Sunday, January 5, 2014

सार्वजनिक यातायातमा अराजकता धनुषामा ६५ वटा बसहरु रुट परमिट वेगर सञ्चालित



अजय अनुरागी
जनकपुरधाम............
धनुषा जिल्लामा ५ दर्जन भन्दा वढी सार्वजनिक भाडाका बसहरु गैरकानुनी तरिकाले सञ्चालन हुँदै आएको खुलासा भएको छ । जिल्लाका सहायक मार्गमा विगत १० वर्ष देखि करिव ६५ वटा सार्वजनिक भाडाका वसहरु रुट परमिट वेगर नै सञ्चालित रहेको पाइएको छ ।
 सार्वजनिक यातायातका लागि रुट परमिट हुन आवश्यक रहे पनि सम्बन्धित निकायहरु यातायात व्यवस्था कार्यालय, टूाफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कर्यालयको गैरजिम्मेवारीपना तथा लापरवाहीका कारण कानुनको खिल्ली उडाउँदै ती वसहरु सञ्चालित रहेको पाइएको छ । जनकपुर देखि भ्रमरपुरासम्मको १० किलोमिटर दुरीमा ९ वटा बसहरु विगत ५ वर्ष देखि र जनकपुरबाट भ्रमरपुरासम्मको १८ किलोमिटर दुरीमा १२ वटा, जनकपुर पुलचौक देखि यदुकुवासम्मको २२ किलोमिटर दुरीमा १४ वटा, जनकपुरदेखि विरेन्द्रबजार यदुकुवासम्मको ४४ किलोमिटर दुरीमा १० वटा, जनकपुरको कदमचौक देखि सघारा सम्मको २० किलोमिटर दुरीमा १३ वटा र जनकपुर देखि सितापुर भंगहासम्मको २८ किलोमिटर दुरीमा ३ वटा गरी कुल ६५  वटा बसहरु रुट परमिट नै नभएको कच्ची सडकमा विगत १० वर्ष देखि सञ्चालनमा रहेको हो ।
कच्ची सडक, ग्राभल सडक, पुल नरहेको जोखिमपुर्ण सडकमा उक्त बसहरु सञ्चालनमा रहेको भएपनि कारवाही गर्ने निकाय मौन बसेको छन । यद्यपि सहायक मार्ग जनकपुर देखि जटही सम्मको १२ किलोमिटर दुरीमा १७ वटा, जनकपुर देखि जलेश्वर भिठ्ठामोड सम्म १९ किलोमिटर दुरीमा ५४ वटा र जनकपुर देखि धनुषाधाम सम्म १४ किलोमिटर दुरीमा ७ वटा गरी कुल ७८ वटा बसहरु परमिट लिएर सञ्चालनमा रहेको पाइएको छ । जनकपुर अञ्चल वस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन,“ जनताको र यात्रुको चापका कारण उक्त रुटमा परमिट नै भएपनि चलाइएको हो । रुट कायम गरिदिनका लागि भनेर बस व्यवसायीले जति भन्दा पनि यातायात कार्यालय गम्भीर देखिएको छैन । यद्यपि उक्त क्षेत्रमा पटके बाटो इजाजत पत्र लिएर सार्वजनिक यातायातका सवारी चलाएका हो ।” विशेष काम परी कुनै सार्वजनिक सवारीलाई बाटो इजाजतपत्रमा लेखिएको बाटो बाहेक अन्य कुनै बाटोमा चलाउनु परेमा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले पटके बाटो इजाजतपत्रको लागि अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ । दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी ब्यहोरा ठीक देखेमा बढीमा सात दिनसम्मको लागि पटके बाटो इजाजतपत्र दिन सक्ने कानुनी व्यवस्था छ । तर, धनुषामा नियमित रुपमा इजाजत पत्र वेगर सार्वजनिक सवारी चलेको भएपनि कारवाही गर्ने निकाय अनभिज्ञ बनेका छन । जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख रामकाजी खनाल भन्छन,“आफु जनकपुर आएपछि लाइसेन्सकै