Wednesday, August 13, 2014

केटा केटी भाग्ने प्रवृति बढ्दो

केटासँग भागेपछि बहिनीलाई जिपमा
 लिएर घर जाँदै उसका भाई । 
२१ साउनमा प्रहरीले ती यूवतीलाई 
आफन्तको जिम्मा लगाएको थियो ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२१ साउनमा साँझ ५ बजे तिर जिल्ला प्रहरी कार्यालय धनुषाको परिषर बाहिर थुप्रै मानिसहरुको भिड लागेको थियो । परिसर भित्र एउटा जिपमा एक जना महिलालाई राखिएको थियो । किन भिड लागेको हो भन्ने जान्न खोज्दा प्रहरी निरीक्षक हरिनन्दन चौधरीले केटा केटी भागेको विषयमा उजुरी परेपछि भागेका केटा केटीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जानकारी गराईयो । उक्त घटना बुझ्दा महोत्तरी अगिलेश्वाका पनवरिया जातिका एक जना १७ वर्षिय केटीलाई धनुषाको कचुरीका यादव समुदायका २० वर्षिय केटाले ७ महिना अघि भगाई लगेको थियो । केटालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो भने केटीलाई केटीको आमा,बुवा तथा भाईले जिपमा घेराबन्दी गरी राखेका थिए । केटी गर्भवती रहेको र ५ महिनाको बच्चा समेत गर्भमा रहेको केटीले दावी गरिरहेको थियो । केटी आफुले उसँग प्रेम विवाह गरेको कारण उसैसँग बस्ने अडान लिईरहेको कारण केटीका बुवा तथा भाईले जिल्ला प्रहरी परिसरमै झापड हानेका थिए । कुटाईका कारण केटीको ओठ सुन्निएको थियो । जिपमा एक तर्फबाट आमा र अर्को तर्फबाट भाईको बीचमा रोइरहेकी उक्त केटीलाई प्रहरीले अन्ततः उनको परिवारको जिम्मा लगाए । परिसर बाहिर केटाको गाउँका मानिसहरु जसरी पनि केटा र केटी दुवैलाई लिएर भाग्न चाहन्थे । तर, प्रहरीले उनीहरुलाई धपाएका थिए । केटाको दिदीको विहे केटीको गाउँमा भएको थियो र दिदीसँग भेट गर्न जाँदा उक्त केटीसँग उनीहरुको प्रेम परेको थियो । यसअघि पनि ती दुवै केटा केटी एक पटक भागिसकेको थियो र प्रहरीले केटीलाई परिवारको जिम्मा लगाएको थियो । तर, केटीलाई लिएर काठमाण्डौ बसेका तिनका आमा बुवालाई छलेर फेरी भाग्न सफल भएका थिए, उक्त केटी ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने जयप्रकाश साह र मनोरमा गुप्ता ।
यसरी यस्ता घटना र दृष्यहरु जिल्ला प्रहरी कार्यालयको परिसरमा दिनहुँ जसो देखिन्छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु भागी विवाह गर्ने प्रवृति वढेको छ । विद्यालयमा जाँदा प्रेममा पर्ने र आमा बुबाको इच्छा विपरित भागी हिड्ने प्रवृति दिनानुदिन बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ को अषाढ देखि साउन सम्म जिल्ला प्रहरी कार्यालय धनुषामा केटा केटी भागेको ९३ वटा घटनाहरुको उजुरी परेको छ । मेरो छोरीलाई ललाई फकाई भगाएको भन्दै केटी पक्षका अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका छन् । कतिपय अवस्थामा घरबाट भाग्दा केटीले घरमा रहेको पैसा तथा गरगहना समेत लगेर भागेको भन्ने उजुरी पर्ने गरेका छन् । केटी पक्षले आफ्नो छोरीलाई गुमराह गरी भगाएको भन्दै छोरीलाई खोजी गरिदिन अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका हुन्छन भने केटा पक्षका अभिभावकले छोराले बुहारी ल्याईहाल्यो राखौं भन्ने सोंचका साथ केटाका अभिभावकहरुले सहयोग गर्ने गरेको प्रवृति बढेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा कार्यरत प्रहरी हवलदार सुजित पासवानको भनाई छ । एकै स्कुलमा पढ्थ्यौं, चिनजान भयो र प्रेम प¥यो भन्दै केटा केटीहरु भाग्ने गरेका हुन्छन् । उजुरी परेपछि प्रहरीले खोजतलास गरेर केटा केटी दुवैलाई झिकाई तिनीहरुको अभिभावकलाई जिम्मा लगाएपनि फेरी फेरी पनि भाग्ने गरेको घटनाहरु पनि व्याप्त रहेको हबलदार पासवानको भनाई छ । यसरी भाग्नेहरुमा केटा पक्ष दलित, मुसलमान समुदायको र केटी पक्ष बाहुन, कायस्थ र राजपुत समुदायको अधिकांश रहने गरेको उनको भनाई छ । यसरी भाग्दा अन्तरजातिय विवाह गरेको कारण समाजमा मान मर्यादा, सम्मान गुमेको अह्मका कारण केटी पक्ष जसरी पनि केटीलाई फिर्ता ल्याउने प्रयत्नमा रहन्छन भने केटा पक्षका सिंगो गाउँ नै गाउँको प्रतिष्ठाको सबाल बनाई साथ दिईरहेका हुन्छन् । यसरी भाग्दा केटा केटीहरु बीच शारीरिक सम्बन्ध स्थापित हुने र कतिपय अवस्थामा गर्भवति समेत भएको अवस्था पाइन्छ । गर्भवती भएपनि गर्भपतन गराएर आफ्नो घर लग्ने केटी पक्षको प्रयास रहन्छ । भागेर नेपालमै रहेको अवस्थामा खोजी गर्न प्रहरीले सफलता पाउने गरेको भएपनि भारतमा गईसकेपछि फिर्ता ल्याउन अत्यन्तै कठिन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटका प्रहरी निरीक्षक हरिनन्दन चौधरी बताउँछन् । उनका अनुसार मोवाइल, इन्टरनेट जस्ता प्रविधिहरुको दुरुपयोगका कारण केटा केटीहरु उमेर भन्दा अघि नै यौन चाहना पुरा गर्न चाहन्छन् । र, त्यसका लागि प्रेममा परी भाग्ने गरेको प्रवृति वढेको छ । प्रहरी निरीक्षक चौधरी भन्छन,“ केटीलाई गर्भवती बनाउन सक्यो भने केटीका आमा बुवाले बाध्य भई स्वीकार गर्न सक्छन भन्ने केटाहरुको सोंच हुन्छ भने केटीका अभिभावकहरु गर्भपतन गराएर भएपनि फिर्ता लग्ने प्रयासमा हुन्छन् ।” 
कोर्ट म्यारेज
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज 
गर्ने नारायण प्याकुरेल र ज्योतिमान दाहाल ।

१ साउन २०७० देखि ७ अषाढ २०७१ सम्म जिल्ला प्रशासन धनुषामा ४ जना जोडीले मात्र विवाह दर्ता गराएका छन् । ११ साउन २०७० मा महोत्तरी भंगहा घर भई हाल धनुषा हरिहरपुर २ का २८ वर्षिय विनोद कुमार मण्डल र धनुषाधामका २१ वर्षिया सम्झना कुमारी गोस्वामी बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी ११ मंसिर २०७० मा धनुषा रघुनाथपुर ७ का २८ वर्षिय जिवन कुमार कालीकोटे र सिरहा अयोध्यानगर २ की २३ वर्षिया बविता कुमारी लामाको जिल्ला प्रशासन कार्यालयमा विवाह गरिएको छ । त्यसैगरी १९ पुष २०७० मा धनुषा यज्ञभुमि ९ घरभई हाल अमेरिकाका २५ वर्षिय नारायण प्याकुरेल र धनुषा यज्ञभुमि ७ कि २३ वर्षिया ज्योतिमान दाहाल बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी २६ फागुन २०७० मा जनकपुर १० का २३ वर्षिय मोहम्मद मजहर र फिलिपिन्स की २५ वर्षिया रोजान जोय मिबुल्स बीच कोर्ट म्यारेज गरिएको छ । यस आर्थिक वर्ष २०७१÷०७२ मा हालसम्म एक जना जोडीको मात्र कोर्ट म्यारेज भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको जानकारी अनुसार १८ साउन २०७१ मा महोत्तरी मटिहानी ९ र हाल अमेरिकाका ३३ वर्षिय जयप्रकाश साह र धनुषाको दिगम्बरपुर ३ का २० वर्षिया मनोरमा गुप्ता बीच कोर्ट म्यारेज गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने मो.मजहर र  रोजान जोय मिबुल्स ।
उक्त तथ्याङ्कले के पनि देखाउँदछ भने धनुषामा गत वर्ष ९३ जोडी भागि प्रेम विवाह गरेपनि उमेर अपुगको कारण तिनीहरुले बैधानिक कोर्ट म्यारेज गर्ने गरेको छैन । अर्थात कानुनले तोकेको उमेर नपुगी बाल विवाह हुने हुनाले कानुनको सजायबाट बच्न र उमेर पुगेपछि मात्र विवाह गर्ने पर्खाइमा ती भागेका जोडीहरु रहने गरेको हुन्छन् ।

बालविवाह सम्बन्धि दण्ड र सजाय
नेपालको कानुन अनुसार विहाबारी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मंजुरी भए १८ वर्ष संरक्षकको मंजुरी नभए २० वर्ष नपुगी विहावारी गर्न गराउन हुँदैन । त्यस्तो विवाह गरे गराएमा, १० वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ६ महिना देखि ३ वर्षसम्म कैद र १ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । १० वर्ष देखि माथि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ३ महिना देखि १ वर्षसम्म कैद र ५ हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । १४ वर्ष देखि १८ वर्ष नपुगेकी स्वास्नी मानिसको विवाह गरे गराएको छ भने ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ । बीस वर्ष उमेर नपुगेको स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।


२०७१ साउन २५ गते आईतबार

No comments:

Post a Comment