Wednesday, April 13, 2016

सिंघानिया हत्याको प्रमुख योजनाकार निलम्बित सांसद संजय ः धनुषा प्रहरी

चनरदिप यादवलाई संजय साहले नचिनेको बयान दिएका छन् तर धनुषा प्रहरीले दायाँबाट क्रमशः तत्कालिन एसपी सर्बोन्द्र खनाल,
 संजय साह र चनरदिप यादव खेलकुदको एक कार्यक्रममा सँगै 
उभिएको तस्विरलाई पनि चनरदिप र संजय बीच चिनजान
 रहेको पुष्टि गर्न खोजेको छ ।
अजय अनुरागी
जनकपुरधाम............
संचार उद्यमि तथा व्यवसायी अरुण कुमार सिंघानिया हत्याको मुख्य योजनाकार कारागारमा थुनामा रहेका निलम्बित सांसद संजय कुमार साह नै रहेको धनुषा प्रहरीले गरेको अनुसन्धानबाट तथ्य खुलेको छ । ५ जनाको ज्यान जाने गरी जनकपुरको रामानन्द चौकमा गराइएको बम विस्फोटनका समेत मुख्य योजनाकारको रुपमा मुद्दाको अनुसन्धानको क्रममा धनुषा जिल्ला अदालतको आदेशबाट हाल नख्खु कारागारमा थुनामा रहेका साह फेरी सिंघानिया हत्यामा तानिएका छन् । १७ फागुन २०६६ मा जनकपुरको शिव चौक स्थित अन्दाजी बेलुकी साढे ६ बजे समयमा सिंघानियालाई मोटरसाइकलमा आएका हतियारधारी समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।
हत्याको कारण
२०६५ साल भदौ १४ गते रामानन्द यूवा क्लब जनकपुरका अध्यक्ष जिवनाथ चौधरीको घरमा डकैती भएको अभियोगमा पक्राउ परेका आरोपी भरत झाले पत्रकार सम्मेलनमा तत्कालिन सभाषद संजय साह र तत्कालिन प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडे डकैतीमा संलग्न रहेको भनि दिइएको बयान रेडियो टुडेले प्रत्यक्ष प्रशारण गर्नुका साथै स्थानीय जनकपुर टुडेमा समेत समाचार प्रकाशित भएको थियो । उक्त घटनामा संजय कुमार साहको नाम पटक पटक आएपछि आफ्नो बदनामी हुने कारणले आफ्नो नाम घटनासँग नजोडिदिन तथा पत्रिकामा नछाप्न प्रकाशक अरुण सिंघानियालाई पटक पटक आग्रह गर्दा पनि समाचार नरोकिएपछि साहका समर्थकहरु सहितको समुहले जनकपुर टुडेको कार्यालयमा गई तोडफोड गर्दै ज्यान मार्ने धम्की समेत दिएपछि सिंघानिया र साह बीच विवाद देखिएको प्रहरीले कारणको रुपमा देखाएको छ ।
अरुण सिंघानियालाई जति सुकै सम्झाउँदा पनि मान्न तयार नभएपछि साहले आफ्नो निकट सहयोगी राम विनोद यादव र चनरदिप यादवलाई आफ्नो घरमा बोलाई अरुण सिंघानियाले पार्टीको नाम खराव गरेको छ, यसलाई मार्नु पर्छ, यसका लागि मानिसहरु खोज १० लाख रुपैयाँ दिन्छु भनेर संजय साहले भनेको प्रहरीले बताएको छ । सिंघानियालाई मार्ने योजनाबारे संजय साहको कदम चौक स्थित उनको नीजि घरको छतमा चनरदिप र रामविनोद यादवसँग तीन पटक सम्म छलफल गरेको चनरदिप यादवले प्रहरी समक्ष बयान गरेको छ । चनरदिपले एकलाल सहनी मार्फत पवन लामा र मनक लामा, विजय भनिने दिपेन्द्र कुशियैत गरी ४ जनालाई सिंघानियाको हत्या गर्नका लागि ५ लाख रुपैयाँमा तय गरेको बताइन्छ । योजना अनुसार सिंघानियालाई हत्या गर्नका लागि होली पर्वका दिन २०६६ साल फागुन १७ गते सुटरहरु