Tuesday, July 28, 2015

दमन होइन, सामान्य बल प्रयोग गरेको हो ः प्रजिअ पराजुली

काली प्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी, धनुषा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

साउन ४ र ५ गते प्रारम्भिक संविधानको मस्यौदामा राय सुझाव संकलन गर्ने कार्यका लागि संविधानसभाबाट सचिवालयका कर्मचारीहरु र माथिबाटै खटाइएका सभाषदहरुको टोलीका लागि समन्वय र सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको थियो । जनताको सुझाव लिने उक्त कार्यका लागि विभिन्न चरणमा पत्रकार, नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल लगायतहरु सँग पहिले नै एक राउण्ड छलफल जिविसमा भईसकेको थियो । सर्वपक्षिय वैठक गरेर शान्तिपुर्ण रुपमा धनुषाको ७ वटै निर्वाचन क्षेत्रमा गर्ने भन्ने कार्यक्रम तय भएको थियो । 

    त्यसपछि विभिन्न सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भनेर हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धानका कर्मचारी सहितको टोली परिचालन गरेका थियौं । मस्यौदाका विरोध गर्ने राजनीतिक दलहरुलाई पनि शान्तिपुर्ण तरिकाले आफ्नो विचार राख्न पाउने हक छ । संविधानका विवादित विषयहरुमा, चित्त नबुझेका कुराहरु राख्न पाउने हिसावले उहाँहरुलाई पनि अधिकार दिइएको थियो । 

    यहि शिलशिलामा ४ गते ७ वटै निर्वाचन क्षेत्रमा कार्यक्रमहरु सुरु भयो । खास गरी धनुषाको २ नम्बर र ४ नम्बर क्षेत्रमा कार्यक्रम स्थल बाहिर विरोधमा रहेका राजनीतिक दलहरुले प्रदर्शन गर्न थाले । जनकपुरमा उद्योग बाणिज्य संघको हल बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गर्नुका साथै बाणिज्य संघको पर्खाल भत्काउने, रेलिङ भत्काउने, ढोकाको ताल्चा फुटाउने जस्ता कार्यक्रमहरु गर्न थाले । सुरक्षामा खटिएका प्रहरीहरुलाई धक्का मुक्की गर्ने जस्ता कार्यहरु हुन थाल्यो । त्यसपछि प्रहरीले ती प्रदर्शनकारीहरुलाई त्यस्ता कार्य गर्नबाट रोक्नका लागि सामान्य बल प्रयोग गरेर त्यहाँबाट उहाँहरुलाई पन्छाउने काम गरेको हो । सुरक्षाको एउटा प्रिन्सिपल नै के हुन्छ भने न्यूनत्तम बल प्रयोग गरेर भिडलाई तितर वितर गरेर पन्छाउने हो । अत्यधिक बल प्रयोग भएको छैन । गोली चल्ने अवस्था आएन । प्रहरीले संयमतापुर्वक आफ्नो काम गरेको छ । मिनिमम बल प्रयोग गरेर शान्ति सुरक्षा कायम गरिएको छ ।

यस्तो उग्र रुपमा जनकपुरमा प्रदर्शन होला भन्ने मलाई पहिले देखि लागेको थिएन । सामान्य रुपमा अवरोध गरेर विथोल्छौं भनेर मधेस केन्द्रित दलका नेताहरुले हामीलाई भन्नु भएको थियो । त्यस्तो उग्र हुन्छ भनेर भन्नु भएको थिएन । उग्र भईसकेपछि मैले उहाँहरुलाई कुरा गरेर कन्भिन्स गरेर स्थितिलाई साम्य बनाउन लगाएको थिएँ । ४ गतेको कार्यक्रम जनकपुर बाहेक सबै ठाउँमा सम्पन्न भयो । 

    तर, ५ गतेको कार्यक्रमका लागि सभाषदहरुले नै सुरक्षा पर्याप्त भएन भनेपछि उहाँहरुले नै इलेक्टूोनिक माध्यम मार्फत सुझाव दिनु हुनेछ भनेर ५ गतेको कार्यक्रम स्थगित गर्नु भएको हो । ४ गतेमा कार्यक्रम भएकै हुनाले अब हामी आफ्नै ढंगले सुझाव लिने छौं भनेर उहाँहरुले कार्यक्रम स्थगित गर्नुभयो । प्रदर्शनकारीहरुलाई हटाउन, तोडफोड हुन नदिन प्रहरीले सामान्य लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको हो । स्थिति अब सामान्य भईसकेको छ ।
 (द एक्सक्लुसिभ सँग गरिएको कुराकानीमा आधारित)


२०७२ श्रावण १० गते आईतबार

No comments:

Post a Comment