Tuesday, July 16, 2013

जनकपुरमा प्रेसको दुरुपयोग बढ्दो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रेस लेखेका गाडीमा पत्रकार चढेका छन् भन्ने सोच्नु भएको छ होला भन्ने सावधान । तपाईंबाट गल्ती पनि हुनसक्छ । किनभने मोटरसाइकल र मोटरमा प्रेस लेखेर प्रेसका मालिक, व्यापारी र तस्करहरु छाती फुलाउंदै हिड्ने गरेका छन् ।
सर्वसाधारणलाई निष्पक्ष सूचना प्रदान गर्ने गहन जिम्मेवारी पुरा गरेकै  कारण पत्रकारितालाई मर्यादित पेशाका रुपमा हेर्ने गरिन्छ । जनतालाई देश, विदेशमा के भइरहेको छ भनेर जानकारी दिने काम सञ्चारकर्मीबाटै हुन्छ । जनता संचारमाध्यमबाट सूचना पाउने अधिकारबाट बन्चित नहोउन् त्यसका लागि बन्द हडतालमा पनि प्रेस लेखिएको सबारी साधन चलेका हुन्छन् । सडकमा प्रेस लेखिएका गाडीलाई विशेष प्राथमिकता नै दिइन्छ । कतिपय अबस्थामा त चालक अनुमति पत्र र ब्लुबुक पनि जांच गरिदैन । यस्तै सुविधाको दुरुपयोग बढेको छ मध्य तराईका जिल्लामा । प्रेस लेखिएका गाडि गैरप्रेसकर्मीले प्रयोग गर्छन् । प्रेसको प्रयोजनका लागि पनि प्रयोग हुंदैनन् । सडकमा गुड्ने प्रेसका गाडीमा गैरपत्रकार नै शयर गरेको देखिन्छ । पे्रस लेखेर चलाइएका सवारी साधन प्रेसमा काम नगर्ने गैर पत्रकार, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र छापाखाना  सञ्चालकले प्रयोग गर्छन् । तस्करले प्रहरीको चेकजांचबाट जोगिन पनि प्रेस लेख्ने गरेका छन् गाडीमा । प्रेस लेखेर चोरीका गाडि निर्बाध चल्ने गरेको स्थानीय सञ्चारकर्मीको दाबी छ । अपरिचित र आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु प्रेस लेखिएको गाडी प्रयोग गरेको बताइन्छ । धनुषा लगायत सिरहा, सप्तरी, महोत्तरी, सर्लाही लगायतका सीमावर्ती जिल्लामा प्रेस लेखेर प्रेस शब्दको गरिमालाई धुमिल पार्ने काम भइरहेको छ । भारतीय नम्बर प्लेट भएका मोटरसाइकल, टाटासुमो आदिमा प्रेस लेखेर नेपाली भूमिमा चलाउंने र राजस्व छल्ने काइदा सिकेका छन् तस्करहरु । दिनरात एकगरी खट्ने सञ्चारकर्मीलाई न्युनतम पारिश्रमीक समेत उपलब्ध गराउन नसकेका स्थानीय एफएम रेडियोले सडकमा चिल्ला गाडी कुदाउंछन् । एफएममा पसिना बगाउने संचारकर्मी यस्ता गाडीमा विरलै चढेका होलान् । संचार उद्यमीले निजी रुपमा प्रयोग गर्ने गाडीहरुमा पनि प्रेस लेखिएका छन् ।  कसले गाडीमा प्रेस लेख्न पाउने कुनमा नपाउने भनेर स्पष्ट कानुनी व्याख्या पनि छैन । यसकारण प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासंघ जस्ता निकायले यस्ता विकृति रोक्न नीतिगत सुधार गर्नु आवश्यक छ । केहि व्यक्ति बिशेषका कारण प्रेस शब्द कै खिल्ली उडेको छ । नेपाल पत्रकार महासंघ धनुषाले यसरी प्रेस शब्दको दुरुपयोग रोक्न पहल गर्नु नितान्त आवश्यक छ । प्रेस–लेखिएका गाडिलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्नाले यसको दुरुपयोग दिन–प्रतिदिन बढ्दै गएको हो । सञ्चारकर्मीबाहेक वा सञ्चार प्रयोजन विपरीत गाडी प्रयोग भएको खण्डमा कारवाही गर्न ट्राफिक हिच्किचाउनु हुन्न । मानौं प्रेस शब्द खेलौना बनेको छ । जसलाई जसरी मनलागे प्रयोग गर्ने । पत्रकारको खोल ओढेर मनपरी गर्नेहरुमाथि कारवाही गर्न सक्नुपर्छ ट्राफिकले । प्रेस शब्द कमजोरी ढाक्ने अस्त्र बन्नु हुन्न ।

   

मिति ः २०७०÷०३÷३०

No comments:

Post a Comment