जनकपुरमा आईसकेपछि कहाँ बस्ने भनेर चनरदिपले संजय साहलाई फोन गरि सोध्दा रामा होटेलमा बस्ने व्यवस्था मिलाइएको छ, कोठा नम्बर १०३ मा बसाउ भनेर संजयले जवाफ दिएपछि योजना अनुसार जनकपुरको रामा होटेलको रुम नम्बर १०३ मा चनरदिप यादव, एकलाल सहनी, पवन लामा, मनक लामा र दिपेन्द्र कुशियैत गरी ५ जना जम्मा हुन्छन् । त्यहाँ जम्मा भईसकेपछि तत्काल केही रकम चाहियो भनेर माग्दा संजय साह र राम विनोद यादव रामा होटेल अगाडी गएर चनरदिप यादवलाई होटेलको तल बोलाएर खाजा खर्च, होलीका लागि लत्ताकपडा किन्न तथा रंगरोगन किन्नका लागि ३० हजार रुपैयाँ दिनुका साथै राम विनोद यादवले नाइन एमएम पिस्टलको दुईवटा कट्टा र गोली सहितको सानो झोला दिन्छन् ।
 
चनरदिप यादव र संजय साह बायाँ देखि क्रमशः एउटा कार्यक्रममा एकै साथ
उक्त दिन सिंघानिया कहाँ कहाँ के के गरिरहेका छन् भन्ने कुराको चनरदिप, राम विनोद लगायतले निगरानी गर्ने काम गर्दछ । चनरदिप यादव र सुटरहरु समेतलाई भानु चौकमा बोलाई राम विनोद यादवले सिंघानियालाई चिनाई दिने काम गर्दछ । हत्या गर्नु भन्दा अगाडी होटेलको कोठामा नै एकलाल, मनक, पवन, दिपेन्द्र र चनरदिप होली खेली अविर रंग लगाई दिपेन्द्र कुशियैतको बाइकमा चनरदिप यादव बसि गएको र भानु चौकमा पुगेर राम विनोदले सिंघानियालाई चिनाई दिएको चनरदिपले बयान गरेको छन् । घटना गर्ने बेलामा संजय साह कदम चौक स्थित आफ्नै घरमा बसेको तर घटना स्थलमा नगए पनि फोन मार्फत कुराकानी भईरहेको  बताएका छन् ।
चनरदिपका अनुसार घटना हुने बेलामा चनरदिप आफै शिव मन्दिरको पछाडी बसेका थिए भने राम विनोद भने शिव चौक भन्दा अलि तल कदम चौक जाने बाटोमा थिए । सुटरहरु शिव चौक स्थित एउटा पान पसल नजिक मोटर साइकलमा आई बसेका हुन्छन् । होली खेलेर सिंघानिया शिव चौकमा आउने वित्तिकै मनक लामाले सिंघानियालाई होली खेलिरहेको अवस्थामा भिडमा छिरी नजिकैबाट गोली प्रहार गरेर हत्या गरेको थियो । चनरदिपकै बयानका अनुसार गोली प्रहार गरि मनक लामा पवन लामाको बाइकमा चढी गंगा सागरको बाटो हुँदै गंगा सागरको छेउमा पुगि गोली प्रहार गरेपछि संजय साहले भनेको योजना बमोजिम कदम चौकमा संजय साहले संचालन गरेको सारस काउन्टरमा पुगि बास बसेको थियो ।
राति सारस काउन्टरमा बास बसिसकेपछि मिथिला मनिचेन्जरमा संजय साहले दिनु भनेको पाँच लाख रुपैयाँ ओम प्रकाश यादव मार्फत लिई राम विनोद यादवले चनरदिप यादवलाई दिएको थियो । त्यसपछि संजय साहले सुटरहरुलाई भगाउनका लागि डिभिजन सडक कार्यालयको सरकारी गाडी बोलाई सोही गाडीमा एकलाल सहनी, पवन लामा, विजय कुशियैत र मनक लामालाई राखि धनुषाधाम स्थित किशान नगरसम्म पुर्याएर छाडेको चनरदिपले बयान दिएका छन् । घटनाको केही दिन वितिसकेपछि मनक लामाले हत्याको पैसाका सन्दर्भमा किचकिच गरेपछि चनरदिपले राम विनोदको सहयोग लिई म्यान पावर कम्पनी मार्फत वैदेशिक रोजगारीका लागि मलेशिया पठाई दिएको चनरदिपले बताएका छन् ।
संजय साहले राम विनोद यादवलाई नचिनेको भनेर बयान कागज गरेका छन् । तर, २७ भदौ २०७० मा सदभावना
धनुषाको क्षेत्र नं.४ द्वारा आयोजना गरिएको क्षेत्रिय सम्मेलनमा
 सदभावनाका नेता संजय साह भाषण दिँदै र दायाँ देखि सोही
मञ्चमा क्रमशः राम विनोद यादव, नेताहरु संजय सिंह,
कामेश्वर झा लगायतका व्यक्तिहरु सहितको तस्वीरलाई
संजय साह र राम विनोद यादव बीचको सम्बन्ध पुष्टि गर्न
धनुषा प्रहरीले प्रमाणको रुपमा पेश गरेको पाइन्छ ।
घटना भएको लगत्तै करिब १०÷१५ मिनेट पछि सशस्त्र भुमिगत समुह संचालन गरेर भारतको विहारमा लुकिछिपी बसिरहेका तराई जनतान्त्रिक पार्टी मधेसका अध्यक्ष अर्जुन सिंह भनिने मुकेश चौधरीलाई राम विनोद यादवले टेलिफोन गरी आफुहरुले सिंघानियाको हत्या गराएको र त्यसको जिम्मेवारी लिन भनेका थिए । मुकेश चौधरीले पनि प्रहरीलाई दिएको बयान कागज अनुसार सुरुमा राम विनोदले फोन गरेर घटनाको जिम्मा लिन भनेको र सोही फोनमा संजय साहले पनि घटनाको जिम्मा मिडियामा लिन भनेपछि आफुले उक्त घटनाको जिम्मेवारी लिएको मुकेश चौधरीले बताएका छन् । मुकेश चौधरीले गरेको बयान अनुसार उक्त घटनाको जिम्मेवारी लिनका लागि जनकपुरका पत्रकार अजय अनुरागीलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएको र पत्रकार वृज कुमार यादव र रामानन्द यूवा क्लबका अध्यक्ष जिवनाथ चौधरीलाई समेत ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
मुकेश चौधरीका अनुसार घटना भएर आफुले जिम्मा लिईसकेको एक घण्टा पछि संजय साहले आफुलाई फोन गरी जिम्मेवारी फिर्ता लिन दवाव दिए पनि आफुले जिम्मेवारी फिर्ता नलिएको बताएका छन् । प्रहरीका अनुसार घटना डाईभर्ट गराउन मुकेश चौधरी मार्फत जिम्मा लगाउन लगाए पनि पछि मुकेश सँगको सम्बन्धका आधारमा आफु फस्ने वा तिनीहरुको बीचमा पछि सम्बन्ध विग्रदा मुकेश चौधरीले संजयको नाउँ पछि खुलासा समेत गर्न सक्ने संजयलाई अनुभुति भएको हुन सक्ने र त्यसैले जिम्मेवारी फिर्ता लिन संजयले मुकेशलाई दवाव दिएको हुन सक्ने बताएका छन् ।
१० लाखको सुपारी
सिंघानियालाई हत्या गर्नका लागि संजय साहसँग १० लाख रुपैयाँमा डिल भएको चनरदिपले प्रहरीलाई बयानमा बताएका छन् । जसमध्ये ३० हजार रुपैयाँ सुरुमा हत्या भएको दिन हत्या हुनु भन्दा अगाडी पेश्की लिई रामा होटेलमा सुटरहरुलाई दिएको थियो । त्यसपछि ५ लाख रुपैयाँ घटना भएको भोली पल्ट ओम प्रकाश हुँदै राम विनोदले चनरदिपलाई दिएको थियो । र, चनरदिपको भाई रविन यादवको मोटर साइकल दुर्घटना हुँदा करिब साढे २ देखि ३ लाख रुपैयाँ सम्म उपचारमा खर्च भएको रकम  मिनहा गराएको र ३ लाख रुपैयाँ चनरदिपले आयोजना गरेको फुटबल प्रतियोगितामा नै मिनहा भएको भनेर संजयले भनेपनि त्यो रकम खेलकुदको लागि खर्च गरिएको हो आफुले पाउनै पर्छ भनेर चनरदिपले संजय सँग माग गर्दै गरेको र अर्को तर्फ संजयले नदिएको चनरदिपले बताएका छन् ।
