Wednesday, January 13, 2016

जनकपुरमा फेरी चर्कियो आन्दोलन

शुक्रबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनकपुरमा निकालेको लाठी जुलुश ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विगत ५ महिना देखि आन्दोलनमा लागेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दलाई २३ पौषमा जनकपुरका व्यवसायीहरुले प्रतिकार मात्र गरेनन्, आन्दोलन आह्वान गर्ने स्थानीय मोर्चाका नेताहरुलाई कुटपिट गर्नुका साथै दुईवटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् ।
२३ पौषका दिन विहानै लाठी जुलुस सहित जनकपुर बजार बन्द गराउँदै हिँडेको संघिय मधेसी समावेशी गठबन्धनका कार्यकर्ताहरुले जनकपुरको जानकी चौक स्थित एउटा पंकज स्टोर्स भन्ने पसलमा तोडफोड गरेर पसलको शिशा फुटाएपछि व्यापारीहरु आक्रोशित हुँदै प्रतिकारमा उत्रेका थिए ।
 व्यापारीहरु जम्मा भई जनकपुर उद्योग बाणिज्य संघमा छलफल गरी बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष विजय साहको अगुवाईमा व्यापारीहरु जनक चौकमा पुगी मधेसी मोर्चाका नेताहरुलाई हातपात गरेका थिए । प्रतिकारमा ओर्लिएका व्यवसायीहरुको समुहले मोर्चा धनुषाका संयोजक समेत रहेका तथा सदभावना धनुषाका अध्यक्ष संजय सिंहको ज २ प ५४१९ नम्बरको मोटरसाइकल र तराई मधेस सदभावना पार्टीको केन्द्रिय नेता मुक्तिनारायण यादवको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए ।
आन्दोलनको सुरुवात देखि नै जनकपुर उद्योग बाणिज्य संघ आन्दोलन प्रति एक्यबद्धता जनाउँदै आफ्नो पसलहरु बन्द गरी आन्दोलनमा होमिएका थिए । प्रारम्भका दिनहरुमा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा कै अगुवाईमा वृहत नागरिक ¥यालीहरु पनि निस्किने गरेका थिए । तर, छठ पर्व पछि जनकपुरका बजारहरु भने नियमित रुपमा खुल्ने गरेका थिए । पछि जब सदभावनाका अध्यक्ष राजेन्द्र महत्तो विराटनगर नाकामा धर्ना दिईरहेका बेला प्रहरीको आक्रमणमा परी घाइते भएपछि ३ दिन जनकपुरका बजारहरु बन्द भएका थिए । त्यसपछि पुनः जनकपुरको बजार सुचारु भएको थियो । हुन त बजार बन्द भएपनि उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विजय साह बन्दको विरुद्धमा थिए । उनी आफ्नो पसल सुचारु नै राख्थे ।
किन भयो प्रतिकार ?
विहिबार मोर्चाका नेताहरुको मोटरसाइकल जलाएपछिको अवस्था ।
लामो समय देखि बजार बन्द भएपछि कोठा भाडा तिर्न तथा बैंकको ब्याज समेत तिर्न धौधौ परिरहेको व्यवसायीहरु आक्रोशित हुँदै आएका थिए । अन्ततः उनीहरु बन्दको प्रतिकार मै मात्र ओर्लिएनन्, नेताका गाडीहरु समेत जलाएर आफ्नो आक्रोश र पीडा व्यक्त गरेका छन् । एक त मधेस आन्दोलनको नारा मधेसी एकता जिन्दावाद भनेर लगाइन्छ । तर, व्यवहारमा आन्दोलनको नेतृत्व गरिरहेका शक्तिहरु आफैमा एकताबद्ध नभई प्रतिस्पर्धामा लागेपछि जनताहरु मोर्चाबाट निराश भएका छन् ।
आन्दोलनको क्रममा विहिबार केही व्यापारीहरुको मिलोमतोमा सद्भावनाका जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेस समाजवादी पार्टीका मुक्तिनारायण यादवको मोटरसाइकलमा आगजनी गरेपछि मोर्चाले आन्दोलन पुन ः चर्काएको छ । नेपाली काँग्रेस र एमालेको घुसपैठीयाले गर्दा मोर्चाको नेताद्धयको मोटरसाइकलमा आगजनी भएको मोर्चाले ठहर गर्दै शुक्रबार विहानैदेखि मोर्चाले लाठी जुलुस निकालेको छ । घटनाको विरोध र आन्दोलनलाई पुन निन्तरता दिदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनकपुरमा आन्दोलन फेरी चर्काउँदै जनकपुरको विभिन्न भागको परिक्रमा गरेका छन् । मोर्चाले जनकपुरका बजार, शैक्षिक संस्थान, वितिय संस्थान, कलकारखाना, पसल पूर्ण रुपमा ठप्प गराएका हुन ।औषधी पसल बाहेक एउटा पनि पसल खोल्न नदिने मोर्चाले चेतावनी दिएका छन् । मोटरसाइकलमा आगनजी गर्ने व्यापारीहरुको पहिचान भइसकेको र उनीहरुको पसलमा मधेस विरोधी दलाल, मधेस विरोधी जस्ता शब्द लेखेर आन्दोलनलाई पुनः चर्काएको हो ।
आगिजनी गर्ने समूहको पहिचान भैसकेको बताउंदै सदभावना पार्टी अध्यक्ष संजय सिंहले चांडै फोटो तथा भिजुअल सार्वजनिक गरी कानुनी दायरामा ल्याउने बताए । नेपाली कांग्रेस र नेकपा एमालेका केही घुपैठियाले मोटरसाइकलमा आगिजनी गरेको आन्दोलनरत्त मधेशी मोर्चा तथा संगसंगठनले ठहर गरेको छ ।
    मोटरसाइकलमा आगिजनी भएलगत्तै केही घण्टासम्म जनकपुर नगर तनावग्रस्त बनेको थियो । मोर्चाकै नेताको मोटरसाइकलमा आगिजनी भएको बिरोधमा दिनभर प्रदर्शन गरियो ।त्यसैगरी मोर्चाका नेताहरुले जनकपुरका सरकारी कार्यालयहरुमा तालाबन्दी समेत गरेका थिए । यसरी सुसुप्त भएको जनकपुरको आन्दोलन एक चोटी फेरी चर्किएको मात्र छैन थप सशक्त ढंगले बन्द र हडतालका कार्यक्रम मोर्चाले अगाडी वढाएका छन् ।

२०७२ पौष २६ गते आईतबार

No comments:

Post a Comment