Tuesday, May 20, 2014

संस्थागत आपराधिक सञ्जाल चलाउँथे साह


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सभासद सञ्जय साह ”टकला” नेपालका खतरनाकमध्ये एक अपराधी रहेको प्रहरीले जनाएको छ । ठेक्कापट्टा गर्ने क्रममा सामान्य गुन्डागर्दी सुरु गरेका उनी राजनीतिज्ञका रुपमा संसद्सम्म आइपुग्दा अपराधीका रुपमा स्थापित भएको प्रहरी अनुसन्धानले देखाएको छ । ”साहले यो तहमा अपराध गर्छ भनेर कसैले हेक्का राखेको थिएन । ऊ अपराधलाई कर्पोरेटकै रुपमा सञ्चालन गर्ने मानिस हो,” मध्यमाञ्चल प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले भने, ”उसको तुलना रुसी माफिया भयात्साभ इभानकोभ, अमेरिकी माफिया अल कपोने, इटालिका शाल्भाटोर टोटो रिना र जापानका शिनोबु टसुकासासँग गर्न सकिन्छ । उनी नेपालको खतरनाकमध्ये एक माफिया हुन् ।”  
विस्फोटका मुख्य योजनाकारका रुपमा पक्राउ परेपछि साहको आपराधिक सञ्जालबारे थप खुलासा भएको हो । राजनीतिक वृत्त, प्रशासन, प्रहरीमा समेत राम्रै पहुँच बनाएकाले साह कहिल्यै पक्राउ पर्दैनन् भन्ने मानसिकताका कारण पीडित र उनकै गिरोहका सदस्यले यसअघि मुख खोल्न नसकेको अर्यालले बताए । ”अहिले पुर्पक्षमा गएपछि उनका आपराधिक गतिविधिबारे उजुरी र बयान दिने क्रम बढ्दो छ,” उनले भने । 
जनकपुर(८ रामानन्द चोकमा २०६९ वैशाख १८ मा मिथिला राज्य माग्दै भएको सभामा बिहान १० बजे बम विस्फोट हुँदा ५ जनाको मृत्यु हुनुका साथै ३२ घाइते भएका थिए । प्रहरीले घटनाका दोषी पत्ता लगाउन अपरेसन ”रामा” नै सञ्चालन गरेको थियो । ओम यादवमार्फत मुकेश चौधरीलाई रकम दिई विस्फोटका लागि अह्राएका साह उनीसँग निरन्तरको सम्पर्कमा थिए । सशस्त्र समूह तराई मधेस विद्यार्थी लिबरेसन फ्रन्टका मुकेशले सुरेश कर्ण, जितेन्द्र कर्णलगायतकालाई घटनामा खटाएका थिए । गत फागुन १९ मा मुकेश पक्राउ परेपछि साहको संलग्नता प्रस्ट भई गिरफ्तारीको बाटो खुलेको थियो । 
मध्यमाञ्चल प्रहरीका अनुसार २०६६ फागुन १७ गते जनकपुर(२ स्थित शिव चोकमा जनकपुर टुडे सञ्चार समूहका सञ्चालक ४८ वर्षीय अरुण सिंघानियालाई गोली हानी हत्या गरेको घटनामा समेत साह संलग्न रहेको आशंका गरिएको छ । साहले २०६५ भदौ १८ मा टुडेको कार्यालयमा तोडफोड गरी ज्यान मार्ने धम्की दिएकाले पनि सिंघानिया हत्यामा उनको संलग्नताको आशंका प्रहरीले गरेको छ । प्रहरी, प्रशासनसँगसमेत राम्रै पहुँच भएकाले कतिपय घटनामा साह कारबाहीबिनै छुटेको प्रहरीले जनाएको छ । उनले मुद्दा कमजोर पारेर अदालतमा प्रस्तुत गर्न लगाएको र न्यायालयमा समेत प्रभाव बढाउने र धम्क्याउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । 
“साहले एक समय प्रहरी र प्रशासनको स्थानीय निकायदेखि केन्द्रसम्मै आफ्नो पहुँच बढाएको देखिन्छ,” डीआईजी अर्यालले भने, ”राजनीतिक वृत्तमा पनि विभिन्न पार्टीका नेतासम्म उनको पहुँच भएको भेटिएको छ ।” २०६४ सालमा उनले प्रहरी हवल्दार जयलाल यादवको अपहरण प्रयास गरेका थिए । तर प्रमुख जिल्ला अधिकारीसमक्ष माफी मागेकै भरमा छुटकारा पाए । 
त्यसैगरी २०६६ चैत ६ गते प्रहरी नायब निरीक्षक (असई) बाबुराम झालाई घेरा हाली ढुंगा प्रहार गरी गुन्डागर्दी गरेकामा मुद्दा कमजोर भएकै कारण अदालतबाट सफाइ पाएका थिए । शारीरिक रुपमा कमजोर भए पनि साह सानैदेखि झगडालु स्वभावका थिए । पहिले हेलाको पात्र भए पनि कर्मचारी र प्रहरी अधिकृतको संगतपछि उनी गुन्डा नाइके बनेको प्रहरी अनुसन्धानले देखाएको छ । गुन्डागर्दीकै भरमा ठेक्कापट्टाबाट उनले पैसा कमाउन थाले । त्यससँगै जानकी मन्दिर र जनकपुरका विभिन्न गुठीको जग्गा कर्मचारी र महन्तसँगको मिलोमतोमा कब्जा गर्दै सम्पत्ति जम्मा पार्न थाले । जिल्ला विकास र अन्य सरकारी कर्मचारीको मिलोमतोमा राजमार्गमा अनधिकृत कवाडीको ठेक्का लिए । गुन्डाको भरमा तगारो राखी राजमार्गमा गुड्ने कबाडीलगायत सबै सवारी साधनबाट अनधिकृत रकम असुल्न थाले । 
चितवनदेखि सिरहासम्मका राजमार्गका गुन्डाहरु साहको पकडमा रहेको मध्यमाञ्चल प्रहरीले जनाएको छ । तर विभिन्न तह बनाएर काम गर्ने भएकाले अपराध गर्ने मानिस पक्राउ परे पनि साहसँगको सम्बन्ध स्थापित गर्न अप्ठ्यारो हुने गरेको डीआईजी अर्यालले बताए । ”कम्तीमा पनि चार र पाँच तहको सञ्जाल बनाएर काम गर्ने रहेछ,” उनले भने, ”त्यसैले अपराधी पक्राउ परे पनि उसलाई आफ्नो असली बोस थाहा नहुने, बढीमा एक वा दुई तहसम्मको संलग्नता मात्र खुल्ने समस्या थियो ।”  समयक्रमसँगै साहले गुन्डाहरु र ठेक्काको संख्या बढाउँदै लगे । ”प्रहरी अधिकृतहरुको सामीप्यको फाइदा उठाउँदै रासनको ठेक्काबाट पनि पैसा बटुले,” प्रहरी अनुसन्धान टिपोटमा छ, ”त्यसबेलासम्म उनले सबै निकायका कर्मचारी न्यायालय, जिल्ला विकास, जिल्ला प्रशासन र प्रहरीमा आफ्नो प्रभाव बनाइसकेका थिए ।” रासन ठेक्का लिएपछि प्राप्त हुने १३ प्रतिशत भ्याटमध्ये १० प्रतिशत कर कार्यालयमा जम्मा गर्नुपर्नेमा त्यसो नगरी कर्मचारीसँग मिलेमतो गरी रेकर्डमा मात्र मिलाएर करोडौं अनियमितता गरेको प्रहरीले जनाएको छ । उच्च ब्याज दरमा ऋण लगाउने व्यवसायीले पैसा असुलीका लागि साहको प्रयोग गर्थे । यसरी व्यापारिक वृत्तमा पनि उनको दह्रो सम्बन्ध स्थापित भयो । 
राजनीतिक संक्रमण उच्च रहेका बेला तत्कालीन भूमिगत समूहका नाईके पृथ्वी सिंह, आकाश त्यागीलगायत थुप्रैसँग उनले सम्पर्क गरी आपराधिक गतिविधि सञ्चालन गरेको प्रहरीले जनाएको छ । लोकतन्त्र स्थापनासँगै भूमिगत समूहमार्फत नै खुला दलसँग सम्पर्क राखी उनले राजनीतिको केन्द्रमा पकड बनाएको प्रहरीको भनाइ छ । सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका साहले प्रहरीबाट आफ्नो खोजी हुनुअघि अध्यक्ष राजेन्द्र महतोलाई विस्थापित गरी पार्टी कब्जा गर्ने योजना बनाएको अनुसन्धानमा देखिएको छ । साहले आपराधिक गतिविधिबाटै ३ अर्बभन्दा बढीको सम्पत्ति जोडेको प्रहरीले जनाएको छ । 
विभिन्न बैंकमा लाखौं रुपैयाँ राखेका उनको ललितपुरको नख्खीपोटमा विभिन्न व्यक्तिका नाममा घर र अपार्टमेन्ट रहेको खुलेको छ । 
उनले आफ्नो र आफन्तका नाममा सवारी साधनहरु, जनकपुर र आसपास थुप्रै जग्गाजमिन र घडेरी जोडेको प्रहरीले जनाएको छ । बानेश्वरमा उनले एक रेस्टुरेन्टसमेत सञ्चालन गरेका छन् । 
(समाचार स्रोत कान्तिपुर दैनिक)


२०७१ जेष्ठ ०४ गते आईतबार

No comments:

Post a Comment