Tuesday, May 20, 2014

गंगा सागर सफाई अभियानमा जुट्दै स्थानीयवासी


गंगासागर सफा गर्दै सेना र प्रहरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतमा खरबौं रुपैयाँको लगानीमा गंगा नदि सफाई अभियान चल्यो, नेपालमा अर्बौं रुपैयाँको लगानीमा बागमती सफाई अभियान चल्यो तर, जनकपुरमा स्थानियवासीहरुले आफ्नै प्रयासमा सुरु गरेको धार्मिक सरोबर गंगासागरको सरसफाई अभियानले दिन प्रति दिन तिब्रता पाएको छ । 
यहाँ राज्यले लगानी नगरेपनि समाजका विभिन्न पेशागत संघ संगठनका व्यक्तिहरु तथा नागरिकहरुको अगुवाईमा केही महिना अघि प्रत्येक शनिबारका दिन गंगासागर सफाइ गर्ने अभियान चलाइएको छ । उक्त अभियानमा स्थानियवासीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत सहभागी हुन थालेका छन् । नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष राम अशिष यादव, अधिवक्ता राजकुमार महासेठ, समाजसेवी अमरचन्द्र अनिल, होटेल व्यवसायी विजय झुनझुनबाला, नबल मुरारका, मदन जैन, प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछाने, नेपाल सेनाका कर्णल डिजन पिया, पत्रकार ध्रुव झा, उद्यमि ओम प्रकाश सर्राफ, प्राध्यापक विजय दत्त, धर्मा मण्डल, विजय मस्त, नथुनीलाल दास, देव शरण साह, अशोक जालान, धर्मनाथ साह लगायतका व्यक्तिहरु प्रत्येक शनिबार गंगासागर सफाइ अभियानमा सक्रिय सहभागी हुन थालेका छन् ।
गंगासागरमा विसर्जन गरिएको
कलशहरु निकाल्दै स्थानिय यूवाहरु ।
 गंगासागरको सरसफाई र सौन्दर्यीकरणका लागि जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख राजन भेटवाल र जिल्ला बन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्माको सहयोगमा पोखरीको डिलमा कपुर, निम, गोलमोहर फुल र बर पिपलको बोट वृक्षारोपन गरिएको छ । त्यसैगरी पोखरीमा रहेका फोहरलाई सफा गर्नका निम्ति ननुपट्टीका माछा व्यवसायी बौवेलाल मुखिया र श्यामबाबु झाको सहयोगमा ७ हजार सिलभर माछाको भुरा राखिएको छ । 
स्थिर पानी रहेको गंगाजलको फोहर पानीलाई सफ ागर्न माछाले सहयोग गर्ने हुनाले ग्रासकार्प, सिलभर र कोत्रि प्रजातिका माछाका भुराहरु गंगासागरमा राखिएको नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष राम अशिष यादवले बताएका छन् । हुन त गंगासागर, धनुष सागर र विहार कुण्डमा माछा खेती गर्न पोखरी ठेक्कामा लाग्ने गरेको छैन । यद्यपि उक्त पोखरीहरुका माछा पनि केही स्थानिय यूवा क्लवहरुले अबैध रुपमा विक्री वितरण गर्ने गरेको पनि पाइएको छ । 
यसका अतिरिक्त दशरथ तलाउ, अरगजा सरोवर, राम सागर सहितका पोखरीहरुमा व्यवसायीक रुपले नै माछा खेती गरिएको छ । तर, उक्त रकम पनि पोखरीको सौन्दयीकरणको लागि खर्च गरिएको छैन । उक्त पोखरीहरुबाट हुने आय कतै जानकी मन्दिर र कतै गुठी संस्थानले लिने गरेका छन् । कालो भएको गंगाजललाई सफा गर्नका निम्ति नथुनि साह, विजय झुनझुनबाला र ज्ञानु मण्डलको सहयोगमा ३५ बोरा चुनको प्रयोग गरिएको छ । 
गंगासागरको डिलमा स्थानियवासीहरुसँगै वृक्षारोपन गर्दै
समाजसेवी अमरचन्द्र अनिल र सहायक वन अधिकृत सुरेश शर्मा ।
विष्णु पुरान अनुसार भगवान विष्णुको अहवानमा गंगाजी प्रकट भई कुण्ड बनेको गंगासागरमा स्नान गरे महाकुम्भमा गरिएको स्नान रामेश्वरममा गरिएको स्नान बराबरको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको छ । धार्मिक गन्थमा उल्लेख भए अनुसार हिमालयको काँख, उत्तरी क्षेत्र गंगोत्रिबाट सुरु भएको गंगा नदि नारायण पर्वत हुँदै ऋषिकेश, हरिद्वार सहित भारतका विभिन्न स्थानमा पुगेको गंगा नदिकै स्वरुप हो जनकपुरको पवित्र सरोवर गंगासागर । त्यसकारण गंगासागरको गंगाजललाई पवित्र बनाउनुपनि जनकपुरबासीकै दायित्व हो । 
गंगासागरमा माछाको भुरा राख्दै
नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष राम अशिष यादव ।
गंगा माता वास बस्ने गंगाजल फोहर  हुनुको प्रमुख कारण घर र मठमन्दिरमा गरिने पुजा सामग्रीको विसर्जन नै हो । मुन्डन गरेर फालिएको कपाल, भाँडा बरतन माजनु, लुगा फाँटा साबुनले धुनु, सबारी साधन गंगासागरमै लगेर सफा गर्ने गरेका कारण पनि गंगासागरको पानी प्रदुषित भएको नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादवले बताएका छन् । हालसम्म गंगा सागर सफाई अभियानको क्रममा ६० टयाक्टर भन्दा वढी फोहर मैला निकालिसकिएको छ । स्थिर पानीमा पुजा सामग्री विसर्जन गर्नु हुँदैन । प्लास्टिक रहित पुजा साम्रगी धर्ती माताको शरणमा गाडिनु पर्ने हो । संस्कृतिविद डा.राजेन्द्र विमलका अनुसार पानी चलिरहेको नदिमा मात्र पुजा सामग्री विसर्जन गर्दा लाभ हुने हो । स्थिर पानीमा वा पोखरीमा फोहर विसर्जन गर्नाले पोखरीको पानी प्रदुषित भई दुर्गन्धित हुन्छ । पवित्र सरोवर गंगा सागर, धनुष सागरमा फोहर गर्ने, माछा मार्ने र गंगाजललाई दुर्गन्धित गर्ने कुनै पनि किसिमको क्रियाकलाप कसैले गरे कारवाही गरिने स्थानिय प्रशासनले जनाएको छ ।
बुद्ध पुर्णिमाका दिन गंगासागरमा स्नान गर्दै भक्तजनहरु ।
हुन त नियमित सफाइ हुने गरेको उक्त गंगा सागरमा प्रत्येक शनिबार विहान ७ बजे देखि ९ बजेसम्म सघन रुपमा सफाई हुने गरेको छ । करिब २ सय ५० देखि ३ सय जना सम्म स्थानियवासीहरु उक्त सफाई कार्यक्रममा सहभागी हुने गरेको छ ।
गंगासागरमा गंगा माताको वृहत आरती प्रत्येक दिन गराउने योजना रहेको छ । उक्त आरती गंगासागरमा गरेको दृष्य हेर्न पर्यटकहरु समेत आउने यादवको विश्वास छ । गंगासागरलाई सौन्दर्यीकरण गर्न र पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले गंगासागरमा पर्यटक डुङगा चलाइने योजना रहेको छ ।


२०७१ जेष्ठ ०४ गते आईतबार

No comments:

Post a Comment