Tuesday, May 28, 2013

आफै विरामी भएको अस्पताल रोगीलाई कस्तो उपचार देला ?


    जनकपुर अञ्चल अस्पतालको अबस्थापनि दिनानुदिन खस्किदो छ । सरकारले स्वास्थ्य उपचारको लागि बर्षेनी ठुलो रकम छुट्याए पनि अस्पतालमा कुनै सुधार आएको छैन । अस्पतालमा विरामी उपचार हैन रेफर स्लिप पाउने गरेका छन् ।


    मध्य तराईको सबै भन्दा पुरानो जनकपुर अञ्चल अस्पतालको अबस्था खस्किदै गएको छ । धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाको सर्बसाधारण सस्तो उपचारका लागि यही अस्पताल धाउने गर्छन् । अभावै अभावमा पिल्सिएको अस्पतालमा बिशेषज्ञ चिकित्सक छैनन् , भएका चिकित्सक पनि क्लिनिकमै हुन्छन् । यसले गर्दा विरामीको उपचार प्रभाबित हुने गरेको छ । फितलो चिकित्सासेवाका कारण अब त यहां गम्भीर प्रकृतिका रोग भएका विरामी आउन नै छाडेका छन् ।
विक्रम सम्वत् २०२० सालमा स्थापना भएको अस्पतालको आयु जति बढदै छ, मानौ यो त्यति नै कमजोर र निरीह बन्दै छ । स्वास्थ्य सेबा बिभाग र अस्पताल बिकास समितिको गरी ४० जना चिकित्सकको दरबन्दी छ । तर अहिले एक दर्जन भन्दा बढि बिशेषज्ञ चिकित्सकको अभाब छ । स्वास्थ्य सेबा बिभागले खटाउनु पर्ने सर्जन, पिडियाट्रिसियन, फिजिसियन, गाईनोक्लोजिस्ट, साईकेट्रिक्स, ड्रमलोजिस्ट, अर्थाेपेडिक्स, एनेस्थेसिया लगायतका बिशेषज्ञ चिकित्सकको छैनन्  । कनसल्टेन्टको पनि अभाव छ । दुई सय बेडको आवश्यक्ता भएको ठाउ“ एक सय बेड मात्र छन् । भएका चिकित्सकहरु पनि हाजिर गरी हिंडने मानसिकताका छन् । अस्पतालको कमजोर प्रशासनले उनीहरुलाई काम गर्ने पर्ने अबस्था सृजना गर्न सकेको छैन । फलस्वरुप आम जनता उपचार पाउन सकेका छैनन् । अरु त अरु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौराङ्ग मिश्र पनि निजि क्लिनीक मै व्यस्त हुने भए पछि अरु डाक्टरले अस्पतालमा समय दिने कुरै आएन ।
नाम छ अञ्चल अस्पताल तर काम भने प्राथमिक स्वास्थ्य केन्द्र जस्तै । अस्पतालले भरपर्दो उपचार दिन नसकेपछि यस भेगका विरामी काठमाडांै, धरान, चितवन र सिमाबर्ती दरभंगा, पटना, दिल्ली लगायतका ठाउंमा पलायन हुने गरेका छन् । दुई जना सर्जन र एक जना ई.एम.टी सर्जनको दरबन्दी रहेकोमा हाल एक जना पनि नरहेपछि अस्पताल रेफर सेन्टर बनेको कुरालाई पुष्टि गरेको छ । त्यसैगरी गोली लागी घाईते भएका वा गम्भीर दुर्घटनाका विरामीको त कन्तविजोग नै हुन्छ, अस्पतालमा– मेसु डा. मिश्रको भनाई छ ।
अस्पतालको प्रसुति सेवा केन्दमा प्रसुती गराउन आउनेको चाप निकै हुन्छ । । निजी अस्पतालमा प्रसुति गराउदा बढी पैसा लाग्ने हुनाले पनि न्युनआय भएकाहरुको पहिलो रोजाइ अस्पताल नै हुन्छ । तर यहां पा“च बर्ष देखि प्रसुति रोग बिशेषज्ञ छैनन् । चिकित्सकले मात्र गर्नु पर्ने उपचार सिकारु विद्यार्थी र नर्सबाट हुने गरेको छ । चिकित्सकको लापरवाहीले विरामीको ज्यान नै जोखिममा पार्ने काम हुने गरेको छ । शल्यकृया पछि प्रसुतिको पेटमा टेट्रा नामक बस्तु र पिशाब नली काटिएको घटनाको साक्षी नै छ यो प्रसुति केन्द्र । विशेषज्ञ चिकित्सकको अभाबमा पटक पटक प्रसुति सेबा नै बन्द भइसकेको छ । राजनीतिको अखाडा बनेकाले  पनि अस्पतालको बेथिति भएको नेपाल तरुण दलका केन्द्रिय सदस्य प्रफुल्ल घिमिरेको भनाई छ । घिमिरे भन्छन् – अस्पतालमा दलालहरु निकै सक्रिय छन्, अस्पतालमा उपचारका लागि आएका विरामीलाई दलालले जनकपुरकै नर्सिंगहोम र क्लिनिकमा पठाउने गर्छन् ।
बिहान ९ देखि दिउ“सो १ बजे सम्म अनिवार्य रुपमा अस्पतालमा बस्नु पर्ने चिकित्सक एक घण्टा भन्दा बढी समय दिदैनन् । उनीहरुलाई क्लिनिकमा जान हतार भइसकेको हुन्छ । जनकपुर अञ्चल अस्पताल यस्तै डाक्टरसाबहरुको भरमा चलेको छ । अस्पताल आफै विरामी भएको अबस्थामा यसले रोगीलाई कस्तो उपचार देला त ? चिकित्सकहरुले अस्पतालमा हाजिर गर्ने र क्लिनिकमा काम गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ । जनताले तिरेको करले तलब खानेहरु जनताका सेवक हुन् । सर्वसाधारणको स्वास्थ्यसंग खेलवाड गर्ने अधिकार कसैलाई छैन ।


 मिति ः– २०६९–२–२२

No comments:

Post a Comment