Sunday, December 29, 2013

बढ्दैछ ‘हिन्दूत्वको इसाईकरण’



अजय अनुरागी
जनकपुरधाम............
    धनुषा सोनिगामा(१ का ४२ वर्षिय विनोद कुमार अधिकारी (मण्डल), तीन वर्ष अगाडी हिन्दू धर्म परित्याग गरी इसाई धर्मलाई अपनाएका थिए । हिन्दूधर्ममा जातपातको विभेद, छुवाछुत, धनी गरिब लगायतको विभिन्न विभेदका कारण बाल्यकाल देखि नै हिन्दू धर्मप्रति खिन्नता बोध भएको थियो, मण्डल भन्छन,“सत्यको खोजीमा बाइबल अध्ययन गर्दै जादाँ समाजमा फैलिएका अन्धविश्वासहरुबाट सुरक्षित हुन र विभिन्न जालझेलबाट उन्मुक्ति पाउन तथा मोक्ष प्राप्तिको सिधा बाटो इसाई धर्म नै रहेको हुनाले वर्षौ देखि अपनाएको हिन्दू धर्म परित्याग गरी इसाई धर्मलाई ग्रहण गरें ।”
    धनुषा विन्धी(५ का ३२ वर्षिय शम्भु कुमार चौधरी (भुमिहार) १० वर्षअघि हिन्दू धर्म त्याग गरी क्रिश्चियन भए । शम्भुका अनुसार जातिय विभेदका कारण हिन्दू धर्म प्रतिको आस्था समाजमा दिन प्रति दिन घट्दै गएको छ । क्रिश्चियन धर्ममा कुनै पनि किसिमको जातिय विभेद नरहेका कारण उक्त धर्म अपनाएको शम्भु बताउँछन् ।
    धनुषा विन्धी कै ६३ वर्षिय अवकाश प्राप्त शिक्षक लक्ष्मी साह पनि ५ वर्ष देखि इसाई बनेका छन । क्रिश्चियन धर्म मान्ने श्रीमति र आफु हिन्दू धर्म मान्ने भएपनि धर्म कै कारण श्रीमान र श्रीमति बिच पटक पटक कलह हुने गथर््यो र घरमा सधै जसो अशान्ति हुन्थ्यो भन्दै साह भन्छन,“ अब हामी दुवै जना क्रिश्चियन भएपछि घरमा सुख शान्ति आएको छ ।” जनकपुर(१३ का २५ वर्षिय टुमेश्वर प्रसाद साह मुजेलियाका सुरेन्द्र रवि दास इसाई बनेपछि, उनैको संगतमा परेर तीन वर्ष अघि आफुपनि इसाई भएको बताउँछन् । यी त प्रतिनिधी उदाहरण मात्र हुन । विभिन्न कारणहरु देखाउँदै यस्ता सयौं व्यक्तिहरु दिनन्दिन धर्म परिवर्तन गरी इसाई बनिरहेका छन् ।
    यसरी मन्दिरै मन्दिरको शहरको रुपमा तथा विश्वका करोडौ हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरधाममा चर्चहरु पनि धमाधम बन्न लागेका छन् । जनकपुर देखि धनुषाका ग्रामीण क्षेत्रहरुमा पनि इसाईहरुले आफ्नो धर्म प्रचार तथा हिन्दूहरुको इसाईकरण अभियानलाई तिब्रता दिएको देखिन्छ । केही वर्ष अघिसम्म धनुषामा औलामा गन्न सक्निे इसाईहरु अहिले सय होइन हजारौको संख्यामा खुलेरै देखा पर्न थालेका छन् । १० पौष २०७० बुधबारका दिन इसाई धर्मका प्रभु येशू मसिहको जन्मजयन्तिको अवसरमा जनकपुरका र जिल्लाका कतिपय चर्चहरुमा हजारौ क्रिश्चियनहरु जम्मा भई भजन गाउँदै, शुभकामना आदानप्रदान गर्दै, एक अर्कोलाई उपहार आदान प्रदान गर्दै तथा नाचगान गर्दै र पार्टी मनाउँदै