Wednesday, August 13, 2014

यौनजन्य दुव्र्यवहारको शिकार बन्दै महिला


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रहरी कार्यालय धनुषामा आर्थिक वर्ष २०७०÷०७१ मा केही सार्वजनिक अपराधको २ सय २५ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका उक्त मुद्दाहरुमध्ये २ सय २० थान फर्छयौट समेत भइसकेका छन् । उक्त मुद्दाहरुमध्ये करिब १ सय थान मुद्दा केटीलाई जिस्काएको, अस्लिल बोली बोलेको लगायतका यौनजन्य दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका एक जना प्रहरीले बताए । बाटो हिँड्दा केटाले जिस्कायो, कलेज पढ्न जाँदा केटाले जिस्कायो, मोबाइलमा फोन गरेर जिस्कायो, फेसबुकमा अस्लिल म्यासेज पठायो लगायतका विषयमा उजुरी आउने गरेको छ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ टिन ऐजरहरुमा यस्ता किसिमका गतिविधि भइरहेको पाइन्छ तर, उजुरी आउने वित्तिकै हामीले पिडकलाई झिकाएर अनुसन्धान गरी केही सार्वजनिक अपराधको मुद्दा चलाउने गर्छौं । केही घटनाहरु सामाजिक सञ्जाल मार्फत समेत हुने गरेकाले साइबर क्राइममा मुद्दा चलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेका छौं ।” प्रहरी निरीक्षक पुरीका अनुसार यसरी यौन दुव्र्यवहारका शिकार हुनेहरुमा अधिकांश केटीहरु भएपनि कतिपय विवाहित महिलाहरु समेत रहने गरेका छन् । उनका अनुसार कतिपय उजुरीमा घटनालाई बङ्गयाउन अपहरण र लुटपाट समेत गरेको भनेर उजुरी दिने गरेको प्रवृति पनि धनुषामा वढ्दो छ । सामान्य अवस्थाको घटनामा पीडित र पिडक दुवै पक्षलाई झिकाई मेलमिलाप गरी फिर्ता पनि पठाउने गरिएको छ भने कतिपय घटनामा मुद्दा नै चलाइएको हुन्छ । सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिने उक्त मुद्दाहरुमा कसुर ठहर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले कसूरको मात्रा अनुसार दश हजार रुपैयाँसम्म जरिवाना गर्न र पिडित पक्षलाई कसूरदारबाट बिगो बमोजिम क्षतिपूर्ति भराई दिन सक्नेछ तथा अनुसन्धानको सिलसिलामा मनासिव कारण देखिएमा थुन्नु पर्ने कारण खोली पर्चा खडा गरी बढीमा पैंतीस दिनसम्म थुनामा राख्ने आदेश दिने गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका मुद्दा फाँटका कर्मचारी विदुर भण्डारीको भनाई छ ।
यस्तो मुद्दा तीन महीना भित्र फैसला गरिन्छ तर जरिवानाको सजायले मात्र पर्याप्त नभई कैदको सजाय समेत गर्न पर्ने देखिएमा बढीमा दुई वर्षसम्म कैद गर्नको लागि पुनरावेदन सुन्ने अदालतमा साधक जाहेर गर्नुपर्छ ।
 पहिलो पटकको कसूर भए कसूर हेरी सजाय नगरी कसूरदारलाई अब उप्रान्त यस्तो कसूर गर्ने छैन भन्ने कागज गराई समेत छाड्ने गरिएको भण्डारीले बताए ।
नेपालको कानुनले यौनिक हिंसा (यौन दुव्र्यवहार) लाई कानुनी अपराधको रुपमा स्वीकार गरी यसरी परिभाषित गरेको छ,“कसैले कुनै महिलाको मञ्जुरी विना निजको संवेदनशील अङ्ग छोएमा वा हुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभिाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धि अङ्ग निजलाई छुन । समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शव्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँगै त्यस्तै यौन दुव्र्यवहार गरेको मानिन्छ । र, त्यस्तो कसुर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब माफिकको क्षतिपुर्ति समेत भराई दिनु पर्नेछ ।” धनुषामा प्रायः जसो साथी मानेका व्यक्तिहरु र प्रेम सम्बन्ध भएका व्यक्तिहरुबाट वढी मात्रामा महिलाहरु यौनिक हिंसामा पर्ने गरेका छन् । अधिकांश महिलाहरु साथी प्रेमी, छिमेकीबाट यौनिक हिंसाका शिकार भएको पाइन्छ भने सम्बन्ध नभएका अन्जान व्यक्तिहरुबाट बाटोमा हिंड्दा तथा केही महिलाहरु घर परिवारका सदस्य र आफन्तहरुबाटै पनि यौनिक हिंसा शिकार भएको पाइन्छ । यौनजन्य दुव्र्यवहार अन्य यौनजन्य अपराधभन्दा फरक प्रकृतिको महिला विरुद्धको हिंसा हो ।
सामान्यतया यौनजन्य दुव्र्यवहार भन्नाले कुनै व्यक्ति विरुद्ध यौनजन्य मनसायले गरिने अनिश्चिछत आचरण व्यवहार हो । यस्तो यौनजन्य दुव्र्यवहार शारीरिक, मौखिक, लिखित वा इशाराले जुनसुकै पनि हुन सक्दछ । शारीरिक यौनजन्य दुव्र्यवहार भित्र कसैले कसैलाई अनावश्यक रुपमा हुनु, थपथपाउनु, हाम्नु, चिमोट्नु, सुम्सुम्याउनु, चुम्बन लिनुजस्ता कार्यहरु पर्दछन भने मौखिक यौनजन्य दुव्र्यवहारभित्र अश्लिल वा अपमानित टिप्पणीहरु, यौनजन्य चुट्किलाहरु अप्रिय कुराकानी वा ठट्टाहरु, लैङ्गिक लक्षित अपमानजनक बचनहरु, अनिच्छित यौनजन्य आमन्त्रण र प्रस्तावहरु वा दवाव पर्दछ ।
यस्तै लिखित यौन जन्य दुव्र्यवहार भित्र यौन सम्बन्धि सामग्री वितरण गर्नु, अश्लिल वा कामुक तस्वीर, बस्तु वा लिखित सामग्री प्रर्दशन गर्नु आदि पर्दछन् भने इशाराले गर्ने यौनजन्य दुव्र्यवहार भित्र घुरेर हेर्ने, सुसेली बजाउने, आँखा जुधाउने, यौन जनित अश्लिल इशाराहरु गर्ने आदि कार्यहरु पर्दछन् । विशेष गरी यस्ता किसिमको सार्वजनिक स्थलमा महिला विरुद्ध गरिने यौनजन्य दुव्र्यवहारलाई प्रायः जसो महिलाले गम्भीरतापुर्वक नलिएपनि तिनीहरुमाथि मानसिक असर परिरहेको हुन्छ । यौनजन्य दुव्र्यवहार नियन्त्रण सम्बन्धि छुट्टै कानुन व्यवस्था नहुनु र त्यस किसिमको खराव आचरणलाई सम्बोधन गर्ने कुनै संयन्त्रको नहुनु यसको प्रमुख कारण रहेको छ ।


२०७१ साउन २५ गते आईतबार

No comments:

Post a Comment