Wednesday, April 13, 2016

सशस्त्र समुहलाई ध्वस्त पार्दै धनुषा प्रहरी चेतावनी दिने सैन्य कमाण्डर पक्राउ, धर्ती सिंह अझै फरार

धनुषा प्रहरीको मोस्ट वाण्टेड
 सूचिमा रहेका फरार अभियूक्त
 धर्ती सिंह भनिने चन्द्रदिप यादव ।

अजय अनुरागी
जनकपुरधाम............

अत्यन्तै आक्रामक र खतरनाक देखिन खोजिएको चन्द्रदिप यादवले नेतृत्व गरेको सशस्त्र समुहका प्रमुख सुटर सहित सैन्य कमाण्डर र कार्यकर्ताहरुलाई धनुषा प्रहरीले एक पछि अर्को गरी निरन्तर पक्राउ गरेर उक्त समुहको संजाल नै ध्वस्त पारिदिएको छ । पछिल्लो समयमा जारी मधेस आन्दोलनमा अचानक सतहमा आएर जुर्मुराउन खोजेको उक्त समुहबाट सुरुमा धनुषा प्रहरी अत्यन्तै सचेत देखिए पनि उसका प्रायः जसो मुख्य मानिसहरुलाई धनुषा प्रहरीले कानुनको पासोमा अल्झाएर उक्त समुहको गतिविधि लगभग निस्तेज पार्न सफल भएको छ ।
पक्राउ गर्न चेतावनी दिएको ७ दिन नवित्दै धनुषा प्रहरीले सशस्त्र समुहका एक जना सैन्य प्रमुख सहित दुई जनालाई पक्राउ गरी सशस्त्र समुहले दिएको चुनौतीलाई स्वीकार गरेको देखिन्छ । धनुषा प्रहरीले धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामको भुमिगत संगठनका सैन्य प्रमुख पृथ्वी सिंह भनिने कैलाश ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ६ का ठाकुरलाई धनुषा प्रहरीले ९ चैत्रमा पक्राउ गरेको हो ।
मधेसी जनतामाथि खस पहाडी शासकले गुलामी गर्दै आएकाले मधेसका यूवाहरुले हतियार उठाउन बाध्य भएको तथा स्थानीय प्रशासनले मधेसमा मानव अधिकारको गम्भीर उल्लंघन गरिरहेको बताउँदै उक्त पार्टीका सेना कमाण्डर भनिने कथित पृथ्वी सिंहले आफुहरुको टाईगर सेनालाई समातेर देखाउन स्थानीय प्रशासनलाई चुनौति दिएको थियो । उक्त पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंह समेतले चेतावनी सहित जारी गरिएको अपिलमा टाईगर सेनालाई स्थानीय प्रशासनले समातेर देखाओस अनि मात्र थाहा लाग्ने छ कि मधेसी बीरहरु कति क्रान्तिकारी योद्धा हुन देखाईदिने अपिलमा चेतावनी दिइएको थियो ।
गत पुष २८ गते सिरहाको सिरहा स्थित गोपाल पेटूोल पम्पमा बम विस्फोटन गराएको, गत माघ २२ गते धनुषाको बालाबाखर ४ स्थित राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको, गत माघ २३ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजारका नसिम राइन र पोर्ताहामा रामशोगारथ महत्तोलाई गोली हानी घाइते बनाई विभिन्न घटनाहरुका साथ संचार माध्यमहरुमा फोन गरी उक्त घटनाहरुको जिम्मा लिएको तथा विभिन्न व्यक्तिहरुलाई धाक धम्की दिई अवैध चन्दा तथा फिरौती असुली गर्ने गरेको धनुषा प्रहरीले ११ चैत्र २०७२ मा पत्रकार सम्मेलन गरी पक्राउ परेका ठाकुरसँगै उनका अपराधका अभियोगहरु सार्वजनिक गरेका थिए ।
धनुषा प्रहरीका अनुसार पक्राउ परेका ठाकुर धनुुषाको राजेन्द्र यादवलाई गोली हानी हत्या गर्ने तथा विरेन्द्र बजारका नसिम राइन समेतलाई गोली हानी घाइते बनाउने घटनाहरुमा प्रमुख सुटरको भुमिका निर्वाह गरेका छन् । उक्त संगठनका तत्कालिन सैन्य प्रमुख अजय भनिने रामरिझन यादव गत फागुन ६ गते पक्राउ परेपछि पृथ्वी सिंह भनिने कैलाश ठाकुरले सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको थियो । उनी  पक्राउ पर्दा उनीसँग एक थान पिस्तोल, सो को म्याजिन एक थान र सात राउण्ड गोली समेत बरामद गरेको थियो । त्यसैगरी सोही समुहका सिरहा भेडिया गाविस वडा नम्बर ३ का ३० बर्षिय विनोद यादव भनिने कारी यादवलाई समेत धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनी जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका कार्यकर्ता तथा आवश्यक हात हतियार ओसार पोसार गर्ने भुमिका निर्वाह गर्ने गरेको प्रहरीको दावी छ । गोली हानी हत्या गर्ने तथा बम विस्फोट गराउने लगायतका घटनामा आवश्यक पर्ने हात हतियार तथा गोला बारुदहरु ओसार पोसार गर्ने, अवैध चन्दा तथा फिरौती संकलन गर्ने लगायतका कार्यमा संलग्न रहेको प्रहरीको दावी छ । यस अघि धनुषा प्रहरीले उक्त समुहका सैन्य प्रमुख अजय सिंह भनिने सिरहा राजपुर १ का २४ बर्षिय रामरिझन यादव लाई फागुन ९ गते, सोही मितिमा उक्त समुहका कार्यकर्ता सिरहा मिर्चैयाका २९ बर्षिय बेचन पासवान, सिरहा राजपुरका जसलाल यादव, गणेशमान चारनाथ २ का २४ बर्षिय दिलिप भनिने शुभनारायण यादव र नागे साहलाई फागुन २ गते, माघ २८ गते अनिल डाक्टर भनिने जोगिन्द्र महत्तो र धनुषाधामका प्रमोद कुमार पुर्वेलाई पक्राउ गरी कानुनको दायरामा ल्याई संगठित अपराध लगायतका मुद्दाहरुमा अनुसन्धान चलाईरहेको छ ।
पृथ्वी सिंह सबैभन्दा खतरनाक
 पृथ्वी सिंह भनिने कैलाश ठाकुर पक्राउ गर्न सफल भएपछि धनुषा प्रहरीको मनोवल बढेको देखिन्छ । हुन त ठाकुर जातीले बरही समुदायका भएका कारण फर्निचरमा काम गर्थे । करिब ५ बर्ष अघि एमाओवादीमा लागेका तत्कालिन सिरहाका वाइसिएल इन्चार्ज श्रवण यादवलाई मिर्चैयाको प्रहरी चौकी नजिकै गोली प्रहार गरेर उनले आफ्नो अपराध कर्मको आगाज गरेका थिए । लगतै सिरहा प्रहरीले उनलाई पक्राउ गरी अदालतमा उभियाउँदा १५ बर्षको नाबालक भएका कारण रिहा भएका थिए । उनी त्यसपछि हतियार प्रति झन् आकर्षित हुँदै गए ।
भारतको खजौलीमा एक जनासँग उनले हतियार चलाउने सामान्य प्रशिक्षण लिएको भएपनि वियरको बोतलहरु राखेर हतियारले निशाना लगाउने निरन्तर अभ्यास गरेपछि उनी हतियार चलाउने कार्यमा पोख्त भए । माओवादीको दवदवा रहेको सिरहाका माओवादी नेता श्रवण यादवलाई गोली चलाएको व्यक्तिको पहिचान भएपछि धर्ती सिंह भनिने चन्द्रदिप यादवको आँखा कैलाश तर्फ पुगेको पाइन्छ । त्यसपछि चन्द्रदिपले आफ्नो मान्छे लगाएर उनलाई निगेटिभ मनोबल बढाउने काम गरेको बताइन्छ । धनुषा प्रहरीले गरेको अनुसन्धानबाट के देखिएको छ भने काम चाहिन्छ भनेर कैलाश चन्द्रदिपकोमा नगएर चन्द्रदिप नै आफै कैलाशलाई मोटिभेट गरेर आपराधिक क्रियाकलापमा लगाएको देखिन्छ । टिन एजर भएका कारण हतियार चलाउन जान्ने भएपछि ती आपराधिक समुहहरुमा पनि छुट्टै इम्प्रेशन र आकर्षणको केन्द्र विन्दु बन्न पुगे कैलाश ।
पछिल्ला घटनाहरुमा पनि कैलाश नै सुटर भई काम गरेको र कसैलाई पनि गोली हान्न नहिचकिचाउने आँटका कारण उक्त समुहमा उनी सबैभन्दा बढी खतरनाक रहेको प्रहरीले अनुसन्धानमा पाएको छ । कैलाश जहिले पनि बाटोमा हिड्दा सकभर दुईवटा पेस्तोल बोक्ने नभए एउटा पेस्तोल बोक्ने बानी नै थियो । कैलाश र रामरिझन दुई जना उक्त समुहका लागि सबैभन्दा महत्वपुर्ण र खतरनाक व्यक्ति थिए । तँ त खतरा छस्, क्या निशाना छ तिम्रो, तैले गर्न सक्छस भन्दै चन्द्रदिपले कैलाशलाई मोटिभेट गर्दै विभिन्न पटाखा तथा साना बमहरु पड्काउन उक्साएपछि कैलाश पनि ती कामहरुमा नड्राईकन लाग्न थालेको हो । प्रहरी अनुसन्धानबाट के पनि खुलेको छ भने चन्द्रदिप यादव आफै पनि दुवर््यसनी हुन । पक्राउ परेकाहरुसँग प्रहरीले गरेको अन्तरक्रियाबाट खुलेको कुरा के हो भने चन्द्रदिपलाई एक दिनमा कम्तिमा पनि ५ वटा करेक्स चाहिन्छ । अनि अरु केटाहरुलाई पनि करेक्स र ट्याब खुवाउन लगाउने र विभिन्न आपराधिक क्रियाकलापहरुमा परिचालन गर्ने गरेका छन् । विगतमा माओवादीका मुद्दाहरु समेत फिर्ता भएकाले आफु राजनीतिमा समेत लागी नेता भएका कारण सबै मुद्दाहरु फिर्ता हुने नै छन् त्यसकारण तिमीहरु नडराईकन गतिविधीमा लाग भनेर यूवाहरुलाई उनले गुमराह गर्ने गरेको धनुषा प्रहरीको विश्लेषण छ । अब आफुहरुले यत्रो घटनाहरु घटाएका छौं, सशस्त्र समुह पनि खोलेका छौं, अब गोइत र ज्वाला सिंह सँग पनि सहकार्य गर्नु पर्छ र चाँडै बैठक समेत हुनेछ भनेर आफ्ना कार्यकर्ताहरुलाई चन्द्रदिपले भन्ने गरेको कैलाश ठाकुरले प्रहरीलाई बताएका छन् । चन्द्रदिप यादव आफै मास्टर माइन्ड नभई म र रामरिझनले भने अनुसार नै विभिन्न घटनाहरु बारे योजना बनाउने गरेका थियौं, कैलाशले प्रहरीलाई बताएका छन् । चन्द्रदिप अब शक्तिशाली नरहेको तथा धेरै मानिसहरु पक्राउ परिसकेकाले अब उनी धेरै कमजोर भईसकेको समेत प्रहरीलाई बताएका छन् ।
अपराधलाई ढाकछोप गर्न राजनीतिक आवरण
नेपाली कांग्रेसको धनुषा अधिवेशन भईरहेकै बेला कांग्रेसका कार्यकर्ताहरु माथि गोली प्रहार गरी आफ्नो समुहको उपस्थिति देखाउन खोजेपनि ती घटनाहरुको उद्देश्य भने राजनीतिक नभएर विशुद्ध आपराधिक रहेको भन्दै धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशी भन्छन,“ ती समुहले सुरुमा मधेस आन्दोलनको मौका छोपी आपराधिक क्रियाकलापलाई सशस्त्र समुहको आवरण दिई राज्यलाई गुमराह गर्न खोेजेको देखिन्छ । तर, बास्तवमा भन्ने हो भने ती समुह भनेको कुनै पनि राजनीतिक उद्देश्यका लागि नभएर विशुद्ध आपराधिक गतिविधि गर्ने, जनमानसमा भय त्रास उत्पन्न गराई धाक धम्की मार्फत अवैध चन्दा तथा फिरौति असुली गर्ने आपराधिक समुह नै हो । त्यसैले तिनीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याईएको हो ।”
कुनै पनि घटना हुँदा मान्छेमा कौतुहलता र जिज्ञासा हुन्छ, अनुसन्धान बास्तवमा भन्ने हो भने निरन्तर चलिरहने प्रक्रिया हो, लामो समय पनि लिन सक्छ भन्दै जनकपुर अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाह भन्छन,“ अपराध र अपराधि हमेशा समाजमा छिपेर रह्न सक्दैन, केही क्षणको लागि छिप्न सकेपनि अन्ततः एक्सपोज हुनै पर्छ र हुन्छ पनि । अन्ततः अपराध कर्मको फल सँधै तितो हुन्छ । दुष्कर्मको परिणती जसमा तिनीहरु संलग्न हुन्छन् उसले बेहोर्नै पर्छ । धनुषामा पनि ती समुहहरुले विभिन्न आपराधिक क्रियाकलाप गरी समाजमा आतंक मचाईरहेका थिए । तर, अन्ततः प्रहरीको अनुसन्धान टिमको अथक प्रयास स्वरुप आज ती अभियूक्तहरुलाई कानुनको कटघरामा ल्याउन नेपाल प्रहरी सफल भएको छ । बाँकी अपराधिहरु पनि छिट्टै कानुनको कठघरामा हुनेछन् ।”
को हुन चन्द्रदिप यादव ?
धनुषाको भरतपुर गाविस ८ तथा हाल गणेशमान चारनाथ नगरपालिका(२ राधापुरका बासिन्दा हुन  चन्द्रदिप यादव । उनी अहिले सशस्त्र समुह जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष हुन । प्रहरीको मोस्ट वाण्टेड सूचिमा उनी छन् । सुरुमा उनी मधेस केन्द्रित राजनीतिक दलमा आवद्ध थिए । २०६२÷०६३ साल तिर प्रथम मधेस आन्दोलन हुँदा मधेसी जनअधिकार फोरम नेपालमा धनुषा जिल्ला सदस्य थिए । पछि फोरम लोकतान्त्रिकमा उनी जिल्ला सदस्य भए । तर, संजय साहले छुट्टै मधेस क्रान्ति फोरम गठन गरेपछि उनी फोरम लोकतान्त्रिकमै रहि जिल्ला उपाध्यक्षको भुमिका पाएका थिए । उनी पार्टी भित्र जे जस्तो भुमिकामा रहेपनि संजय साहको अत्यन्तै विश्वाशिलो पात्र मानिन्थे । पार्टी भित्र उनी दवंग छविका रुपमा चिनिन्थे । उदाहरण स्वरुप मधेसी फोरमको भातृसंगठन यूवा संघ धनुषाको जिल्ला अधिवेशन हुँदा उनी आफ्नै नेतृत्वमा उमाशंकर अरगरिया खेमाका कार्यकर्ताहरुलाई कुटपिट गरेका थिए । फोरम लोकतान्त्रिकमै रहेका अर्का सदस्य पवन मण्डल काठ तस्करी गर्ने कार्यमा उनको साझेदार रहेको के बाट पनि पुष्टि हुन्छ भने जिल्ला बन कार्यालय धनुषाले अवैध काठ तस्करी गरेको आरोपमा चन्द्रदिपका दुई पटक काठ सहित टूयाक्टर समातेका थिए । यसका अतिरिक्त राजनीतिमा हुँदै उनी जग्गा कारोवारी समेत बनेका थिए । खासगरेर राजमार्ग तर्फ जग्गा किनबेच गर्ने काम गर्थे । तर, जब संचार उद्यमि अरुण सिंघानिया हत्याको अभियोगमा घटनाको जिम्मेवारी लिने अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परे तब देखि उनी फरार रहेको प्रहरी बताउँछन् ।

धनुषा प्रहरीको मोस्ट वाण्टेड
 सूचिमा रहेका फरार अभियूक्त
 धर्ती सिंह भनिने चन्द्रदिप यादव ।
सैन्य प्रमुख तथा प्रमुख सुटर पृथ्वी सिंह भनिने कैलाश ठाकुर प्रहरी हिरासतमा ।

२०७२ चैत्र १४ गते आईतबार

No comments:

Post a Comment