समस्यामा अल्झिनुपरेको कारण उतातिर ध्यान नपुगेकै हो । यदि इजाजत पत्र वेगर पनि सार्वजनिक सवारी चलेको हो भने त्यो गैरकानुनी कार्य हो र त्यसका लागि टूाफिक प्रहरीले कारवाही गर्नुपर्दछ ।” यता जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख तथा टूाफिक प्रहरी निरीक्षक राजन भेटवाल भन्छन,“परमिट नभएका सवारी साधनहरुलाई दुई पटक कारवाही स्वरुप जरिवाना गरिसकें । १० वर्ष देखि गाडीहरु चलेका छन । मैले प्रमुख जिल्ला अधिकारीलाई समेत उक्त समस्याबारे अवगत गराईसकेको छु ।” यातायात व्यवस्थापन समितिले उक्त बाटोको बारेमा निर्णय गर्नुप¥यो, चल्नु आवश्यक छ भने इजाजत दिनु प¥यो वा छैन भने रोकिदिनुप¥यो, टूाफिक प्रमुख भेटवालको भनाई छ ।
उक्त विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी समेत रहेका यातायात व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद मैनाली भन्छन,“ बाटोको इजाजत पत्र बिना सार्वजनिक यातायात चलाउनु  गैरकानुनी हो ।
वर्षौ देखि चल्दै आएको उक्त सवारी साधनलाई एकै चोटी बन्द गर्न मिल्दैन, भोली बन्द गर्दा जनता सडकमा आउँलान । त्यसैले उक्त बाटोलाई ‘रेगुलराइज’ गर्न यातायात कार्यालय र टूाफिक प्रहरीलाई मैले निर्देशन दिईसकेको छु । तिनीहरु पनि गृहकार्य गर्दैछन, चाँडै केही न केही निर्णय गर्छु ।”
 प्रत्येक क्षेत्रमा चल्ने सार्वजनिक सवारीहरूलाई व्यवस्थितरूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रमुख, जिल्ला प्रहरी कार्यालय – सदस्य,यातायात व्यवसायीहरूको प्रतिनिधि एकजना–सदस्य , यातायात मजदूरहरूको प्रतिनिधि एकजना– सदस्य र प्रमुख, यातायात व्यवस्था कार्यालय – सदस्य(सचिव भएको यातायात व्यवस्थापन समिति गठन गरिएको हुन्छ । उक्त समितिले आफ्नो क्षेत्रभित्र चल्ने यातायात सेवा निर्वाधरूपमा सञ्चालन गर्न सार्वजनिक सवारीहरूलाई यातायात सेवा सञ्चालन गर्ने कार्यमा संलग्न गराउने, आफ्नो क्षेत्रभित्र बाटो कायम नभएको ठाउँमा केही समयको लागि बाटो कायम गरी यातायात सेवा सञ्चालन गर्नु पर्ने भए अस्थायी बाटो कायम गरी सो बाटोमा चल्ने सार्वजनिक सवारीको भाडा निर्धारण गर्न विभागमा सिफारिस गर्ने, आफ्नो क्षेत्रभित्र सार्वजनिक सवारीहरूले बाटोको इजाजतपत्र लिई यातायात सेवा सञ्चालन गरे नगरेको, समय समयमा सो को नवीकरण गरे नगरेको निरीक्षण गर्ने वा गर्न लगाउने, आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक सवारीहरूले समय समयमा जाँचपास गरे नगरेको र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही नियमित यातायात सेवा प्रदान गरे नगरेको समय समयमा निरीक्षण गर्ने वा गर्न लगाउने, आफ्नो क्षेत्रभित्र यात्रीको चाप र सवारीको सङ्ख्या इत्यादिको अध्ययन गरी कुनै ठाउँमा यातायात सेवा सञ्चालन गर्नु पर्ने आवश्यक देखेमा सो क्षेत्रमा बाटो निर्धारण हुन विभाग समक्ष सिफारिश गर्ने, आफ्नो क्षेत्रभित्र यातायात सेवा सुव्यवस्थितरूपमा सञ्चालन गर्न अन्य आवश्यक काम कारवाही गर्ने भनेर सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख छ ।
जनकपुरको कदम चौक स्थित बसपार्कमा जनकपुरबाट सघारा जाने सवारी साधनहरु । उक्त रुटमा रुट परमिट वेगर यात्रु वाहक बसहरु संचालनमा छन् । बायाँको शिव पार्वती ट्राभल्स कुनै पनि हिसावले यात्रु लिएर चल्ने अवस्थामा नभए पनि यात्रुहरुको ज्यानलाई जोखिममा पार्दै बस चलेपनि स्थानिय प्रशासन कारवाही गर्नुको सट्टा मौन वसेका छन् ।
सार्वजनिक सवारीलाई यातायात सेवा सञ्चालन गर्न निर्धारित बाटोमा बाटो इजाजतपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारीले यातायात सेवा सञ्चालन गर्न पाउने छैन । यातायात सेवा सञ्चालन गर्नको निमित्त कुनै सार्वजनिक सवारीलाई कुनै बाटो प्रयोग गर्नु परेमा व्यवस्थापक वा सवारी धनीले तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष बाटो इजाजतपत्रको लागि तोकिएको दस्तुर सहित दरखास्त दिनु पर्छ । सार्वजनिक सवारीको धनी वा व्यवस्थापकलेसवारी चालक, परिचालक, सुरक्षाकर्मी तथा सवारीमा काम गर्ने अन्य कर्मचारी तथा तेस्रो पक्षको बीमा, सवारीको जाँचपास र  दर्ताको प्रमाणपत्र नवीकरण पेश गरी जाँच पास गराई मात्र बाटो इजाजत त्यो पनि चार महिनासम्म मात्र बहाल रहने गरी दिइन्छ । कुनै बाटोमा यातायात सेवा सञ्चालन गर्न बाटो इजाजतपत्र प्रदान गर्दा त्यस्तो बाटोमा यात्रीको चाप र यातायात सेवामा संलग्न सार्वजनिक सवारीको सङ्ख्यालाई हेर्दा फेरि अर्काे सवारीको निमित्त सोही बाटोमा बाटो इजाजतपत्र प्रदान गर्न आवश्यक नदेखिएमा वा प्रदूषणको कारण वा अन्य कुनै कारणबाट कुनै सार्वजनिक सवारीको निमित्त बाटो इजाजतपत्र प्रदान गर्दा सार्वजनिक हितको प्रतिकूल हुन जान्छ भन्ने अधिकार प्राप्त अधिकारीलाई लागेमा निजले व्यवस्थापन समितिसँग परामर्श गरी बाटो इजाजतपत्र दिन इन्कार गर्न सक्नेछ । मध्यम बाटो र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारी तथा त्यसमा यात्रा गर्ने यात्री एवं काम गर्ने कर्मचारी समेतको सुरक्षालाई ध्यानमा राखी त्यस्तो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तर तोकिए बमोजिम हुनेछ । अधिकार प्राप्त अधिकारीले तोकिएको स्तर नभएका सार्वजनिक सवारीलाई त्यस्तो बाटोमा यातायात सेवा सञ्चालन गर्ने बाटो इजाजतपत्र दिन इन्कार गर्न सक्नेछ ।
यातनापूर्ण र अमानवीय यात्रा गर्न यात्रु बाध्य
नेपालको अन्तरीम संविधान २०६३ ले प्रत्येक नेपालीको यात्रा आवत जावत गर्न पाउने अधिकारलाई सुरक्षित गरको छ । सार्वजनिक यातायातको क्षेत्रमा खासगरी महिला, केटाकेटी, वृद्ध, वृद्धा तथा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुको हितलाई सुरक्षित गर्दै, यो क्षेत्रमा कार्यरत रहने जनशक्तिलाई पनि आदर्श नागरीकका रुपमा स्थापित गर्नु पर्ने आवश्यकता देखिएका सन्दर्भमा यसै सदाशयतालाई अगाडि बढाउने हेतुले यो यातायात आचार संहिता २०६७ बनाई लागु गरिएको हो । जनकपुरबाट प्रत्येक दिन औषत करिब १० हजार यात्रु विभिन्न गणतव्यका लागि प्रस्थान गर्ने गर्छन । जनकपुरबाट भिठ्ठामोडका लागि ५४, मलंगवाका लागि १८, जटहीका लागि १७, विरगंजका लागि ४३, नेपालगंजका लागि १०, विराटनगरका लागि ८, धनुषाधामका लागि १४, सितापुर भंगहाका लागि ४, पर्साहीका लागि १४, यदुकोहाका लागि १४, सघाराका लागि १४, कांकडभिठ्ठाका लागि रात्रिकालिन सेवाका १२ र दिवा कालिन सेवाका लागि १०, धरानका लागि ४, औरही रामगोपालपुर(जलेश्वरका लागि १०, गौशालाका लागि १२, राजविराजका लागि १०, सिरहाका लागि ८, सिन्धुलीका लागि ४, वरहथवाका लागि ४, गौरका लागि २, नारायणघाटका लागि २, भैरहवाका लागि रात्रिकालिन २ र दिवाकालिन २, पोखराका लागि रात्रिकालिन २ र दिवाकालिन २, धनगढीका लागि ७, कटारीका लागि २, गाईघाटका लागि २, फत्तेपुरका लागि १, र काठमाडौका लागि रात्रिकालिन ४९ र दिवाकालिन ६ वटा बस दिनहुँ चल्ने गर्छ । पुर्वमा मेचि अञ्चलको कांकडभिठ्ठा र पश्चिममा महाकालिको धनगढीसम्म तथा नारायणी, लुम्बनी, गण्डकी, राप्ति, भेरी , सेती अञ्चलसम्म जनकपुरबाट सार्वजनिक यातायात सञ्चालन रहेका छन । तर ति गणतव्यसम्म पुग्नका लागि यात्रुलाई निकै नै सास्ती भोग्नु परेको छ ।
सार्वजनिक सेवा अत्यन्त यातनापूर्ण र अमानवीय छ । मूलतः सवारी चालकहरूको उच्छृंखल व्यवहार र सरकारका सम्बन्धित निकायको उदासीनताले गर्दा यात्रुले भयावह यातना सहनु परेको हो । यात्राका क्रममा अधिकांश यात्रुले असुविधा सहनुपर्छ र विशेषगरी महिला यात्रुले अभद्र व्यवहारको समेत अनुभव गर्नुपर्छ । सार्वजनिक सवारी साधनका यात्रुले भरपर्दाे र सम्मानजनक यात्रा कठिन बन्दै गएको छ । निर्धारित भाडा तिरेर गन्तव्यसम्म पुग्ने सुनिश्चितता छैन भने सवारी साधनका स्टाफको यात्रुप्रति प्रत्यक्ष र परोक्ष रुखो र रुष्ट व्यवहार भोग्नुपर्ने तिक्ततालाई सामना गर्नुको विकल्प छैन । विशेषगरी महिला, असहाय र अपांगता भएका नागरिक यसबाट बढी प्रताडित बन्ने गरेका छन । सार्वजनिक सवारी साधनमा अपांगता भएका नागरिक, महिला, वृद्ध, असहाय जस्ता विशेषण जोडेर व्यवस्था गरिएका आरक्षण सिट जनकपुरबाट लामो तथा छोटो दुरीमा चल्ने बसहरुमा पाइदैन । छोटो दूरीमा यात्रा गर्ने यात्रुलाई पनि दुव्र्यवहार गरिने गुनासो चुलिने गरेको छ । गाडीमा चढ्न नदिने, चढ्नै दिए पनि दूरी अनुसार भाडा नलिई बढी लिनेजस्ता समस्या छोटो दूरीका यात्रुले भोग्ने गरेका छन । सुनुवाइ हुने विश्वासको कमीले पीडित यात्रुले टूाफिक प्रहरी तथा प्रशासनमा यस्ता समस्याको उजुरी गर्दैनन । यात्रुको गुनासो सुन्ने निकायको क्रियाशीलताको जरुरी देखिन्छ  ।

मिति ः २०७०÷०९÷२१

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete