Tuesday, May 20, 2014

प्रतिष्ठाको समाजशास्त्र- धर्मेन्द्र कुमार झा ‘घीरु’

धर्मेन्द्र कुमार झा ‘घीरु’

एक समयमा भनिन्थ्यो धन गए कमाउन सकिन्छ, ज्यान गए परिवारका अर्का सदस्यले भार उठाउन सकिन्छ, चोट पटक लागे निको हुन सक्छ तर, प्रतिष्ठा गए त्यसको कुनै विकल्पले परिपुर्ति गर्न सक्दैन । भन्नुको तात्पर्य प्रतिष्ठालाई समाजका अह्म पार्टका रुपमा लिने गरिन्थ्यो । प्रतिष्ठाको आधार विभिन्न समाजको विभिन्न कालखण्ड अनुसार भिन्ना भिन्नै रहेको पाइन्छ । कुनै एउटै घटना कुनै समाजका लागि प्रतिष्ठाको कुरा हुन्छ भने कुनै समाजमा हिनताको कुरा । समाजशास्त्रीय दृष्टिकोणबाट प्रतिष्ठालाई विश्लेषण गर्ने हो भने ‘प्रतिष्ठा’को अर्थ समाज र समय परिवेशको गति सँगै परिवर्तन भइरहेको कुरालाई आत्मसाथ गर्नुपर्ने हुन्छ । प्रतिष्ठा प्रतिको अवधारणा समाज र व्यक्ति पिच्छे पनि फरक रहेको पाइन्छ । मार्कसवादका प्रणेता कार्ल मार्कस अनुसार असभ्य वा प्राचिन समयमा प्रतिष्ठाको कुनै स्थान थिएन किनभने मानव जाति पनि जनावर सरह नै जीवन विताउँथे । दासत्व समाजमा धेरै नोकर चाकर हुने मालिकको प्रतिष्ठा समाजमा बढी हुन्थ्यो । सामन्ती समाजमा बढी जग्गा हुने व्यक्तिको प्रतिष्ठा बढी हुन्थ्यो । त्यसैगरी पुँजीवादी समाजमा पुँजी (सम्पति) बढी हुने पुँजीपतिको प्रतिष्ठा समाजमा बढी हुन्छ । तर उनले साम्यवाद समाजको परिकल्पना गरेको छ जहाँ सबैको प्रतिष्ठा समान हुनेछ । यसरी प्रतिष्ठा पनि समय परिवेश उत्पादन प्रणालीसँगै परिवर्तन हुँदै आइरहेको देखिन्छ । जिवन्ततासँगै प्रतिष्ठा र मान सम्मानका लागि पनि काम गर्छन ।
प्रतिष्ठा आफैमा कुनै मुर्त कुरा होइन यो त एउटा सामाजिक सोच हो । प्रतिष्ठालाई धेरै कुराले निर्धारण गर्दछ । विश्व परिवेशमै प्रतिष्ठालाई निर्धारण गर्ने विचित्र विचित्र उदाहरणहरु छन् । एउटा समाजमा कक फाइटिङ हुन्छ । जहाँ जसको कुखुरा जित्छ उसको समाजिक प्रतिष्ठा उच्च हुन्छ भने जसको कुखुरा हार्छ उसलाई जित्नेले चाहे अनुसार आदेश वा प्रयोग गर्न पाउँछ । कहिं साँँदे जुधाई त कहिं पहलवान जुधाई त कहिं विभिन्न खेलले समाजिक र राष्टिूय प्रतिष्ठा बढाउने र घटाउने गरेको मान्यता छ । अहिले समाजमा क्रिकेट, फुटबल, टेनिस लगायतका खेलहरुले पनि देशको प्रतिष्ठालाई बढाउने र घटाउने भएको छ । यसरी ऐतिहासिक रुपमा समाजको विश्लेषण गर्ने हो भने कहिले बलवानको प्रतिष्ठा  थियो भने कहिले दानीको त कहिले  ज्ञानीको , त कहिले साहासीको, कहिले राजाको, कहिले नेताको, कहिले शिक्षकको, त कहिले डाक्टर, इन्जिनियरको, कहिले धनीको आदि(आदि । सामाजिक आवश्यकता सँगै सामाजिक स्तर र प्रतिष्ठाको सोचमा परिवर्तन भइरहेको हुन्छ । कहिले काहीं समाजको चाहदा नचाहदा गलत प्रवृतिलाई प्रतिष्ठा र सम्मान दिनपुग्छ जुन कुरा सामाजिक संरचनाका लागि चुनौती बन्नपुग्छ ।
अहिले समाजमा दुईटा आधारमा प्रतिष्ठा दिने गरेको एउटा सानो अनुसन्धानले देखाएको छ । पहिलो बाध्यात्मक अर्थात स्वार्थयूक्त प्रतिष्ठा र अर्को सम्मानजनक अर्थात आत्मीय प्रतिष्ठा । पहिलो खाले प्रतिष्ठित व्यक्तिलाई सबैले व्यक्तिगतरुपले घृणा गर्छ तर सबैलाई त्यहि बन्ने सोच हुन्छ । दोस्रो खाले प्रतिष्ठित व्यक्तिलाई सबैले सार्वजनिक ठाउँमा प्रशंसा गर्छ तर कोही बन्न चाहँदैन । बरु त्यस्ता व्यक्तिहरुलाई निकम्मा र बेबकुफको उपाधि दिन्छ । कतिले त ‘दे आर इन्टेलेक्चुअल डल्ल’ पनि भन्ने गर्छन । भन्नुको तात्पर्य प्रतिष्ठित व्यक्तिहरु बेबकुफ हुन्छन । एक्काइसौं शताब्दीमा प्रायः समाजले धन आर्जनको आधारमा मानिसलाई प्रतिष्ठा दिने गरेको छ । चाहे धनआर्जनको माध्यम जे सुकै होस । एउटा कुनै नेता वा कर्मचारी वा ठेकेदार वा व्यापारीले अकल्पनीय रुपले राता रात रोडपतिबाट करोडपति हुन्छ । त्यसप्रति समाजिक इष्र्या पाइन्छ तर घृणा पाइदैन सबै आफुलाई त्यही ठाउँमा राख्ने दाउमा हुन्छ । जसको फाल्यो धेरै राम्रो जसको फापेन त्यसका लागि कुकर्म । भनिन्छ ‘ग्रेपस आर सावर’ । त्यो कुकर्म तब हुन्थ्यो जब गलत तरिकाबाट अर्थोपार्जन गर्नेलाई समाजले सामाजिक बहिष्कार वा घृणा गथर््यो र त्यसता कोही बन्न उचाउँदैन्थ्यो । अहिलेको अवस्थामा मान्छेहरु धनका आधारमा पक्ष÷विपक्ष हुन्छन । ठुलो भन्दा ठुलो अपराध गरेपनि धनी मान्छेका पक्षमा जन धनले सहयोग गर्ने ठुलो जमात हुन्छन भने निर्दोष र इमान्दार भएको व्यक्तिको पक्षमा सहानुभुति बाहेक अगाडी बढेर सहयोग गर्ने एकदम कम हुन्छ । जसले गर्दा ठिकलाई ठिक र गलतलाई गलत भन्ने साहस समाजले गरेको छैन । बरु केही व्यक्तिले गरेको पाइन्छ ।
समाजमा प्रतिष्ठाका लागि काम गर्ने बेवकुफ, भलादमीलाई मुर्ख, साहासीलाई करपोक, सज्जनलाई कमजोर, साधु वा त्यागीलार्य कामचोर, क्षमादिने वा बर्दास्त गर्नेलाई कायर आदि इत्यादि भन्ने गरिन्छ । जसका धेरै उदाहरण छन् । भुतपुर्व सिडिओ नारायण झा, साहित्यकार डा.राजेन्द्र विमल, भुतपुर्व राजदुत डा.सुर्यनाथ मिश्र नेता ललन चौधरी, डा.लक्ष्मीनारायण झा, दाता रामस्वरुप तथा रामसागर साह लगायतकालाई समाजले सार्वजनिक कार्यक्रममा स्यावसी दिए पनि आफु र आफ्नो सन्तानलाई त्यस्तो बनाउन चाँहदैन । किनभने उनीहरु ठाउँ परिवेश अनुसार पैसा कमाउन सकेन । अब प्रश्न उठ्छ समाजले कस्तो प्रतिष्ठालाई समाजमा स्थापित गर्न खोज्दैछ । गरिव भए पनि इमान्दार सहितको समाज की बेइमान भएपनि धनी सहितको समाज ? समाजमा गैंग पावरलाई पुजा गरिदैछ । जुन पैसा र मसल पावरका आधारमा तयारी भइरहेको छ । जसले इमान्दारिता र स्वतन्त्रता जस्तो सोचमा क्यान्सररुपी भाइरसको रुपमा लागिरहेको छ । जुन समाजका लागि एकदम डरलाग्दा स्थिति सिर्जन ागर्न सक्छ । समाजमा गलत टूेन्डको बाढावा हुनजान्छ । जसको प्रभाव समाजमा पर्न थालेको छ । पहिला पहिला पढेलेखेका व्यक्तिलाई र शैक्षिक पेशामा लागेका व्यक्तिलाई समाजमा उच्च सम्मान गरिन्थ्यो तर आजकाल जसरी भएपनि अर्थ उपार्जन गरेका व्यक्तिलाई सम्मान गरिन्छ । त्यसैले होला अहिलेको यूवा पढाई भन्दा वैदेशिक रोजगार र ठेक्का पट्टा लगायतका अन्य क्रियाकलापमा बढी ध्यान दिन थालेको छ । सैद्धान्तिक रुपमा इमान्दारीको कुरा गर्ने बहुसंख्यक व्यक्तिहरु बेइमानी गरेर भए पनि आफ्नो टुनो सुल्झाउनमा लागिपरेका छन् । किनभने उसको प्रतिष्ठामा कुनै आँच आउँदैन ।
निष्कर्षमा भन्ने हो भने जो साँच्चिकै प्रतिष्ठित व्यक्ति छ त्यसलाई समाजले गन्न छोडिसकेको छ । र समाजले बहिष्कार गर्नुपर्ने व्यक्तिहरुलाई प्रतिष्ठित व्यक्तिको रुपमा सम्मान गरिदै छ । हामी सबैलाई थाहा छ कि प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिन्छ, तर त्यसतो सम्मान होइन जुन एउटा कुनै कार्यक्रममा गरिन्छ । म त्यो सम्मानको कुरा गर्दै छु । जुन आत्माबाट गरिन्छ र त्यस्ता व्यक्तिको जीवनशैली वा सिद्धान्तलाई आत्मसात गरी त्यसलाई समाजले आफ्ना आदर्श बनाउँछ । अचेल यसको कमी छ भन्ने कुरामा कोही असहमत छैन होला । महात्मा गान्धी, नेलसन मण्डेला, मदर टेरेसा, अब्दुल कलाम, अटल विहारी, अब्राहम लिङ्कन, मार्टिन लुथर किंग, लक्ष्मी प्रसाद देवकोटा जस्ता महान व्यक्तित्वहरुको सिद्धान्तमा चल्ने व्यक्तिहरुको खडेरी परेको छ । समाजको त्यस्ता व्यक्तित्वहरुलाई गैरजिम्मेवार र कार्यको रुपमा चित्रण गर्न थालिसकेका छन् । मान्छे आफ्नो परिवार, आफ्नो बच्चा, आफ्नो बंश जस्ता स्वार्थमा लिन हुन थालेका छन् । 
जसले मान्छेलाई ठुलो भन्दा ठुलो पाप गर्न प्रेरित गरिरहेको छ । प्रतिष्ठा पदीय स्तर वा कुनै खास काम विशेषका आधारमा हुने कुरा होइन । त्यो कुनै पनि काम किन न होस त्यो काम गराईमा इमान्दारीताको आधारमा प्रतिष्ठा दिनुपर्ने हो । भन्नुको तात्पर्य, नेता वा कर्मचारी किसान वा शिक्षक वा मजदुर भएकै कारण कसैलाई प्रतिष्ठित कसैलाई अप्रतिष्ठित भन्न मिल्दैन । आफ्नो जुन सुकै पेशालाई पेशाको धर्म अनुसार काम गर्ने इमान्दार व्यक्तिलाई प्रतिष्ठित व्यक्ति भन्न सकिन्छ । समाजशास्त्रीय दृष्टिकोणले प्रतिष्ठा एउटा आपैmमा अमूर्त सोच भएकोले यसै हतियारलाई सहि तरिकाले प्रयोग गरी समाजलाई नियन्त्रण गर्नुपर्छ । सम्मान र आदर गर्ने व्यक्तिलाई प्रतिष्ठा दिनुपर्छ दमन वा अपमान गर्नु हुँदैन । समाजमा ‘प्रेस्टीजियस आर डल्ल’ भन्ने उक्तिलाई बदल्नु पर्छ । र समाजमा प्रतिष्ठालाई जिब्रोको स्वाद मात्रै बनाउने होइन जीवनको आदर्श बनाउनु पर्छ । कुनै पनि बाहानामा इमान्दारिता र स्वाभिमानलाई अपहरण  हुन दिनु हुँदैन ।


२०७१ जेष्ठ ०४ गते आईतबार

No comments:

Post a Comment