क्रिशमश मनाउँदै देखिएका थिए । गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठ भन्छन,“हिन्दू धर्म मान्ने गरिब व्यक्तिहरुलाई विदेशमा पठाइदिने, तिनका छोरा छोरीहरुलाई विदेशमा उच्च शिक्षा पढन आर्थिक मद्दत गरिदिने, एनजिओ, आइएनजिओमा जागिर लगाइदिने, विरामीहरुलाई उपचार गराईदिने र गरिबी हटाउन आर्थिक सहयोग पनि जुटाइदिने लगायतका प्रलोभन दिएर इसाइकरण गरिदैछ ।” २०५० सालमा झोझिकटैया(८ का राजकुमार यादव हिन्दू धर्म परिवर्तन गरी इसाई भए । यादव एमाले धनुषाका भातृ संगठन यूवा संघका जिल्ला अध्यक्ष पनि हुन । उनी अहिले जनकपुरको एमसिएफ चर्चका धर्म गुरु ‘पास्टर’ समेत बनेका ’ छन । पास्टर यादव भन्छन,“हामी कसैलाई प्रलोभन दिएर धर्म परिवर्तन गर्न भन्दैनौं । एक इश्वरवादी विचारलाई हामी मान्दछौं र मुर्ति पुजा गर्नेहरुले हामीलाई विभिन्न प्रकारका आक्षेप लगाउनु अस्वभाविक होइन ।”
मेरी क्रिशमसका अवसरमा गित गाउँदै जनकपुरका इसाई धर्माबलम्बी ।

    हामी क्रिश्चियनमा आफुले आर्जन गरेको आयको दशांस गरिव तथा विपन्नहरुको सेवामा खर्च गर्छाैं भन्दै यादव भन्छन,“ संसारकै धनी चर्च कोरिया, भारतको चेन्नई तथा अन्य चर्चहरुबाट लाखौं अनुयायीहरुबाट आर्थिक सहयोग जुटाई नेपाल सरकारको मार्फत गरिबहरुलाई मद्दत गर्छौं ।” धनै बाँड्ने कुरा हो भने नेपालका कतिपय पास्टरका छोरा छोरीहरु समेत राम्रो विद्यालयमा पढन पाइरहेका छैनन् भन्दै यादव भन्छन,“कतिपय व्यक्तिहरु लोभ राखेर इसाई बन्ने गरेका छन, तर त्यो लोभ पुरा नभएपछि पुनः हिन्दू धर्ममा फिर्ता हुनेहरुको संख्या पनि उल्लेख्य छ ।”
    धनुषामा हिन्दू धर्म परित्याग गरी क्रिश्चियन धर्म अपनाउँने हरुको संख्या दिनन्दिन वढदै गएको छ । किन हिन्दू धर्म परित्याग गरी क्रिश्चियन धर्म अपनाउँने हरुको संख्या वढ्दै गएको हो भन्ने सबालमा जनकपुर(१४ का इसाई धर्म प्रचारक ‘पास्टर’ इन्द्र नेपाली भन्छन,“कतिपय मान्छेहरु इसाई धर्म अपनाउँदा रोग निको भएको, कतिपयको शरीरबाट भुत आत्मा भागेको तथा कतिपय मान्छेहरु जातिय छुवाछुत तथा मानव मानव बीचको भेदभावबाट ग्रस्त भएर अन्य धर्म त्यागेर इसाई बनिरहेका छन ।” जनकपुरको रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव पनि भन्छन,“ हिन्दू धर्ममा जातिय भेदभाव र छुवाछुत देखिएकै कारण तिरस्कृत र अपहेलित हुनु भन्दा हिन्दू धर्मावलम्बीहरुको धर्म परित्याग गर्ने प्रवृति वढदै गएको छ । यद्यपि इसाई धर्म प्रचारकहरु आर्थिक रुपले पनि सबल भएका हुनाले धर्म परिवर्तन गर्न विभिन्न आर्थिक प्रलोभन तथा अन्य प्रलोभन दिने गरेको छ ।”
