफमा उत्तर आउँन सक्छ  दुई जना ,चार जना, या अधिकतम १० जना । तर जलेश्वर कारागारमा एउटा कोठामा २५ देखि ३० जना सम्म कैदिहरुलाई बस्नु पर्ने बाध्यता छ ।  क्षमताको तीन गुणा भन्दा बढी कैदी बन्दी कोच्चिए पछि कैदीबन्दीको जीवन मानवीय दृष्टिकोणले अत्यन्त कष्टकर बन्दै गएको छ । १ सय ३५ कैदी क्षमता रहेको उक्त कारागारमा धनुषा, महोत्तरी र सर्लाही गरी तीन  जिल्लाका ४ सय २१ कैदी कोच्चिए पछि कैदी बन्दीहरुलाई सुत्न, बस्न, खान तथा दिसा पिसाब गर्नमा कठिनाई भएको छ । अहिले सर्लाहीमा कारागार निर्माण भईरहेका कारण सर्लाहीका कैदीबन्दी पनि जलेश्वर कारागारमै पठाउने गरिएको जेलर सोभेन्द्र ठाकुरको भनाई छ । अन्य अवस्थामा धनुषा र महोत्तरीका कैदी जलेश्वर कारागारमा रहने गर्छन । ३० फिट लम्बाई र १० फिट चौडाई रहेको एउटा कोठामा ५० जना कैदी कोच्चिएपछि एउटा कैदीले सुत्नका लागि डेढ हात बराबर जग्गा मात्र पाउने गरेका छन् । पुरुष तर्फ १०  र महिला तर्फ ४ वटा कोठा उक्त कारागारमा छन् । राणाकालिन समयमा बनेको कारागार अत्यन्तै जीर्ण भएको कारण भुकम्पीय खतरा पनि त्यतिकै छ । कैदि बन्दि रतिश कुमार दत्त भन्छन , ‘ पुरुषका लागि १० र महिलाका लागि २ शौचालय मात्र रहेकाले दिसा–पिसाव गर्न कैदीहरुले लामो लाइन लागेर पालो कुर्नु पर्ने बाध्यता छ । कैदीका लागि खेलकुदको कुनै व्यवस्था छैन् ।’ मनोरञ्जनका लागि केही कैदीले व्यक्गित टेलिभिजन राखेका छन् भने कारागारले पनि टेलिभिजनको व्यवस्था गरेको छ । विजुली–वत्तिको पनि समस्या नै छ । बर्षातकालमा ग्रउण्डमै पानी जम्ने गरेका छन् । जसकारण लामखुट्टेको प्रकोप पनि बढेको छ । ग्राउण्ड अभावकै कारण अगरबती बनाउने, सिलाई(बुनाई गर्ने कैदीहरुले त्यसको प्रयोग गर्न पाइरहेका छैनन् । सुरक्षाकर्मीको निगरानीमा एकतर्फी आगमन टेलिफोनको व्यवस्था गरिएको छ । कैदीलाई खैनी, चुरोट सेवन गर्न छुट दिइएको छ । राज्यले प्रति कैदी ७ सय ग्राम चामल र ४५ रुपैया नगद प्रति दिन उपलब्ध गराए पनि बढ्दो महंगाइका कारण जीवन व्यतित गर्न कष्टकर भइरहेको कैदीबन्दीहरुको भनाई छ । एक जना प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र झाको कमान्डमा २५ जना प्रहरी कर्मचारीको साथै आन्तरिक प्रशासनले कैदीबन्दीहरुलाई सुरक्षा प्रदान गरेको छ । मासिक २ हजार ७ सय रुपैया दिएर कैदीहरु मध्ये नै ४२ कैदीलाई कारागारको आन्तरिक प्रशासनको जिम्मा दिइएको छ । जेलर ठाकुरका अनुसार उक्त कारागारमा हाल ४२ जना कैदीले आन्तरिक प्रशासनको जिम्मा पाएका छन । २५ कैदी मध्ये एक सहनाईके, १० कैदीमध्ये एक भाई नाईकेलाई साउन महिनादेखि १ वर्षको लागि नियुक्तक गरिन्छ । कारागार प्रशासनले कैदी वन्दीलाई बाह्य वातावरणबाट अलग राख्न सकिरहेका छैनन् ।  कैदी बन्दीहरु छतमा चढेर बाटोमा जाने मानिसहरु संग कुराकानी समेत गरिरहेको हुन्छ र बाहिरी दुनियाको प्रत्यक्ष अवलोकन समेत गर्न पाएका छन् । कैदी बन्दीहरुमध्ये चाल(चलन राम्रो भए पछि सजाय माफि(मिनाहाका लागि सिफारिश गरिएकाहरुलाई आन्तरिक प्रशासन तथा कैदीको नाइकेको समेत जिम्मा दिइने गरिन्छ । जेलर ठाकुर भन्छन् ,“६० प्रतिशत भन्दा बढी थुनुवा कैदी बन्दीहरु धनुषा बाटै आउने हुनाले जनकपुरमै कारागार स्थापना भए आधा समस्या आफैं समाधान हुनेछ ।” जलेश्वर कारागारमा अहिले १३५ कैदी संख्या अटाउने कारागारको क्षमता रहेपनि २४ चैत्र सम्म कुल ४२१ कैदी संख्या छन । ४२ जना महिला कैदी छन जसमध्ये ४ बालिका र ५ बालक गरी कुल ९ जना आश्रित बालबालिका रहेका छन । कारागारमा १८ देखि २५ बर्ष सम्मको उमेर समुहका ६० प्रतिशत अविवाहित यूवाहरु छन् । पानी, शौचालय, खुला हावा र अन्य दृष्टिले पनि जेल उपयुक्त छैनन् । कैदिहरु चौपाया जस्तो बस्न बाध्य भएका छन् क्षमता भन्दा बढि कैदिहरु भए पछि कारागार भित्र बिभिन्न किसिमका रोगको प्रकोप बढन थालेका छन् । यति मात्र होइन यहाका कैदिहरुको खानपान, रहनसहन, र बाताबरण फोहर भएकाले छालाको रोग, झाडापखाला, उच्च रक्तचाप जस्ता रोगीहरु देखिन थालेका छन् ।
कारागार भित्र रहेको बन्दि कैदिहरु पनि मानब हो । यीनिहरुको पनि मानबाधिकारको संरक्षण गर्नु पर्छ भन्ने राज्यले कतै ध्यान दिएको छैन । अर्को कुरा एकै प्रकृतीका थुप्रै कैदिहरु भएको हुनाले कारागार पनि त्यति धेरै सुरक्षित छैन । कारागार जिर्ण भएका कारण केहि अप्रिय घटना भयो भने धेरै क्षती नहुन सक्छ भन्न सकिन्न ।





No comments:

Post a Comment