प्रमाण मेटाउन षड्यन्त्र
सिंघानियाको हत्या भईसकेकै दिन देखि प्रमाणहरु नष्ट गर्नका लागि संजय साहले विभिन्न हतकण्डाहरु अपनाउँदै आएको धनुषा प्रहरीले बताएको छ । धनुषा प्रहरीलाई चनरदिपले दिएको बयान अनुसार घटनामा प्रयोग गरिएका हतियारहरु घटना भईसकेपछि कदम चौक स्थित मनि चेन्जरको काउन्टरमा बास बस्न गईरहेको बेलामा गोली पड्किएको आवाज निस्किएपछि  चनरदिप डराएका थिए । डराएपछि चनरदिपले संजयलाई फोन गर्दै हतियार के गर्ने भनेपछि संजय साहले ती हतियारहरु गंगा सागरको पोखरीमा फाल्न आदेश दिएको थियो । सोही आदेशानुसार चनरदिपले ती हतियारहरु गंगासागर पोखरीमा फाल्न लगाएको प्रहरीलाई बयान दिएका छन् । हुन त प्रहरीले गंगा सागरबाट ती हतियार खोज्न कोशिश गरेपनि फेला परेन ।
 त्यसैगरी हत्यामा प्रयोग गरिएका मोटरसाइकल जलाउनका लागि समेत संजय साहले रेल्बे प्रहरी चौकीका सई बाबुराम झालाई बलात्कारको मुद्दामा फसाउन ठुलो षड्यन्त्र रच्न र त्यो षड्यन्त्र अनुसार सफल पनि भएको चनरदिपले बयान दिएका छन् । सिंघानिया हत्याको घटना भएको २० दिन पछि सिंघानिया घटनाको अनुसन्धानको लागि तत्कालिन प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको नेतृत्वको अनुसन्धान टोलीले चैत्र ७ गतेमा प्रतिवेदन सार्वजनिक गर्ने बताईरहेको कारण पनि घटनालाई डाईभर्ट गराई अनुसन्धान प्रतिवेदन अल्झाउन र तत्कालिन सुरक्षा प्रमुखहरुलाई सरुवा गराउन संजय साहले रचेको षड्यन्त्र अनुसार ती घटनाहरु योजनाबद्ध ढंगले गराइएको चनरदिपले प्रहरीलाई बयान दिएका छन् । उक्त आन्दोलनकै मौका छोपी सिंघानिया हत्यामा प्रयोग गरिएको एउटा मोटरसाइकल जलाउन उनीहरु सफल भएको चनरदिपले बताएका छन् । र, घटनामा प्रयोग गरिएको अर्को मोटरसाइकल नम्बर प्लेट नखुलेको तथा कवाडको अवस्थामा रहेको मोटरसाइकल कदम चौक स्थित एक ग्यारेजमा मर्मत सम्हारका लागि राम विनोद यादवले दिएको अवस्थामा धनुषा प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । २०७१ सालको बैशाख महिना तिर प्रहरीले उक्त मोटरसाइकल बरामद गर्दा ग्यारेज मालिकले उक्त मोटरसाइकल राम विनोद यादवले दिएको बताएका थिए ।
जनकपुरको बार एशोसिएशनको सभाकक्षमा २० माघ २०६९ मा बायाँबाट क्रमशः एक कार्यक्रममा
 राम विनोद यादव र संजय साह ।
संजय साहको इन्कारी बयान
चनरदिप यादव पक्राउ परेपछि मुकेश चौधरी, एकलाल सहनी, ओम प्रकाश यादव र रामकरण यादवलाई विभिन्न कारागारबाट झिकाई धनुषा प्रहरीले गरेको अनुसन्धान र बयानका आधारमा संजय साह नै सिंघानिया हत्याको मुख्य योजनाकारको रुपमा देखिएपछि काठमाण्डौ नख्खु कारागारबाट झिकाई धनुषा प्रहरीले साह सँग बयान लिएको छ । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्की समक्ष संजय साहले नीजि कानुन व्यवसायीको रोहवरमा गरेको बयान कागजमा इन्कारी बयान गरेका छन् । आफैले बयान कागज लेखेको साहले अर्का अभियूक्तहरु चनरदिप यादव, राम विनोद यादव, मुकेश चौधरी लगायतलाई नचिनेको बयान दिएका छन् । घटना भएका बेला आफु जनकपुरमा नभई काठमाण्डौमा रहेको र घटना भएको भोली पल्ट प्लेनबाट जनकपुर आएको तथा सिंघानियाको श्रद्धाञ्जली सभामा सहभागी भई हत्यारालाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने समेत भाषण गरेको साहले बयान कागजमा लेखेका छन् ।