जनकपुर–४ स्थित मिथिला शान्ति ए.जी. चर्चमा क्रिशमस दिवस मनाउँदै ।

    जानकी मन्दिरका सहायक महन्थ रोशन दास वैष्णव भन्छन,“सनातन धर्म रहेको हिन्दू धर्ममा कुनै पनि प्रकारको भेदभाव छैन । यदि भेदभाव रहेको भए प्रभु रामले सवरीको जुठो वैर कसरी खानु भयो ? केवट सँग कसरी गला मिल्नु भयो ? भील राजासँग कसरी मित्रता गास्नु भयो ?” उनी भन्छन,“ पैसाको प्रलोभन दिएर गरिब तथा विपन्न व्यक्तिहरुलाई चुनी चुनी धर्म परिवर्तन गराईएको छ ।”
    हिन्दूधर्म मान्नेहरुका अनुसार धर्म परिवर्तन गरेुुर इसाई भएकाहरुको जीवन स्तर र रहनसहनमा अप्रत्यासित परिवर्तन पनि नभएको होइन । हिजोसम्म खान लाउने धौ धौ पर्नेहरु इसाई भएपछि कतिपय मानिसहरु धनी भएका छन ।कतिपयले एनजीओ खोलेका छन भने कतिपयले विद्यालय, स्वास्थ्य संस्था चलाई जिविकोपार्जन गरिरहेका छन् ।
गत बुधबार जनकपुरको एमसिएफ चर्चमा क्रिसमश दिवस मनाउँदै सयौं इसाईहरु ।
    नेपालमा हिन्दू धर्म मात्र होइन अन्य धर्महरु पनि परित्याग गरी क्रिश्चियन धर्म अपनाउने हरु छन तर हिन्दूको तुलनामा अन्य धर्म परित्याग गर्ने संख्या न्यून देखिन्छ । पास्टर इन्द्र नेपाली भन्छन,“पैसा दिएर हामी कसैलाई धर्म परिवर्तन गर्न भन्दैनौं, उनीहरु स्वेक्षा पुर्वक स्वतन्त्र भएर इसाई धर्म प्रति आस्था र विश्वास गरेर धर्म परिवर्तन गरिरहेका छन् । इसाई धर्म मान्नेहरु पनि गरिब छन् ।” जनगणना २०६८ अनुसार धनुषामा ६ सय ५२ जना इसाई मात्र रहेको उल्लेख गरिए पनि धनुषामा मात्रै कम्तिमा ६ हजार भन्दा वढी संख्यामा इसाई धर्मावलम्बीहरु रहेको दावी गर्दै पास्टर नेपाली भन्छन,“ जनगणना हुँदा कतिपय व्यक्ति उपस्थित नहुन पनि सक्छ ।” इसाई धर्मावलम्वीहरुका अनुसार जनकपुरमा मात्रै ५ वटा चर्च र विभिन्न गाउँहरुमा २० गरी धनुषामा कुल २५ वटा चर्चहरु रहेका छन । धनुषामा पनि विगतका समय देखि नै इसाईहरु रहेपनि नेपाल धर्म निरपेक्ष राष्टूको रुपमा संविधानमा उल्लेख गरिए पछि खुलेरै मान्छेहरु धर्म परिवर्तन गरिरहेको दावी गर्दै पास्टर नेपाली भन्छन,“समाजमा धर्म परिवर्तन गर्नेहरुलाई समाजले नराम्रो काम गरेको भनेपनि क्रिश्चियनहरु त्यसको परवाह गर्दैनन् । नेपालको अन्तरिम संविधान २०६३ मा मौलिक हकको धर्म सम्बन्धि हकमा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम सांस्कृतिक परम्पराको मर्यादा राखि परापुर्वकाल देखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुने छ भनेर उल्लेख छ । तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्कोको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाइने छैन भन्ने पनि उल्लेख गरिएको छ ।
अन्य धर्मको संख्या घट्दो, इसाईको संख्या वढ्दो
राष्टिूय जनगणना २०५८ अनुसार नेपालमा  कुल जनसंख्याको १ करोड ८३ लाख ३० हजार १ सय २१ जना अर्थात ८०.६२ प्रतिशत हिन्दू धर्म, २४ लाख ४२ हजार ५ सय २० जना अर्थात १०.७४ प्रतिशत बौद्ध धर्म, ९ लाख ५४ हजार २३ जना अर्थात ४.२० प्रतिशत इस्लाम, ८ लाख १८ हजार १ सय ६ जना अर्थात ३.६ प्रतिशत किराँत, ४ हजार १ सय ८ जना अर्थात ०.०८ प्रतिशत जैन, १ लाख १ हजार ९ सय ७६ जना अर्थात ०.४५ प्रतिशत क्रिश्चियन, ५ हजार ८ सय ९० जना अर्थात ०.०३ प्रतिशत सिख र ८ हजार १ सय ९० जना अर्थात ०.३५ प्रतिशत अन्य धर्म मान्ने व्यक्तिहरु रहेका थिए । त्यसैगरी  धनुषामा कुल जनसंख्याको ६ लाख ४ हजार ७ सय ६३ जना अर्थात ९०.०८ प्रतिशत हिन्दू धर्म, ९ हजार ६ सय ९६ जना अर्थात १.४४ प्रतिशत बौद्ध धर्म, ५६ हजार १ सय २४ जना अर्थात ८.३६ प्रतिशत इस्लाम, २५ जना अर्थात ०.००४ प्रतिशत किराँत, २३ जना अर्थात ०.००३ प्रतिशत जैन, २ सय ३० जना अर्थात ०.०३ प्रतिशत क्रिश्चियन, १७  जना अर्थात ०.००३ प्रतिशत सिख र ४ सय ८६ जना अर्थात ०.०७२ प्रतिशत अन्य धर्म मान्ने व्यक्तिहरु रहेका थिए ।
    राष्टिूय जनगणना २०६८ अनुसार नेपालमा  कुल जनसंख्याको ८१.३ अर्थात २ करोड १५ लाख ५१ हजार ४ सय ९२ जना हिन्दू धर्म, २३ लाख ९६ हजार ९९ जना अर्थात ९ प्रतिशत बौद्ध धर्म, ११ लाख ६२ हजार ३ सय ७० जना अर्थात ४.४ प्रतिशत इस्लाम, ८ लाख ७ हजार १ सय ६९ जना अर्थात ३.१ प्रतिशत किराँत, ३ लाख ७५ हजार ६ सय ९९ अर्थात १.४ प्रतिशत क्रिश्चियन, ३ हजार २ सय १४ जना जैन धर्म मान्ने व्यक्तिहरु रहेका छन ।
    त्यसैगरी राष्टिूय जनगणना २०६८ अनुसार धनुषामा ३ लाख ७८ हजार ५ सय ३८ पुरुष र ३ लाख ७६ हजार २ सय ३९ महिला गरी कुल ७ लाख ५४ हजार ७ सय ७७ कुल जनसंख्या रहेका छन । जसमध्ये ३ लाख ३९ हजार १ सय ७९ जना पुरुष र ३ लाख ३५ हजार १ सय ८८ महिला गरी कुल ६ लाख ७४ हजार ३ सय ६७ जना हिन्दू धर्मावलम्वी रहेका छन । त्यसैगरी ५ हजार ५ सय १ पुरुष र ५ हजार ७ सय १९ महिला गरी कुल ११ हजार २ सय २० जना बुद्ध धर्मावलम्बी, ३० हजार ७ सय २४ पुरुष र ३२ हजार ३ सय ७५ महिला गरी कुल ६३ हजार ९९ जना इस्लाम, ७७ जना पुरुष र ८८ जना महिला गरी कुल १ सय ६५ जना किराँत, ३ सय २३ जना पुरुष र ३ सय २९ जना महिला गरी कुल ६ सय ५२ क्रिश्चियन, २ सय ८३ जना पुरुष र २ सय ८५ जना महिला गरी कुल ५ सय ६८ जना प्रकृति, ५ जना पुरुष र ४ महिला गरी कुल ९ जना जैन, ६ जना पुरुष र ५ जना महिला गरी कुल ११ जना सिख, २ जना पुरुष र २ जना महिला गरी कुल ४ जना बहाई धर्म