Tuesday, July 28, 2015

अन्तरवार्ता : मलाई राज्यबाट सुरक्षा थ्रेट छ ः डा.अमरेश कुमार सिंह, नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसका सभाषद तथा केन्द्रिय सदस्य डा.अमरेश कुमार सिंहले यदि मधेस प्रदेश नभए अलग देश बनेरै छाड्ने चेतावनी दिएका छन् । भारतको सन्देशलाई ४ दलले नबुझे ४ दलको हविगत पनि पुर्व राजा ज्ञानेन्द्र जस्तै हुने उनले चेतावनी दिएका छन् । डा. सिंह सँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

मस्यौदा सुझाव संकलन गर्न सभाषदहरुको टोली मधेसमा आउँदा तपाईले पनि विरोध गरिरहनु भएको थियो । सिरहामा प्रचण्डले ढुङ्गा खानु पर्यो, गौरमा माधव नेपालले कुर्सी खानु पर्यो, जनकपुरमा लिला कोइरालाले चप्पल खानु पर्यो । कसरी लिनुभएको छ यो समग्र घटनाक्रमलाई ?
समग्रमा यो मस्यौदाले मधेसी, दलित, जनजाति, आदिवासी, महिलाको विरुद्धमा आएको छ । त्यसैले मधेसका आम नागरिक, यूवा, बुद्धिजिवी, राजनीतिक दल सबैले विरोध गरिरहेका छन् । त्यो कुराको प्रशासन र राज्यसत्ता हाँक्ने दलहरुलाई हेक्का भएन । त्यसकारण ठाउँ ठाउँमा यसको विरोध भएको छ ।
मधेसी विना सिमाङ्कन नामाङ्कनको संघीयता मान्नेवाला छैन । नागरिकता, जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्वको कुरा, लगायत तमाम अधिकारका कुराहरु मस्यौदामा सम्बोधन गरिएको छैन । 

अहिलेको मस्यौदा अनुसार संविधान बन्यो भने मेरो विचारमा जसरी भुटानबाट भुटानीहरु लखेटिए त्यस्तै नेपालबाट मधेसीहरु लखेटिएर भारतको यूपी विहारमा शरनार्थी बन्नुपर्ने हुन्छ । किनभने एमालेको अध्यक्ष केपी ओलीको बुझाई त्यस्तै छ । श्रीलंकामा जसरी महेन्द्रा राजपक्षेले राष्टूपति भएको बेलामा त्यहाँका तमिल र मुस्लिमहरुलाई ५० औं हजारको संख्यामा मारेको थियो । तमिललाई क्रस गरेको थियो । त्यही अवस्था केपी ओली मधेसमा चाहन्छन् । उनी मधेसीलाई क्रस गर्न चाहन्छन् । मधेसीलाई क्रस गर्न खोज्यो भने तिनीहरु बाध्य भएर यूपी विहार जान्छन् । किनभने मधेसको हरेक खेतबाट यूपी विहार जाने बाटो छ । बोर्डरको नाकाबाट जानुपर्ने बाध्यता छैन ।

मधेसमा व्यापक रुपमा सुझाव संकलनको विरोध भएपनि राज्यले देशैभरी उत्साह जनक ढंगले सुझाव संकलनमा जनता सहभागी भएको बताईरहेको छ । यसलाई कसरी हेर्नुहुन्छ तपाई ?
यसलाई म स्वाभाविक रुपमा लिन्छु । किनभने म आफै मस्यौदाको विरोधमा उभिएको छु । मधेसको विभिन्न ठाउँहरुमा गएर जनतालाई मस्यौदाको बारेमा जानकारी गराउँदैछु । यो राजनीतिक लडाई हो । मधेसको अधिकार, स्वाभिमान र पहिचानको लडाई हो । मधेसी जनता यो देशमा समान नागरिक हुन चाहन्छ । समानताको आधारमा हिस्सेदारी चाहन्छ । तर, यो मस्यौदाले मधेसीलाई असमान नागरिक बनाउने कोशिस गरिएको छ । मधेसी नागरिकलाई अंगिकृत नागरिकको बंशावली बनाउन खोजिएको छ । अन्तरिम संविधानबाट पनि पछाडी गएको छ । त्यसकारण मधेसीले स्वीकार गर्ने अवस्था नै आउँदैन । अहिले हरेक निकायमा विज्ञापन हुँदा मधेसीलाई केही आरक्षण दिने गरिएको छ । तर, यो मस्यौदामा त्यो पनि हटाइएको छ । समान जनसंख्याको आधारमा प्रतिनिधित्वको जुन ग्यारेन्टी थियो त्यो पनि हटाइएको छन् ।