हिरासतमा संजय साहको अनसन
प्रहरी हिरासतमा अहिले झिकाईका संजय साहले न्यायिक छानविन हुनुपर्ने, मिडियाको सामुनेमा पोलिग्राफ टेस्ट गरिनुपर्ने तथा आफु निर्दोष रहेको भन्दै साहले खाना त्यागेर अनसनमा बसेको साहकी पत्नी रंगिला देवी साहले द एक्सक्लुसिभलाई बताएका छन् । उक्त कुरालाई धनुषाका एक जना प्रहरी अधिकृतले समेत पुष्टि गर्दै साहले थुनामा खाना नखाईराखेको तथा पानी भने पिई रहेको बताएका छन् । उक्त संजय साहका श्रीमतिले पत्रकार सम्मेलन मार्फत पनि घटनाको सत्य तथ्य पत्ता लगाउन तथा पोलिग्राफ जाँच गराउन माग गरेपछि धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालयबाट प्राविधिक टोली झिकाई जिल्ला प्रहरी कार्यालय धनुषामै पोलिग्राफ जाँच गरेको छ । पोलिग्राफ टेस्टमा विशेषज्ञ सहितको टोलीले घटनाको अध्ययन गरी आफ्नो हिसावले प्रश्नहरु तयार गरेका हुन्छन् जसको सिधा जवाफ दिनुपर्ने हुन्छ तर संजय साहले पोलिग्राफ टेस्टमा सोधिएका हरेक सवालहरुमा आफुले उक्त सवालको जवाफ बयान कागजमा लेखिदिएको भनेर मात्र जवाफ दिएको प्रहरी स्रोतले बताए । संजय साहले जति सुकै इन्कारी गरेर अभियूक्तहरुलाई चिन्न अस्विकार गरेपनि प्रहरीले ती अभियूक्तहरुसँगको सम्बन्ध र चिनजानबारे आवश्यक प्रमाणहरु संकलन गरिसकेको प्रहरी अधिकृतको दावी छ ।
बचाउमा सदभावना पार्टी

पत्रकार सम्मेलनमा संजय साहका पारिवारिक सदस्यहरु । उनीहरुले संजय साह निर्दोष रहेको भन्दै न्यायिक
छानविनको माग गरेका छन् ।
संजय साह सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष भई सदभावना पार्टीकै तर्फबाट दोस्रो संविधान सभामा निर्वाचित भएका व्यक्ति हुन । त्यसैले सदभावना पार्टी धनुषाले स्थानीय गोपाल धर्मशालाबाट जुलुस तथा ¥याली निकाली नगर परिक्रमा गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईलाई घटनाको न्यायिक छानविन गर्न माग गरेको छ । जनकपुर बम काण्ड देखि लिएर सिंघानियाको हत्या सम्म कुनै पनि घटनामा साहको संलग्नता नरहेको तथा राजनीतिक, सामाजिक तथा पारिवारिक चरित्र हत्या गर्ने उद्देश्यले षड्यन्त्र तहत साह माथि षड्यन्त्र गरी झुठा मुद्दामा फसाईएको सदभावना धनुषा अध्यक्ष संजय कुमार सिंहद्वारा हस्ताक्षर गरिएको ज्ञापनमा उल्लेख छ ।
खुल्न नसकेको पाटोहरु
धनुषा प्रहरीले गरेको अनुसन्धानबाट अहिले सिंघानियाको हत्या समाचार सम्प्रेशन भएर आफु बदनाम हुने र आफ्नो राजनीतिक प्रतिष्ठा समेतमा आँच आउने मात्र नभई राजनीतिक करियर नै समाप्त हुने हुनाले समाचारलाई प्रकाशन नगर्न सिंघानियालाई दवाव दिँदा पनि नमानेपछि सिंघानियालाई ठिक पार्नु पर्छ भन्दै संजय साहले ईगोमा आएर हत्या गराएको भनेर धनुषा प्रहरीले दावी गरेको छ । तर, बास्तवमा उनको हत्या समाचार लेखेकै कारण मात्र भएको हो भन्ने सवालमा धनुषाका प्रहरी उपरीक्षक राम दत्त जोशी भन्छन्,“ पक्राउ परेका अभियूक्तहरुसँग लिइएको बयानका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानबाट त्यही कुरा खुलेको भएपनि फरार रहेका अर्का अभियूक्त राम विनोद यादव पक्राउ परेपछि अन्य रहस्यहरु पनि पर्दाफास हुने छन् ।” उक्त घटनामा राम विनोदसँगै सुटरहरु मनक  लामा, पवन लामा लगायतका व्यक्तिहरु फरार छन् ।
यसरी जोडियो चनरदिपको कडि
धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान गरेपछि सञ्चार उद्यमी अरुण सिँघानियाको हत्यामा  चनरदिप यादवकोे नाउँ खुलेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान भईसकेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा नै कार्यरत रहेको बताइन्छ । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी(१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर(८ का वर्ष ३० को चनरदिप यादव रहेको भनि पहिचान गरेको हो । त्यसैगरी प्रहरीले भरतपुर(१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका पवन लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् ।
घटना सम्बन्धि खुलेका तथ्यहरु
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गरायो । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईएन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँगै पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने भनि मनकलाई सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई रामविनोदले तिनवटा मोटरसाईकलको व्यवस्था गरे । होलीका दिन घटना स्थलमा एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल संजय साहले नेतृत्व गरेको पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ । अर्थात ऊ पेशेवर सुटर हो । एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । एकातर्फ एकलाल जनतान्त्रिकमा थिए भने अर्को तर्फ उनी प्रहरीको लागि सुराकीको काम समेत गरि दोहोरो भुमिका निर्वाह गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।   
सिंघानियाको हत्या पश्चात तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले जिम्मेवारी लिएका थिए । ति दुवै जना अहिले पक्राउ परी विभिन्न कारागारमा छन् । प्रहरीका अनुसार ती दुवै जनाले हत्या गरेको थिएन तर पैसाका लागि हत्याको जिम्मेवारी लिएका थिए ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए । त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो ।


२०७२ चैत्र २८ गते आईतबार

No comments:

Post a Comment