मान्ने व्यक्तिहरु रहेका छन । उक्त जनगणना अनुसार धनुषामा २ हजार ४ सय ३८ पुरुष र २ हजार २ सय ४४ महिला गरी कुल ४ हजार ६ सय ८२ जनाको धर्म खुल्न सकेको छैन । उक्त जनगणना अनुसार नेपालको शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा इसाई धर्मावलम्वीहरुको संख्या वढी छ । सहरमा ४० हजार २ सय ४३ पुरुष र ४५ हजार ५ सय ८० महिला गरी कुल ८५ हजार ८ सय २३ जना क्रिश्चियन रहेका छन । त्यसैगरी ग्रामिण क्षेत्रहरुमा १ लाख ३५ हजार २ सय २७ पुरुष र १ लाख ५४ हजार ६ सय ४९ महिला गरी कुल २ लाख ८९ हजार ८ सय ७६ जना क्रिश्चियन रहेका छन । त्यसैगरी नेपालको भौगोलिक क्षेत्रको आधारमा हिमालमा सबैभन्दा कम ८ हजार ७ सय ७१ पुरुष र ९ हजार ६ सय १६ गरी कुल १८ हजार ३ सय ८७ क्रिश्चियन छन भने पहाडमा सबैभन्दा वढी १ लाख २ हजार ७ सय ७४ पुरुष र १ लाख १६ हजार ८ सय १५ महिला गरी कुल २ लाख १९ हजार ५ सय ८९ क्रिश्चियन छन । तराईमा पुरुषको तुलनामा महिलाहरु वढी क्रिश्चियन छन । तराईमा ६३ हजार ९ सय २५ पुरुष र ७३ हजार ७ सय ९८ महिला गरी कुल १ लाख ३७ हजार ७ सय २३ क्रिश्चियन रहेका छन ।
    त्यसैगरी विकास क्षेत्रको आधारमा मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा वढी र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा कम क्रिश्चियन रहेका छन । पुर्वाञ्चल विकास क्षेत्रमा ३६ हजार ७ सय ५५ पुरुष र ४१ हजार ९ सय ९ महिला गरी कुल ७८ हजार ६ सय ६४, मध्यमाञ्चल विकास क्षेत्रमा ७८ हजार २ सय ८० पुरुष र ८७ हजार २ सय ८९ महिला गरी कुल १ लाख ६५ हजार ५ सय ६९, पश्चिमाञ्चल विकास क्षेत्रमा २४ हजार ४ सय ७२ पुरुष र २९ हजार २ सय ७५ महिला गरी कुल ५३ हजार ७ सय ४७, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा २३ हजार १ सय पुरुष र२६ हजार ८ सय १३ महिला गरी कुल ४९ हजार ९ सय १३ र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा १२ हजार ८ सय ६३ पुरुष र १४ हजार ९ सय ४३ महिला गरी कुल २७ हजार ८ सय ६ क्रिश्चियन रहेका छन ।
    जिल्लाका आधारमा तराईका जिल्लाहरु मध्ये सप्तरीमा  ३ सय, सिरहामा ३ सय ५३, धनुषामा ६ सय ५२, महोत्तरीमा ८ सय ७८, सर्लाहीमा १ हजार ७ सय ५२ रौतहटमा १ हजार ४९, बारामा १ हजार ६ सय २१, पर्सामा ७ सय ५३, चितवन १९ हजार ६ सय ८२, नबल परासीमा ११ हजार १ सय ८०, रुपनदेहीमा ५ हजारा ८ सय २४, कपिलवस्तुमा १ हजार १ सय १५, दांगमा ७ हजार ४ सय ३१, बाँकेमा ६ हजार ४ सय ६६, वर्दियामा ९ हजार २ सय ४१ क्रिश्चियन रहेका छन ।

मिति ः २०७०÷०९÷१४

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete