Sunday, December 29, 2013

परिवार नियोजन गराउन महिलाहरुको घुइंचो



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

    
जनकपुरमा जति जति जाडो वढ्न लागेको छ, परिवार नियोजन गराउन आउने महिलाहरुको संख्या पनि सोही अनुपातमा वढन लागेको छ । गर्मी महिनामा अपरेशन गराउँदा घाउ पाक्ने र जाडो महिनामा अपरेशन गराउँदा घाउ नपाक्ने मान्यता बोकेका कारण पुष महिना देखि परिवार नियोजन संघ, जनकपुर अञ्चल अस्पताल र मेरी स्टोप्स सेन्टरमा महिलाहरुको अहिले घुइँचो बढेको हो । तर, चिकित्सकहरुका अनुसार जुन सुकै महिनामा अपरेशन गराउँदा पनि केही हुँदैन, यो अवधारणा अन्धविश्वासका कारणले वढेको हो ।
     ९ पौष २०७० मा परिवार नियोजन संघ, जनकपुरको कार्यालयमा बच्चा बोकेका आइमाईहरु आफ्न्त संगै परिवार नियोजनका लागि विभिन्न गाउँबाट आइपुगेका थिए । रमदैया(२ की ४० वर्षिय मञ्जु देवी महरा दुई छोरा र दुई छोरी गरी ४ सन्तान कि आमा हुन । दुई वटा  जेठी छोरी भएपनि छोराको आशमा उनले दुई छोरालाई जन्माईन । छोरा जन्मेपछि मात्र उनी परिवार नियोजन गराउन आइपुगेकी हुन । त्यसैगरी रमदैया(२ कै ४० वर्षिय बबिता देवी यादव पनि एउटा छोरी पछि २ वटा छोरा जन्मेपछि मात्र परिवार नियोजन गराउन आएकी थिईन । यी त उदाहरण मात्र हो । जब सम्म छोरा हुँदैन, परिवार नियोजन गराउने कुरै आउँदैन । परिवार नियोजन गराउन आउँने अधिकांश महिलाहरुमा छोराको चाहना पुर्ति भएपछि मात्र उक्त निर्णयमा पुग्ने गर्छन । दुई वटा छोरी भयो र छोरा नभएपनि परिवार नियोजन गराउने कुनै पनि महिला भेटिएनन ।
    २४ मंसिर देखि सुरु भएको निशुल्क परिवार नियोजनको शिविर माघ मसान्तसम्म चल्ने परिवार नियोजन संघका वरिष्ठ शाखा प्रवन्धक राम बहादुर कार्कीले बताएका छन । प्रति महिला रु. १ सय २५ र निशुल्क औषधि समेत दिने गरिएको उनले बताए । परिवार नियोजनका लागि गाउँ गाउँ गएर मान्छेलाई जनचेतना दिने गरिएको उनले बताए । हालसपप्म्म धनुषाको झटियाही, विरेन्द्र बजार, फुलगामा, बहेडाबेला, झोझिकटैया, खजुरी, बसविट्टी, भुचक्रपुर, रमदैया भवाडी, तारापट्टी सिरसिया, सोनिगामा र रुपैठा गाउँका मानिसहरुलाई परिवार नियोजनका लागि मान्छेहरु आएको कार्कीले बताए ।  परिवार नियोजन संघमा डा. दिपेन्द्र यादव, जनकपुर अञ्चल अस्पतालमा डा. विजय सिंह र डा. धिरेन्द्र साह र मेरी स्टोप्स सेन्टरमा डा. दिपेन्द्र कुमार गोहिवारले अप्रेशन गर्छन । क्लयान्टले सहयोग गरेको खण्डमा एउटा अप्रेशनमा १० मिनेट जति लाग्ने गरेको  चिकित्सकहरु बताउँछन । एक दिनमा ४० देखि ५० वटा सम्म एउटा चिकित्सकले अप्रेशन गर्ने गरेका छन ।
    ९ पुषसम्म परिवार नियोजन संघमा ७ सय ११ जना महिलाले मिनी ल्याप गराएकी थिईन । गत वर्ष सन् २०१२ मा उक्त संस्थामा ३ सय ५१ जना महिलाले मिनी ल्याप गराएकी थिईन । ९ पुषसम्म  जनकपुर अञ्चल अस्पताल, नेपाल परिवार नियोजन संस्थागत कार्यालयमा २ सय ३१ जना महिला र मेरी स्टोप्स सेन्टरमा ४ सय जना महिलाले मिनी ल्याप गराएकी छन । सन् २०१२ मा जनकपुर अञ्चल अस्पतालमा १ हजार ५० र मेरी स्टोप्स सेन्टरमा ६ सय १४ जना महिलाले मिनी ल्याप गराएकी थिईन । परिवार नियोजनका लागि गर्भ रोक्ने स्थायी उपायहरु मध्ये महिलाको दुवै तिरको डिम्ब बाहिनी नली काटेर बाँधने प्रक्रियालाई मिनी ल्याप भनिन्छ । विगतमा मेसिनद्वारा महिलाको डिम्ब बाहिनी नली नकाटेरै बाँधने प्रक्रिया (ल्याप्रोस्केपी) असफल हुन थालेपछि मिनी ल्याप अहिले प्रयोगमा वढी आएको हो ।
घट्यो पुरुष बन्धयाकरण
पुरुषको शुक्रकिट बाहिनी नली लाई दुई टुक्रा पारी बाँधेर गरिने नियोजन प्रक्रियालाई भ्यासेक्टोमी भनिन्छ । गत वर्ष सन् २०१२ मा जनकपुर अञ्चल अस्पतालमा ७ जना, मेरी स्टोप्स सेन्टरमा ५ जना  गरी कुल १२ जना पुरुषहरुले भ्यासेक्टोमी अर्थात पुरुष बन्धयाकरण गराएका थिए । परिवार नियोजन संघमा उक्त संख्या शुन्य रहेको थियो । तर यस वर्ष जनकपुर अञ्चल अस्पतालमा हालसम्म कुनै पनि पुरुषले उक्त सेवा लिएका छैनन भने मेरी स्टोप्स सेन्टरमा १० जना पुरुषले भ्यासेक्टोमी गराएका छन । बन्ध्याकरण गराउने परुषहरुमा अधिकांश पहाडीमुलका रहेका मेरी स्टोप्स सेन्टरका फिल्ड सुपरभाइजर सिता शरण प्रसाद साहले बताएका छन । सन्तानको रहर पुरा भइसकेका पुरुषहरुले बन्ध्याकरणका  लागि खास गरी सेना, प्रहरी त्यो पनि अन्य जिल्लाको रहने गरेको साहले बताए । महिलाले बन्ध्याकरण गराउन इच्छुक नभएपछि बन्ध्याकरण गराउन पुरुषहरु अग्रसर भएको  हुनसक्ने साहको  अनुमान छ ।  तर ग्रामीण क्षेत्रमा अहिलेपनि पुरुषले बन्ध्याकरण गरायो भने शारीरीक रुपले उ कमजोर हुने र  गाह्रो काम गर्न अक्षम हुने अन्धविश्वास रहेको छ । उक्त अन्धविश्वासलाई हटाउन समेत सरोकारबाला निकायहरुले ग्रामीण स्तरमा जनचेतना बढाउने कार्यक्रमहरु गर्नु आवश्यक देखिन्छ ।
वढदो जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन आवश्यक
राष्टिूय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये पुरुष ४८.५० प्रतिशत अर्थात १ करोड २८ लाख ४९ हजार ४१ र महिला ५१.५० प्रतिशत अर्थात १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेका छन् । यस अनुसार लैङिगक अनुपात १ सय महिलामा पुरुषहरुको संख्या ९४.१६ रहेको छ । गत २०५८ सालमा कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ र लैङिगक अनुपात ९९.८० थियो । सालाखाला बार्षिक वृद्धि दर १.३५ रहेको छ जुन २०५८ सालको जनगणना अनुसार बार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।
    २०६८ को जनगणना अनुसार धनुषामा २ लाख ८९ हजार ४६ पुरुष र २ लाख ९० हजार ९ सय ५२ महिला गरी कुल ५ लाख ७९ हजार ९ सय ९८ जनसंख्या रहेको छ । जस मध्ये १ लाख १७ हजार ५ सय २३ पुरुष र ७७ हजार ३ सय ८७ महिला गरी कुल १ लाख ९४ हजार ९ सय १० जना अविवाहित छन । त्यसैगरी १ लाख ६० हजार ५ सय १० पुरुष र १ लाख ९९ हजार ५ सय ६१ महिला गरी कुल ३ लाख ६० हजार ७१ जनाले  एक पटक विवाह गरेका छन । त्यसैगरी ४ हजार ३ सय पुरुष र १ हजार २ सय ३९ जना महिला गरी कुल ५ हजार ६ सय १० जनाले बहुविवाह गरेका छन । त्यसैगरी २ हजार २ सय ५३ पुरुष र ९ सय ४० महिलाले गरी कुल ३ हजार १ सय ९३ जनाले दोस्रो पटक विवाह गरेका छन । त्यसैगरी ४ हजार ७९ पुरुष विदुर र ११ हजार ५ सय ७ जना विधवा छन । १ सय ८ जना पुरुष र ९५ जना महिलाले सम्बन्ध विच्छेद गराएका छन भने २ सय २ पुरुष र २सय २३ जना महिला अलग भएर बसेका छन ।
    नेपाली समाज परम्परागत मान्यताले बाधिएको छ । छोरालाई वृद्धावस्थाको सुरक्षाको रुपमा लिने परिपाटी विद्यमान छ । छोरा नभएमा पुण्य प्राप्ति हुँदैन भन्ने भावनाले गर्दा छोरा नजन्मेसम्म सन्तान जन्माईरहन्छ । धेरै जसो परिवारमा छोरा पाउनको लागि र सन्तान जन्माउनको लागि पनि बहुविवाह गर्ने चलन छ । आफ्नो सम्पति रक्षा गर्नको लागि, छोराले मर्दा काजक्रिया गराउँदा मात्र पितृकार्य शुभ हुने आदी यस्ता भावनाहरुले प्रेरित भएर पनि वढी सन्तान जन्माउने पाइन्छ ।
    बर्तमान समयमा परिवार नियोजन जनसंख्या वृद्धिको रोक लगाउनमा निकै प्रभावपुर्ण उपाय सिद्ध भएको छ । जनसंख्या वृद्धिलाई रोक लगाउन परिवार नियोजनका दुई प्रभावकारी उपाय छन, स्थायी र अस्थायी । गाउँघरका कतिपय दम्पति जन्म अन्तर बढाउन इच्छुक हुँदा हुँदै पनि परिवार नियोजनका साधनको अभावले त्यसो गर्न सक्दैनन् । अतः परिवार नियोजनका सुविधाहरु गाउँ स्तरसम्म पु¥याउनु पर्दछ । नियोजित परिवारलाई विभिन्न सुविधा समेत दिनु अनिवार्य छ । अस्थायी साधनको वितरण तथा स्थायी उपायहरुलाई ग्रामीण क्षेत्रहरुसम्म विस्तार गर्नु आवश्यक छ ।
    महिलाहरुको स्थिति नउठाएसम्म प्रजनन घटाउने उपायहरु हुन सक्दैनन् । विवाह ढिलो गर्ने र प्रजनन घटाउनका लागि नारीहरुको उपस्थितिहरुले अनुकुल परिस्थिति सृजना गर्दछ । तर बाहिर रोजगारीका अवसर प्राप्त भएमा महिलाहरु आत्म निर्भर हुन्छन । अतः उनीहरु पति रोज्न र विवाहका समय तोक्न ढिला गर्न सक्षम हुन्छन ।



मिति ः २०७०÷०९÷१४

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete