Wednesday, April 13, 2016

बाल विवाह विरुद्ध रिन्कु ठाकुरको साहाशिक विद्रोह

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
वीरगन्ज छपकैया १ का नागेन्द्र ठाकुरले छोरी रिंकुलाई भारत घोडासनका एक युवकसँग विवाह  गरिदिन खोजे । त्यसका लागि मिति पनि तय भयो( बैशाख १३ गतेको लागि । तर, विवाहमा छोरीको स्वीकृति थिएन । आफ्नो सहमति बिनै परिवारले विवाहको मिति तय गरेपछि रिंकु प्रहरीको शरणमै पुगिन् । जबरजस्ती परिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी प्रहरीसम्म पुगेपछि बुधबार रिंकुको उद्दार भएको छ ।
१८ वर्षीय रिंकु ठाकुरले आफ्नो सहमतिबिनै घरपरिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी दिएपछि उनलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रिंकुले प्रहरीमा उजुरी दिएपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरिक्षक राजुवाबु श्रेष्ठ , प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटी , माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीको सहितको टोली उनको घरमा पुगेको थियो ।
वीरगन्जस्थित रेडियो तराईमा समाचार वाचिका रहेकी रिंकुले घरपरिवारले जरबजस्ती विवाह गरिदिन खोजेकाले आफू प्रहरीसम्म पुगेको बताइन् । वीरगन्जमा परिवारले तय गरेको विवाहलाई सन्तानले यसरी अस्वीकारै गरि प्रहरी सम्म पुगेको पहिलो घटना भएको बताइन्छ । कक्षा १२ मा अध्ययनरत रिंकुका अनुसार केटाले मात्र ७ कक्षा पढेका छन् । आफू कलिलो उमेरमै विहे गर्ने पक्षमा नरहेको र बिहे गरिदिन लागिएको केटा समेत योग्य नभएको भन्दै उनले आफू तराई मधेसमा हुने यस्ता जबरजस्ती विवाह र बाल विवाहको विरुद्धमा रहेको बताइन् । ‘मेरो उमेर पनि भएको छैन , म अझै पढ्न चाहन्छु , अहिले म विहे गर्दिन भनेर धेरै रोइ कराइ गरे’ रिंकुले भनिन्, ‘ तर, मलाइ घरमै बन्धक पनि बनाएर राखियो , शारिरिक र मानसिक यातना पनि दिइयो ।’
यसरी जबरजस्ती विहे गराइदिने निश्चित भएपछि विद्रोह नै गरेर आफूले घर छाडेको भन्दै उनले भनिन् ,‘ मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा विहे गर्ने विकृति धेरै छन् , अब पनि कति सहने भनेर नै मैले आज यो कदम उठाएकी हुँ ।’ उद्दार गरिएकी रिंकुलाई माईती नेपाल वीरगन्जको जिम्मा लगाईएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । उनल रिंकु जस्तै अन्य युवतीहरुले पनि समाजमा विकृतिको रुपमा रहेको बाल विवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ता खाले विकृति न्यूनिकरण गर्न सकिने बताए ।
माईती नेपालको संरक्षणमा राखिएकी रिंकुको हेरचाह र सम्पूर्ण खर्च माईती नेपालले नै गर्ने माईत नेपालकी संयोजक संगीता पुरीले बताइन् । मधेस तराईका धेरै किशोरीहरुको अभिभावकको दबावका कारण विवाह हुने गरेको अवस्थामा यस्ता घट्ना बाहिर आएपछि समाजमा विस्तारै सचेतना फैलिने संयोजक पुरीले बताइन् । मधेसमा उमेर नपुग्दै विवाह गरेपछि केटीले भोग्नुपर्ने जटिलता उनले नजिकबाट नियालेकी थिइन् । बेमेल विवाहले समाजमा देखिएका विकृतिबारे बेखबर थिइनन् । वीरगन्ज २ छपकैयाकी १९ वर्षीय रिन्कु ठाकुरका साथीहरू परिवारको करकापमा कलिलैमा वैवाहिक बन्धनमा बाँधिएका थिए र पछुतो व्यक्त गर्थे । उनले आफूले यस्तो नियति भोग्नुपर्ला भनेर कल्पनासमेत गरेकी थिइनन् । अध्ययन सकेर आत्मनिर्भर बनेपछि मात्र विवाह गर्ने उनको चाहनाविपरीत परिवारले विवाह तय गरे । इच्छाविपरीतको निर्णयमा विद्रोह गर्दै ठाकुरले बुधबार बिहान घरै छाड्ने कठोर निर्णय लिएकी छन् । परिवार र छिमेकीले उनलाई रोक्न अनेक प्रयास गरे । तर, उनले आफ्नो भविष्य र समाजमा फैलिएको विकृतिविरुद्ध लड्न बाहिरिने निर्णय लिएको प्रतिक्रिया दिइन् । ‘बुबा नागेन्द्रले विवाह गर्नैपर्ने नत्र घर छाड्नुपर्ने धम्की दिनुभयो,’ उनले कान्तिपुरसित भनिन, ‘मसँग अर्को विकल्प थिएन ।’
१२ कक्षा उत्तीर्ण उनको बिहे अगामी वैशाख १३ मा भारतको सीमावर्ती घोडासहनका सात कक्षा मात्र अध्ययन गरेका युवकसँग तय भएको थियो । दाइजोका लागि तय भएको एक लाख ८० हजारमध्ये उनका बाबुले एक लाख ३० हजार रुपैयाँ केटा पक्षलाई बुझाइसकेका छन् । उनले घर छाड्दा आफनाबारे अनेक नकारात्मक कुरा बाहिर आउन सक्ने बताइन् । ‘कोहीसँग प्रेममा परेर घर छाडेको होइन,’ उनले भनिन, ‘महिलामाथि हुने सामाजिक विकृतिविरुद्ध आवाज उठाउनलाई हो ।’ तराईका समाजमा अझै जबरजस्ती विवाह, दाइजो, लेनदेन र विरोध गर्दा यातना सहनुपर्ने समस्या रहेको उनले बताइन् । ‘घर परिवारको इज्जत जाने डरले समाजमा बोल्न सकेका छैनन,’ उनले भनिन, ‘अरू केटीले रुनु नपरोस् भनेर मैले संघर्ष थालेकी हुँ ।’
उनको बुझाइमा मान्छेले यसलाई अहिले नकारात्मक लिएका छन् । ‘तर, मैले घर छाडेको हुँ, समाज होइन,’ उनले दृढता व्यक्त गरिन, ‘महिला सशक्तीकरणमा सबैको सहयोग आवश्यक छ ।’ अध्ययन र कामलाई जारी राख्ने उनले बताइन् । विवाह रोक्न उनले पटकपटक परिवारमा आवाज नउठाएकी होइनन् तर त्यो सफल भएन । उनी स्थानीय एफएमकी सामाचारवाचिका हुन् । आफ्ना अभिभावकलाई सम्झाइदिन भन्दै माइती नेपालमा निवेदन पनि दिएकी थिइन् । त्यहाँबाट पनि सम्भव नभएपछि उनी वडा प्रहरी बिर्ता हुँदै जिल्ला प्रहरीसम्म पुगिन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले रिन्कुका बुबा र आफन्तलाई गत शुक्रबार कार्यकक्षमा बोलाएर खुला छलफलसमेत गराएका थिए ।
‘छोरीले पढ्न चाहेकी छे, पढ्न दिनुस, अहिले विवाह गर्ने उमेर पनि भएको छैन, छोरीले अहिले विवाह गर्न मानेकी छैनन्’ भनेर सम्झाएको एसपी श्रेष्ठले बताए । तर, ठाकुर मानेनन् । प्रहरी कार्यालयबाट फर्किएका उनले छोरीलाई चार दिनसम्म घरमा थुनेर राखे । एसपी श्रेष्ठका अनुसार अवस्था बुझ्न मंगलबार साँझ घरमा प्रहरी पठाउँदा रिन्कुले ‘मलाई यहाँबाट लिएर जानुस्, म यो घरमा बस्दिनँ’ भनिन् । ‘सञ्चारकर्मी, माइती नेपाल र प्रहरी मिलेर राति नौ बजेसम्म परिवारलाई सम्झाउन खोज्यौं तर सफल भएनौं,’ एसपी श्रेष्ठले भने । रिन्कुको चाहनाबमोजिम बुधबार बिहान घरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको श्रेष्ठले बताए । तराईमा सानैमा छोरीको बिहे गरिदिए धेरै लगानी गर्नु नपर्ने र दाइजो कम दिए पुग्ने भएकाले कम उमेरमा बिहे प्रचलन व्याप्त छ । महिला तथा बालबालिका कार्यालयले अघिल्लो वर्ष गरेको जिल्लाका महिलाको लैंगिक हिंसासम्बन्धी अध्ययनले ७५ प्रतिशत हिंसा बालविवाह, बेमेल विवाह र त्यसको असरका कारण भएको देखाएको छ । चिकित्सकका अनुसार सानै उमेरको विवाहले शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पर्छ । छिट्टै सन्तान जन्माउँदा रोगी तथा शारीरिक र मानसिक रूपमा कमजोर हुने गरेका छन् । पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग र फिस्टुलाको समस्या देखिने गरेको छ ।


२०७२ चैत्र २८ गते आईतबार

No comments:

Post a Comment