मधेसमा भएको यो विद्रोह दुई दिनमा शान्त भयो । के यो टूेलर थियो आगामी आन्दोलनको ?
यो दुई दिनमा भएको जनताको स्वस्फुर्त आन्दोलनमा प्रहरीले धेरै ज्यादती गरेको छ । दमन गरेको छ । निहत्था जनता माथि लाठी चार्ज गरिएको छ , टियर ग्यास प्रहार गरिएको छ, ठाउँ ठाउँमा रब्बर बुलेट प्रहार गरेको छ । नाबालिक बच्चाहरुलाई जुन तरिकाले आक्रमण गर्ने काम गरिएको छ । यो शर्मनाक हो । यसबारेमा पार्लियामेन्टमै म आबाज उठाउँछु । किनकी यो मधेसी अस्मिता माथिको खेलवाड हो ।
    मधेसी जनतालाई राज्यले अझै पनि दुई नम्बरको नागरिक ठानेर दमन गरेको छ । मधेस अब अन्तिम लडाईको लागि तयार भईरहेको छ ।

अबको लडाई सदन र सडकमा कसरी हुन्छ ? तपाईहरुको रणनीति के हुनेछ ?
यो लडाई सदन र सडक दुवैबाट हुन्छ । मधेसीको अधिकार सुनिश्चित गराउन सदन, संविधानसभामा जोडदार रुपले उठाउनेछौं । र, सडकबाट पनि आन्दोलन उठाउने छौं ।
र, पनि मधेसको अधिकार संविधानमा सुनिश्चित भएन भने के गर्नु हुन्छ ?
त्यो विरोध विद्रोहमा परिणत हुनेछ । र, त्यो विद्रोहको बाटो आगामी दिनमा अलग्गै राष्टू निर्माणको बाटोमा अगाडी वढ्नेछ ।

तपाईहरुको ऐजेण्डालाई अन्तराष्टिूय समुदायले समर्थन गरेको छैन भनेर भनिन्छ । बरु १६ बुँदे सहमतिलाई स्वागत गरेको बताइन्छ । अन्तराष्टिूय समुदायको सहयोग र समर्थन विना मधेसको अधिकार संविधानमा सुनिश्चित हुन सक्छ ?
राज्य एकांकी हो । राज्यको काठमाण्डौ बेष्ड मिडियाले गलत प्रचार गर्दैछ । एउटा वर्ग विशेषको हातमा त्यहाँको मिडिया छ । यूएनले हतारमा थाहै नपाएर त्यसको पोलिटिकल इम्पिलिकेशन के हो, परिणाम के हुन सक्छ नबुझेर समर्थन गरेको हो । बाँकी भारत, चीन, अमेरिका कसैले पनि १६ बुँदेको समर्थन गरेको छैन । तिनै देशको राजदुत र उच्चपदस्त नेताहरुसँग मैले कुरा गरेको छु । कसैले पनि यो सहमतिलाई मानेको छैन । स्वीकार र समर्थन गरेको छैन । यो गलत प्रचारवाजी मात्र हो ।

