Sunday, December 29, 2013

म टुट्न सक्छु तर झुक्न सक्दिनँ – जयप्रकाश गुप्ता


म टुट्न सक्छु तर झुक्न सक्दिनँ – जयप्रकाश गुप्ता

पुष ७ र ८ गते तराई मधेस राष्ट्रिय अभियानले जनकपुरमा आयोजना गरेको दुई दिने चिन्तन शिविरमा अभियानका केन्द्रिय संयोजक जय प्रकाश प्रसाद गुप्ता सँग द एक्सक्लुसिभ साप्ताहिकका सम्पादक अजय अनुरागीले मधेसको वर्तमान अवस्था, अवको बाटो, संविधानसभामा सहभागी भएका राजनीतिक दलहरु र मधेसलाई केन्द्रित गरी भुमिगत राजनीति गरिरहेका सशस्त्र समुह लगायत अब बन्ने संविधानको मुद्दामा गरिएको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।

तराई मधेस राष्टिूय अभियानले जनकपुरमा गरेको दुई दिने चिन्तन शिविरमा कुन कुन मुद्दा माथि चिन्तन गरेको हो ?
चिन्तन शिविर एउटा नयाँ प्रकारको कार्यक्रम हो । मधेसको राजनीतिमा प्रष्टतः दुईवटा धार देखा परिरहेका छन । संविधानसभाको निर्वाचन भयो । एकथरीका साथीहरु राम्रो वा नराम्रो जे परिणाम आयो, वहाँहरु संविधानसभा तिर लाग्नु भएको छ । तराई मधेस राष्टिूय अभियानले प्रारम्भ देखि नै भन्दै आएको छ कि यस पटकको संविधानसभाले राज्यको रुपान्तरण र मुलुकको शासन व्यवस्थामा आमुल परिवर्तनको लागि उपयोगी माध्यम हुने छैनन् । अपितु राज्यको रुपान्तरणका मुद्दाहरु, आधारभुत मुद्दाहरुलाई न्यूनीकरण गर्ने, मुद्दाहरुलाई ‘डाइल्यूट’ गरिदिने, धुलिकरण गरिदिने प्रयोजनबाट नै यो संविधानसभाको गठन हुँदैछ । तसर्थ ५÷१० जना प्रतिनिधि कम भएपनि वा वढेपनि संविधानसभामा भाग लिएका मधेसी पार्टीहरु र निर्वाचन पछि त्यहाँ पुगेका पार्टीहरु मधेसको हक हितको लागि कुनै सारभुत काम गर्न सक्ने मैले देखेको छैन ।
    यसको उदाहरण यस कुराबाट पनि लिन सकिन्छ कि हारेका पार्टीका अध्यक्षहरु अहिले खिलराज रेग्मी, सुशिल कोइराला, माधव नेपालका अगाडी लम्पसार परेर २६ जनामा नाम समाविष्ट गरेर संविधानसभामा पुग्न पाउँ भन्ने विन्ती पत्र हाल्दै छन् । उपेन्द्र यादव ज्यूहरु निर्वाचनमा धाँधली भयो भन्दै एमाओवादीको पछि पछि लाग्नु भएको छ । विजय गच्छेदारजी पच्चासै जना भएपनि एउटा मोर्चा बनाएर कसरी सत्तामा आफ्नो हिस्सेदारीलाई निरन्तरता दिन सकिन्छ भन्ने तिर लाग्नु भएको छ । तसर्थ संविधानसभामा गएका यी मित्रहरुबाट मधेसको लागि कुनैपनि परिवर्तन मुखि काम हुन सक्ने हामीले विश्वास लिएका छैनौं । अब यस्तो स्थितिमा हामी जो हिजो निर्वाचनमा भाग लिएका थिएनौं, आजको मितिमा संघर्षको मैदानमा छौं । अब कुन बाटो अख्तियार गर्ने, कस्तो दिशा लिने र कस्तो प्रकारको संगठनको निर्माण गर्ने यस विषयमा मैले अभियानको संयोजकको नाताले कुनै विचार थोपार्नु भन्दा पनि मधेसका लगभग हरेक जिल्लाबाट सिमित र विचार दिन सक्ने साथीहरुलाई सहभागी गराएर यो चिन्तन शिविरको आयोजन गरेका छौं ।
हिजो २०६४ सालको संविधानसभाको चुनावबाट निर्वाचित हुँदै सत्तासम्म पुग्नुभएको तपाई भ्रष्टाचारको मुद्दामा जेल परेपछि तपाईले आफैले भनेको मेरो अब राजनीति करियर सक्यो । अर्को तर्फ सजाय काटेका हुनाले चुनावमा तपाई जाने कुरै भएन, यसर्थ तपाईले चुनावलाई वहिष्कार गर्नुभयो तर अर्को तर्फ तपाईकै अभियानका सर्वदेव ओझा, आत्माराम लगायतका व्यक्ति चुनावमा लड्नु भयो र पराजित पनि हुनु भयो । यो कस्तो ‘डवल स्ट्यान्डर्ड’ हो, तपाईंको ? किन यति द्विविधा ?
हेर्नुस् म मा कुनै द्विविधा छैन । म माथि भ्रष्टाचारको मुद्दा लगायो, त्यसबारेमा मैले धेरै कुरा बोलिसकेको छु । अब म सदैव त्यो मुद्दामा चर्चा गरिरहने स्थितिमा छैन । र, मेरो राजनीतिक धार परिवर्तन भइसक्यो । म जेलबाट रिहा हुने वित्तिकै मैले सार्वजनिक रुपमा मधेसी जनता माझ प्रतिज्ञा गरिसकेको छु कि म निर्वाचनको राजनीति पनि गर्दिनँ । र, जिवनमा कहिल्यै सत्ताको राजनीति गर्दिनँ । तसर्थ मेरो बाटो स्पष्ट छ र, त्यो बाटो संघर्ष र शान्तिपुर्ण आन्दोलनको माध्यमद्वारा मधेसले हासिल गरेको उपलब्धीलाई बचाउँदै थप उपलब्धीको लागि संघर्ष गर्ने । तराई मधेस राष्टिूय अभियान मैले गठन गरेपछि म संग रहेका थुप्रै साथीहरु क्रमिक रुपले कोई निर्वाचनमा गएर, कोई अर्को पार्टी कांग्रेस र एमाओवादीमा  जानु भयो । त्यसका बाबजुद पनि मधेसी जनताको आन्दोलनको मार्ग अवरुद्ध भएको छैन ।
    अभियानले विराटनगरको राष्टिूय परिषदबाट निर्वाचन फलदायी हुँदैन । त्यसकारण हामी निर्वाचनमा वहिष्कार भन्दा पनि हाम्रो असहभागिता रहने निर्णय गरेको हो । आत्मारामजी, सर्वदेव ओझाजीले हाम्रो त्यो निर्णयलाई नमानेर निर्वाचनमा भाग लिनु भयो । र, हाम्रो पुरै संगठनको पंक्तिले यो कुरालाई महसुस गरेको छ कि उहाँहरुले गल्ती गर्नुभयो । यो चिन्तन शिविरमा पनि उहाँहरुको भुमिकाको आलोचना भएको छ । उहाँहरुले पनि त्यो गल्तीलाई महसुस गर्नुभएको छ । निर्वाचनको परिणामले पनि उहाँहरुलाई साथ दिएन । विचको अवधिमा जले जे गरेपनि अब अगाडीको बाटो भनेको आन्दोलनकै बाटो हो ।
तपाईको यो अभियान त निर्वाचन आयोगमा राजनीतिक दलको रुपमा दर्ता नभएको हुनाले यसलाई कुन संगठन भन्ने ? यसको भविष्य के हो ? यसरी नै सडकमा मात्र बस्ने हो, अभियान ?
यो मुलतः एउटा राजनीतिक संगठन हो । जहाँ जयप्रकाश गुप्ता हुन्छ, जहाँ विहान देखि बेलुकी सम्म होल टाइम राजनीति गर्ने साथीहरु हुन्छ, त्यो गैरसरकारी संस्था कहलाउँदैन । खाली फरक के हो भने निर्वाचन प्रयोजनको लागि हामीले दल दर्ता गरेनौं । आज हामीले यसलाई एउटा ‘क्याम्पेन’ को स्वरुप दिएका छौं । राजनीतिक सोच विचारको आधारमा हामीले हाम्रा ध्येयसँग सम्बन्धित मान्छेहरुलाई यसमा सहभागी गराउँदै जाने हो । त्यसकारण भोली यो पार्टीको रुपमा दर्ता होला नहोला आफ्नो ठाउँमा छ । एउटा सशक्त राजनीतिक संगठनको रुपमा यसले आफ्नो पहिचान बनाएको छ । र भोलीको दिनमा पनि एउटा जुझारु आन्दोलनकारी राजनीतिक शक्तिकै रुपमा हामी रहन्छौं । मुलुकको जनसंख्याको यत्रो ठुलो भाग रहेको मधेसी जनताहरुको राजनीतिक आकांक्षालाई यदी हामीले इमान्दारी पुर्वक ग्रहण गरिरहयौं भने यसको भविष्य उज्जवल छ ।
मधेस केन्द्रित राजनीति गर्ने दलहरु पनि अब सडक संघर्ष गर्ने बताइरहेको बेला के तपाई उनीहरुसँग सडकमा सहकार्य गर्नु हुन्छ ?
म द्विविधा ग्रस्त कुराहरु गर्न चाहन्न । महन्थ ठाकुर, विजय गच्छेदार, राजेन्द्र महत्तो, शरत सिंह भण्डारी, उपेन्द्र यादव ज्यूहरु सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा लागि सक्नुभयो । उहाँहरु संविधानसभामा के के गर्नु हुनेछ त्यसको बारेमा आज मैले धेरै फोरकास्ट गरिराख्नुपर्ने जरुरी छैन्,समयले नै बताउँला । तर, म के ठोकुवा गर्न चाहन्छु भने परिवर्तनलाई उहाँहरुले नेतृत्व दिन सक्नु हुन्न । आउने दिनमा उहाँहरु प्रतिगमन अथवा मधेसको अधिकारलाई तिलाञ्जली दिएको, तिरस्कृत गरिएको संविधान निर्माणको प्रक्रियामा उहाँहरु रहनु हुने छ । तसर्थ हाम्रो बाटो र उहाँहरुको बाटो अलग छ । संविधानसभामा भएका पार्टीहरु मिलुन, एकता गरुन र एकता गरेर मिलेर खाउँ भन्ने मेरो चाहना होइन । तसर्थ हाम्रो र उनीहरुको धार अलग भइसकेको छ । यदि उनीहरु संसदीय अभ्यास (अहिलेको संविधानसभा) बाट निराश भएर आन्दोलनको बाटोमा आउनु हुन्छ भने, आन्दोलन कसैको एकाधिकार पनि होइन ।
    जतिखेर मधेसी जनता आन्दोलित हुन्छन्, उनीहरु पनि आए त्यसको लागि बाटो खुला रहन सक्छ, संवाद  पनि हुन सक्छ । त्यस प्रयोजनका लागि हामी संगै जान पनि सक्छौं ।
पछिल्ला दिनहरुमा भुमिगत रहेका शसस्त्र समुहहरुसँग खास गरी जयकृष्ण गोइत सँग पनि तपाईले भेट गर्नुभएको थियो । उनीहरुको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ ? के तपाई पनि भुमिगत हुने हो ?
म भुमिगत हुन्न् । आजको मितिमा भुमिगत हुनुपर्ने कुनै अवस्था पनि म देख्दिन । शान्तिपुर्ण आन्दोलनको धारमा रहन्छु तर आत्म समर्पणको धारमा पनि जान्न् । मेरो राजनीतिसँग राज्य असहिष्णु भएर मलाई फेरी पनि प्रताड्ति गर्न सक्छ त्यो राज्यको कुरा हो । मलाई जेल हाल्न सक्छ, म माथि झुठो मुद्दा लगाउन सक्छ त्यसमा म धेरै प्रतिक्रिया दिन चाहन्न् । जयकृष्ण गोइतजी हरुको बाटो गलत छ  । तराइमा सशस्त्र संघर्ष गर्ने साथीले उपयुक्त बाटो समात्नु भएको छैन । र उहाँहरुको आन्दोलन अहिलेको स्थितिमा कुनै परिणाम पनि दिन सक्ने अवस्था छैन । तसर्थ मैले उहाँ हरुलाई बारम्बार भेटेर भनेको छु कि तपाईहरु यो बाटो छोड्नुस् । शान्तिपुर्णबाटोमा आउनुस् । सशस्त्र आन्दोलनको लागि जुन अन्तराष्टिूय परिस्थिति छ, देशभित्रको परिस्थिति जस्तो चाहिने हो, ति परिस्थितिहरु अहिले विद्यमान छैनन् । तसर्थ त्यो आन्दोलन औचित्य पुर्ण छैन् । मैले बारम्बार यो कुरा भन्दा केही मान्छेहरु, होइन जयप्रकाश सशस्त्र समुह तिरै लाग्छन भनेर वढी मनोगत कुरा गरिरहेका छन र सायद केहीले सोचेका होलान् , जयप्रकाश सिमापारी गयो भने आखिर यसको दसा पनि के हुन्छन्, लुुकिछिपी बस्ने भुमिगत ग्रुप जस्तै होला । नेपालमा जयप्रकाश गुप्ता बस्दाखेरी जे प्रभाव र भुमिका निर्वाह गर्न सक्छ त्यो भुमिका निर्वाह नगरुन भन्ने पनि चिताएका हुन सक्छन । तर मेरो त्यस्तो न स्कुलिङ छ ,न म त्यस्तो मान्छे हो, न कहिल्यै हतियारको राजनीति गरेको छु र भविष्यमा पनि गर्ने बाला छैन ।
तपाई सडकबाट निकास खोजी रहनु भएको छ तर वास्तविक निकास भनेको सडक त होइन, संविधानसभा न हो । यदि संविधानसभाबाट एक थान नयाँ संविधान सहमतिका साथ दिइयो भने तपाईलाई आपत्ति हुन्छ र ?
सबाल के हो भने कसको बिचमा सहमति । तपाईले उल्लेख गरेको सहमति मधेसीसँग, दलितसँग, जनजातिसँग, संघीयतावादीसँग सहमति गरेर हिडौं भन्ने खालको होइन । उनीहरु के भन्दैछन भने कांग्रेस र एमाले सहमत भएर अगाडी वढुन् । दुइ्टैका मुद्दाहरु लगभग एकै प्रकारका छन । यिनीहरुको मुद्दालाई हामीले गहिरीएर हेर्ने हो भने हाम्रा राजनीतिक अभियानलाई, मागहरुलाई समाप्त पार्ने विषयमा उनीहरु सहमत हुन सक्छन । कांग्रेस र एमाले पुरै र एमाओवादी पनि धेरै हदसम्म मधेसको मुद्दाको खिलाफमा छ । तसर्थ मधेसका मुद्दा विरोधीहरुको विचमा सहमतिको अभ्यास गर्ने र संघीयता विरोधी संविधान बनाउने उनीहरुको सोचाई हो । तसर्थ उनीहरुले हाम्रा मुद्दालाई समाप्त गर्ने गरी सहमत भएमा एक थान होस कि दुई थान संविधान, त्यो हाम्रो लागि मान्य हुदैन । दोस्रो कुरा निर्वाचित निकाय समस्या समाधानको एउटा उचित थलो हो । निर्वाचित निकायले यी निर्णय गर्न सक्नु पर्दछ ।  पञ्चायती निर्वाचनले समस्या समाधान दिन नचाहेकैले कांग्रेस र एमालेहरु ३२ वर्षसम्म भाग लिएनन् । संसारमा हरेक निर्वाचन परिणाम मुखि हुन्छ वा परिवर्तनको उद्देश्यबाट ओतप्रोत हुन्छ भन्ने होइन । अहिलेको संविधानसभाको निर्वाचनबारेमा पढेलेखेका मान्छेदेखि गाउँका एउटा साधारण मान्छेले पनि एक महिना वित्दैमा यो धारणा बनाइसकेका छन कि यो निर्वाचनबाट संविधान बन्दैन । बनेपनि राज्यको रुपान्तरण र परिवर्तन मुखि संविधान बन्दैन । ‘डाउन टूोजन पिपुल’ अर्थात भुईमा थचारिएका मानिसहरु जबसम्म आन्दोलनका लागि अगाडी आउँदैन मलाई लाग्छ हामी हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौं ।
मधेसका दलहरुले कुन कुन एजेण्डा छाड्े र तपाईले अहिले बोक्नुभएको हो ?
पहिलो कुरा मधेसवादीहरुले संघीयताको मुद्दा छोडेर सत्ताको बाटोमा लागे । मधेस प्रदेशको मुद्दा छोडे । मधेसका भाषाहरुलाई औपचारिक मान्यता दिलाउने मुद्दा उनीहरुले छोडे । मधेसी जनताको जनसंख्याको आधारमा प्रतिनिधित्वको विषयलाई उनीहरुले छोडे । मधेसलाई अधिकार सम्पन्न गराउने जति पनि मुद्दाहरु उठेको थियो, यी सबै विषयहरुलाई उनीहरुले परित्याग गरे । र उनीहरु सत्ताकी देवीको पाउमा आफ्नो शिर निहुराई ‘त्वमेव माताऽ च पिता त्वमेव, त्वमेव बन्धुऽ च सखा त्वमेव’ मा लागे । त्यो प्रवृति सँग ‘इन्टायरली’ म पुर्ण रुपमा असंतुष्ट छु । उनीहरुले छोडेका एजेण्डा मैले समातेको होइन परिवर्तका लागि म समेत मिलेर बनाएको एजेण्डाहरुमा म पहिले पनि प्रतिवद्ध थिए । आज पनि छु खाली फरक के हो भने उनीहरु सत्ता तिर लागे म संघर्ष तिर छु ।
एकला चलो रे भन्दै संघर्षले पनि परिणाम त दिने होइन नि ?
तपाई यो चिन्तन शिविरमा मधेस भरीकै मुर्धन्य कार्यकर्ताहरु हेर्नुभयो । यो एकला चलो होइन । एकला चलो भएपनि अब हामी आन्दोलनकारी साथीहरुको श्रृङ्खला बनाउँदै छौं । आउने दिनमा यो अझ बलियो हुँदै जाने छ । म एकलै भएपनि जयप्रकाश गुप्ता टुटन सक्छ तर झुक्न सक्दैन ।
यतिको चेत त तपाईलाई जेल जानु अगाडी नै सत्तामा बसेको बेला पनि आउनु पथर््यो नि ?
मेरो चेत त्यति खेर पनि खुलेकै हो । जेल जानुभन्दा पहिले सत्ताको बारेमा, माओवादीको बारेमा, स्वयम मधेसी दलहरुको बारेमा मेरा दृष्टिकोणहरु जुन सार्वजनिक भएको छ त्यसलाई तपाईले ध्यानमा राख्नुभयो भने सायद यो प्रश्नलाई अलिकति अलग किसिमले गर्न सकिन्थ्यो । म मन्त्रि हुँदै खेरी राज्य मधेसका मुद्दाहरु प्रति निरपेक्ष हुँदै गएको छ, राज्य सत्ता मुद्दाहरुलाई स्वीकार गर्न चाहेको छैन । माओवादी र मधेसी बीच सहकार्य भएपनि माओवादीले मधेसीलाई धोका दिएका छन । मधेसीको बुई चढेर माओवादीले सत्ताको रसस्वादन गर्न मात्र खोजेका छन, मधेसी पार्टीहरु अब निर्जिव र लाचार छाया हँुँदैछ, सडकमा जानुपर्छ, मधेससँग काठमाण्डौको सम्बन्ध टुटनै लागेको छ  भनेर भनेकै हो नि ।
त्यो त तपाई जेल जाने लगभग तय हुने भएपछि त्यस्तो कुरा गर्न लाग्नु भएको थियो नि, हैन ?
जेल जानु न जानु विभिन्न कुराले निर्धारित गर्ने हो । तपाईले भने अनुसार नै यदि म जेल जाने निश्चित नै भएको थियो भने मैले त जेल जान बाट बच्ने उपायको पो खोजी गर्थें । तपाई हेरी रहनु भएको छ, अहिले पनि कतिपय नेताहरुलाई मुद्दा लागेको छ , तिनीहरु अख्तियार देखि विभिन्न शक्ति केन्द्र धाउँदै छन । म पनि यिनीहरु जस्तै राष्टूपतिको पाउँमा गएर शिर निहुराएर विन्ती गरेको भए भइहाल्थ्यो नि ।
राप्रपा नेपाल अहिले चौथो शक्ति बनेको छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?
राप्रपा नेपालका नेताहरुको जुन मण्डले चरित्र जुन इतिहासमा रहेको थियो त्यसलाई अलिकति धोइपखालेर, मोडेरेट गरेर अलिकति लोकतान्त्रिक धार देखाउन खोजेर हिन्दुत्वको मुद्दामा मत पाएका हुन । अब उनले २४ जनाको सभासदको नामावली पठाउँदा तिनीहरुको चरित्र तपाई हेर्नुस(पञ्चायत समयमा कुख्यात अनुदार प्रजातन्त्र विरोधी चरित्रका मण्डलेहरु नै पाउनु हुनेछ । जनताको मत लिएर गएका राप्रपा नेपालले जनताको आकांक्षा माथि तुषारापात गर्ने छ ।
के तपाई अब कांग्रेसमा फर्कने हो ?
म कांग्रेसमा फर्कनु भनेको आफ्नो चिहानमा जिउँदै गएर सुत्नु हो । असम्भवको दोस्रो नाउँ हो त्यो मेरो लागि र तिनीहरुसँग कुनै किसिमको सम्झौता गर्नुपनि असम्भव नै हो ।

मिति ः २०७०÷०९÷१४

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete