Sunday, January 5, 2014

जनकपुर अञ्चल अस्पतालमा गर्भवती महिलाहरु सेवा भन्दा पनि सास्ती भोग्न बाध्य



अजय अनुरागी
जनकपुरधाम............

जनकपुर अञ्चल अस्पतालमा सुत्केरी गराउन जाने गर्भवती महिलाहरुले सेवा भन्दा पनि सास्ती भोग्न बाध्य भएका छन् । ४० सैयाको प्रसुति गृहमा सयौं सुत्केरी महिलाहरु उपचारका लागि तथा बच्चा जन्माउनका लागि जाने गर्छन । सैयाको अभावमा सुत्केरी गराउने महिलाहरु भुई मै बस्न बाध्य छन । तर त्यहाँ जाने प्यासेन्टहरुसँग कार्यरत नर्सहरुपनि मित्रवत व्यवहार गर्दैनन् । एक त चिकित्सक प्रायः जसो अनुपस्थित हुन्छन्, अर्को तर्फ नर्सकै भरमा अस्पतालको प्रसुति विभाग संचालनमा रहेपनि नर्सहरु प्यासेन्ट तथा तिनका कुरुवाहरुलाई हप्काउने गर्छन । यति मात्र कहाँ हो र त्यहाँ पुगेका सुत्केरी महिलाहरुलाई यहाँ अप्रेशन गराउँदा आमा र सन्तान दुवैको ज्यान जान सक्ने जोखिम भएका हुनाले बाहिर नीजि प्रसुति गृहहरुमा उपचार गराए राम्रो हुने दवाव मुलक सल्लाह त्यहाँका चिकित्सक, नर्स र कर्मचारीहरु दिने गर्छन । अस्पतालमा आएका उक्त प्यासेन्टलाई बाहिरको प्रसुति गृहमा पठाए वापत तिनीहरुले मोटो रकम कमिशनका रुपमा पाउने गरेका छन् । अञ्चल अस्पतालको प्रसुति विभाग प्रमुख डा. कल्पना वछारले आफ्नै निजी प्रसुति गृह सञ्चालन गरेका छन । विभाग प्रमुखको हिसावले डा.बछार जतिबेला पनि जनकपुर अञ्चल अस्पतालमा उपचार गर्नुपर्ने हुन्थ्यो तर उनी अस्पतालमा विरलै पाइन्छन् । यति मात्र होइन रातीको समयमा चिकित्सकहरु अस्पतालमा हुँदैनन्, अनकलमा मात्र आउने गर्छन् । त्यो पनि इमरजेन्सी केशमा मात्र । नर्मल केशमा सुत्केरी गराउन चिकित्सकलाई नर्सले टेलिफोन गरेर बोलायो भने चिकित्सकले नर्सको सातो नै लिन्छ । एक पटक हप्काई खाएपछि नर्सले चिकित्सकलाई बोलाउने हिम्मतै गर्दैन बरु आफै चिकित्सकको काम गर्नमा सहज ठान्छन् ति नर्सहरु । अस्पतालको नर्स फाँटकी इन्चार्ज गिता थापा भन्छिन,“ रातीको समयमा चिकित्सकहरु यहाँ बस्दैनन् । फोन गरेर बोलाउनु पर्छ । चिकित्सक नरहने गरेकै कारण हामीमाथि दवाव वढी आउने गरेको छ । चिकित्सक बसदियो भने यहाँ समस्या हुन्थिएन ।” उक्त अस्पतालमा डा.बछारको नेतृत्वमा डा.प्रभु साह, डा.धिरेन्द्र साह,डा.रामजी यादव,डा. राखि साह, डा.विजय सिंह,डा.भगवान सहनी, डा. नितु झा गरी कुल नौ जना स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा कार्यरत छन् । तर नौ जना मध्ये डा.रामजी यादव नन पेयेवल अर्थात विना पारिश्रमिक काम गर्छन । अस्पतालको ब्राण्डलाई उपयोग गरेर पारिश्रमिक विना पनि स्थापित हुन सक्ने, बाहिर नीजि नर्सिङ होममा पनि काम गर्न सक्ने हुनाले विना पारिश्रमिक पनि काम गर्न चाहन्छन चिकित्सकहरु ।
जनकपुर अञ्चल अस्पतालको प्रसुति गृहको विभाग प्रमुख डा. कल्पना वछारको निजी प्रसुति सेवा केन्द्र । डा.वछार अञ्चल अस्पतालमा विरलै देखिन्छन् ।

प्रसुति गृहको लागि रहेको ४० सैयामा वेड सिट र तकिया हुनुपर्दछ । तर अस्पतालमा त्यो सुविधा छैन् । प्यासेन्ट आफ्नै घरबाट वेड सिट र सिरानी ल्याउन बाध्य छन । त्यहाँका नर्सहरुलाई सोध्दा वेड सिट र सिरानी धोवीले लिएर गएको बताउँछन । अव धोवीले लिएर गएपनि अर्को जोडा त त्यहाँ हुनुपर्छ तर कहिल्यै हुँदैन । धोवी पनि कस्तो सफ ागर्न लगेको कहिल्यै फिर्ता नै गर्दैनन त ? कि यो बहाना मात्र हो । प्रसुति गृहको लेवर रुममा ६ वटा बल्वहरुको आवश्यकता छ तर त्यहाँ बल्वको स्टयान्ड त छ तर बल्वको अत्तोपत्तो छैन् । एउटा बल्व मात्र छ । नर्स फाँट की इन्चार्ज गिता थापा भन्छिन,“बल्व नहुँदा जन्मिएको नवजात शिशु हाइपोथेरेमियाँमा जान सक्छ । बल्व लगाउन ६ महिना देखि भनेका छौं तर व्यवस्थापन समितिले वास्तै गर्दैन ।”यो अर्को कुरा हो कि अस्पतालका चिकित्सक, प्रशासक र व्यवस्थापन पक्षका कर्मचारीहरुको कार्यकक्षमा जाडोबाट बच्न हिटरहरुको पनि व्यवस्था गरिएको छ । तर प्यासेन्टलाई सुविधा हुनुपर्ने कुराहरु तर्फ व्यवस्थापन पक्षको ध्यान नै पुग्दैन ।
जनकपुर अञ्चल अस्पतालको प्रसुति गृहको वेडमा वेड सिट, सिरानी र स्लाइन स्टयाण्ड छैन ।

    यति मात्र कहाँ हो र ! बेडमा स्लाइन स्टयाण्ड पनि हुँदैन । एउटा वेडमा ५ देखि ७ जना सम्म कुरुवाहरु बसेका हुन्छन् । एक कुरुवा बस्नका लागि पनि होस वा औषधिहरु राख्नका लागि टुल हुँदैन । राती नर्सहरु पनि सुतेका हुन्छन् । जति सुकै उठाएपनि उठदैनन् । बरु नर्स हप्काई दिन्छन् । यी सबै कारणहरुले गर्दा प्यासेन्ट सुरक्षित सुत्केरीका लागि बाहिर मोटो रकम तिर्न बाध्य बनेका छन् । अस्पतालमा अप्रेशन गर्न सुविधा छैन, इक्विपमेन्ट छैन भन्दै बाहिरको निजी क्लिनिकमा लग्नुस् त्यहाँ अप्रेशन गरिदिन्छु भन्दै चिकित्सक पनि बाहिर लगेर उपचार गर्छन र मोटो रकम प्राप्त गर्छन । अवस्था यति सम्म आइसकेको छ कि अञ्चल अस्पतालमा सुत्केरी महिला र सन्तान दुवै जोखिममा पर्ने डरका कारण अव प्यासेन्टहरु अन्य निजी अस्पताललाई रोज्ने गर्छन । अञ्चल अस्पतालमा सुत्केरी गराए वापत यातायात खर्च भनेर प्रति सुत्केरी ५ सय रुपैयाँ  पाउने गर्छन । निशुल्क औषधि पाउने गर्छन । तर अहिले सुत्केरीलाई ४ सय रुपैयाँ मात्र दिइने गरिन्छ र १ सय रुपैयाँ बच्चाको जन्मको प्रमाण पत्र दिए वापत काट्ने गरिएको छ ।
सुत्केरी गराउनेहरुको संख्या दिनन्दिन घट्दै
अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या दिनन्दिन घट्दै गएको छ । आर्थिक वर्ष २०६४ देखि २०६७ सम्म सुत्केरी गराउनेहरुको संख्या वढ्दो क्रममा थियो तर पछिल्लो वर्षहरुमा घटेको छ । आर्थिक २०६४ मा कुल ६ हजार ६ सय ८७, २०६५ मा कुल ७ हजार ५ सय ५, २०६६ मा कुल ९ हजार ९७ र २०६७ मा १० हजार ३ सय २६ जना  सुत्केरी महिलाहरुको कुल डेलिभरी भएको थियो । तर असुविधा र चिकित्सकहरुको लापरवाहीकै कारण अस्पतालको साख मात्र गिरेको छैन्, सुत्केरी महिलाहरुको संख्यामा पनि कमी आएको छ । आर्थिक वर्ष २०६८ मा कुल १० हजार ३ सय २६, २०६९ मा कुल ८ हजार ६ सय १६ र २०७० को असोज महिना सम्म कुल २ हजार ७ सय ७१ डेलिभरी भएको छ । आर्थिक वर्ष २०६९÷०७० मा भएको कुल ८ हजार ६ सय १६ डेलिभरी मध्ये कुल ७ हजार २ सय २६ नर्मल, ४ सय २२ भ्याकम, १ सय २४ व्रिच अर्थात उल्टो बच्चा र ८ सय ४४ अप्रेशन गरी डेलिभरी गरिएको तथ्याङक छ । जसमध्ये ११ जना आमाहरुको मृत्यु र २ सय ८० जना बच्चा आमाको गर्भबाटै मृत्यु भएको र ६६ जना बच्चा जन्मिएको २८ दिन भित्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको देखिन्छ । आर्थिक वर्ष २०७०÷०७१ को श्रावण देखि असोज महिनासम्ममा मात्र कुल २ हजार ७ सय ७१ डेलिभरी मध्ये २ हजार २ सय १४ नर्मल डेलिभरी, २ सय ६ भ्याकुमबाट, ४९ वटा उल्टो बच्चा र ३ सय २ वटा अप्रेशन गरी डेलिभरी गरिएको हो । जसमध्ये एउटा पनि आमाको  मृत्यु नभएपनि ४९ वटा बच्चाको आमाको गर्भमै मृत्यु भएको र १७ वटा बच्चा जन्मिएको २८ दिन भित्र उपचारको क्रममा मृत्यु भएको तथ्याङक छ ।
जनकपुर अञ्चल अस्पतालको प्रसुति गृहको लेवर रुममा ५ वटा वल्व स्टयाण्डमा वल्व छैन ।
    अस्पतालका एक जना कर्मचारीका अनुसार यी सबै अस्पताल व्यवस्थापक, मेडिकल सुप्रिटेन्डेन्ट र प्रसुति विभाग प्रमुखको गैर जिम्मेवारीको नतिजा हो कि आज सुरक्षित प्रसुतिका लागि अस्पताल प्रतिको अविश्वास वढेको छ । जनकपुर अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झा, मेडिकल सुप्रिटेन्डेन्ट डा. बलराम मिश्र, प्रसुति विभाग प्रमुख डा.कल्पना वछार अव पनि गम्भीर नहुने हो भने नागरिक समाज, राजनीतिक दल र विभिन्न यूवा क्लव तथा संघ संस्थाहरु सम्मिलित संयूक्त आन्दोलन गर्नु आवश्यक देखिन्छ ।



मिति ः २०७०÷०९÷२१

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete