Tuesday, July 28, 2015

जनकपुरमा प्रहरीको बर्बर दमन

प्रहरीको कुटाईबाट घाइते भएका बालक दिनेश साह । 
उनलाई विराटनगर स्थित न्यूरो हस्पिटलमा रेफर गरिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

१४ बर्षिय दिनेश कुमार साह अहिले जीवन र मृत्यु बीच संघर्ष गरिरहेका छन् । विराटनगर स्थित न्यूरो हस्पिटलमा उनको आइसियूमा राखेर उपचार भईरहेको छ । ५ साउनमा भर्ना भएका दिनेशको अवस्थामा केही सुधार देखिएपनि स्थिति पुरा पुरी नियन्त्रणमा भने आईसकेको छैन । दिनेशको दाहिने आँखा बन्द छ । जिउ भरी र मुखमा चोटपटकको निल डाम छ । अगाडीको ३ वटा दाँत भाँचिएको छ । ओठ काटिएको छ । छाती दुख्ने गर्छ । टाउको समेत दुख्ने गर्छ । दिनेशलाई हल्लाएपछि केही क्षणको लागि होसमा आएपनि फेरी बेहोस हुने गरेको उनका बुवा श्रवण साहले ९ साउनमा द एक्सक्लुसिभलाई टेलिफोनमा अपडेट जानकारी गराए । बायाँ आँखा खोलेर मान्छेलाई चिन्ने गरेपनि केही छिनमै बेहोस हुने गरेको उनको भनाई छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ठिक त हुन्छ तर कहिले सम्म यहाँ भर्ना हुनुपर्ने हो वा कहिले डिस्चार्ज हुने भन्ने यकिन गर्न सकिएको छैन ।

प्रहरीको कुटाईबाट घाइते भएका यूवा सुशिल कर्ण । साउन ४ गते उनलाई नायव प्रहरी उपरीक्षक कृष्ण प्रसाईको
 कमाण्डमा रहेको टोलीले अण्डकोषमा प्रहार गरेको थियो । 
उनलाई काठमाण्डौ रेफर गरिएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं.५ महाविर चौक स्थित श्रवण कुमार साहका छोरा दिनेशको यस्तो अवस्था होला भन्ने कहिल्यै सोचेका थिएनन् । जानकी चौकमा तरकारी किन्न गएका छोरालाई प्रहरीले मर्नासन्न गरी कुटेकोमा उनलाई प्रहरी प्रतिको विश्वास र आस्था माथि समेत धक्का लागेको छ । जनक सेकेन्डूी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत उनको छोरालाई प्रहरीले कुटेको कुरा फेसबुकबाट थाहा भएछ । घरमै खुर्सानीको व्यापार गर्ने गरेका श्रवणले तरकारी किन्न गएको आफ्नो छोरा कतै खेलिरहेको होला भन्दै आप्mनो काममा व्यस्त थिए । तर, साँझ सम्म पनि नफर्किएपछि श्रवणले आफ्नो कान्छो छोरा नितिशलाई खोज्न बाहिर पठाउँदा मोवाइलमा फेसबुक मार्फत उनको छोरा दिनेशको घाइते अवस्थाको फोटो देख्ने वित्तिकै ठुलो झट्का लाग्यो । हस्याङ फस्याङ गर्दै जनकपुर अञ्चल अस्पतालमा पुग्दा उनको छोरालाई रेफर गरिसकिएको थियो ।



दिनेशका बुवा श्रवणले रुँदै द एक्सक्लुसिभलाई भने,“मेरो छोरालाई प्रहरीले लखेट्दा हंसराज होटल अगाडी नालामा लडे । त्यसपछि प्रहरीले टाउको देखि खुट्टासम्म लाठी र बन्दुकका कुनाले हिर्काएका थिए । होटलमा काम गर्ने महिलाले त्यसो नगर्न भन्दा उनीहरुलाई पनि कुट्न थालेका थिए । जब मेरो छोरा पुरा पुरी बेहोस भए तब मात्र प्रहरीको कलेजामा ठन्डक पसेको थियो । मेरो छोरालाई पुलिसले अस्पतालमा पुर्याएन । होटलका महिलाले पुर्याए ।” हुन त अहिले उपचारको सम्पुर्ण खर्च प्रहरीले बेहोरिरहेको भन्दै श्रवण भन्छन्,“अस्पतालमा धनुषाको एक जना प्रहरी छन् । सुरुमा दुई जना थिए । एक जना फर्केर जनकपुर गईसकेका छन् । उपचार खर्चले मेरो छोरालाई न्याय हुँदैन । मेरो छोरालाई कुट्ने सम्पुर्ण पुलिसको समुहलाई कानुनी कठघरामा उभ्याएर कारवाही नगरिन्जेलसम्म मेरो छोरालाई न्याय मिल्ने छैन ।” आफ्नो छोरा आन्दोलनमा पनि नगएको, तरकारी किनेर आईरहेको निर्दोष, निहत्था बालकले पुलिसको के विगार गरेको थियो र यो अवस्थामा ल्याई दियो भन्दै उनी इन्साफको लागि सम्बन्धित निकायसँग गुहार गरिरहेका छन् ।


प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
यो त एक जना बालक माथि धनुषा प्रहरीले गरेको ज्यादतीको एउटा उदाहरण मात्र हो । साउन ४ र ५ गते गरी दुई दिन धनुषा प्रहरीले जनकपुरको सडकमा मच्चाएको आतंक र बर्बरताको उदाहरण थुपै्र छन् । प्रहरीले के महिला, के बालक, के बृद्ध, के पत्रकार कसैलाई पनि छोडेन । जसलाई पायो पशु सम्झेर हान्दै गयो । जनकपुर अञ्चल अस्पतालको तथ्याङ्क अनुसार त्यो दुई दिनमा करिब ८८ जना मानिसहरु प्रहरीको कुटाईबाट घाइते भई उपचार गराएका छन् । जसमध्ये महिलाहरु रेणु झा, माधवी रानी साह, पुष्पा मिश्र, विभा ठाकुर, अम्बिका मण्डल, प्रभावति देवी, विन्दु ठाकुर, उषा साह, कौशिला देवी, चमेली देवी दास, जानकी कुमारी आदि परेका छन् । पत्रकार, नेता, कार्यकर्ताहरु, सभाषदहरु समेत प्रहरीको कुटाईबाट घाइते हुनु पर्यो ।

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।

४ गते उद्योग बाणिज्य संघको अगाडी प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको कमाण्डमा रहेको सुरक्षाकर्मीहरुको टोलीले प्रदर्शनकारीहरु माथि अचानक सिटी बजाएर लाठी प्रहार गर्न थालेपछि तीन दर्जन भन्दा वढी प्रदर्शनकारीहरुको टाउको फुटेको थियो । जसमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुका साथ साथै मधेस अधिकार संघर्ष समितिका कार्यकर्ताहरु थिए ।

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।

४ गते प्रहरीले प्रदर्शन गरिरहेको श्रवण यादव, श्याम सुन्दर कर्ण, सुरेश यादव,सुरेन्द्र कुमार यादव, सुनिल मण्डल, अनिरुद्र कुमार मण्डल, राज कुमार यादव, मल्लिकान्त दास र सचिन झालाई पक्राउ गरेको थियो । पक्राउ गरेको केही घण्टा पछि जिल्ला प्रशासन कार्यालय धनुषामा राजनीतिक दलका नेताहरुको जिम्मा लगाई रिहा गरिएको थियो । त्यसैगरी ५ गते सुल्तान अन्सारी, मो.रहमत अलि, श्रीराम यादव, राकेश मुखिया, अम्जत खान, विशाल कुमार ठाकुर, सत्यनारायण साह, किशन कुमार झा र अंकित कुमार साहलाई हिरासतमा लिएको थियो । ६ गते सबै जनालाई प्रहरीले रिहा  गरेको थियो ।

   

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
४ गतेको प्रदर्शनमा सबैभन्दा पहिले सुशिल कर्णको अण्डकोषमा प्रहरीले बुट लिएर हिर्काएका थिए । लगत्तै उनी बेहोस भएर ढलेपछि उनलाई नेकपा–माओवादीका धनुषा इन्चार्ज श्याम यादवले जनकपुर अञ्चल अस्पताल पुर्याएका थिए । त्यहाँ पनि उनको होस नआएपछि काठमाण्डौ स्थित सिभिल हस्पिटलमा रेफर गरिएको थियो । अहिले उनी होसमा आएपनि उपचार जारी छ । अण्डकोषको नशा सुनिएकोले अहिले औषधि दिएर डिस्चार्ज गरिएका सुशिलको आइतवार जाँच पश्चात पुनः भर्ना गर्न सकिने छ । अहिले आफु एउटा साथीको कोठामा रहेको सुशिलले द एक्सक्लुसिभलाई बताएका छन् ।

   

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
४ र ५ गते जनकपुर बन्द आह्वान गरी प्रदर्शन गरिरहेको अवस्थामा राय सुझाव संकलन स्थलमा प्रवेश गर्न नदिएपछि हामीले प्रदर्शन गरेको हो भन्दै मासका संयोजक सरोज मिश्र भन्छन,“ प्रहरीले शान्तिपुर्ण प्रदर्शनमा लाठी प्रहार गरी आक्रमण गर्नु मानव अधिकारको घोर उल्लंघन हो । ती सबै उल्लंघन कर्तालाई कानुनी कारवाही हुनुपर्दछ ।”

    धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद रिजाल भन्छन,“ प्रहरीले दमन नै गरेको त होइन । प्रदर्शनकारीहरुले प्रहरी माथि आक्रमण गर्नु, उद्योग बाणिज्य संघका पर्खाल भत्काउन थालेपछि न्यूनतम बल प्रयोग गरेको हो । उच्श्रृङ्खल गतिविधि वढ्न थालेपछि शान्ति सुरक्षा व्यवस्था कायम गर्न सामान्य बल प्रयोग गरिएको हो ।”

    धनुषाका नायव प्रहरी उपरीक्षक कृष्ण प्रसाई भन्छन,“ शान्ति व्यवस्था कायम गर्न लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरिएको हो । प्रहरी माथि ढुङ्गा प्रदर्शनकारीले बर्षाउन थालेपछि अश्रु ग्यास प्रहार गरिएको हो ।” डिएसपी प्रसाईका अनुसार नेपाल प्रहरी तर्फ प्रदर्शनकारीहरुको आक्रमणले ३६ जना नेपाल प्रहरी र ३० जना जति सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् ।

   

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
प्रहरीको कुटाईबाट घाइते भएका नेकपा(माओवादीका केन्द्रीय सदस्य तथा मधेस राष्टिूय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष रोशन जनकपुरी भन्छन,“ प्रहरीले गरेको यो दमन राज्य सत्ता चलाउने अहिलेका ४ दलका नेताहरुको र खास गरी गृहमन्त्री बामदेव गौतम र एमाले अध्यक्ष केपी ओलीको इसारामा भएको हो । जनकपुरमा मात्र होइन सिंगो मधेसमै मधेसी जनताहरु माथि प्रहरीले दमन गरेको छ । अधिकार प्राप्तिका लागि गरेको शान्तिपुर्ण आन्दोलनमा यसरी प्रहार गर्नुले राज्य सत्ताको फासिस्ट शैलीको उजागर भएको छ ।”

    राजनीति विश्लेषक तथा अधिकारकर्मी तुलानारायण साह भन्छन,“जनकपुरमा यूवाहरुको नेतृत्वमा गरिएको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले स्कुल जाने बाल बालिका देखि महिला सम्मलाई निर्ममता पुर्वक पिटेको छ । घटनाको न्यायिक छानविन हुनुपर्दछ ।”

    डिएसपी कृष्ण प्रसाई भन्छन,“मेरो कमाण्डमा रहेको टोलीले अश्रु ग्यास हान्नै परेन । शिव चौक र भानु चौकको बीचमा रहेको टोलीले दुई दर्जन जति अश्रु ग्यास ४ गते प्रहार गरेका थिए ।
त्यसैगरी ५ गते करिब ३ राउण्ड अश्रु ग्यास प्रहार गरिएको थियो ।”

२०७२ श्रावण १० गते आईतबार

No comments:

Post a Comment