प्रचण्ड भारत भ्रमणमा गएको बेला बरु सबैलाई समेटेर जानुस, सिमाङ्कन नामाङ्कन सहितको संविधान जारी गर्नुस, द्वन्द्वको बिज नरहोस भन्ने संदेश त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका रहेछन् । आफु अनुकुलको सिमाङ्कन नामाङ्कन गरेर संविधान जारी गर्न सक्छन् नि त ?
उत्तर दक्षिणको सिमाङ्कन मधेसलाई कुनै हालतमा स्वीकार हुँदैन । मधेसको समस्यालाई, मधेसका पार्टीहरुलाई, मधेसका जनतालाई सम्बोधन गरेर अगाडी वढ्न मोदीले प्रचण्डलाई प्रष्ट रुपमा भनिसकेका छन् । सहमतिमा ल्याएर संविधान जारी गर्न भनेका छन् । यो प्रष्ट सिग्नल हो । त्यो भन्दा तलको कुरालाई भारतले समर्थन गर्दैन । किनभने अव हुने विद्रोह वा द्वन्द्वको प्रत्यक्ष प्रभाव भारतलाई पर्नेछ । द्वन्द्वको बिजा रोपण नहोस भन्नुको डिप्लोमेटिक अर्थ के हो भने कुटनीतिक भाषामा धेरै कम शव्द बोलिन्छ । थोरै शव्दबाट धेरै व्याख्या गर्न सक्नुपर्छ ।

अहिलेको राज्य सत्ता हाँक्ने दलहरुले त्यो कुटनीतिक भाषा बुझेका होलान त ?
यो स्वाँठहरुले नबुझे भने यिनीहरुको आफै दशा हुन्छ । एउटा उदाहरण भन्छु । ज्ञानेन्द्र राजा भएको बेला भारतका प्रधानमन्त्री मनमोहन सिंहले दुई चोटी बागलुङ्ग र बंगलादेशमा भनेका थिए । तपाई आप्mनो अधिकार दलहरुलाई दिनुस, तपाई आफ्नो चेयरमेन सिप हटाउनुस, नेतालाई प्रधानमन्त्री बन्न दिनुस भनेर सिंहले ज्ञानेन्द्रलाई प्रष्ट भनेका थिए । तर, ज्ञानेन्द्रले सुन्दै सुनेन । परिणाम के आयो भने ज्ञानेन्द्रले आफै दरबार छोड्नु पर्यो । कुनै सेरेमोनियल संवैधानिक राजा पनि रहन सकेन । त्यसैले अहिलेको ३ वा ४ दलका नेताले मोदीको संदेशलाई नबुझ्ने प्रयास गर्छ भने तिनीहरुको पनि त्यस्तै गति हुन्छ ।

संविधानसभा परित्याग गर्ने बेला आईसकेको छैन र ? मधेसका जनताले तपाईहरुलाई संविधानसभा परित्याग गरी सडक आन्दोलनमा आउन पटक पटक आह्वान गर्दा पनि तपाईहरुको कुर्सी मोह किन छ ?
अहिले हामी दुवै ठाउँबाट आन्दोलित छौं । महाभारतको पाण्डव जस्तै अन्तिम अन्तसम्म आशा राखेका छौं । अन्तमा पाण्डवले पाँच गाउँ मागेका थिए । पुरा हस्तिनापुर वा आधा हस्तिनापुर मागेको थिएन । त्यस्तै हामी मधेसको पक्षमा रहेका मधेसी समुदायका सभाषदहरु अन्तिम सम्म संविधानसभाबाट प्रयास गर्छौं । उनीहरुको बुद्धि सुध्रिएला कि भन्ने आश अहिले पनि बाँकी छ । भएन भने हामी जनतामा आउँछौं नै । छोड्नु पर्यो भने संविधान सभा त के मधेसको लागि कुर्वानी दिन पनि पछाडी पर्दैनौं । तपाई ढुक्क हुनुस । मधेस प्रदेश भएन भने अलग देश बन्नबाट कसैले रोक्न सक्दैन ।

मधेसका अजेण्डाहरुमा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आयो भने ?
कुनै पनि ऐजेण्डामा कुनै कम्प्रोमाइज हुँदैन । अबको आन्दोलन निर्णायक हुन्छ । मधेसीलाई धपाउन खोजिरहेका छन् ।

अब अन्तराष्टिूय सहयोग र समर्थन विना मधेसीलाई कसरी पलायन गराउन सक्छन् र ?
श्रीलंकामा अन्तराष्टिूय रुपमा विरोध भएपनि आखिरकार राजपाक्षेले हजारौं तमिललाई हत्या त गरेको इतिहास पनि हामी सामु छ । त्यसैले राज्य आफ्नो स्वार्थको लागि कठोर पनि हुन सक्छ । हेर्नुस ४६ सालको र ६२÷०६३ सालको आन्दोलनमा जति मानिस मरेनन् त्यो भन्दा वढी मानिसलाई राज्यले मधेस आन्दोलनमा मारिदियो । राज्यमा, शासन प्रशासनमा, सुरक्षा निकायमा मधेसी चेहरा छैन । त्यसैले मधेसमा उसले आफ्नो अपनत्व देख्दैन र अन्धाधुन गोली फायर गर्छन् । लाठी चार्ज गर्छन् । दमन गर्छन् ।

अहिले सशस्त्र प्रहरीलाई गोली हान्ने अधिकार दिनुको कारण पनि के हो भने मधेसमा दमन गर्नकै लागि हो । पहिले माओवादीको दमनको लागि गठन भएको सशस्त्र प्रहरी बललाई मधेसमा दमन गर्नको लागि अधिकार दिइएको छ । मधेस विद्रोहको दौरान नै सशस्त्र प्रहरी बलको मधेसमा डिप्लाईमेन्ट भएको हो । बाहिर रहेको २४ हजार सशस्त्र प्रहरीमा १ हजार जनशक्ति मात्र पहाडमा छन् । २३ हजार सशस्त्र प्रहरी मधेसको २० जिल्लामा परिचालन गरिएका छन् । यो गलत कुरा हो । यसको विरोध हुनुपर्दछ । सुशिल कोइराला र केपी ओलीको मिलेमतोमा मधेसी जनतालाई गोली हान्नको लागि नै सशस्त्र प्रहरीलाई अधिकार दिइएको हो । उसलाई थाहा छ, संविधानमा अधिकार नदिएपछि मधेसमा विद्रोह हुन्छ । र, दमन गर्न सशस्त्रलाई नै प्रयोग गर्नुपर्छ । दुनियामा कहिँ पनि अर्धसैन्य बललाई त्यो अधिकार दिइएको हुँदैन । तर, यहाँ दिइनुको पछाडी साम्प्रदायिक सोंच र गलत नियत नै प्रमुख कारण हो । आन्दोलनमा सेना परिचालन गर्न गाह्रो हुन सक्छ । सेना परिचालन गर्यो भने विश्वले आफ्नै जनताको आन्दोलनमा सेना परिचालन गर्दा आलोचना गर्न सक्छन् त्यसैले मधेसमा अप्रत्यक्ष रुपमा सेना परिचालन गरे झैं सशस्त्र प्रहरीलाई अधिकार प्रदान गरेर परिचालन गरिएको हो ।

तपाईले राज्यको विरुद्ध खास गरेर कांग्रेसको सभाषद र नेता भएर विरोध गर्दै हिँड्नु भएको छ । अझ अलग देशको कुरा पनि गर्न थाल्नु भएको छ । तपाईलाई राज्यबाट थ्रेट छ कि छैन ?
हेर्नुस म असुरक्षित छु भन्ने कुरा मलाई राम्ररी थाहा छ । राज्यले चाह्यो भने म गाडीमा गईरहेको बेला पछाडीबाट टूकले ठाकेर मार्न पनि सक्छ । हत्यालाई दुर्घटनामा परिणत गराउन सक्छ । राज्य आफैमा कु्रर हुन्छ । मेरो हत्या पनि गराउन सक्छ । रधुनाथ ठाकुर देखि रधुनाथ राय, कामेश्वर कुशेश्वर, डा.लक्ष्मीनारायण झा, दुर्गानन्द झा सम्मको इतिहास हामीले हेरेकै छौं । राज्यको चरित्र अहिले पनि त्यस्तै छ । सत्ताको अनुहार मात्र फेरिएको छ । चरित्रमा कुनै परिवर्तन भएको छैन । राज्यको जुन किसिमले संरचनागत परिवर्तन हुनुपर्ने थियो त्यो भएको छैन । त्यसैले त्यो थ्रेट प्रति सचेत छु र सोचेरै, बुझेरै राज्यले जे पनि गर्न सक्छ, गरेपनि म अब पछाडी हट्नेबाला छैन ।

थ्रेटको अनुभुति तपाईलाई भएको छ कि छैन ?
यस्तो थ्रेट प्रत्यक्ष रुपमा अनुभुति हुँदैन । तर, राज्यले म पछाडी जासुसहरु लगाईनै राखेका छन् । म जहाँ जहाँ जान्छु म माथि निगरानी रहन्छ । राज्यको सुरक्षा निकाय, प्रसाशनिक निकायले अमरेश सिंहका कारण थ्रेट भएको रिपोर्ट गर्ने गर्छन् । तर, त्यो थ्रेटको मलाई कुनै परवाह छैन ।

अन्तराष्टिूय समुदायलाई तपाईहरुले कन्भिन्स गर्न सक्नु भएको छ कि छैन ?
भारतीय राजदुतलाई सामुहिक रुपमै भेटिसकेको छु । दिल्लीका उच्चपदस्थ कर्मचारीहरु र केही नेताहरुलाई भनिसकेको छु । मलाई लाग्छ अहिले पार्लियामेन्ट त्यहाँ अवरुद्ध छ । चल्यो भने पार्लियामेन्टमा त्यहाँका नेताहरुले आवाज उठाउने छन् । मेरो त्यहाँको धेरै सांसदहरुसँग कुरा भएको छ । नोट पठाईदिन भनेका छन् ।
    मधेसलाई अधिकार विहिन बनाउन खोजिएको कुराबाट भारतका थुप्रै नेताहरु पनि असंतुष्ट छन् । किनभने छिमेकमा आगो लाग्दा छिमेकीलाई डर हुनु स्वाभाविक हो । र, छिट्टै हामी फेरी कुटनीतिक च्यानल, राजनीतिक र प्रशासनिक तहबाट पनि कुरा गर्छौं । त्यसको आगामी रणनीति हामीले तय गरिसकेका छौं । सबै अहिले तपाईको पत्रिका मार्फत खोल्ने बेला आईसकेको छैन ।

तपाईहरु दुतावासमा जाँदा नेपालको मिडियामा खुब आलोचना भयो त ?
को जाँदैन । सुशिल कोइराला जाँदैन । सिटौला जाँदैन । प्रचण्ड जाँदैन । केपी ओली जाँदैन ।  सबै जान्छन् । लाइन लागेर जान्छन् । एम्बेसीमै जान्छन् । दिल्लीको त कुरै छोडौं । उनीहरु जाँदा राष्टूवादी हुने । मधेसी नेता जाँदा विखण्डन वादी हुने ? मलाई व्यक्तिगत रुपमा कुन नेता कति पटक जान्छन्, कति खाएका छन् सबै थाहा छ ।

ती शिर्ष तहका नेताले रकम पनि खाएका छन् र ?
रकम खाएको हो कि भात खाएको हो त्यो सबै कुरा मलाई थाहा छ । एउटा कुरा तपाई प्रष्ट बुझ्नुस । मधेसले भारतको केही पनि खाएको छैन । खायो भने पान खाए जस्तै । तर, उनीहरु त भातै खाएका छन् । अब खानेको परिभाषा तपाई आफै तय गर्नुस ।

२०७२ श्रावण १० गते आईतबार

No comments:

Post a Comment